साइबर अपराध सम्बन्धी सचेतना सामग्री

इज्जत

लरतरो जोस, जागर, मेहनत, बिना तपस्या, बेलगानी, विना विवेक, बेसुजबुझ, विना कोशिस, इज्जतको बिउ उमार्न सकिँदैन भने शुभचिन्तक बनाएर संसार उफार्न कसरी सकिन्छ ?

Nepal Telecom ad

इज्जत व्यक्तिको व्यक्तित्वमा कुँदिएर आएको हुन्छ । इज्जतिलाको नसा नसामा इज्जत दौडिरहेको हुन्छ । आँखाको नानीमा इज्जत पौडिरहेको हुन्छ । हरेक स्पन्दन र ढुकढुकीमा इज्जत धड्किरहेको हुन्छ । आँखा चिम्ल्याई वा हेराइसँग इज्जतको कुनै सरोकार हुँदैन । हर्दम इज्जतले इज्जत देखिरहेकै हुन्छ । यो परिवारको पारिवारिक रहन सहन उतार चढावमा खारिएर आएको हुन्छ । व्यक्तिको हरेक हाइ, हच्छिउ, हँसाइ, हिडाइ, रोदन, उठबस, लेनदेन, सुताइ, उठाइ, चराइ, गराइ छराइ अनेक भाँती भाँती जीवन भोगाइका तातीमा तरङ्गित भएर आएको हुन्छ । आफू इज्जतमा छ भने उसले अरूको पनि इज्जत गर्छ । इज्जत प्रकाश झै परावर्तन भएर आउँछ । इज्जतमा छ छैन इज्जतमा चल्छ चल्दैन सुपात्र या कुपात्र इज्जतबाट छर्लङ्गै छुट्टिन्छ । त्यसैले भन्न मन लाग्छ इज्जत व्यक्तित्वको ऐना हो, जान पहिचानको बैना हो र मित्रताको सैना हो ।

मनको तराजुमा तौलिँदै दुनियाँले मूल्याङ्कन गरिराखेका हुन्छन् तथापि ज्यान जीवित छँदै वा शेषपछि आर्जेको इज्जतको आँकुरा पलाएको हो कि या पलाएकै छैन । मूल्याङ्कनको परिणाम पछि देखापर्छ । त्यसैले शेषपछि सम्मान पाउने पनि धेरै छन् । इज्जतिलो परिवार वा इज्जतिलो व्यक्ति भनेर प्रशस्ती गान गाउन थालेपछि नै मानमाथि भुक्तमान पाइन्छ । उस्तै परे यही बखतमा आफ्नै मान्छे भनेर साइनो लाइन्छ, मिठो मसिनु खाइन्छ, बारम्बार धाइन्छ । इज्जतको पाइन भनेको त्यही हो । त्यसैले सन्चित वा आर्जित इज्जत कहीं कतैबाट लिक हुनु हुँदैन । लिक हुनु नै इज्जत जानु हो । त्यसैले छिद्रान्वेषण गरेर इज्जतमा टालो हाल्दै प्वाल टाल्दै मुहारमा बत्ती बाल्दै सेप, तुसारो र परजीवबाट जोगाएर राख्नुपर्छ । अनि मात्र इज्जतको हिस्सेदार दाबेदार, भागिदार र मालिक बन्न सकिन्छ ।

सृष्टिमा भए जतिकाको दृष्टिमा सही सत्पात्र हुन सक्नु नै इज्जतिलो हुनु हो । हरेक गतिविधि मानवोचित दुनियाँलाई रुच्यो, जायज लाग्यो, सत्कर्म झल्कियो, मानवीयता छचक्लियो, पच्यो भने मात्र इज्जतदारको भागिदार भइयो भनेर जाने हुन्छ । इज्जत प्रत्येक मानवमा अन्तर्निहीत हुन्छ । तर प्रकटीकरण अलग भिन्न र पृथक हुन सक्छ । प्राणीको सरसंगत संसर्गबाट इज्जत प्रभावित हुन्छ । त्यसैले त भन्ने गर्छन् संगत गुनाको फल । जस्तो आफू उस्तै च्यापु भनेको त्यही होला ।

इज्जत संकुचन र फैलिने हुन्छ । आफ्नो इज्जतका कारण सारा जगत् प्रभावित हुन्छ भने त्यसलाई फैलिएको मान्नुपर्छ । परिवार भित्र मात्र सीमित इज्जतलाई इज्जत संकुचन भनिन्छ । नेपालको लुम्बिनी कपिलवस्तुमा पाँचौँ शताब्दीमा जन्मिएका गौतम बुद्ध सिद्धार्थ गौतमको इज्जत बौद्ध धर्मको प्रवर्तक, प्रबद्र्धन र विस्तारका कारण उनको इज्जत प्रतिष्ठाले विश्व वेष्ठित छ । कालजयी बनेर फैलिँदो फक्रिँदो छ । उनको स्तुतिगान मान पहिचान जानाजान वा अन्जान ठूलो इज्जतका साथ पूजा पाठ मात्र होइन घरको पूजा कोठामा सजाउने, नाम भजाउने र छातीमा टाँसेर आनन्दानुभूतिका साथ जिए पिएको आभाष गरिरहेका छन् । राजा वीरेन्द्रको पारिवारिक इज्जत ठूलो थियो । परिवारकै सदस्यले उनको इज्जतको इष्र्या डाहा गर्नेले वंश र इज्जतको आहुती दिँदै मानवीयता बिर्सिएर सर्वनाश नरसंहारको शिकार बने । उनको इज्जत संकुचन भयो । त्यसैले इज्जत फाप नफाप र आफ्नै इज्जतले आफैलाई सिध्याउन पनि सक्छ । कुनै पनि अनधिकृत धन्दा गर्दा पत्तै नपाई इज्जतले कुलेलम ठोक्छ ।

