साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जाँडेश्वर महादेव

अहिलेका ऋषिमुनिहरू शिशी, घ्याम्पो, बोतल, क्यान भित्र छिरेर बस्छन् । अझ भनौँ ‘जहाँ जाँड र धतुरो त्यही जाँडेश्वर र धतुरेश्वरको डेरा’ भन्ने उखान प्रचलनमा आएको छ ।

Nepal Telecom ad

आउनुस् धर्मका नाममा जाँड खाने साँझ परेपछि घ्याम्पा रित्याउने महाशयहरू जाँडेश्वर महादेवको दर्शन गरौँ । जीवनमा गरेका सबै खाले फलिफाप र पापको मोचनका लागि जाँड खाएर मात्न नजान्नेहरूले जाँडेश्वर महादेवको दर्शन गरी मद्यशालातिर धाउनुहोस् । यो सुवणर् अवसरको फाइदा लुटेर धनाढ्य बन्नुहोस् । जाँड खानुस् घ्याम्पो रित्याउनुस् पैसा खर्चिनुस् जाँडेश्वर महादेवको दर्शन गर्नुहोस् । तर शिवजीको दर्शन गर्नु भयो भने फल प्राप्त गर्न सक्नु हुन्न । त्यसैले जाँडेश्वर महादेवसँग मितेरी लाएर भाँडेश्वर बन्दै हिड्न सक्नु हुन्छ ।

हामीले पूजा गर्ने शिवजीको नाम पनि कस्तो कस्तो जाँडेश्वर, धतुरेश्वर, घुसेश्वर के के हो के के । नामै सुन्दा रिंगटा लाग्ने, मात्ने भएपछि मात्न बानी परेका जो कोही पनि जाँडेश्वर महादेवको दर्शन गर्न घरकीलाई झुक्याएर, आँखा छलेर, लडेर, रोएर भए पनि पुग्छन् । जाँडेश्वर महादेवको प्रसादका रूपमा ग्रहण गर्ने जाँड, निगार, रकसी, धतुरो, भाङ नभए जयजयकार गर्न भन्न नसक्ने टिल्लरामहरू कोही जाँडेश्वरको रूप हेरेर नै तर्सिएर भाग्छन् । जाँडेश्वर शिवजी कुनै बेला घ्याम्पी देवीसँग गुम्बन क्रीडामा रहेका बेला एउटाले चुम्बन गरेको देखेपछि आत्तिदै भागेछ । भाग्दा आची नै उम्केछ रे । जाँडेश्वरको प्रसाद ग्रहण गर्न गएको त्यस्तो रमिता देखेपछि भाग्नु पर्‍यो । त्यो आची आउने गरिको भगाईका कारण डरले उसको जाँडेश्वरको प्रसाद ग्रहण गर्ने बानी नै छुट्यो रे । जब उसलाई तलतल लाग्थ्यो तब जाँडेश्वर कहाँ जान खोज्थ्यो तर भाग्दा आची आएको सम्झन्थ्यो र गर्मीका दिनमा पनि घरभित्र पसेर सिरकमा गुटुमुटु भै सुत्थ्यो रे । जाँडेश्वर शिवजीको प्रसादको प्रभावले गरेको उपलब्धि हो यो ।

जाँडेश्वर शिव कहाँ धाउने प्रत्येकले यस्तै यस्तै घटना भोग्ने हो भने हाम्रा गाउँघरतिर कुनै पनि शिवालयहरू रहँदैन थिए होलान् । शिवालयको ठाउँमा पुस्तकालय वा विद्यालय हुन्थ्यो होला । तर अहिले पुस्तकालय वा विद्यालय रहनु पर्ने ठाउँमा मदिरालय छ । देवालयका नाममा धतुरालय छ । त्यहाँ कि त धतुरेश्वर कि त जाँडेश्वर महादेवको मन्दिर बनाएर शिवजीकै जात्रा मनाएका छन् ।

यी शिवजी पनि कस्ता हुन कस्ता जसले जे भन्यो वा वर माग्यो त्यही पुर्‍याउँने । कोही पोइला जान पाम शिव पोइला जान पाम भनेर वर माग्दा पनि नदिने कोहीलाई भने भन्ने वित्तिकै जोइ र पोइ मिलाउँछन । सायद यो शिवजीको शक्ति होला । शिवजीमध्ये धतुरेश्वर र जाँडेश्वरको शक्ति पशुपतिको भन्दा पनि बढी हुन्छ भन्थे हो रहेछ जस्तो लागेको छ । मलाई के लाग्छ भने शिवजीले पनि पक्षपात गर्दा रहेछन् । धतुरो र जाँड खानेको कुरा सुन्ने नखानेको कुरा एउटा कानले सुनेर अर्को कानले उडाउने गर्दा रहेछन् भन्ने कुरा पुष्टि भएको छ ।

