पाइखाना भित्रको उपचारखाना
आरामीलाई बिरामी हुन इच्छा भएमा उपचारखाना र दवाइखाना जान हल्ला नगरीकन सल्लाह दिदै सुगन्धे पाइखानाको थोरै कथाको भारी यही बिसाउँछु ।
हामी आरामी मान्छे विरामी बन्नु छ भने उपचारखाना गए हुन्छ । घरमा सौन्दर्यतामा रमाए पनि कहिले काँही फोहरतामा रमाउन पुग्नु पर्दो रहेछ । आराम शरीरलाई बिराम बनाउनु पर्दा वा कसैलाई शरीरमा आराम हुँदाहुँदै बिराम बन्न रहर लाग्छ भने उपचारखाना पुग्दा हुन्छ अन्यत्र जानु पर्दैन । उपचारखानाको पाइखाना त अझ हामी बिराम हुने मुल ठाउँ हो । उपचारखानाका प्रत्येक कोठा चोटा सुगन्धले दुर्गन्धित भएको हुन्छ । त्यहाँको वातावरणले नै कतिपय आरामीहरू बिरामी हुन्छन् भने बिरामीहरू आरामी बन्नुको साटो अझ बढी बिरामी भएका हुन्छन् । त्यसैले उपचारखानामा मन नलागि नलागि सुत्छन् । भनौँ आरामी मान्छेमा कुनै विकार वा उसको शरीरभित्रका इन्द्रियहरू स्वस्थ्य र तन्दुरुष्त छन् भने पनि उपचारखानाका विज्ञले कुदृष्टि लगाएपछि मान्छे बिराम हुन्छ । भनौँ नभएको रोग देखाएर व्यवशाय बढाउनकालागि नक्कली बिरामी बनाइदिन्छ ।
अरुभन्दा पनि उपचारखानाको पाइखानाले आरामीलाई बिरामी बनाउन औषधीको काम गरिरहेको हुन्छ । बिरामीलाई आरामी बनाउने ठाउँको यो सुगन्धित र सौन्दर्य परक वातावरणले हाम्रो नाकको प्वाल नै ट्वाल्ल पर्छ । नाकको प्वालले त्यो सुगन्ध न भित्र तान्न सक्छ न बाहिर मिल्काउन सक्छ त्यसैले ट्वाल्ल परेर तमासा हेर्छ । साँच्चै भन्नु पर्दा मलाई के लाग्छ भने उपचारखानाको नाक नै छैन । यदि उपचारखानाको नाक भएको भए निकै धाक लाएर दुर्गन्धको वयान गर्नमा समय खर्चिन्थ्यो होला । नाक नभएकोले नै उसले सुगन्ध थाहा पाउँदैन । अर्को कुरा उसको नाक हुने हो भने धाक पनि लाउन सक्दैन र सुगन्ध पनि आउँदेनथ्यो होला ।
उपचारखाना भनेको भए नभएका रोग सल्बलाउने र म्याराथुन गर्ने ठाउँ रहेछ जस्तो लागेको छ मलाई । जस्तो पाइखाना छ त्यस्तै उपचारखाना भएपछि आरामी मान्छे बिरामी हुनु पुरानै कुरा हो । यो कुरा पत्याउनु हुन्न भने उपचारखानाका कन्सुत्ले विज्ञ वा गलामा पुच्छरको भारी बोकेका सेतोकोट धारी धुन्धुकारीलाई सोध्नोस् त ! हामीलाई पाइखाना नआउँदा पनि उपचारखाना पुग्नु पर्छ धेरै पाइखाना आउँदा पनि त्यहीं पुग्नु पर्छ । हाम्रो शरीरबाट सधैँ निस्कने पाइखानाले उपचारखानामै उपचार पाउन नसक्नु भनेको उपचारखाना नै बिरामी बन्नु हो भन्दा फरक पर्दैन । नेपालका बिरामी उपचारखानाले आरामीलाई बिरामी बनाएर उपचार गर्न जानेको छ । कतिपयले त बिरामीलाई आरामी बनाउन दवाइखानामा पठाएर रोग घटाएर पठाउनुको साटो थप विराम उब्जाएर पठाउँछन् । यो कुरा उपचारखानामा र दवाइखानामा सबैले भोगेको, देखेको, सुनेको कुरा हो । अझ भनौँ भने उपचारखानाले कतिपयलाई स्वर्गमा जान रमाना दिएको छ ।
