साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुइँगलमा बसेका भैरव बाजे

आफैँले आफैलाई तपाई नभनेर मपाइँ भन्ने ऐना जस्तै छर्लङ्ग देखिने पारदर्शी भैरव बाजे कहिले चन्द्र लोक पुग्छन् त कहिले अन्तर्राष्ट्रिय भ्यागुता सम्मेलन गराउन पोखरीमा पुग्छन् ।

Nepal Telecom ad

‘चिन्नु न जानु घँचेटी माग्नु’ भनेझैँ यो गोज्याङ्ग्रेलाई सबै कुरामा बाठो बन्नु पर्ने । न भैरवलाई चिनेको, न देखेको, न बोलेको, मात्र लेखेको देखेको भरमा घर नै नदेखिकन बुँइगलमा उभिएका भैरव बाजे भनेर सम्बोधन गर्नु कहाँसम्मको मपाइँत्व हो म आफैलाई थाहा छैन । भैरव बाजे आफ्नै तालमालका जालझेल बिहीन मिहीन प्रवृति र प्रकृतिका कलमले हरेक कुरा खनि खोस्री गर्ने ज्यामी थिए । यस्ता ज्यामी जो कलम समातेपछि कैयौ बहादुरलाई शब्दका त्रिशुल, भाला, चुपी, छुरी, धनुष वाणले लुरे बनाएर चुरे तलतिर कटाउन खप्पिस थिए । भनौँ यस कुरामा भैरव बाजे सधैँ बुँइगलमाथि बसेका थिए । अहिले पनि उनका तिखा, धारिला शब्दका हतियार उतिकै छुरा जस्तै लाग्ने गर्दछ । उतिबेलाको रहनसहन, पठन, पाठन, शासन पद्धति, व्यवस्थाको अव्यवस्था उस्तै उस्तै छ । जसरी तत्कालिन अवस्थामा बुँइगलमा बसेका भैरव बालाई सताएको पिरोलेको थियो ठीक त्यसै गरी अहिले हामी पिरोलिएका छौँ शासन व्यवस्था र पद्धतिबाट ।

आजको समयसम्म भैरव बाजेले यो संसारको अन्सार गर्न पाएको भए अझ कति शब्दका हतियारले चोट, खोट लाग्ने गरी प्रहार हुन्थ्यो होला सामाजिक, राजनीतिक, सांस्कृतिक, आर्थिक लगायतका क्षेत्रमा हुने दैनिकीमा । उनले हामीलाई जे जति छाडेर गए त्यो आजको अवस्थामा कम छैन । तर पनि अझ धेरै पाइन्थ्यो होला । भनौँ भैरव बाजेले हामीलाई आफ्ना सन्तान भारी बोकाएर जान्थे होलान् । उनले जे जति भारी बोकाए त्यो हाम्रा लागि भारी होइन खुराकी हो । हामीभित्र अचेतको भकारी छ र भैरव बाले दिएको दनकको रनकले हामीमा चेत भित्रिएको हो । घरको बुँइगलमा बसेर चारैतिर दृष्टि पुर्‍याएर, दुरदृष्टि हुर्‍याएर, कलम समाएर भैरव बाले टाकन टुकन कम्पनिभित्रको विचित्रको चरित्र चित्रण गरेर शब्दका क्षेप्यास्त्र प्रहार गर्दथे । उनको कलमी शिल्प ठुला बडाका लागि मुटु टुक्रिने ज्यादै नै कडा, गडा शब्दको मट्याङ्ग्रा थियो । जुन मट्याङ्ग्राले एक पटक हानेपछि त्यसको तिथि मिति नै त्यही अन्त्य हुन्थ्यो । तिथि मिति नै नरहने गरी हानेपछि सक्किगो नि खेल तमासा ।
टौवामा बसेका कौवा बाजेले पनि पत्याएका र भैरवको औकाती गुँडमा केही हुत्याएका सपनाका द्रष्टा र विपनाका अब्बल स्रष्टाले हेर्ने दृष्टि पनि प्रवल र सवल थियो । त्यो पनि सद्देलाई भद्दे र भद्देलाई सद्दे बनाउन न्वारानदेखिको बल निकालेर होस्टमो हैंसे गर्ने जो कोही हुँदैनन् । कौवा बाजेको संगतले नफुर्किकन हुर्किएका भैरव बाजेको भुँडी सानो भए पनि पाथीको ठाउँमा मुरी हास्यव्यङ्ग्य अटाएको छ । भनौँ भैरवको भुँडीभित्र हास्यव्यङ्ग्यमात्र छ अरु केही छैन । भैरवको भुँडी अर्काको भाग लँुड्याएर खाने भुँडी होइन । भैरव बाजे बुँइगलमा र कौवा बाजे टौवामा बसेर हामीलाई आन्द्राभुँडी बटार्ने गरी हास्यव्यङ्ग्यको गुणकारी भकारी भरिको कोसेली छाडेर गए ।