मान्छेलाई इज्जतमा चल्न पारिवारिक संस्कारले सिकाएको हुन्छ । इज्जतमा चलेन भने अनेक अप्ठ्यारा अनिष्ठहरू निम्तिने, अधोगति हात लाग्ने र इज्जत स्खलन हुँदा हुँदा जब रसातलमा पुगिन्छ तब मान्छेले मान्छेलाई मान्छे नै गन्दैन । गलताचरणले आशा लाग्दो भर्भराउँदो जिन्दगीलाई नराम्रोसँग धक्का मार्दै मौजुदा साख सखाप र ध्वस्त बनाउँछ । तदुप्रान्त आशु र अँगाला भरिको पछुतो बाहेक केही हात लाग्दैन ।

इज्जत मासिन मौलाउन र नासिन पनि सक्छ । धन सम्पत्तिको बिउ सबैसँग हुन्छ तर इज्जतको बिउ कसैसँग हुँदैन । आफैसँग हुन्छ । लगनशील, मेहनती, इमानदार, त्याग, तपस्या गरेर इज्जत कमाउनु र रमाउनुपर्छ । कमाएको इज्जतलाई जोगाउन झनै गारो हुन्छ । फलफूल अनाजमा जस्तै इज्जतमा पनि परजीवले आक्रमण गर्छ । बत्तीमा पुतली रमाएर ज्यान फाले जस्तै सुरासुन्दरीले एक अर्काको इज्जत हरण गर्ने प्रयत्न र गौडो कुरिरहेका हुन्छन् । सारा सारागारा अप्ठ्यारालाई परास्त गर्दै इज्जत आफ्नो भागमा पार्नु पर्छ । बदमासी गरेर धनार्जन गर्न सकिन्छ तर बद्नियत्बाट इज्जतार्जन हुन सक्दैन । ढाँट, छलकपट, वद्नियत इज्जतका शत्रु हुन् । उपयुक्त समय, जायज मेहनत, इमानदारिता, जोस, जाँगर बुद्धि विवेकको संयुक्त लगानीबाट मात्रै इज्जतको प्रतिफल प्राप्त गर्न सकिन्छ । आजीवन इज्जत कमाउन हरेक सतोगुणको विस्कुन सुकाउनु पर्ने हुन्छ । तब मात्र इज्जतको अंशियार, भागिदार, हिस्सेदार, र दावेदार बन्न सकिन्छ ।

इज्जत स्वार्जित हो । आफूसँग भएको झिटिगुण्टा, धन दौलतलाई मुठी कसेर खोकिलामा राख्न सकिन्छ । लकरमा लट्काएर, चाबी ठोकेर या थाप्लामा बोकेर आफ्नो हो भन्दै कुर्लिदै खुसीले उम्लिँदै, उर्लिदै ङिच्च दाँत देखाउन सकिन्छ । धन सम्पत्ति संरक्षण गर्ने, सरसापट, ऐंचो पैचो दिने सङ्घ संस्था सम्बन्धित निकायहरू अनन्त हुन सक्छन् तर इज्जतका अगाडि यो कुनै काम लाग्दैन । इज्जतमा क्रय विक्रय सर सापट नातावाद कृपावाद केही चल्दैन । यो त अथक प्रयास र निरन्तरको प्रयत्नबाट इज्जत विस्तारै रसाउन र बसाउन थाल्छ र प्रत्येक पल पल, पाइला पाइला, अनि हर स्वासको धड्कनबाट मात्र इज्जत कमाउन सकिन्छ । प्रत्येक स्वास प्रस्वासमा इज्जतको सुभाष छरिनुपर्छ । इज्जत मानव जातिको स्वार्जित सम्पत्ति हो । यसले पकेट र पोल्टो भरिँदैन तर यसले दिने आनन्द अथाहा सम्पत्तिले पनि आर्जन गर्न सकिँदैन । इज्जत सुवास हो । त्यसैले त भन्ने गर्छन् फूलको सुवास डाँडावारि मान्छेको सुवास डाँडापारि ।

