साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘नो गिफ्ट’ : ‘नो खादा’

अब उसो कुनै पनि पुस्तक लोकार्पण समारोहमा निम्ताको निम्ति दिइने निम्तो पत्रमा ‘नो गिफ्ट’ लेखिनु (छापिनु)पर्छ भन्ने मेरो सविनय प्रस्ताव छ ।

Nepal Telecom ad

अरुको कुरा म जान्दिनँ । म आफ्नै कुरा गरेर मलाई चित्त नपरेको कुरा यहाँ राख्ने धृष्टता गरेँ । म मेरो निजी बिहेको कुरा गर्ने तरखरमा छु । मेरो बिहे धुमधामले सम्पन्न भयो । पाँचसयभन्दा धेर निम्तारुहरू थिए । बिहेको इण्टिभेटसन कार्ड पनि निकै महङ्गो दामको छापिएको थियो । कार्ड हेर्दै गतिलो गिफ्ट लानुपर्छ भने च्यूँच्यूँ भएर होला बिहेको दिन आशीर्वाद स्वरुप बड़े-बड़े साइजका गिफ्टहरू देख्दा म नभए पनि मेरा बुवा गजक्क भएका मैले सुटुक्कै देखिहालेँ । हाम्रो बिहेको पालोमा कार्ड छापिन्थ्यो यसरी-

“मेरा फलानु सुपुत्र फलानुको फलाऩु ठाउँ निवासी फलानुको शुभविवाह आउँदो फलानु तारिकको दिन निजी निवासमा सम्पन्न हुनेछ । यसकारण तपाईहरू सवान्धव शुभ विवाहोत्सवमा पाउकष्ट गरी नव वरवधुलाई आशीर्वाद प्रदान गरिदिनुहुने सादर अनुनय गर्दछौं ।
दर्शनाभिलाषी
फलानु…
फलानु…
फलानु…..।”
उबेलाको निम्तो पत्रमा वरवधुलाई आशीर्वाद गर्ने अनुरोध मात्र गरिएको हुन्थ्यो ।

मेरो बिहेमा गिफ्ट झण्डै दुइ गाड़ी भरिएको थियो । भोलिपल्ट गिफ्ट खोल्ने काम भयो । गिफ्ट खोल्न सबैभन्दा पहिले बेहुली तम्सिएपछि घरका सबै गिद्ध झैं गरी एकेकवटा प्याकिङ गरेको गिफ्ट कोतर्न थाले । एकजनाको गिफ्ट नखोलिँदा कैँची मागे । बुवा एम्बुलेन्सजस्तो झटारिएर कैंची खोज्न गए । हाम्रो घरमा राखिने सामानहरूको ठेगान भए पो । कैंची नपाउँदा आमा चिच्याइन्. हन कैंची लिनु गाको मान्छे खरसाङ पुगे कि क्या हो ?

उता कोठाबाट बुवाको स्वर कोठाभरि रुमलियो- खै कहाँ छ कैची ? यो घरमा कुनै चिज ठेगानमा हुँदैन अन्त ।
एउटा मोटो ठूलो गतिलो गिफ्ट लुछ्दै बहिनी चिच्याइन्- बुवा टाँड़्मुनिको बाकसमा हेर्नु ता… मैले अस्ती त्यही देखेको थिएँ ।

एकक्षण पछि बुवा जीउभरि माकुरोको जालो बेह्रेर एटा बोधो खुकुरी लिएरआई बोले, पाइऩँ है तिमारको कैंची । आमालाई बोधो खुकुरी दिँदै भने, ना… यो खुकुरीले गिप्ट खोल ।
पाजु उल्लाह थिए, बोधो खुकुरी समात्दै उनले गीत गाउन थाले-
भालू मार्नु गुलेलीले
माछा मार्नु बन्दुकैले
गिफ्ट खोल्नु बोधो खुकुरीले…..
सबै गलल हाँसे । बुवा आफ्नै धुनमा गिफ्ट कोतरिरहेका थिए । अन्त्यमा सबै गिफ्ट खोलियो । ठूलो पाजु आएर गर्जे, तिमीहरू मान्छे ता राक्षसै हो ।
सबैको प्रश्न- किन…किन राक्षस ? गिफ्ट खोल्दा पनि राक्षस् ?
ठुलो पाजु फेरि गर्जे- तिमीहरूले गिफ्ट ता खोल्यौ… ठिकै छ…तर कुन गिफ्ट कसले दिएको भन्ने थाहा हुन्छ ? उनीहरूको घरमा बिहेबटुल हुँदा पनि त्यो गिफ्ट भन्दा ठूलो गिफ्ट दिनुपर्दैन ?
सबै अत्तालिएर गिफ्ट बेह्रेको कागत खोज्न थाले ।

बुवा बोले, ए त्यो प्याकिङ कागज मैले अघि नै लगेर बाहिर माचिस बाल्दिएँ । अहिले ता खरानी भइसक्यो होला ।
बेहुली हतार हतार प्याकिङ् कागज ल्याउन बाहिर निस्की ।

जे होस्, गिफ्ट खोलिए । सानु खालके प्रेशर कुकुर पन्धवटा, ठूलो खाले पच्चीसवटा, डिनर सेट पचासवटा, टी सेट साठी जति, बेड कभर तीन थाक । एउटै सामानको राश । ती सबै डबल-डबल सामानलाई हरेक मालको रुपमा बिक्री गरियो भने पनि उब्रिने खालका गिफ्टहरू । भन्नु उसो होइन चार-पाँवटा प्रेशर कुकुर अहिलेसम्म पनि कुन कुनामा थन्केर बसिरहेका छन् ।