भैरव बाजेको काउकुतीले कुतकुती लागेर कौवा बाजेले कौवा प्रकाशन नै खोले । भैरवबाजेलाई कौवाभित्र गर्भमा राखेर हास्यव्यङ्ग्यका क्षेत्रमा युगौँ युगका लागि जन्माए । टौवामा बस्ने र बुँइगलमा बस्ने दुबैले हास्यव्यङ्ग्यका क्षेत्रमा जादुगरले झैँ राजनीतिज्ञ, लेखक, साहित्यकार, पत्रकार, अलपत्रकार, हातमा लौरो लिएका, नलिएका, कलम समातेका, नसमातेका लगायतका सबैलाई तमासा देखाएर गए ।

नेपालको राष्ट्रिय बोली भोलिका बारेमा भैरवले आफ्नो सानो भुँडी हुँदा पनि जयभुँडी भन्दै ठूलो भुँडी हुनेको भुँडीमा ट्याम्को बजाए । थरिथरीका भुँडीका बारेमा इतिहास, पुराण सबै जे देखे त्यही लेखे । भैरव बाजेको ब्रह्मले अर्काको भुँडीभित्र जे देखे त्यही लेखे । उनको आफ्नो भुँडीमा केही थिएन त्यसैले आफ्नो भुँडीका बारेमा केही लेखेनन् । सायद अर्काको ठूलो भुँडीदेखि नसहेका कारण नै होला उनको भुँडी ढाँडसँगै टाँसिएर भित्र भासिएको थियो होला जस्तो लाग्छ ।

हास्यव्यङ्ग्यलाई नुन, खोर्सानी, तेल, बेसार, मसला हालेर चखिलो बनाउने काममात्र गरेनन् भैरव बाजेले बनाएर अरुलाई चखाउने काम पनि गरे । जसका कारण आज नेपालमा हास्यव्यङ्ग्य लेखनको अवस्था पिढीबाट सिढीमाथि उक्लिरहेको छ । उनको यो देनलाई हामीले कहिल्यै बिर्सन हुँदैन । यतिबेला हामी बाङ्गो लेख्न रुचाउनेहरू भैरवकै पाइलालाई पच्छ्याएर घिस्रिरहेका छौँ । भैरव बाजेले देखाएको, खनेको बाटोमा इँटा थप्दै हिडिरहेका छौँ हामी यतिबेला । भनौँ हामी बाङ्गो लेख्न रुचाउनेहरू भैरव शिल्पीको भरिया बनेर हास्यव्यङ्ग्य क्षेत्रलाई बुइँगल र टौवाबाट धरहराभन्दा अझ माथि पुर्‍याउन आफू सुरिदै अरुलाई पनि सुर्‍याइरहेका छौँ ।

