शेषराज भट्टराईइज्जत
लरतरो जोस, जागर, मेहनत, बिना तपस्या, बेलगानी, विना विवेक, बेसुजबुझ, विना कोशिस, इज्जतको बिउ उमार्न सकिँदैन भने शुभचिन्तक बनाएर संसार उफार्न कसरी सकिन्छ ?
इज्जत व्यक्तिको व्यक्तित्वमा कुँदिएर आएको हुन्छ । इज्जतिलाको नसा नसामा इज्जत दौडिरहेको हुन्छ । आँखाको नानीमा इज्जत पौडिरहेको हुन्छ । हरेक स्पन्दन र ढुकढुकीमा इज्जत धड्किरहेको हुन्छ । आँखा चिम्ल्याई वा हेराइसँग इज्जतको कुनै सरोकार हुँदैन । हर्दम इज्जतले इज्जत देखिरहेकै हुन्छ । यो परिवारको पारिवारिक रहन सहन उतार चढावमा खारिएर आएको हुन्छ । व्यक्तिको हरेक हाइ, हच्छिउ, हँसाइ, हिडाइ, रोदन, उठबस, लेनदेन, सुताइ, उठाइ, चराइ, गराइ छराइ अनेक भाँती भाँती जीवन भोगाइका तातीमा तरङ्गित भएर आएको हुन्छ । आफू इज्जतमा छ भने उसले अरूको पनि इज्जत गर्छ । इज्जत प्रकाश झै परावर्तन भएर आउँछ । इज्जतमा छ छैन इज्जतमा चल्छ चल्दैन सुपात्र या कुपात्र इज्जतबाट छर्लङ्गै छुट्टिन्छ । त्यसैले भन्न मन लाग्छ इज्जत व्यक्तित्वको ऐना हो, जान पहिचानको बैना हो र मित्रताको सैना हो ।
मनको तराजुमा तौलिँदै दुनियाँले मूल्याङ्कन गरिराखेका हुन्छन् तथापि ज्यान जीवित छँदै वा शेषपछि आर्जेको इज्जतको आँकुरा पलाएको हो कि या पलाएकै छैन । मूल्याङ्कनको परिणाम पछि देखापर्छ । त्यसैले शेषपछि सम्मान पाउने पनि धेरै छन् । इज्जतिलो परिवार वा इज्जतिलो व्यक्ति भनेर प्रशस्ती गान गाउन थालेपछि नै मानमाथि भुक्तमान पाइन्छ । उस्तै परे यही बखतमा आफ्नै मान्छे भनेर साइनो लाइन्छ, मिठो मसिनु खाइन्छ, बारम्बार धाइन्छ । इज्जतको पाइन भनेको त्यही हो । त्यसैले सन्चित वा आर्जित इज्जत कहीं कतैबाट लिक हुनु हुँदैन । लिक हुनु नै इज्जत जानु हो । त्यसैले छिद्रान्वेषण गरेर इज्जतमा टालो हाल्दै प्वाल टाल्दै मुहारमा बत्ती बाल्दै सेप, तुसारो र परजीवबाट जोगाएर राख्नुपर्छ । अनि मात्र इज्जतको हिस्सेदार दाबेदार, भागिदार र मालिक बन्न सकिन्छ ।
सृष्टिमा भए जतिकाको दृष्टिमा सही सत्पात्र हुन सक्नु नै इज्जतिलो हुनु हो । हरेक गतिविधि मानवोचित दुनियाँलाई रुच्यो, जायज लाग्यो, सत्कर्म झल्कियो, मानवीयता छचक्लियो, पच्यो भने मात्र इज्जतदारको भागिदार भइयो भनेर जाने हुन्छ । इज्जत प्रत्येक मानवमा अन्तर्निहीत हुन्छ । तर प्रकटीकरण अलग भिन्न र पृथक हुन सक्छ । प्राणीको सरसंगत संसर्गबाट इज्जत प्रभावित हुन्छ । त्यसैले त भन्ने गर्छन् संगत गुनाको फल । जस्तो आफू उस्तै च्यापु भनेको त्यही होला ।
इज्जत संकुचन र फैलिने हुन्छ । आफ्नो इज्जतका कारण सारा जगत् प्रभावित हुन्छ भने त्यसलाई फैलिएको मान्नुपर्छ । परिवार भित्र मात्र सीमित इज्जतलाई इज्जत संकुचन भनिन्छ । नेपालको लुम्बिनी कपिलवस्तुमा पाँचौँ शताब्दीमा जन्मिएका गौतम बुद्ध सिद्धार्थ गौतमको इज्जत बौद्ध धर्मको प्रवर्तक, प्रबद्र्धन र विस्तारका कारण उनको इज्जत प्रतिष्ठाले विश्व वेष्ठित छ । कालजयी बनेर फैलिँदो फक्रिँदो छ । उनको स्तुतिगान मान पहिचान जानाजान वा अन्जान ठूलो इज्जतका साथ पूजा पाठ मात्र होइन घरको पूजा कोठामा सजाउने, नाम भजाउने र छातीमा टाँसेर आनन्दानुभूतिका साथ जिए पिएको आभाष गरिरहेका छन् । राजा वीरेन्द्रको पारिवारिक इज्जत ठूलो थियो । परिवारकै सदस्यले उनको इज्जतको इष्र्या डाहा गर्नेले वंश र इज्जतको आहुती दिँदै मानवीयता बिर्सिएर सर्वनाश नरसंहारको शिकार बने । उनको इज्जत संकुचन भयो । त्यसैले इज्जत फाप नफाप र आफ्नै इज्जतले आफैलाई सिध्याउन पनि सक्छ । कुनै पनि अनधिकृत धन्दा गर्दा पत्तै नपाई इज्जतले कुलेलम ठोक्छ ।
