साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाँझो रहर…

जिरा-मसला मेरो बलले अधपिल्ठो भए पनि तोरीका गेड़ाहरू बल-बेयरिङजस्तै सिलौटाभरि गुड्न थाले । अन्त्यमा भए जत्ति बल मिचेर लोहोरो चलाउँदा सिलौटो पो उत्तानो चित् ।

Nepal Telecom ad

घर गृहस्थीको काममा श्रीमतीलाई सघाउनु प्रत्येक लोग्ने मानिसको परम कर्तव्य हो भन्ने मेरो दाबी छ । श्रीमती दासी होइनन् अवश्यै । घरको काममा सामान्य रुपमा भए पनि यसो हातेपाते गरिदिँदा श्रीमती भित्र-भित्रै खुसी हुन्छिन् नै ।

एकाबिहानै उठ्ने बित्तिकै मेरो पहिलो काम हुन्छ ग्यास बालेर चियाको पानी बसाउनु, त्यसपछि हातमुख धोएर श्रीमतीको बेडको साइड टेबलमा चिया राखिदिनु । राती बाह्र बजेसम्म टिभी हेरेकीले वा च्याटिङ्मा बसेकीले श्रीमतीलाई बिहान सखारै उठ्नु गाह्रो परिरहेको स्थिति-परिस्थिति बुझ्दा-बुझ्दै पनि उनलाई झककाउनु नै पर्छ । उठाएन भने चिया चिसो हुने डर । करैले उठ्छिन् अनुहारको भूगोल नै काचाक्-कुचुक पारेर । दाँत देखाएर म मिसिक्कै हाँसदिन्छु । अङ्ग्रेजीमा भनाइ नै छ- “अलवेज वेयर अ स्माइलिङ फेस ।” बिहानको सूर्य र बिहानको मिठाइलो-हँसिलो अनुहारले जीवनको गह्रौं भार हलुङ्गो हुन्छ ।

श्रीमती बाथरुमभित्र पसेछि बाहिरबाट बाथरुमको दैलाको चुकुल लाइदिन्छु । अनि चिच्याउन थाल्छु, बन्दी…बन्दी । भित्रबाट बाथरुमको दैलो यति जोरले ढक-ढकाउँछिन् छिमेकीहरू सबै अत्तालिएर हस्याङ-फस्याङ गर्दै धेरपल्ट एकाबिहानै घरभित्र धुइरो लाग्ने गर्दथे आरम्भमा । अचेल ता छिमेकीहरू सबै थेत्तर भइसकेर होला कुनै दिन दुई लोग्नेस्वास्नीमाझ फ्री-स्टाइल भाकभाक् र भुकभुक्, पाकपाक् र पुकपुक् पऱ्यौ भने पनि कुनै दिन कुनै पनि छिमेका ढिम्कँदैनन् । अङ्ग्रेजीमा भनिन्छ- “मर्निङ सोज दे डे ।” बिहान मज्जा गरे दिनभरि मज्जै-मज्जाले बित्छ ।

यसपछि घर-धन्धामा लाग्छु । श्रीमती भने प्रेसर कुकरमा भात बसाएर नुहाउन पस्छिन् बाथरुमभित्र । बाथरुमको चुकुल लाउँदै भन्छिन्- तीन सिटी बजेपछि प्रेसर कुकर निकालेर दूध तताई दिनुहोस् ल ।

नारी जातिसित पानी र साबुनको जसरी आत्मीयता हुन्छ त्यसरीनै खबरकागतसित हामी लोग्ने मानिसको आत्मीयता हुन्छ । मोडर्न घर, सिटिङ रुम, डाइनिङ रुम, किचेन, बाथरुम र सुत्ने कोठा सबै हाराहारीमा । ग्यासमाथि प्रेसर कुकर गजधम्म। राजनैतिक खबरको टेसिला मेनुमा मक्ख परेको बेला प्रेसर कुकरले सिटी बजाएर मलाई कतिचोटि बोलाइसकिछ थाहै भएन । यतिञ्जेल श्रीमती लेडी टार्जनजस्तो रफ्तारमा किचेनमा पुगी कराएको कर्कश आवाज मेरा कानका दुलामा ठोकियो- औ मान्छे ! सर्वनाश ! सर्वनाश ! यो मान्छेबाट जीवनमा केही काम हुँदैन । श्रीमतीको मिसाइल मेरा दुवै कानमा थुरिने बित्तिक्कै एम्बुलेन्सजस्तो हाँकिएर खबरकागत फ्यात्तै फ्याँकी घटनास्थलमा पुगेँ । बिरालोले म्याउ…म्याउ…गरे जस्तै स्वरमा बोलिरहेँ- कति सिटी बजेछ हँ ? कति सिटी….?