हास्यव्यङ्ग्यका माध्यमबाट तालुमा आलु फलाउने भैरव बाजे गलबन्दीले गलगाँड छोपेर सभा सम्मेलनमा हिरो बन्ने ऊ बेलाका पठ्ठो हुन् । आफैँले आफैलाई तपाई नभनेर मपाइँ भन्ने ऐना जस्तै छर्लङ्ग देखिने पारदर्शी भैरव बाजे कहिले चन्द्र लोक पुग्छन् त कहिले अन्तर्राष्ट्रिय भ्यागुता सम्मेलन गराउन पोखरीमा पुग्छन् । कहिले हाँसोेको जात थर खोज्दै धेरै जातजाती, उमेर वयमा भौँतारिएर मडारिए । आफू आदिकवि बन्न नसके पनि अन्ते कवि बन्ने ध्येयले नयाँ भाषा र नयाँ कवितामा रमाउँदै भाषा बिगार्नेहरू प्रति झापट हान्न पुग्ने भैरव बाजे आफूले वास्तै नगरेको टी पार्टीमा पुगेर नातागोतासँग कमिसनको कुरा गर्छन ।

आफ्नो छँदा खाँदाको राम्रो नाम बिगारेर पुच्छ्रे नाम राख्ने, शिरमा कल्की नाम थोपर्ने, राम्रो नाम बिगारेर बोलाउँदै नाम फेरिदिने परम्पराले हामीले हाम्रो नाम नै परिवर्तन गर्नु पर्ने अवस्था आएकोमा मन कुड्याउने भैरव बाजे जोइपोइ बसेर नै नाम फेर्न अघि सर्छन । लवस्तरोलाई ओखती गर्न अघि सरेर लवस्तरालाई शब्दले प्रहार गर्दै झाँको झार्ने काममा राँको बाल्न पछि नहट्ने भैरव बाजेले अमेरिकी नीति दोहारो चरित्रले अघि बढेकोमा असन्तुष्टि जाहेर गरेका छन् । विश्वका बलियाले जे गरे पनि हुने दुब्लाले भने बोल्न नपाउने नीति प्रति तिखो सियोले मुटुमा प्वाल पर्ने गरी लेखेका छन् ।

आमाको गर्भमा रहँदै पद पाउने र माया प्रेममा डुबुल्की मार्ने कुनै जमाना थियो । त्यो जमानामा आफू सानै रहेको तर लभका कुरा भने अरुको देखासिकीबाट गर्दा आफूलाई कसैले नपत्याउँदा भैरव बाजेलाई ग्लानी भएको थियो । अर्कोतिर नारद मुनिलाई स्पुतनिक विमानमा नेपाल भित्र्याउने भैरव बाजेले विदेशी पाहुनालाई भन्दा बढी नारदजीलाई महत्व दिएर तत्कालिन नेपालको परराष्ट्र नीतिको धज्जी उडाएका छन् । कन्या खोज्न निस्केका भैरव बाजे कन्यातिरबाट सबै कुरो मिलेको दाम काम लिने दिने मिले पनि जात नमिल्दा काँठे केटी खोज्न काँठतिर घस्किनु परेको कुरा लाजै नमानी सुनाउछन् ।

यो विश्व असम्भव कुरोतिर बढी ध्यान थालेको र बलिया शक्तिशाली देशहरूले चन्द्रलोकको स्वामित्व आफूमा हुनुपर्ने दावी गरिरहँदा भैरव बाजेले चन्द्रलोक कसको भन्ने लेखमा अमेरिकाको हैकम र दावीप्रति आफ्नो हास्यरसले भरिपूणर् व्यङ्ग्य मार्फत त्यसको चिरफार गर्दै विरोध गरेका छन् । आफू चाउरिएर चिउरा चपाउन नसक्ने दाउरे हुँदा सपनामा बनेको लाहुरेको यात्रा संस्मरण लेख्न अघि सर्ने भैरव बाजेले यात्रा गर्ने सडक बाटो नै इन्जिनियरले नक्सा नै बाङ्गो टिङ्गो बनाएका कारण यात्रा गर्न सहजता नभएकोमा पिर चिन्ता मानेका रहेछन् ।

