कमल भैरवेलीआलु, मायालु र दयालु
उहिलेका जनकले खेत जोत्दा सीताजीलाइ फेला पारेथे रे ! तर अहिलेका सातै प्रदेशका असङ्ख्य राजाहरूले हलो लिएर खेतमा गए भने केही बोरा आलु भेटिने कुरामा दुई मत छैन ।

मलाई आलु, मायालु र दयालु उस्तै उस्तै लाग्छ । आलु जसरी खाए पनि हुने । मायालु र दयालुले जे भने पनि राम्रै लाग्ने । यिनीहरूको कुरा सुनिरहुँ जस्तो लाग्ने । मायालुले कानमा सुटुक्क केही भन्दा जुन काउकुती लाग्छ, दयालुले दयायुक्त नयनले हेरे मात्रै पनि ठूलो ढाडस पाइन्छ । आलु जेमा पनि जम्ने । जसरी पनि खान मिल्ने । कुनै लबस्तरो अल्छी विद्यार्थीलाई तिमी त फेल भएचौ नि भन्दा मन अमिलो बनाउँछ तर जाँचमा आलु खाएचौ नि भन्दा फिस्स हाँस्छ र हल्का लाज मानेजस्तो मात्र गर्छ । अरु आपत्ती प्रकट गर्दैन । बरु आलु पकौडा वा आलु चिप्स सम्झेर मुख मिठ्याउँछ । त्यसैले आलु सान्त्वनाको प्रतीक पनि हो फेल हुनेको लागि ।
हड्डी सहितको मासु खाँदा कैयौंको दाँत भाँचियो, कतिको घाँटीमा अड्किएर इहलिला समाप्त भयो यहाँ । तर आलु खाँदा दाँत भाँचिएको मैले सुनेको छैन, त्यसरी आलु अड्किएर प्राणपखेरु उडेको थाहा छैन । विद्यार्थी जीवनमा एक पटक पनि आलु नखाने मान्छे प्राय ठालु हुन्छन् । गजक्क फुल्छ्न् । मान्छेलाई मान्छे गन्दैनन् । तर आलु खानेको महिमा गज्जबको छ । परीक्षामा आलु खानेहरू पछि गएर मायालु हुन्छ्न् र मायालु भएकैले प्रगति गर्छन् आफ्नो क्षेत्रमा । अरुप्रति पनि दयालु हुन्छन् । यिनीहरूमा शिष्टता र बिनयशीलता प्रशस्त हुन्छ । त्यसैले जाँचमा आलु खानेहरूलाई बधाई भन्न चाहन्छु । आलु खाएर पनि जीवन र जगतप्रति सकारात्मक हुनेलाई यस्तै आलुवादी अग्रगामी चिन्तन र सोच नित्य निरन्तर कायम रहोस् भन्न चाहन्छु ।
एकजना गोर्खामा जन्मेका म जस्तै नाकचुच्चे दाइ पढाइमा सधै अब्बल, सधै फस्ट हुन्थे रे । पछि गएर उनी इन्जिनियर हुँदै पि.एच.डी .पनि गरेर सुइ पनि लगाउन नजान्ने डा. बने रे । अनि काकताली परेर देशै हाँक्ने ओहदामा पनि पुगे रे । तर तिनै अब्बल विद्यार्थी आफ्नो क्षेत्रमा ५२ घुस्सा ५३ ठक्कर खाएपछि फेरि पुरानो दौतरीसङ्ग कुम जोड्ने तार्किक निष्कर्षमा पुग्या छन् रे ! यस्तो हुन्छ आलुसँग तर्सनेहरूको कथा । त्यसैले जय आलु भन्न चाहन्छु र आलुवादलाई जीवन दर्शन बनाउने समस्त मायालु र दयालुहरूलाई कोटीकोटी नमन प्रकट गर्न चाहन्छु ।
आलुको चर्चा गर्दै जाने हो भने बडो गतिलो ग्रन्थ बन्छ जस्तो लाग्छ । सायद रामायण भन्दा पनि अझ वजनदार । उहिलेका जनकले खेत जोत्दा सीताजीलाइ फेला पारेथे रे ! तर अहिलेका सातै प्रदेशका असङ्ख्य राजाहरूले हलो लिएर खेतमा गए भने केही बोरा आलु भेटिने कुरामा दुई मत छैन । त्यसरी प्राप्त गरेको आलु भारतीय लालुलाई उपहार दिएमा केही वर्ष अझ सत्तामा टिकिरहन मद्धत पुग्नेछ । त्यसरी सत्तामा टिकेपछि मायालुको पनि मन पग्लन्छ अनि उनमा दयालु भावना पलाउन थाल्छ र जीवन सुखले चल्छ । अस्तु ।
०००
२०७९/६/१२
भैरहवा
Subscribe
Login
0 Comments
Oldest







































