भर्याङ नभएर
सारीको पनि भर्याङ हुन्छ भनेर के उल्लु कुरा गरेको भन्नु होला । महासय ! सारीको मात्र होइन निहालेर हेर्नोस् त, सारीको पारीलाई समेत भर्याङ बनाएर माथि पुग्नेहरूको ताँती प्रष्ट देखिन्छ ।
मान्छेको जात कहिल्यै तल रहन मान्दैन । उसलाई माथि माथि र झन् माथि जाने रउस् चल्छ । उसको यो मनोकाङ्क्षा पूरा गर्ने साधन हो भर्याङ । आकाङ्क्षाहरूका एकपछि अर्का तलाहरू चढ्न मान्छेलाई भर्याङले साह्रै सहज र सजिलो बनाई दिएको छ । यसका एक एक सिँडी कुल्चिएर आजको मान्छे अनन्त उचाईमा उक्लिरहेको छ । त्यो उचाईभन्दा माथि ऊ अग्लिरहेको छ । हरेक मान्छेलाई उच्चासन र शीर्षासनमा पुर्याउने एउटा जादूको औजार भर्याङ न हो । तपाईं ठान्नु होला, मान्छेले बनाएको जाबो भर्याङको त्यस्तो कुन देवी पराक्रम छ र ! म त भन्छु, मान्छेले भर्याङ बनाएको होइन, बरु भर्याङले मान्छे बनाइरहेको छ । बन्जर भूमिमा नाङ्गै-मुडुले पछारिएको मान्छे पनि कुनै मान्छे हो र ? तर यदि त्यही अमान्छेले भर्याङ चढ्न पायो भने उसको फलिफाप शुरु भयो भन्ने संझिए हुन्छ । र केही छिन या केही दिनमै उसको निम्ति भाग्यमानीको भूतै कमारो बनिदिन्छ । यसर्थ भर्याङ चढ्न पाउनु परम सौभाग्यको ढोका खुल्नु पनि हो ।
प्रजातान्त्रिक कालमा भर्याङको भूमिका झन धेरै बढेको छ । झुठ र बेइमानीको भर्याङ चढेर नेता बन्न सकिन्छ । चाकरी र चाप्लुसीको भर्याङ चढेर पदोन्नति गर्न सकिन्छ । जाल-झेल कपटपूणर् प्रचारको भर्याङ चढेर कुर्सीमा टाँस्सिइरहन सकिन्छ । इज्जतको भर्याङ चढेर बेइज्जत छोप्न सकिन्छ । कमिशनको भर्याङ चढेर आलिशान महल ठड्याउन सकिन्छ । ठाडो तोक र आदेशको भर्याङ चढेर स्वार्थ पट्याउन सकिन्छ । साइनो र नाताको भर्याङ चढेर गोलमाल गरिएको खातालाई दुरुस्त पार्न सकिन्छ । कि त कागजको भर्याङ चढेर गर्नु कुकृत्य गर्न सकिन्छ । तस्करीको भर्याङ चढेर नून ठग्नदेखि सुन हग्न समेत सकिन्छ । भर्याङको यो बहुआयामिक व्यक्तित्वबाट प्रभावित नहुने दुनियामा को होला ?
कलमको भर्याङ चढ्नेहरूको कथा झन् काइदाको छ । यस तहका भर्याङ चढुवाहरू जानी जानी आफै भर्याङ भैरहेका हुन्छन् र उनीहरूको टाउकोलाई भर्याङ बनाएर बुद्धिहीन गोज्याङ्ग्राहरू माथि चढिरहेका छन् । आफ्नो भने न कलम भर्याङ हुन मान्छ न त आफै भर्याङ हुन सकिरहेको छु । मेरो स्वाभिमान भर्याङ बन्न सकेको भए यतिखेर मेरो फूर्तिफार्ती नै अर्को हुने थियो । साहित्यमा उचाई समात्न पनि तपाईले कि भर्याङ चढ्नुपर्छ, कि दुईचार साहित्यिक मठाधीशहरूको भर्याङ बन्नुपर्छ । बीचको अर्को बाटै छैन । आफू भर्याङ चढ्नेहरू या निर्धाहरूलाई भर्याङ बनाउनेहरूलाई चिन्न त्यति गाह्रो छैन । उनीहरूको लेखन शैली र प्रस्तुतीकरणले आफै बकपत्र गरिरहेको हुन्छ ।
