स्तुपको आवाज
चोक, गल्ली र गोरेटोहरूमा अन्य थुप्रै स्तुपका आवाजहरू पुनः पुनः गुन्जिरहेका थिए ! - “आफू त परिवर्तन हुँदैनौ, अरूलाई कसरी परिवर्तन गर्छौ ?”
विहानको समय थियो । बुद्धको मन्त्र लेखेको माने घुमिरहेको थियो । बटुवा हिंडिरहेका थिए । केही ढँटुवाहरू चोक चोकमा गफ हानिदिन्थे ।
– “यसपाली त घुम्ने भो, मजैले घुम्ने भो !”
– “ओंम मणि पद्मे हुँ कि अरू नै कुनै ?”
– “मानबहादुर !”
शिर अगाडि बुद्धको स्तूप थियो । भीरूहरूले स्तुपलाई तिन फन्का लगाइसकेका थिए । तर पनि स्तूप घुम्नेको भीड सकिने वाला थिएन । स्तूपको अगाडि अर्को एकजना आएर शिरमाथि हेर्यो । स्तुपको मस्तुल देख्यो । दण्डवत गर्यो । भन्यो –
– “भगवान मेरो पाप जति सबै नास होस् ।”
स्तूपमा गजक्क बसेका बुद्धले बुझे बुझेनन् । थाहा भएन तर दण्डवत गर्नेलाई अवश्य शान्ति मिल्यो होला नै । बुद्धको हृदयबाट धड्कन फुस्क्यो ।
– “धर्मको हिसाबकिताब गर्न बाँकी नै छ ।”
मैले उसलाई बाटोतिर देखेको थिएँ । फेरि ङिच्च पर्यो । बटुवातिर हेरेर भन्यो ।
– “धरोधर्म हजुर अब बेइमानी गर्दिन !”
बटुवाहरू पाटीमा थिए । पौवामा गुँडुल्किएका थिए । उनीहरू तुषारोको लगलग र शीतको तपतपले कामिरहेका थिए । अर्को महापापी आएर स्तुपलाई खुब नियाल्यो । आँखाहरू लठ्ठ थिए । फूल नैवेद्य बुद्धको मुखतिर हुर्याइदियो । हातको मुठ्ठी उठाइ उठाई बुद्धसँग आशीर्वाद माग्यो ।
– “सेवाको मौका त पाउँ ! भगवान कसम देखाइदिन्छु !”
झुस्स दाह्री थियो । गाला चाउरिएको, अनुहार कालै र कपाल सेतै भएको माग्ने नजिकै थियो । त्यो मान्छेको किस्मती कसम सुनिरहेको थियो । उसले हात पसारेर त्यो मान्छेलाई भन्यो ।
– “भोक लाग्यो । अलिकति खाने चिज देऊ न ?”
बुद्धको अगाडि यसपटक करूणाको स्वर थियो । उसले जाँदाजाँदै हकारेर भन्यो ।
– “काम गरेर खानु नि बरू ! मागेर हिंड्ने अल्छी !”
भुत्भुताउँदै स्तुपको पूर्व, पश्चिम, उत्तर र दक्षिणका आँखाहरू मानवीय समवेदना नभएको ढँटुवा मानिसतर्फ फर्केर आबाज निक्लन थाले ।
– “मल्लाहरू !”
चोक, गल्ली र गोरेटोहरूमा अन्य थुप्रै स्तुपका आवाजहरू पुनः पुनः गुन्जिरहेका थिए !
– “आफू त परिवर्तन हुँदैनौ, अरूलाई कसरी परिवर्तन गर्छौ ?”
०००
काठमाडौं