हरिकला उप्रेतीहास्यव्यङ्ग्य शिल्पी भैरव अर्यालको स्मृतिमा
भैरव अर्याल नेपाली हास्यव्यङ्ग्य क्षेत्रको शिखर व्यक्तित्व हुनुहुन्छ । हाम्रो मार्गनिर्देशक हुनुहुन्छ । हामी उहाँकै पदचापलाई पछ्याउँदैछौँ ।
मेरो दुर्भाग्य म यो धर्तीमा अलि ढिलो आएँ । उहाँ यो धर्ती छोडेर अलि चाँडै जानुभएछ । त्यसैले हाम्रो भेट हुन पाएन । मैले भैरव अर्याललाई भौतिक रुपमा कहिल्यै देख्न, भेट्न र बोल्न पाइनँ । तैपनि उहाँको बेजोड सिर्जना शक्तिले मलाई एक तमासले तानिरह्यो ।
आजसम्म अनगिन्ती हास्यव्यङ्ग्यकारको नाम सुनियो, देखियो, भेटियो र कृति पनि पढियो । तर कुनै पनि व्यक्ति र कृतिले यति गहिरो प्रभाव पारेन । जसले आजसम्म छोड्दै नछोडी हास्यव्यङ्ग्यमै डोर्याइरहेको छ । कहिल्यै देख्दै नदेखेको, भेट्दै नभेटेको मात्र सुनेको र पढेको भैरव अर्यालमा कति ठुलो शक्ति ! उहाँको लेखनशैलीले मलाई मात्र हैन हास्यव्यङ्ग्य लेख्ने, पढ्ने र हेर्ने सबैलाई तानेको हुनुपर्छ । मलाई त तान्नु मात्र होइन, यस्तरी धकेल्यो कि हास्यव्यङ्ग्य नलेखी धरै दिएन । त्यसैले जानिनजानी हास्यव्यङ्ग्य लेख्न थालियो ।
तेह्रथुम जिल्लाको आठराई ईवामा जन्मिएर हुर्किए । सर्वप्रथम तेह्रथुम क्याम्पसमा अध्यन गर्दा आदरणीय भैरव अर्याललाई पढ्ने मौका पाएँ । उहाँलाई जति पढ्यो उति नै मनपर्यो, पढौंपढौं लाग्यो र पढ्दा मज्जा आयो । उहाँको जयभुँडी निबन्धमा वणर्न गरिएका यी चार प्रकारका हाँडीघोप्टे, घ्याम्पे, टाकनटुकन र ठन्डाराम भुँडीले भुँडीको महत्व उच्च बनायो । वेदव्यासले लेखेको अठार पुराणभन्दा भैरव अर्यालले लेखेको भुँडीपुराण अठारगुणा उत्तम भयो । जबसम्म यो धर्तीमा प्राणीहरूको बास हुन्छ, तबसम्म हास्यव्यङ्ग्यकार भैरव अर्यालको भुँडीपुराण खास हुन्छ ।
उहाँ यतैहुँदा हास्यव्यङ्ग्यका केही कृतिहरू प्रकाशित भए । जस्तैः-जयभुँडी, काउकुती, गलबन्दी, इतिश्री र दशऔतार आदि । त्यसैगरी उहाँ उतैहुँदा पनि उहाँका फुट्कर लेख रचनाका साथै उहाँको बारेमा लेखिएका विचारहरूलाई समेटेर भैरव पुरस्कार गुठी र अन्य संस्थाले महत्त्वपूणर् पुस्तकहरू प्रकाशन गरेको छ । जस्तैः- भैरव अर्यालका हास्यव्यङ्ग्य, शाश्वत व्यङ्ग्यशिल्पी, टेढो ऐना, कारिन्दाको दिनचर्या र राजीनामा आदि ।
भैरव अर्यालको नाम सुन्नासाथ तपाईंलाई लाग्न सक्छ- उहाँ त वरिष्ठ हास्यव्यङ्य निबन्धकार हो । उहाँले हास्यव्यङ्ग्य निबन्ध मात्र लेख्नुभयो होला । हो मलाई पनि ठ्याक्कै त्यस्तै लाग्थ्यो तर होइन रहेछ । उहाँले त हास्यव्यङ्ग्य निबन्ध बाहेक अन्य विधामा पनि कलम चलाउनु भएको रहेछ । उहाँका हास्यव्यङ्ग्य कविता, कथा, समीक्षा र सम्पादकीय पनि प्रशस्तै पढ्न पाइन्छ । उहाँले हास्यव्यङ्ग्य बाहेक संस्मरण, समालोचना, समसामयिक लेख, विचारप्रधान निबन्ध, बालकथा र प्रयोगात्मक रचनाहरू पनि उत्तिकै आकर्षक शैलीमा लेख्नुभएको रहेछ ।
भैरव अर्याल नेपाली हास्यव्यङ्ग्य क्षेत्रको शिखर व्यक्तित्व हुनुहुन्छ । हाम्रो मार्गनिर्देशक हुनुहुन्छ । हामी उहाँकै पदचापलाई पछ्याउँदैछौँ ।
अन्याय अत्याचारको विरुद्ध, सामाजिक विकृति र विसङ्गतिको विरुद्ध तिखो व्यङ्ग्यवाण प्रहार गर्ने अमर स्रष्टा भैरव अर्यालको पछिल्लो समय प्रतिकूल बन्दैगयो । उहाँको अन्त्य अत्यन्तै दुःखद र पीडादायी भयो । उहाँको पछिल्लो समयमा ‘शाश्वत व्यङ्ग्यशिल्पी’मा समेटिएका केही लेखहरू यसका ज्वलन्त उदाहरण हुन् । उहाँको विसर्जनपछि कोटको गोजीमा भेटिएको (भनिएका) पत्रहरू जस्तैः- गोरखापत्र संस्थानलाई लेखेको “भैरव अर्यालको राजीनामा”, “जसलाई जरुरत पर्छ”, “डायरीमा अंकित भोगाइहरू”, “भैरव अर्यालका पिताजीलाई र छोराछोरीलाई लेखेका केही पत्रहरू आदि ।
उहाँको जीवनलाई गरिबीले चिथोरेको थियो । अन्याय अत्याचार र विभेदले मानसिक विचलन ल्याएको थियो । दिनदिनै बिग्रदै गएको स्वास्थले मरणासन्न बनाएको थियो । उहाँमा उग्र असन्तुष्टि थियो । हृदयमा बिद्रोहको ज्वाला दन्किएको थियो । उहाँले कहिँ कतै कुनै सहज विकल्प देख्नुभएन र २०३३ साल असोज १९ गते स्वैच्छिक विसर्जनको बाटो रोज्नुभयो ।
“टाढाटाढा एउटा गाउँमा
बाजे-बराजु मरेकै ठाउँमा
म पनि अचानक अस्ति खसेकोछु
त्यसैले आफू आफ्नै किरिया बसेकोछु ।
ए ! नआओ कोही बोलाउन मलाई
म भित्र आफ्नै कोलाहल छ
निषेधै निषेधको कोरा बारी बसेको छु
आफ्नै वियोग-वेदनाको हलाहल छ ।”
हास्यव्यङ्ग्यका शिखर व्यक्तित्व भैरव अर्याललाई उहाँकै कविताका यिनै पङ्क्ति गुच्छ अर्पण गरी म शब्दश्रद्धा अर्पण गर्छु ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest











