मान्छेलाई इज्जतमा चल्न पारिवारिक संस्कारले सिकाएको हुन्छ । इज्जतमा चलेन भने अनेक अप्ठ्यारा अनिष्ठहरू निम्तिने, अधोगति हात लाग्ने र इज्जत स्खलन हुँदा हुँदा जब रसातलमा पुगिन्छ तब मान्छेले मान्छेलाई मान्छे नै गन्दैन । गलताचरणले आशा लाग्दो भर्भराउँदो जिन्दगीलाई नराम्रोसँग धक्का मार्दै मौजुदा साख सखाप र ध्वस्त बनाउँछ । तदुप्रान्त आशु र अँगाला भरिको पछुतो बाहेक केही हात लाग्दैन ।
इज्जत मासिन मौलाउन र नासिन पनि सक्छ । धन सम्पत्तिको बिउ सबैसँग हुन्छ तर इज्जतको बिउ कसैसँग हुँदैन । आफैसँग हुन्छ । लगनशील, मेहनती, इमानदार, त्याग, तपस्या गरेर इज्जत कमाउनु र रमाउनुपर्छ । कमाएको इज्जतलाई जोगाउन झनै गारो हुन्छ । फलफूल अनाजमा जस्तै इज्जतमा पनि परजीवले आक्रमण गर्छ । बत्तीमा पुतली रमाएर ज्यान फाले जस्तै सुरासुन्दरीले एक अर्काको इज्जत हरण गर्ने प्रयत्न र गौडो कुरिरहेका हुन्छन् । सारा सारागारा अप्ठ्यारालाई परास्त गर्दै इज्जत आफ्नो भागमा पार्नु पर्छ । बदमासी गरेर धनार्जन गर्न सकिन्छ तर बद्नियत्बाट इज्जतार्जन हुन सक्दैन । ढाँट, छलकपट, वद्नियत इज्जतका शत्रु हुन् । उपयुक्त समय, जायज मेहनत, इमानदारिता, जोस, जाँगर बुद्धि विवेकको संयुक्त लगानीबाट मात्रै इज्जतको प्रतिफल प्राप्त गर्न सकिन्छ । आजीवन इज्जत कमाउन हरेक सतोगुणको विस्कुन सुकाउनु पर्ने हुन्छ । तब मात्र इज्जतको अंशियार, भागिदार, हिस्सेदार, र दावेदार बन्न सकिन्छ ।
इज्जत स्वार्जित हो । आफूसँग भएको झिटिगुण्टा, धन दौलतलाई मुठी कसेर खोकिलामा राख्न सकिन्छ । लकरमा लट्काएर, चाबी ठोकेर या थाप्लामा बोकेर आफ्नो हो भन्दै कुर्लिदै खुसीले उम्लिँदै, उर्लिदै ङिच्च दाँत देखाउन सकिन्छ । धन सम्पत्ति संरक्षण गर्ने, सरसापट, ऐंचो पैचो दिने सङ्घ संस्था सम्बन्धित निकायहरू अनन्त हुन सक्छन् तर इज्जतका अगाडि यो कुनै काम लाग्दैन । इज्जतमा क्रय विक्रय सर सापट नातावाद कृपावाद केही चल्दैन । यो त अथक प्रयास र निरन्तरको प्रयत्नबाट इज्जत विस्तारै रसाउन र बसाउन थाल्छ र प्रत्येक पल पल, पाइला पाइला, अनि हर स्वासको धड्कनबाट मात्र इज्जत कमाउन सकिन्छ । प्रत्येक स्वास प्रस्वासमा इज्जतको सुभाष छरिनुपर्छ । इज्जत मानव जातिको स्वार्जित सम्पत्ति हो । यसले पकेट र पोल्टो भरिँदैन तर यसले दिने आनन्द अथाहा सम्पत्तिले पनि आर्जन गर्न सकिँदैन । इज्जत सुवास हो । त्यसैले त भन्ने गर्छन् फूलको सुवास डाँडावारि मान्छेको सुवास डाँडापारि ।
इज्जत आफू र आफ्ना लागि हो तर त्यसको संरक्षक दुनियाँ हुन्छन् । इज्जतको हिसाब आफूले होइन इष्टमित्र, पराई, शत्रु र दुनियाँले गर्छन् । धनभन्दा इज्जत ठूलो हुने भएर नै मानवहरू अधना भएर पनि इज्जतमा बाँच्न, नाच्न, हाँस्न र पिरती गाँस्न रुचाउँछन् । प्रत्यक्ष डाङडुङ उपद्रो जे गरे पनि अप्रत्यक्षत दुनियाँ इज्जतको पुजारी हो । त्यसैले त सत्पथको अपेक्षा गर्छन् । विचार गर्नु भाको छ कसैसँग धन सम्पत्ति मणिमाणिक्यको खजाना हुन्छ तर इज्जतको खडेरी पर्नाले जिन्दगी जर्जर जब्बर र जिउँदो जस्तो लाग्दैन । इज्जतहीन जिन्दगी निरस, निष्ठुरी, कठोर र काम नलाग्ने बनिरहेको हुन्छ । नजान्दा, नबुझ्दा विवेकले सही मार्ग समात्न नसक्दा कौडीमा इज्जत जान्छ । गुन्द्रुकको झोलमा इज्जत फालिस् भन्नुको कारण नै त्यही हो । तसर्थ बगेको खोला र गएको इज्जत फर्काउन बाबुको बिहे देखिन्छ । त्यसैले इज्जत जोगाउन इज्जतको श्रीवृद्धि, प्रवद्र्धन र विस्तार गर्न, इज्जतमा सिठो सल्किन नदिन इज्जतमा बाँध बाँध्ने कि नबाँध्ने ? विवेकलाई सत्पथमा हेल्ने कि नहेल्ने ?