मलाई के लाग्छ भने उहिलेका देवी देवता बसाईँ सराई गर्नुको कारणमध्ये एक कारण महादेवको रूप देखेर पनि हो जस्तो लाग्छ । कहिले धतुरेश्वर हुन्छन् त कहिले जाँडेश्वर त कहिले घुसेश्वर त कहिले किराँतेश्वर भएर भक्तजनहरूलाई दुखः दिएका कारण पनि देवी देवता उहिलेको जमानामा बसाईँ सरेर विदेश गएको होला । अहिलेको जस्तो समय उहिले भएको भए जाँडेश्वरलाई जाँडकै घ्याम्पामा नौ महिनासम्म थुनेर राख्थे । धतुरेश्वरको धतुरो झारेर कुम्लो कुटुरो बोक्न लाएर समुन्द्रपारि कटाउँथे । तर के गर्नु भाउजु परिन दाजुको हातका रिस पर्‍यो मेरो हातमा भनेझैँ भएको छ । जाँडेश्वरको जल चढाउने कलशमा पनि जाँडकै छोक्रा र निगारले भरिएको हुन्छ । जाँडेश्वर शिवले नेपालमा कति जाँडका प्वाङ जन्माए त्यसको लेखाजोखा गर्ने हो भने आधाभन्दा बढी जनसंख्या नै हिसाबमा आउन सक्छ । जाँड खाने डबका तुम्वा कै हिसाब गर्ने हो भने जनसंख्याको तेबर हुन जान्छ भने जाँडेश्वरले कति जाँड खाँदा रहेछन् भन्ने कुरा यहीबाट पत्ता लाग्न सक्छ ।

व्यक्ति विकासमा निकै ठूलो भूमिका रहेको जाँडेश्वरको ब्राण्ड बनाउने चर्चा चलिरहँदा धतुरेश्वर पनि ब्राण्ड बनेर एकदिन देखाई दिने दाउमा ढ्याउ ढ्याउ गरेर बसेका छन् । जाँडलाई ब्राण्ड बनाउँदा धतुरो, गाँजा, भाङले पनि ब्राण्ड बन्ने कुरामा मुख मिठ्याएर र्‍याल चुहाउँदै बसेका छन् । देवताका पनि देवताको यो अवैध कुराले गर्दा ‘नेपालको कानून भगवान नै जानुन्’ भन्ने उखान चलेको हो भन्न सोमबार पर्खनु पर्दैन । किनभने जाँडेश्वर र धतुरेश्वर शिवजी कहाँ पूजा गर्न जुनसुकै बार गए पनि हुन्छ । नेपालमा सक्कली भगवान नै छैनन् । सक्कली शिव भगवान पूजा गर्न पो खास दिन र बारको महत्व हुन्छ । नक्कली शिव भगवान पूजा गर्न बाह्रैमास, बाह्रैकाल, तेह्रै समय गर्दा हुन्छ ।

बहुरूपी शिवको यो चरित्रका बारेमा चित्रकारले समेत चरित्र चित्रण गरेर भ्याउँदैनन् । एक दुई रूपमात्र भए पो साध्य हुनु विविध रूपका सहस्त्र लिङ्ग नै शिवका छन् । यो जमानामा यस्ता बहुरूपी शिवजीलाई रमाना दिएर अमेरिका, बेलायत, चीन, जापान, कोरिया, इजरायल, पाकिस्तान, अफगानिस्तान लगायतका मुलुकमा पठाउनु पर्ने हो । तर भारत भने पठाउनु हुँदैन । किनभने शिवजीले जाँडेश्वर भएर नेपालको माटो पानी खान बस्नका लागि वातानुकुलित छ भनेर आफूसँगै लिएर गए भने अर्को समस्या उत्पन्न हुन्छ । भारतले नेपालको माटो, पानी नलगेको त होइन तर रमाना लिएर बसाईँ जानेलाई भारत नै पठाउन थालियो भने भोलि नेपाल भन्ने नाम निशाना नै रहँदैन भन्ने मलाई लागेको छ ।

