सञ्जय साह मित्रकलाकारको परिचय
“म कलाकार हुँ । मेरो भूमिकालाई लिएर सामाजिक सञ्जालमा केही आउँछन् वा म कुनै डायलगको तयारी गरेको हुन्छु भने मेरो कुरालाई कृपया तपाईँ नपत्यादिनुहोस्” सहज भावमा उनले भने ।

उनले नभनेको भए मैले चिन्ने थिइनँ ।
कसैले नभनेसम्म मेरो गिद्दीमा कुनै बुद्धि छिर्दैन । मलाई बुझाउन बोलेर अझ दिल खोलेर भन्नुपर्छ । कुरो चपाएको वा बोल्दाबोल्दै पचाएको म बुझ्दिनँ । म बुझ्दिनँ भनेपछि मेरो के लाग्छ । तपाईँको केही लाग्छ ?
अस्ति एक जनाले भोजको निम्तो दिए । भोज भनेपछि हुरुक्कै हुने म । बिहानदेखि केही पनि नखाएर घरमा अलिक बचत गरी उनीकहाँ अलिक बढी खाउँला भनेर पुगें । ढोकामा थिए भोटे ताल्चा र भुस्याहा कुकुर । भोकमा झोंक बढी चल्छ । यस्तो झोंक मलाई कहिल्यै चलेको थिएन तर बिरालोले झैँ खाँबो चिथोर्न पनि पाइनँ ।
गएको बुधवार त हो नि । जन्मोत्सवको फोटो पोस्ट गरे । मैले बधाई दिएँ । फोन गरेर पनि शुभकामना दिएँ । फोन गरेकोमा निकै खुसी व्यक्त गरे ।
भोलिपल्ट उनलाई ट्याग गरेर घनिष्ट मित्रले फेसबुकमा श्रद्धाञ्जलि लेखे । श्रद्धाञ्जलिको ओइरो लाग्यो । मैले केही लेख्नुअघि फोन गरें । लगातार गरिरहें । उठ्दैउठेन । मैले पनि निक्कै भावुक भएर लामो श्रद्धाञ्जलि पोस्ट गरेँ । उनको स्मृतिमा एउटा लामो लेख लेख्ने विचार गरेँ तर लेख्ने हिम्मत अझै भएको थिएन ।
आज बिहान टुप्लुक्क मेरो घर आइपुगे उनी । दुई दिन पहिले मरेको मान्छे कसरी कहाँबाट आएको ? विस्मित र अचम्मित हुँदै आश्चर्यले अश्रुपुरित आँखासहित प्रश्न गरेँ ।
“म कलाकार हुँ । मेरो भूमिकालाई लिएर सामाजिक सञ्जालमा केही आउँछन् वा म कुनै डायलगको तयारी गरेको हुन्छु भने मेरो कुरालाई कृपया तपाईँ नपत्यादिनुहोस्” सहज भावमा उनले भने ।
०००
रौतहट
Subscribe
Login
0 Comments
Oldest






