राजनीति जान्दै नजाने र नबुझ्नेले नेता बनेपछि गर्न हुने नहुने सबै गर्छ । तत्कालिन नेपालको राजनीतिका बारेमा भैरव बाजेले लेखेको नेता नम्बर एकसय एक शीर्षकको लेखमा नेताले निम्त्याएको विकृति विङ्गतिका बारेमा उछितो काढेर लेखेका छन् । जुन आजको सन्दर्भमा पनि मेल खान्छ । भनौँ भैरव बाजेले तत्कालिन अवस्थामा लेखेका हास्यव्यङ्ग्य आज पनि उतिकै सान्दर्भिक भएको छ । ऋषिमुनि जस्ता महापुरुषको संगत गर्न उमेर ढल्कदै गरेका पनि पल्केका र हिजो जोरजुलुमी काण्डमा लागेका आज सन्त महन्त भएर धन कमाउनमै मस्तीले रमाएका छन् । मुखमा रामराम बगलीमा छुरा बोक्नेहरू महापुरुषको संज्ञा पाएर मात्तिन थालेको र तिनीहरूले धर्मका नाममा कुकर्म गरिरहेको सत्य तथ्यलाई आफ्नो शिल्पमा नुन, खोर्सानी, मसला मोलेर मीठो बास्ना युक्त हास्यव्यङ्ग्य चखाएका छन् पाठकहरूलाई ।

यतिमात्र होइन भैरव बाजेले मान शरीर निर्माणमा ब्रह्माजीले जम्मा गरेका, प्रयोग गरेका सरसामानका बारेमा ब्रह्माजीको प्रयोगशालाबाट नियालेर हामीलाई खुराक उपलब्ध गराएका छन् । यसरी नै भैरव बाजेले सम्पादकलाई आश्वासन दिएर लेख उपलब्ध नगराउने तर भेट हुँदा सधैँ पख्नोस् पख्नोस् मात्र भनेर पर्खाउने, आफूले भनेका, बोलेका, कुरा कहिल्यै पुरा गर्न नसक्ने तर गफचाहिँ ठुला गर्ने प्रवृतिप्रति नमिठो तवरले व्यङ्ग्य गरेका छन् । अर्कोतिर पशु अधिकारका बारेमा बाजेले सबैको साझे धारणा अघि सारेका छन् भने एकातिर भानुभक्त बाजेको अमरावती कान्तिपुरी नगरीका अस्तव्यस्तताका बारेमा आफूले भोगेको कुरा वणर्न गर्छन् ।

भैरव शिल्पीको भरिया बनेको यो गोज्याङ्ग्रेले देखेन भैरवलाई । तर भैरवका केही सन्तानसँग भने अँगालो मारेर चुम्वन खाँदै बसेेको छ । भैरवकै पाइला पच्छ्याउँदै यात्रा गरिरहेको छ । कठिन यात्रामा होमिएको गोज्याङ्ग्रे भैरव बाजेका बारेमा जति लेखे पनि थोरै हुन्छ । भैरव स्मृति दिवस सफलिभूत पार्नका लागि कनिकुथी ‘नजाने गाउँको बाटो’ मा हिड्दै गर्दा ‘चिन्नु न जान्नु घँचेटी माग्नु’ भन्ने उखानलाई चरितार्थ पार्न यो गोज्याङ्ग्रे धेरै बाठो भएर तम्सिएको छ । स्वर्गमा रहेका भैरव बाजेको दुरदृष्टिले स्वर्गकै बुँइगलबाट आशिर्वाद दिइरहनु हुनेछ भन्ने आशाका साथ हाम्रा हास्यव्यङ्ग्यका बाजे गुरुप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दछु ।

०००
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
नेपाल कछुवा दल

नेपाल कछुवा दल

माधव पोखरेल गोज्याङ्ग्रे
जालझेल

जालझेल

माधव पोखरेल गोज्याङ्ग्रे
व्यशासन भित्रको कुशासन

व्यशासन भित्रको कुशासन

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x