कृष्णदेव रिमालपोइटिङ्ग्री
कपाल एक मुठी समातेर कमलनयन कटाक्षभावले हेर्दै- “अँ हिजो तिम्रो बूडीको फोन आउँदा नि ! तिमी कतिबिधि जोइटिङ्ग्रे देखिएका थियौ । त्यो चाहिँ बिर्स्याै ?” भन्दी हो ।

नेपाली समाजमा जोइटिङ्ग्रे शब्द निकै प्रचलित छ । जोईले गर भनेको काम कुरा गर्ने र नगर भनेको कामकुरा नगर्ने पोइलाई यस शब्दले विभूषित गरिन्छ । जोई वा श्रीमतीले जहाँ पनि जहिले पनि आफ्नो इच्छानुसार ठिङ्ग्याउन सकिने पोइ वा श्रीमान जोइटिङ्ग्रे हो भन्न सकिन्छ । त्यसो त दिदीबहिनी, आमा, ठुलीआमा, काकीआमा लगायतका प्रियजनले कुनै पुरुष पात्रलाई सइष्र्या यसो भन्ने गरेको पाइन्छ । जोइटिङ्ग्रे्रेहरूका अनेकौं अनुकरणीय स्वभाव हुने गर्दछन् जो तथाकथित गैरजोइटिङ्ग्रे्रेहरूले सिक्नुपर्ने हुन्छ । ती मध्ये केही यहाँ प्रस्तुत गर्दछु ।
– उनीहरू हतपती रिसाउँदैनन् । कहिलेकाहीँ बाआमासँग झनक्क रिसाए पनि श्रीमतीको अघिल्तिर त आज्ञाकारी हुन्छन् ।
– धुम्रपान, मद्यपान, जुवातासादी कुलतबाट टाढा रहन्छन् ।
– खुरूखुरू अराएको काम गर्ने हुनाले राष्ट्रिय उत्पादकत्व अभिवृद्धि गराउनमा महत्वपूणर् भूमिका खेल्छन् । यस अर्थमा जोइटिङ्ग्रेहरू राष्ट्रिय व्यक्तित्व हुन् ।
लैङ्गिक समताको यो युगमा यसरी पुरुष जाति जोइटिङ्ग्रे हुन पाउने तर सोही प्रकृतिका नारी जातिलाई सम्बोधन गर्ने कुनै उपयुक्त शब्द आजसम्म नहुनु हास्यास्पद कुरा हो । नारीजाति प्रतिको उपेक्षा हो । शब्दकोषले समेत विभेद गरेको छ । त्यस्तो अर्थ दिने शब्द लेखेको छैन । शब्दको बगैंचामा डुल्ने जोकोहीले पनि यो विभेद सहन सक्दैन । अझ नारीवादी लेखकहरूले त यो अग्घोर अन्याय सहने कुरा पनि भएन ।
अग्रजले केही गरेन भन्दै सराप्ने र आफू पनि केही नगर्ने राजनीतिक संस्कारको छाप शब्दका खेतालाहरूमा पनि परेको हो कि भन्ने हल्ला समाजमा गाइँगुइँ चल्न थालिसक्यो । यसले उग्र रुप लिन नपाउँदै हाम्रो पुस्ताले पनि केही गरिहाल्नु अपरिहार्य भएको छ । अतः पुरुषाज्ञा शिरोपर गर्ने, पुरुषको इशारामा नाच्ने, श्रीमानको कुरालाई राजाज्ञा सरह तामेली गर्ने नारीलाई पोइटिङ्ग्री भनी सम्बोधन गर्न प्रस्ताव गरिएको छ । पोइटिङ्ग्रीहरू हाम्रो समाजमा युगौंदेखि रहेका भए पनि उनीहरूलाई सम्बोधन गर्ने उचित शब्द नभैरहेको पृष्ठभूमिमा यो पोइटिङ्ग्री शब्द प्रयोगको प्रस्ताव यहाँ राखिएको हो । शब्दसभाबाट अनुमोदन भएपछि पोइटिङ्ग्री शब्द जनजिब्रोमा सयर गर्न अवश्य आउने नै छ ।
जसरी मुमुक्षुहरूलाई धरादेखि गगनसम्म र गगनदेखि अन्तरिक्षसम्म शयर गर्ने मन छ त्यसैगरी पोइटिङ्ग्रीजस्ता नयाँ शब्दलाई पनि कसैको निबन्धदेखि शब्दकोषसम्म र त्यहाँदेखि जनजिब्रोसम्म सयर गर्ने मन अवश्य छ । त्यसैले पनि पोइटिङ्ग्री आज पहिलो पाइला टेकेर हजार माइलको भाषिक यात्रामा निस्केको छ ।