एउटा अचम्मको कुरा नेपालका धेरै विविध नामका शिवजीहरू भारततिर गएर निर्वासित जीवन बिताएका छन् । भारतबाट त्रेतायुगमा राम ससुराली आएर जनकपुरमा बसे । तर अरु देवताहरू भने नेपालमा आएर बस्न नसक्नुको कारण धतुरेश्वर र जाँडेश्वर शिवजी धेरै भएर हो कि जस्तो लाग्छ । शिवजीको नाममा श्वर जोडिएकाले यो श्वर भन्ने शब्द हिन्दूत्वको नभएकोले चरित्र बिग्रने डरले हो कि भन्ने शंका मलाई लागेको छ । नेपालमा ईश्वर, परमेश्वर भन्दा बढी भगवानलाई मान्ने भएकोले श्वर भन्ने शब्द नै बिकृति युक्त छ भन्ने सोंचले पनि भारतबाट देवताहरू नेपाल बसाईँ सर्न नचाहेको कुरा बुझिन्छ ।

उहिलेको जमानामा ऋषिमुनिहरू शिशीमुनि नबसी जमिनमाथि पलेटी कसेर बस्थे । अहिलेका ऋषिमुनिहरू शिशी, घ्याम्पो, बोतल, क्यान भित्र छिरेर बस्छन् । अझ भनौँ ‘जहाँ जाँड र धतुरो त्यही जाँडेश्वर र धतुरेश्वरको डेरा’ भन्ने उखान प्रचलनमा आएको छ । यो उखानको मर्म जाँडेश्वरलाई र धतुरेश्वरलाई भन्दा दुधेश्वर महादेवलाई बढी थाहा छ । अझ भन्ने हो भने शिवजीलाई उट्पट्याङ्गेश्वर भन्दा चाहिँ उपयुक्त हुन्छ । व्यहोरा र चरित्र हेर्दा ठ्याक्कै मिल्छ । पार्वतीलाई होस् वा सती देवीलाई होस् शिवजीले उट्पट्याङ्ग काम गरेर तर्साएका छन् । झुक्याएका छन् । हामी यस्ता फटाहा स्वरूपका उट्पट्याङ्ग शिवजीलाई देवताका रूपमा पूजा गर्छौ । नारीहरूको प्रिय देवता पनि यिनै हुन् । पुरुषहरू भनौँ वा प्रुस भनौँ यिनीहरूको बम भोले खाउ खोले भन्ने उक्ति पनि चलेकै छ । कोही त जय शम्भो पेटमा दम भो गाँजा कम भो पनि भन्छन् ।

जे सुकै होस् हामी नेपालीहरूको प्रिय देवताका रूपमा रहेका उट्पट्याङ्गका राजा शिवजीलाई धतुरेश्वर, जाँडेश्वर लगायतका धेरै श्वरले पुकार्छौ । यो पुकाराई अलि असुहाउँदो भयो कि भन्ने कुरा पनि सुहाउँदा मान्छेहरूले नै भन्ने गरेका छन् । तर म चाहिँ पुकार्दिन बरु धिक्कार्छु नक्कली शिवजीलाई । हामी नेपालीलाई ठगेर हैरान पारेकाछन् । असली रूप लुकाएर बसेका नक्कली शिवजीलाई पशुका पति मानेर पुज्छौँ । हामी मानवले पशुका पतिलाई पुज्दा पशुले पनि हामी मानवका पतिलाई पुज्नु पर्ने हो नि ! तर जाँड, धतुरो, भाङ खाएर पशुका पतिले आफ्नो नाम नै बिगारेर जाँडेश्वर, धतुरेश्वरले चिनिएका छन् । जय जाँडेश्वर वा घ्याम्पेश्वर, भालेश्वर, कालेश्वर, धनेश्वर, जलेश्वर के के हो के के नाम पनि । भो म त नक्कली शिवलाई जाँडेश्वरकै जिम्मा लगाउँछु । जय व्यङ्ग्य, जय जाँडेश्वर र धतुरेश्वर उट्पट्याङ्ग गर बस ।

०००
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
नेपाल कछुवा दल

नेपाल कछुवा दल

माधव पोखरेल गोज्याङ्ग्रे
जालझेल

जालझेल

माधव पोखरेल गोज्याङ्ग्रे
व्यशासन भित्रको कुशासन

व्यशासन भित्रको कुशासन

माधव पोखरेल गोज्याङ्ग्रे
नगरगाउँका सिंहमहाराज

नगरगाउँका सिंहमहाराज

माधव पोखरेल गोज्याङ्ग्रे
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
0
Would love your thoughts, please comment.x
()
x