इज्जत व्यक्ति विशेष र वंशानुगत पनि हुन्छ । एक सय चार वर्ष नेपालमा एक छत्र शासन गर्ने राणा खलकको इज्जत नेपालमा अझै पनि छ । बेलायतकी महारानीको इज्जत भुटानका राजाको इज्जत वंशानुगत इज्जत हो । बाबु बराजुका पालादेखि इज्जतमा पौडी खैल्दै आएकाहरूलाई हेरेर नै होला कवि शिरोमणि लेखनाथ पौडेलले इज्जतलाई इङ्गित गर्दै कविता लेखे
उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर ।
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ?
अरूको इज्जतमा नै आफ्नो इज्जत अन्तर्निहित हुन्छ । जसरी सिक्रा रुखका हाँगाहरू झुक्दैन त्यसै गरी इज्जतहीनहरू पनि झुक्दैनन् । टुप्पाबाट पलाएको, उम्रिदैको तीन पात, घर न घाटको, जस्ता उखानहरू इज्जतमा स्खलन आएकाहरू खातिर लक्ष्यणार्थ प्रयोग गरिन्छ । इज्जेतिला मान्छेले गर्ने व्यवहार र इज्जतको पर्वाह नगर्नेहरूको बानी व्यहोरा र व्यवहारमा आकाश जमिनको फरक हुन्छ । इज्जत छैन भने मान्छेले मान्छेकै दोहोलो काढ्छन् । उपेक्षा, हेला, होचो, तिरस्कार, बहिष्कारको शिकार हुँदा आफैलाई धिक्कार लाग्छ । त्यसो भएपछि भैराखेको इज्जतमा अचानक आँच आउन सक्छ । द्रौपदीको चिर हरण भए जस्तै इज्जत हरण गरेर माटोमा मिलाउने अनेक दाउ प्रपन्चहरू रचिन सक्छन् । तर डगमगाउनु हुँदैन । निरन्तर मगमगाउँदै राख्नुपर्छ । भाग्यले जे गर्छ गर्छ भनेर पछि हट्ने होइन कर्मले शर्म नमानी गरेर देखाउनुपर्छ । जसरी प्राण जोगाउन दत्त चित्त भएर लागि पर्छौ । अत्यन्त चतुर, चनाखो, क्रियाशील र चौपट मेहनत गर्छौ त्यस्तै इज्जत कमाउन अल्छि मान्नु हुँदैन ।
एक बारको जुनिमा हर तरहले इज्जतार्जन गर्न सकियो भने त्यसले एउटा मान्छेमा मात्र होइन सिंगो समाजमा नै लोभ लाग्दो सकारात्मक प्रभाव पर्छ । फूलबाट मौरीले आफूले नखाइ नखाइ रस निकाले झै हर पक्षबाट सत्गुणहरू खैँचिएर इज्जत रूपी चाका बनाउँदै रसास्वादन गर्ने भाका दिनुपर्छ । सज्जन सत्पात्रले जुनसुकै काल खण्ड र विकट परिस्थितिमा पनि इज्जत कमाउनु, आफ्नो बनाउनु, बाञ्छनीय हुन्छ । लरतरो जोस, जागर, मेहनत, बिना तपस्या, बेलगानी, विना विवेक, बेसुजबुझ, विना कोशिस, इज्जतको बिउ उमार्न सकिँदैन भने शुभचिन्तक बनाएर संसार उफार्न कसरी सकिन्छ ?
०००
फूलबारी, पोखरा
Subscribe
Login
0 Comments
Oldest







