तपाईको कान हो कि च्याउ हो । मैले त्यति याद नगरेकी भए प्रेसर कुकर पड़्केर सब स्वाहा हुन्थ्यो । तपाई कुन दुनियाँमा हुनुहुन्थ्यो ? हेर ता भात खोले भएछ ।

चुपो लागि निगुरमुण्टो लाएर एक ठाउँमा उभिरहेँ । यस्तो कहालिलाग्दो परिस्थितिमा बोल्नु नै बारुलाको गोलामा हात हालेकै बराबर हो भन्ने ठानी एक शब्द चुइँक्क पनि गरिनँ ।

अफिस जाने हतार । खान बस्यौं दुई लोग्ने-स्वास्नी । मलाई बर्फीजस्तो भात थालमाथि खनाइयो । स्वेटर बुन्ने धागाको काँटाले ठाउँ-ठाउँमा छेँड़ पारेर दाल हाल्नुपऱ्यो । त्यो पनि ता एउटा नयाँ अनुभव हो जीवनको । यो नै ता मिठाइलो जीवन हो ।

एकदिन माछा पकाएँ । डिसेक्सनमा सामान्य गल्ती भएकोले त्यो माछा करेल भएछ नारायण । टु इन वान, माछा पनि भयो करेलाको अचार पनि । पकवानमा नयाँ क्षितिज उदय भयो । साहित्यमा उत्तरआधुनिकता आएजस्तै पकवानमा उत्तरआधुनिकता ।

रोटी र पुरी (लुची ?) सबैले आजीवन गोलाकार देखेका छन् । मैले मेरो प्रतिभाले बेलेका रोटी वा पुरीमा किसिम-किसिमका, अचम्म-अचम्मका आकार-प्रकार सिर्जना गरेको हुन्छु- कोही अमिबाजस्तो, कोही एक्टोप्लाजमजस्तो ता कोही प्रोटोप्लाजमजस्तो । कोही अण्डरवेयरजस्तो ।

किचेनमा सँगै काम गरिरहेका समयमा कहिले ता श्रीमती भन्थिन्- मलाई सघाउने निहुँमा मेरो काम मात्रै किन बढ़ाउँछौ ? जीवनमा केही गर्नै नसक्ने मान्छेले दुईवटा कुरा गर्न सक्तैन, सरल रेखा कोर्न र गोलो-गोलो पुरी वा लुची बेल्न ।

श्रीमतीको कुरा सुनेर म हाँस्थेँ मनमनै । मनमनै मोडर्न आर्टबारे अर्धाङ्गिनीहरूसित कुनै ज्ञान नै नहुँदोरहेछ । आधुनिक गीत, आधुनिक कला भनेको नै फ्री स्टाइल कला हो ।

मसला पिँध्नु बसेँ एकपल्ट । लिखु भीरको ग्याच्-ग्याच्ती हिलोमा गाड़ीको चक्का स्लिप गरेजस्तो लोहोरो स्लिप हुनथाल्यो । जिरा-मसला मेरो बलले अधपिल्ठो भए पनि तोरीका गेड़ाहरू बल-बेयरिङजस्तै सिलौटाभरि गुड्न थाले । अन्त्यमा भए जत्ति बल मिचेर लोहोरो चलाउँदा सिलौटो पो उत्तानो चित् ।

त्यहाँदेखि उसो, तिमीलाई केही सघाउनुपर्छ (?) कि भनेर किचेनमा उभियो कि श्रीमती एकै श्वासमा बोली पठाउँछिन्- अहँ…अहँ…तपाईंले केही गर्नु पर्दैन । तपाईं आफ्नै काम गर्नोस् ।

श्रीमती छिन् । किचेन छ । ग्यास-प्रेसर कुकर सबै छन् । छैन, मात्रै त्यसभित्र बन्द गरिराख्ने मान्छे । श्रीमतीलाई सघाउने रहरमा बाँझो रहरको तुजुक मात्रै बुर्कुसी मारिरहेको छ पति नाउँको यो मान्छेभित्र ।

०००
सिलिगुड़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नबोल्ने वरदान

नबोल्ने वरदान

कृष्ण प्रधान
खोचे थाप्नु

खोचे थाप्नु

कृष्ण प्रधान
…छँदैछु नि !

…छँदैछु नि !

कृष्ण प्रधान
माथि…

माथि…

कृष्ण प्रधान
नयाँ फास्ट फुड

नयाँ फास्ट फुड

कृष्ण प्रधान
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x