अप्सरा सुनारकुजात !!
सधै कुजात भैरहनु अनि सधै पैतालामुनि हेलित भएर सुजातको समृद्धिको निम्ति सदनका भाषण सुन्न घुँडा टेकी, बुइ थापी आफू सिँढी बन्नु बाहेक अर्को विकल्प छ र ?

फग्ल्याँटै फग्ल्याँटा पारिएको, छि ! नालीको दुर्गन्ध भन्दा निच ठानिएको, जाँतोमा दाल दले भन्दा बढी दलिएको समाजबाट दमन गरि थिचिएको, कुल्चिएको, विध्वंस गरिएको अछुत जातिहरूको समूह हो दलित । अहो ! दलितलाई जात त भन्नै मिल्दैन, यिनीहरू त जातिच्युत भएका पतित कुजात हुन् ।
अचम्म लाग्न सक्छ कुजात कसरी परिभाषित गरिएको भनी, कोहीले पाउ जोगाउने जुत्ता बनाएको कारण, कोहीले लाज ढाक्ने बस्त्र बनाएको कारण, कोहिले हँसिया, खुर्पा, बन्चरो, हथौडा, ओदान फलामे भाँडाकुडा, सुन चाँदीका गहना बनाएको कारण काम नगर्ने सुजातबाट अलगिएर कुजात भनिएका हुन् । खुकुरीको धारमा गर्धन राखी सियोमाथि पाइला टेकी क्रान्तिलाई गर्भमा बोकेर जन्माएको गणतन्त्र पछिको एक नयाँ अध्याय हो- क्रान्तिको अकल्पित नतिजा तुहिएर जन्मिए झैं भएकी क्रान्ति । अनि क्रान्तिले जन्माएकी कु-जात ।
परिवर्तनको लागि थुप्रै कामीदाइहरूले आफैले अर्जापेको खुकुरीको धारमा गर्धन रेटिनुपर्यो । आफैले खनेको कुवाको पानी पिउन नपाइने, आफैले बनाएको सुनले चोखिनु पर्ने, विश्वकर्मा भन्दै ढुङ्गा पुज्नेहरू आफ्नो कर्मले संसार जितेकालाई कुल्चिरहेछन् । पिल्सिइरहेछन् ।
हो, अझै कुल्चनु पर्छ अझै किचिलफाँडो बनाउनु पर्छ । दलित त यो धर्तिको बोझ मात्रै हुन् । फोहोर छुनु हुन्छ, जनावर छुनु हुन्छ तर दलितलाई छुनु हुँदैन । दलित त कु.. हुन् सधैं कु.. भैहरनुपर्छ ।
कुटिनु पर्छ कुवा छोएको निहुँमा । बालमस्तिस्कलाई घायल बनाइनु पर्छ अन्जानमै ठुला भनाउँदाको दैलो नाघेको कारण । मारिनु पर्छ प्रेम साटासाट गरे, दलित कुजात हुन् सधैं कुजात भैरहनु पर्छ । छुवाछूत अनि विभेद त हटाउनै हुँदैन । छुवाछूत हटे त कसरी दलित शब्दको बुइ चढेर सदनसम्म पुग्नु नि फेरि । दलित मुक्तिका लागि बन्दुक उठाउनु पर्छ, तरबार उठाउनु पर्छ, भेदभाव हटाउनु पर्छ भन्दै दलित समुदायको आत्मसम्मान छिनालेर सदन पुगेकाले नै दलितलाई कुल्चिरहेछन् । हो, कुल्चनु पनि पर्छ किनभने दलितको शरीरभित्रको रगत नै अछुत छ । लाग्छ बिस नै पो छ कि । मान्छेले मान्छेमाथि गर्ने अत्याचारले निरन्तरता पाउनै पर्छ नत्र यो समाज, यो राष्ट्र चल्नै सक्दैन ।
साहिँला बाहरू एक मानो चामलमा सियो र धागोले लुगा सिलाइरहुन् । दमाई दाइको कर्मबिना कामी दाइको मर्म बिना छुतहरूको घरमा शुभकार्य नै सम्भव छैन । लौ अधिकार खोज्दै दमाई दाजुले पञ्चैवाजा बजाउनै छाडे भने शुद्ध कपडा सिलाउनै छाडे भने, कामी दाइले चिम्टा, थाली लोटी भाँडाकुँडा, हलो, कोदालो, हसिया बनाउनै छाडे भने लाग्छ मानव अस्तित्व धरापमा पर्छ । त्यसैले कर्म गर्नेहरूले त कर्म गरिरहनुपर्छ । अधिकार किन चाहियो कुजातहरूलाई ? कर्म गरेकै कारण कुजात उपमा दिने यो समाजमा ठूलाठालु जातकाहरू मात्र मानिस हुन् अरू त जनावर पो ! जनावरलाई केको अधिकार चाहिन्छ ?