पाइखाना सबैको घरमा हुन्छ । तर उपचारखानाको जस्तो सुगन्धित हुँदैन । उपचारखानामा पाइखानाको मगमग वास्नाले वरपरको ठाउँ वातावरण नै ओगटेको हुन्छ । हेर्दा सेतो कोटको विग्विगी व्यहोर्दा र भोग्दा वाक्वाकी आउँछ । घरघरको पाइखानामा सुगन्ध आउँदैन, दुर्गन्धमात्र आउँछ । आरामीलाई बिरामी बनाएर स्वर्गमा जान रमाना दिने ठाउँ भनेकै उपचारखाना रहेछ जस्तो लागेको छ मलाई । भरसक यो ठाउँको बयान लाखौ जिब्रा भएका अबशेष नागले पनि गर्न नसकुन । बयान गरेमा भोलि अर्को बितण्डा हुन सक्छ । त्यहाँ बोलीको मात्र होइन बन्दुकको गोली पनि चल्न सक्छ । आरामीलाई बिरामी बनाए पनि कुरा खोली गर्नु हुँदैन । उपचारखानामा नभरिएको झोली दवाइखानामा भरिने भएकोले भोलिका दिनमा शब्दका गोली मात्र होइन आकासे गोली समेत वर्षन सक्छ । त्यसैले उपचारखानाको पाइखानाका बारेमा धेरै लेख्दा पनि थोरै हुन्छ । उपचारखानाभित्र बिरामीले आरामी हुनभन्दा बिरामी हुन जाने भएकोले धेरै औषधी विनाको सुझाव दिनु नै मेरो गल्ती ठहरिने भएकोले म गोज्याङ्ग्रेले धेरै बोल्नु र लेख्नु उचित हुँदैन ।
उपचारखानाको उपचार र पाइखानाको उपचार सीतारामभरोसे छ । अर्कैको भरोसामा उपचारखाना र पाइखाना भएपछि केको फिक्री । पाइखाना नहुँदा पनि नहुने हुँदा पनि पाइखानाकै उपचारमा उपचारखानाका विज्ञहरू बिरानो हुन्छन् । न बिरामीको उपचार हुन्छ न कुरुवा आरामीहरू स्वस्थ्य रूपमै घर फर्कन पाउँछन् । उपचारखानाभित्र बाहिर अर्को तर्फ दवाइखाना पनि हुन्छन् । तिनीहरू बिरामी र आरामी दुबैथरिलाई थप बिरामी बनाउनेतिर उद्यत् हुन्छन् । उपचारखाना र पाइखाना एकै कोटीको भएपछि त्यहाँ अरु के नै चाहिन्छ र ? बरु घरको पाइखानामा दुर्गन्ध पाइन्छ तर उपचारखानामा सुगन्ध पाइन्छ । आधुनिक जमानाको उपचारखाना भएर होला सायद यस्तो सुगन्धित बनाइएको ।
उपचारखानाको त कुरा गरियो तर राजधानीको सडकको कुरा गर्ने हो भने बेली, चमेलीको अत्तरको बास्ना आउँछ । प्रशासनखानाभित्र झन हरेक प्रकारको सुगन्ध छ । उता बानेश्वरको राजनीतिक बास्नाले देशलाई नै सास्तीमा लगेको छ । नेपाली जनताले कति प्रकारको बास्ना सुँघेर आनन्द लिने अब ! उपचारखानाको बास्ना लिने कि, राजधानीको सडकको बास्ना लिने, प्रशासनखानाको बास्ना लिने कि वा राजनीतिक खानाको बास्ना लिने ? यी सबैतिरको खानाको बास्नाले नेपालीको नाक नै बन्द हुने अवस्था आएको छ । यी खानाहरूमा रहेको पाइखानाको बास्ना अझ कडा हुन्छ । अझ भन्ने हो भने नेपालको राजनीतिखाना र पाइखाना एउटै भएर हाम्रा सामु उभिएको छ ।
