तिलक लुइटेलतीनवटी पत्नी भिराउनुभयो भने…?
मलाई तीनवटा बन्चरो दिएकै जसरी तीनवटी पत्नी भिराउनुभयो भने त एकातिर महँगीको मार अर्कातिर बहुविवाहको मुद्दा । मैले कसरी खेप्न सक्नु र ?

दाउरेको बन्चरो पानीमा खस्यो । ऊ किनारमा बसेर रोयो । देवताले सुनको र चाँदीको बन्चरो देखाउँदा दाउरेले मेरो होइन भन्यो । आखिरमा उसकै फलामको बन्चरो देखाउँदा मेरो बन्चरो यही हो भन्यो । देवताले सोचे नेताहरू नै ढाँटका पोस्तक भएको नेपालमा यो दाउरा बेच्ने कति सोझो रहेछ । बरु धनको दुःख हटोस् बिचरालाई भन्दै उनले तीनवटै बन्चरा दाउरेलाई दिए । सुनचाँदी पाएपछि दाउरे धनी भयो ।
यसपछि दाउरेलाई बिहे गर्न मन लाग्यो । उसले मन पराएकी केटीसँग बिहे पनि गर्यो । यसै बेलामा देशमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव आयो । धनीमानी भएपछि आफन्तले त पछ्याउँछन् नै । पहिले गन्तीमासम्म नआएको दाउरेलाई यसपालि उम्मेदवारहरूले पनि खोजे । अझ कोही स्वतन्त्र कोही बागी कोही पार्टीका उम्मेदवार त्यसमा पनि पार्टी त कति हुन् कति । नाम पनि के के हो के के । प्रायः सबै मतदाताका प्रत्यक्ष सम्पर्कमा एक न एक उम्मेदवार आएकै हुन् । मानौँ एक मतदाता बराबर एक उम्मेदवार जस्तो । फेरि जुनसुकै उम्मेदवार आफ्नो क्षेत्रका सबै मतदाता मेरै हुन् भनेर दावा गर्थे । कैयौँ मतदाताले अलिअलि मह काट्न र हात चाट्न पनि पाए अरे भन्ने सुनिन्थ्यो । भोट दिने काम पनि दाउरे परिवारले सम्पन्न गरे ।
देवताका कृपाले धन पाएर पत्नी बिहा गरियो । त्यसैले नयाँ दुलही देवतालाई देखाउनुपर्छ भन्ने दाउरेलाई लाग्यो । पानीको अभाव पनि हुनाले नुहाई धुवाई पनि उतै गर्ने उनीहरूको सल्लाह भयो । लुगा धोई सकेर तलाउका डिलमा सुकाएपछि उनीहरू नुहाउन लागे । नयाँ दुलही र दाउरे नुहाउन भनी तलाउमा पस्ने बित्तिकै उसकी पत्नी पानीमा डुबी । दाउरेलाई पर्नु पिर पर्यो । पहिलेको तरिका काम लाग्ला कि भनेर दाउरे फेरि पनि तलाउका डिलमा बसेर रुन थाल्यो ।
देवताले किन रोएको भनी सोधे । दाउरेले आफ्नो पीडा देवतालाई अवगत गराउँदै भन्यो— हे प्रभु तपाईंकै कृपाले मैले धन पाएँ र बिहे गरेँ । नयाँ दुलही देखाउन भनी लिएर पनि आएँ । मेरो दुर्भाग्यले गर्दा मेरी श्रीमती नुहाउन पानीमा पसेकी निस्किएर नआएको घन्टौँ भइसक्यो । मलाई त डर लाग्यो । कृपया मलाई सहयोग गर्नुपर्यो प्रभु ।
दाउरेको दुःख सुनेर देवता पानीमा पसे । केही क्षणमा उनले परम सुन्दरी देवकन्या लिएर आए । ए दाउरे लौ हेर, तिम्री श्रीमती यिनै हुन् ? दाउरेले हत्त त पत्त भन्यो- हे प्रभु यिनै हुन् । देवताका सामु मेरी पत्नी यिनै हुन् भनेर स्वीकार गरेपछि त दिनै पर्यो । देवता जिल्ल पर्दै ती देवकन्या उसलाई दिन तयार भए । त्यही बेलामा सोधे— हे मानव, तिमीलाई सोझो नेपाली भनेर मैले धन कमाउने अवसर दिएँ । अहिले राम्री कन्या देखेपछि तिम्रो बुद्धि किन यसरी भुटियो र परस्त्रीलाई आफ्नी पत्नी भन्दै छौ ?
दाउरेले भन्यो— प्रभु मैले होइन भनेको भए अर्को पटक हलिउडकी सुन्दर नायिका ल्याउनुहोला । अनि फेरि अर्को पटक मेरी पत्नी ल्याउनुहोला । देशमा महँगी छ, त्यसमाथि भर्खर चुनाव सकिएको छ । महँगी उर्लने बेला आइहाल्यो । मलाई तीनवटा बन्चरो दिएकै जसरी तीनवटी पत्नी भिराउनुभयो भने त एकातिर महँगीको मार अर्कातिर बहुविवाहको मुद्दा । मैले कसरी खेप्न सक्नु र ?
०००
कपन, काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest







