समय परिवर्तन भयो । सायद गिफ्टको नाममा यस्तै सामानहरू भक्कु हुन्छन् र त्यो पछि कुनै काममा नलाग्ने हुनाले अचेल बिहेको निम्तो पत्रमा सोझै लेखिएको हुन्छ- ‘नो गिफ्ट’ लण्ठैसाफ । नो गिफ्ट हो भने के ता इण्डाइरेक्टली क्यास दिनु भनिएको हो । य़सैकारण हिजोआज बिहेतिर गिफ्ट नलगेर निम्तारुहरूले खाममा नगदी राशी हालेर बिहे घरमा राखिएको बक्सामा हालिदिन्छन् । यो खामभित्रको राशीले वरवधुले आशीर्वाद पाउलान् नपाउऩलान् तर घरकाहरूलाई आर्थिक रुपमा सहयोगको वरदान अवश्यै पनि प्राप्त हुन्छ । साँप पनि मर्ने, लट्ठी पनि नभाँच्ने ।

अब प्रश्न के छ भने, लोकार्पण समारोहमा हामी सर्जकलाई खादाले वरण गर्छौं अनि़ अरु घुइँचोको वास्तै नगरी फोटो खिँच्न लाउँछौं । फेसबुकमा अपलोड गर्न नसकिए कृतिकारसित उभिएको प्रमाण नै के ? कृतिकार खादाले पुरिन्छन् । उनका आफन्त वा सहयोगीहरू कृतिकारको घिच्रामा थुप्रिएका खादा निकाल्दै आरम्भमा पट्याउँदै राख्छन् । खादाको सहनै नसकिने बाढ़ आएपछि उनले खादा पट्याउन छोड़ी झोलामा खाद्खुद् पार्छन् । कृतिकारको घरमा खादा पुग्छ । तर कति आदरपूर्वक, स्नेहपूर्व, शुभकामनापूर्वक प्रदान गरिएका खादाहरू कुनामा गुन्द्रुकजस्तो खाँदिएर बसेका हुन्छन् । अरु कुनै कार्यक्रममा जाँदा त्यही खादा निकालेर कृतिकार बन्धुको घिच्रामा लपेटी उनलाई शुभकामना व्यक्त गरिटोपल्छौं । जडौरी खादा ल्याएर कृतिकारलाई अभिनन्दन चढ़ाउने ढाँट साहित्यकारहको सूचीमा मेरो नाउँ राख्दा पनि हुन्छ । म पनि के कम्ति र ! म पनि आखिर उही ग्वालाकै गाई हुँ ।

हामीले साआईडी वा ईबी लाएर प्रत्येक साहित्यकारको घरमा छापा माऱ्यौं भने, कुनै एकजना साहित्यकार नहोलान् जसको घरको चेप-चेपमा अभिनन्दनस्वरुप पाएका खादाहरू गुन्द्रुकजस्तो खाँदिएर बसेको नहोस् । कति साहित्यकारले ता कार्यक्रम थलोमै खादा फ्याँकिवरी गएका मैले साक्षात देखेको छु ।

अब खास कुरामा आउँ क्यारे ! सबैले जानेकै हो, देखेको हो । बिहेको निम्तो पत्रमा ‘नो गिफ्ट’ लेखिएको । गिफ्टको थुप्रोभन्दा गिफ्टको साटोमा आर्थिक सहयोग पुग्छ नै । यो राम्रो प्रथा हो । यसलाई म मेरो आन्तरिक हृदयबाट स्वागतका साथ समर्थन गर्दछु । जसरी हिजोआज बिहेबटुलमा नो गिफ्ट लेखेर निम्त्याएर वरवधुलाई आशीर्वाद प्रदान गर्ने अनुरोध गरिएको हुन्छ । त्यस्तै प्रकारले अब उसो कुनै पनि पुस्तक लोकार्पण समारोहमा निम्ताको निम्ति दिइने निम्तो पत्रमा ‘नो गिफ्ट’ लेखिनु (छापिनु)पर्छ भन्ने मेरो सविनय प्रस्ताव छ । ‘नो गिफ्ट’ लेखिएपछि कृतिकार सामु गएर कसरी शुभकामना दिने ? केही गर्नुपर्दैन… खादाको ठाउँमा खामभित्र आफूले सक्दो रकम प्रदान गरेर शुभकामना दिनुहोस् …अनि फेसबुकमा आउने खालको फोटो खिँच्नुहोस् । कृतिकारको हातमा थुप्रिएका खामभित्रका असलीले खादाले लोकार्पणको खर्च पानीमा केही थैथाप होस् ।

अब प्रश्न उठ्न सक्ला, ठिकै छ अब हामी खादा लाउनेछैनौं कृतिकारलाई… तर बाहिर ढोकाकै छेउमा वा काखैमा बेच्न ल्याएका किताब पनि किनिदिनु अनि कृतिकारलाई खाम पनि दिनु ? कुरा बेठिक होइन । खाम दिनेले किताब नकिनिदिँदा भएन र ! किताब किन्नेले कृतिकारलाई माथि मञ्चमा खाम किन दिनु ?

जे होस्, मेरो पुस्तकको लोकार्पणमा आउँदा कृपया खादाको सट्टा खाम नै लिएर आउनुहोला भनी अग्रिम सूचित गरेँ ।
जय लोकार्पण !
जय खाम !
जय ‘नो खादा’ ।

०००
सिलिगुड़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x