नेपालमा रहेका यस्ता खानाहरू धेरै पाइखानामा परिणत भएकाछन् । पाइखाना भने सुगन्धखानामा परिणत भएर अन्यखानाहरूलार्य जिस्क्याइरहेका छन् । उपचारखानाले उपचारमा आएकाहरूको पाइखाना व्यवस्थापन गरे पनि उपचारखानाकै उचित व्यवस्थापन गर्न नसक्दा उपचारखाना नै पाइखानामा परिणत भएको ठहरिन्छ । अहिले नेपालमा रहेका उपचारखानाकै उपचार गर्नु पर्ने अवस्था आएको छ । तर यो उपचार पद्धतीमा हात पसार्ने प्रविधिको विकास भएकोले हात पसार्दा हुने अर्थालाभले उपचारमै खोटो देखिएको छ । पाइखानाको उपचारमा हात पसार्ने प्रविधि भित्रिएको नेपालमा रोगीहरू उपचारका भोगी हुने सम्भावना नभएकैले होला विदेशतिर छिरेर उपचारको बिचार गरेको । नेपालमा उपचारको बिचार गर्ने भन्दा उपचारलाई थेचारेर बिरामी पार्ने चलन छ । त्यसैले पनि उपचारखाना पाइखाना जस्तै भएको हो ।
पाइखानामा भौतिक शरीरको फोहर विसर्जन गरिन्छ र उपचारखानामा नीतिगत र व्यक्तिगत फोहर थुपारेर पाइखाना बनाइएको हुन्छ । यी सबै खाले बेथितिलाई नीतिमा परीक्षण नगरिकन कुरीति बनाएपछि उपचारखाना पाइखानामा रुपान्तरण भएको मैले बडेमानको हनुमाने अनुमान लगाएको छु । अन्यत्रको पाइखानाको तुलनामा उपचारखानाको पाइखानाले हाम्रो आरामी स्वास्थ्यमा बिरामीपना थोपरेको छ । आरामीलाई बिरामी पार्ने अचुक उपाय भनेकै उपचारखनामा जानु हो । उपचारखानाका नाममा बिरामीहरू जाममा पर्नु पर्ने अनि बल्लबल्ल लाममा लाग्यो दवाइखाना जानु भन्ने आदेशले आउँछ । दवाइखानामा गयो भए नभएका दिसा, पिसाब, रगत, खकार जाँच गर्न लाउर नभएको रोग निकालेर उपचारखानामा व्यहोर्नु नपरेको सास्ती, पाइखानामा नआएको आची नै उम्किने भयले सताउँछ ।
अब धेरै कुरा के भनौँ पाइखानाभित्रको उपचारखानामा हामीले आरामी शरीरलाई बिरामी बनाउने बाध्यता छ । यो हाम्रो रहर होइन बाध्यता हो । तर उपचारखाना र दवाइखाना बिचको सम्बन्ध बिच्छेदको नीतिगत प्रक्रियाले नै उपचारखानालाई पाइखानामा परिणत गरेको हो कि भन्ने कुरा सनासोको चेपुवामा छ । सेतोकोटले उपचारखानालाई पाइखानामा परिणत गरेको व्यहोराको अवरोध गराउँदै आरामीलाई बिरामी हुन इच्छा भएमा उपचारखाना र दवाइखाना जान हल्ला नगरीकन सल्लाह दिदै सुगन्धे पाइखानाको थोरै कथाको भारी यही बिसाउँछु । जय व्यङ्ग्य ।
०००
उदयपुर