संविधानमा छुवाछुत गर्न नपाइने कुरा लेखिएको छ । त्यो त देखाउने दाँत पो हो त ! चपाउने दाँत अर्कै छन् र चपाइरहेकै छन् । संविधानमा लेखिदैमा परिवर्तन आउने भा घन ठोक्ने, पीडा बोक्ने कामीहरू अझै पनि अछुत हुने थिएनन् । चर्का भाषणमा क्रान्ति भन्दै कराउँदै विकृति हट्ने भा लुगा सिउने दमाईहरू, जुत्ता बनाउने सार्कीहरू दलित हुने थिएनन् । यहाँ कर्म गर्नेहरूलाई नै दलित बनाइएको छ । आरनमा जिन्दगी अर्चाप्नेहरू धारसँगै खिइँदै छन् । धारले विकृतिको गर्धन छिनाल्न अब कामीका आरनहरू धारिला बनिनु पर्छ । होइन भने अझै पानी छोइयो भन्दै निर्घात कुटाइ खाइरहनु, मरिइरहनु, पर पर सरिरहनु पर्छ ।
विश्वको कर्म बोकेर हिँडेका सार्की दाइ जुत्ताभरी अब काँडा उमार्नुस् अछुत बनाउने पैताला छियाछिया बनाउनु पर्छ नत्र भने सधैं दलित भइरहनुको विकल्प कहाँ छ र ? नत्र कुजात भैरहनुपर्छ ठुलाठालालाई संसद पुर्याउनका लागि ।
छुवाछुतका मुद्दा अदालतसम्म पुग्छन्, तर पीडितले पाउँदैनन् न्याय । छुवाछुतलाई समाजले अपराध नै मान्दैन, सामान्य मान्छेलाई समाजको घेरा नाघेर प्रहरीसम्म पुग्नै कठिन छ, न्याय पाउनु त टाढाको कुरा । जातीय विभेद विरुद्ध बोल्दा कुटपिट हुनु सामान्य भएको छ ।
छुवाछुत अन्त्य कागजी घोषणा मात्र हुन् दलित समुदायले देशभर पाइलै पिच्छे जातीय विभेद खेपिरहेका छन् । नेपाली समाजमा जातीय भेदभाव र छुवाछुतलाई अपराध मान्न तयार छैन । ‘सबै प्रकारका जातीय भेदभाव उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६५’ मा नेपाल पक्षराष्ट्र बनेको ४९ वर्ष बितिसक्यो । मुलुकी ऐनले छुवाछुतलाई निषेध गरेको ५७ वर्ष र संविधानले नै छुवाछुतलाई सामाजिक अपराध मानेको ३० वर्ष बितिसकेको छ । २१ जेठ ०६३ मा संसद्बबाटै नेपाल छुवाछुतमुक्त राष्ट्र घोषणा भयोे । छुवाछुतलाई दण्डनीय मानेर ‘जातीय भेदभाव तथा छुवाछुत (कसुर तथा सजाय) ऐन लागू भएको पनि नौ वर्ष बित्यो । तर, अहिले पनि नेपाली समाज जातीय भेदभाव र छुवाछुतलाई अपराध मान्न तयार छैन ।
भनेपछि अब त ए दलित समुदाय ! सधै कुजात भैरहनु अनि सधै पैतालामुनि हेलित भएर सुजातको समृद्धिको निम्ति सदनका भाषण सुन्न घुँडा टेकी, बुइ थापी आफू सिँढी बन्नु बाहेक अर्को विकल्प छ र ? कि अझै कुजातहरूको क्रान्ति बाँकि छ ?
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest









