इज्जत आफू र आफ्ना लागि हो तर त्यसको संरक्षक दुनियाँ हुन्छन् । इज्जतको हिसाब आफूले होइन इष्टमित्र, पराई, शत्रु र दुनियाँले गर्छन् । धनभन्दा इज्जत ठूलो हुने भएर नै मानवहरू अधना भएर पनि इज्जतमा बाँच्न, नाच्न, हाँस्न र पिरती गाँस्न रुचाउँछन् । प्रत्यक्ष डाङडुङ उपद्रो जे गरे पनि अप्रत्यक्षत दुनियाँ इज्जतको पुजारी हो । त्यसैले त सत्पथको अपेक्षा गर्छन् । विचार गर्नु भाको छ कसैसँग धन सम्पत्ति मणिमाणिक्यको खजाना हुन्छ तर इज्जतको खडेरी पर्नाले जिन्दगी जर्जर जब्बर र जिउँदो जस्तो लाग्दैन । इज्जतहीन जिन्दगी निरस, निष्ठुरी, कठोर र काम नलाग्ने बनिरहेको हुन्छ । नजान्दा, नबुझ्दा विवेकले सही मार्ग समात्न नसक्दा कौडीमा इज्जत जान्छ । गुन्द्रुकको झोलमा इज्जत फालिस् भन्नुको कारण नै त्यही हो । तसर्थ बगेको खोला र गएको इज्जत फर्काउन बाबुको बिहे देखिन्छ । त्यसैले इज्जत जोगाउन इज्जतको श्रीवृद्धि, प्रवद्र्धन र विस्तार गर्न, इज्जतमा सिठो सल्किन नदिन इज्जतमा बाँध बाँध्ने कि नबाँध्ने ? विवेकलाई सत्पथमा हेल्ने कि नहेल्ने ?

इज्जत व्यक्ति विशेष र वंशानुगत पनि हुन्छ । एक सय चार वर्ष नेपालमा एक छत्र शासन गर्ने राणा खलकको इज्जत नेपालमा अझै पनि छ । बेलायतकी महारानीको इज्जत भुटानका राजाको इज्जत वंशानुगत इज्जत हो । बाबु बराजुका पालादेखि इज्जतमा पौडी खैल्दै आएकाहरूलाई हेरेर नै होला कवि शिरोमणि लेखनाथ पौडेलले इज्जतलाई इङ्गित गर्दै कविता लेखे
उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर ।
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ?

अरूको इज्जतमा नै आफ्नो इज्जत अन्तर्निहित हुन्छ । जसरी सिक्रा रुखका हाँगाहरू झुक्दैन त्यसै गरी इज्जतहीनहरू पनि झुक्दैनन् । टुप्पाबाट पलाएको, उम्रिदैको तीन पात, घर न घाटको, जस्ता उखानहरू इज्जतमा स्खलन आएकाहरू खातिर लक्ष्यणार्थ प्रयोग गरिन्छ । इज्जेतिला मान्छेले गर्ने व्यवहार र इज्जतको पर्वाह नगर्नेहरूको बानी व्यहोरा र व्यवहारमा आकाश जमिनको फरक हुन्छ । इज्जत छैन भने मान्छेले मान्छेकै दोहोलो काढ्छन् । उपेक्षा, हेला, होचो, तिरस्कार, बहिष्कारको शिकार हुँदा आफैलाई धिक्कार लाग्छ । त्यसो भएपछि भैराखेको इज्जतमा अचानक आँच आउन सक्छ । द्रौपदीको चिर हरण भए जस्तै इज्जत हरण गरेर माटोमा मिलाउने अनेक दाउ प्रपन्चहरू रचिन सक्छन् । तर डगमगाउनु हुँदैन । निरन्तर मगमगाउँदै राख्नुपर्छ । भाग्यले जे गर्छ गर्छ भनेर पछि हट्ने होइन कर्मले शर्म नमानी गरेर देखाउनुपर्छ । जसरी प्राण जोगाउन दत्त चित्त भएर लागि पर्छौ । अत्यन्त चतुर, चनाखो, क्रियाशील र चौपट मेहनत गर्छौ त्यस्तै इज्जत कमाउन अल्छि मान्नु हुँदैन ।

एक बारको जुनिमा हर तरहले इज्जतार्जन गर्न सकियो भने त्यसले एउटा मान्छेमा मात्र होइन सिंगो समाजमा नै लोभ लाग्दो सकारात्मक प्रभाव पर्छ । फूलबाट मौरीले आफूले नखाइ नखाइ रस निकाले झै हर पक्षबाट सत्गुणहरू खैँचिएर इज्जत रूपी चाका बनाउँदै रसास्वादन गर्ने भाका दिनुपर्छ । सज्जन सत्पात्रले जुनसुकै काल खण्ड र विकट परिस्थितिमा पनि इज्जत कमाउनु, आफ्नो बनाउनु, बाञ्छनीय हुन्छ । लरतरो जोस, जागर, मेहनत, बिना तपस्या, बेलगानी, विना विवेक, बेसुजबुझ, विना कोशिस, इज्जतको बिउ उमार्न सकिँदैन भने शुभचिन्तक बनाएर संसार उफार्न कसरी सकिन्छ ?

०००
फूलबारी, पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
असली आर्थिक गणना दुई हजार तिरासी

असली आर्थिक गणना दुई...

शेषराज भट्टराई
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x