तपाईले भोटको भर्याङ चढेर संसदीय तलामा उक्लिएकाहरू मध्ये कतिपयको अनुहारलाई निर्वाचन जितेको भोलिपल्टदेखि देख्न पाउनु भएको छैन । यो त भर्याङको कर्तुत हो । पाँचै वर्षमा भएको भर्याङ उक्लिएकाहरूको त यो स्थिति छ भने लामो आयुवाला भर्याङ चढ्नेहरूको ताल कस्तो होला, कल्पना गरेर हेरौं त ! माथि उक्लिनेहरूलाई अझ माथि जानु छ । समुद्र पारिका मुलुकहरू हाम्रो मुलुक भन्दा धेरै कुरामा माथि छन् । त्यता भर्याङ चढ्न चलिरहेको तँछाड-मछाड, घुर्चा-घुर्ची र कठालो समाता-समात कुनै मूल्यमा पनि कम रोचक छैन । कुनै पनि बेला दाउ पार्न जुँगामा ताउ लाएर गौंडो ढुक्नु प्राथमिकता क्रमको पहिलो काम हुने गरिरहेको छ । यति स्वादिलो पाराले ढाडे बिरालो पनि मुसा ढुक्दैन सायद ।
आधुनिक प्रविधिले हिजोआज भर्याङलाई पनि प्रभावित पारि दिएको छ । नेपाली लिस्नोको एउटा एउटा खुड्किलो गनेर माथि जानुपर्ने अवस्था अब एकदम पुरातन भैसक्यो । लिफ्ट सिस्टमले प्रसिद्धी पाएको छ । अब त विद्युतीय भर्याङले बटन दबाएको एक दुई सेकेण्डमै आफूले चाहेको अन्तिम उचाईसम्म पुर्याउन थालेको छ । कैयौं सडकछाप मान्छे मिलिक्कै वरिष्ट- विशिष्ट पदमा आशिन हुन पुगेका छन्, यस खाले भर्याङको प्रतापले । कैयौं टपरटुईयाँहरूलाई कुर्सीमा विराजमान बनाएको छ, भर्याङकै भरोसाले ।
दुनियाभरी प्रचलनमा आएका भर्याङहरूलाई मूलतः दुई वर्गमा विभाजन गर्न सकिन्छ भन्ने मलाई लाग्छ । एउटा हो दृश्यमान भर्याङ र अर्को हो अदृश्यमान भर्याङ । दृश्यमान भर्याङ तपाईं हामी नाङ्गो आँखाले जुनसुकै बेला र जस्तोसुकै रूपमा भएको भए पनि देख्न सक्छौँ । कसले कसलाई भर्याङ बनाएर आफू माथि चढ्दै छ भन्ने कुरा प्रष्ट थाहा पाउन सकिन्छ । अथवा कसको टाउको भर्याङ बनाएर आफू चढ्दै छु भन्ने पनि हरेक भर्याङ चढुवाले देख्न सक्छ । भर्याङकै आधुनिक अवस्थाको रूप क्रेन हो भन्दा पनि अत्युक्ति हुन्न । प्राचीन र ऐतिहासिक मन्दीरहरूका मूर्ति उखेल्न प्रयोग हुने गरेका क्रेनहरू पनि त एक खालका भर्याङ नै हुन् । यसखाले भर्याङ चढेर रातारात धनाढ्य बन्नेहरू तपाई हाम्रो नजरबाट छुपेका छैनन् ।
दोश्रो प्रकारका भर्याङहरूलाई नाङ्गो आँखाले हत्पती देख्ने सकिन्न, खालि अनुभूत गर्नुपर्छ । यी अदृश्यमान भर्याङहरूको भने निश्चित आकार पनि हुँदैन । चढ्नेहरूको आवश्यकता र स्थिति अनुरुप लाम्चो/छोटो, चेप्टो/नेप्टो, होचो/अग्लो जस्तो पनि हुने यसखाले भर्याङको मूख्य विशेषता हो । कसका निम्ति स्वास्नीको सारी पनि बकाइदा भर्याङ बनिरहेको हुन्छ । कसैका निम्ति हजुरबाको दारी पनि भारी भरकमका साथ लर्याङ बर्याङ नगरी भर्याङ बनिरहेको हुन्छ । सारीको पनि भर्याङ हुन्छ भनेर के उल्लु कुरा गरेको भन्नु होला । महासय ! सारीको मात्र होइन निहालेर हेर्नोस् त, सारीको पारीलाई समेत भर्याङ बनाएर माथि पुग्नेहरूको ताँती प्रष्ट देखिन्छ ।
भर्याङको यो बहुआयामिक व्यक्तित्वबाट शतस प्रभावित हुँदै एकजना भर्याङ-भक्तले लेख्नु भएको छोटो भजन अंश उधृत गर्दै म आफ्नो कलम बिसाउँछु । जति लामो लेखे पनि भर्याङ बनेका कलमहरूको दृष्टिमा यो सानो लेख न त सफल व्यङ्ग्य नै हुने छ, न त आफू चढ्ने चिल्लो भर्याङ नै हुनेछ ।
“व्यक्तित्वको ढोका हो यो जीवन-जीवनको आधार ।
रित्तो खण्डहर बन्न सक्छ भर्याङ विनाको संसार ।।”
०००
०५० चैत ८
प्रकाश साप्ताहिकको ‘छेपन’ स्तम्भमा प्रकाशित