पोइटिङ्ग्रीको साथमा यसका साथी शब्दहरू जस्तै माइ टिङ्ग्रे/माइटिङ्ग्री, भाइटिङ्ग्र्रे/भाइटिङ्ग्री पनि पाइला चाल्दै अघि बढ्दैछन् । शब्दोपासकहरूले यस विषयमा चर्चापरिचर्चा गर्न पाउनेछन् । कतिपय प्राज्ञहरूले त यस्ता ताइ न तुइका शब्दलाई वहसको विषय बनाउनु हुन्न भनेर परम्परावादी धाराको वकालत गर्नेछन् । वादेवादे जायते तत्वबोध भनेझैं अन्ततः टिङग्रे/टिङ्ग्री प्रत्ययलाई शब्दसभाले पारित गर्ने नै छ ।
हुन पनि शब्द खाँचो भएर कति ठाउँमा अप्ठेरो परेको छ । राष्ट्र जनता र अधिकांश कर्मचारीको अहित हुने भए पनि हाकिमको इशारामा निहित स्वार्थवस काम गर्ने कर्मचारीलाई के भन्ने ? यस्तालाई पनि टिङ्ग्रे/टिङ्ग्री प्रत्यय जोडेर हाकिमटिङ्ग्रे अथमा बोसटिङ्ग्री भन्दा भैहाल्छ । राजनीतिक वृत्तमा केही वर्ष यता निकै चर्चामा रहेको झोले शब्द पनि पर्यायवाची शब्दको अभावमा बिचरा रोइरहेको थियो । यिनीहरूलाई पनि नेताटिङ्ग्री भन्न सकिन्छ । नेताटिङ्ग्रे भन्न सकिन्छ । सैद्धान्तिक प्रसङ्गमा कुरा गर्ने हो भने वादटिङ्ग्रे/वादटिङ्ग्री भन्न सकिन्छ । यसरी अनेकौं टिङ्ग्रे/टिङ्ग्री प्रत्ययजनित शब्दहरूले गर्दा शब्दकोषको आकार पनि अभिवृद्धि हुने भएको छ ।
पोइटिङ्ग्रीले अब मानक रुप ग्रहण गरिसकेको परिप्रेक्षमा कस्ताकस्ता प्रसङ्गमा यो शब्द अभिव्यक्त हुन सक्छन् भनेर पनि चर्चा गर्नु यहाँनेर सान्दर्भिक नै होला ।
पव वा रेस्टुरेन्टमा जम्मा भएकामध्ये एउटीले भन्ली “ओइ जाउँ अब मेरो बूडो आउनेबेला भो !”
त्यहिबेला अर्कीले भन्ली- “ह्या … कस्ती पोइटिङ्ग्री रैछे यो त !”
आजभोलि जोडी प्रवासमा रहेका नारीपुरुष प्रशस्तै छन् । उनीहरूले विपरितलिङ्गी साथी बनाएर मनको प्यास मेट्ने गरेको पाइन्छ । कतिपयले त तनकै प्यास पनि मेटेको पाइन्छ । यही प्रसङ्गमा एउटा वा धेरै जोडी कुनै खाजाघरमा लेगपिस वाइन/ ह्वीस्की, चिकेन चिल्ली, फिङ्गर चिप्स, मोमो खाँदाखाँदै महिलासाथीको मोबाइलमा उसको लोग्नेको फोन आउँदो हो । अनेक कुरा गरेर छिटो छुट्टिन खोज्दी हो । अनि त्यहिबेला पुरुष साथीले “सारो पोइटिङ्ग्री त नबनन डार्लिङ !” भन्दो हो । प्रतिउत्तरमा नबाटेर छोडिएको कपाल एक मुठी समातेर कमलनयन कटाक्षभावले हेर्दै- “अँ हिजो तिम्रो बूडीको फोन आउँदा नि ! तिमी कतिबिधि जोइटिङ्ग्रे देखिएका थियौ । त्यो चाहिँ बिर्स्याै ?” भन्दी हो ।
जति जोइटिङ्ग्रे शब्द प्रयोग हुन्छ यो समाजमा पोइटिङ्ग्री शब्द पनि उति नै प्रयोग हुन थालेको छ । अन्तमा एउटा अर्को प्रसङ्ग जोडेर पोइटिङ्ग्रे पुराणको यो अध्याय यहिँ बिसाउँछु ।
अफिस जानुअघि कुनै रिसाहा जुवाडेकी स्वास्नी हतारहतार भाँडा माझ्दै गरेको बेला कुनै सहेलीको फोन आउँदो हो- “ओइ छिटो झर न म तेरो गेटमा आइसकें ।”
यति भनेर मोबाइल व्यागमा राखेपछि बर्बराउँदै भन्दी हो- “यो कस्ती पोइटिङ्ग्री छे के !”
०००
नुवाकोट
Subscribe
Login
0 Comments
Oldest







































