संप्रस पाैडेलहजब्याण्ड
समग्रमा भन्नुपर्दा पति-पत्नी अर्थात् वाइफ-हजब्याण्डबीच भ्रष्टाचार र कर्मचारी जत्तिकै अन्योन्याश्रित सम्बन्ध रहेको छ । त्यसो त वाइफबाट वाइफाइ बन्यो भन्नेहरू पनि निस्किएलान् ।

अमृत पिउने देव, विष पिउने महादेव भनेझैं पिउनु र जिउनुको बीचको पात्रचाहिँ पतिदेव हुन सक्ला । पतिदेव अब हजब्याण्डमा परिणत भैसक्यो ।
“दिदी, वाँ अङ्कलचाहिँ तपाईँको को नि ?”
“मेरो हस् व्यान ।”
अनी बल्ल सुरु भयो उसको पहिचान ‘हस् व्यान’ ।
भन्न त उसले “ओ सरी ! नमस्ते भिनाजु” भन्न पनि भ्याई । यतिञ्ज्याल बुढोचाहिँको होशहवास उडिसकेको थियो ।
केही हल्लाहरू भिनाजुचाहिँले सुनेकै हो । जस्तो बिहेपछि पतिको होसमा दबल (व्यान) लाग्ने भएकोले हस् व्यान भएको हो । बिहे गरेपछि अङ्कल हुनुपर्ला भनेर केटाहरू निकै होस पुर्याउन खोज्छन् । यसैले पनि होसमा व्यान लाग्ने भन्दाभन्दै हजब्याण्ड बनेको हुन सक्छ ।
भनिन्छ नि- जीवन जात्रा हो, शास्त्रमा लेख्नलाई छुट्या मात्र हो ।
यसरी हस् व्यानबाट हजब्याण्ड बनेको भन्ने किम्बदन्ती यतिले मात्रै पुग्दैन ।
खोज्दै जाने हो भने मंसिरे लगनमा रित्तै परेका ठिटाहरूबीच अर्को विश्वास पनि प्रचलित रहेको पाइन्छ- बिहेमा बेहुलाको तर्फबाट ब्याण्ड बाजा बज्छ, त्यसपछि जिन्दगीभर बेहुलीको तर्फबाट ब्याण्ड बजाइन्छ । बल्ल पति ‘हस्- ब्याण्ड’ मा परिणत हुन्छ । यो उक्ति पनि न्याय नपाए गोरखा जानु भनेजस्तै थोत्रै भैसक्यो ।
कसरी बन्यो हजब्याण्ड ? आउनोस् खोजी गरौं ।
पुरानो अंग्रेजीमा हसब्याण्ड भन्नाले मास्टर अफ हाउस अर्थात् नोकर चाकरको मालिक भन्ने हुँदो रहेछ । श्रीमती बिहे गरेपछि हजब्याण्ड हुन पाइने नियम कहिलेदेखि चल्यो कुन्नी । दासदेखि सतिप्रथासम्म हटिसकेको जुग बित्दा कसैलाई दास बनाउने कुरा पनि इतिहासै भैगयो । कतै त्यही चाल पाएर ‘हज्ब्यान्ड’ को पुरानो एन्ड्रोइड भर्सनलाई झैं अपडेट गरेर ‘हब्बी’ भन्न थालिएको त होइन ?
पहिले पहिले चन्द्रकान्त शर्माका बालाई पत्नीले फलानाका बा भनेर सम्बोधन गर्थिन् । शर्माजीलाई पत्नीले बूढा भन्न थालिन् । शर्माकी बुहारी पतिलाई हजब्यान्ड भन्छिन् । नातिनीबुहारी मिस्टर डेभिड शर्मा भन्छिन् । यही क्रमको सम्बोधन खिइँदै जाने हो भने के हालत होला ? जिल खान्छु ।
हजब्याण्डसँग एक्प्याण्ड र आइल्याण्ड जोडिएला कि के होला ! ब्रोडब्याण्ड र हजब्याण्डबीच पनि कुनै न कुनै वैध अवैध सम्बन्ध त होला क्यार । अहिले यी शङ्कामाथि व्यान गर्न चाहन्छु ।
नेपालमैं पनि कुनै समुदायमा केटी माग्न जाँदा केटाको धैर्यताको परीक्षणका लागि केटालाई बाँधेर सिस्नुपानी लगाउने चलन छ । यसरी होसहवास उड्नेगरी बाँध्ने कामले होश बान होश बान हुँदाहुँदै हजब्याण्ड बनेको हो कि भनेर अड्कल काट्न पनि सकिन्छ ।
पति र पत्नीबीच नङ-मासुझैं सम्बन्ध हुन्छ । बरु यसमाथि एउटा कविता राख्न सकिन्छः
यान त्यान
पति झोल हुँदा
पत्नी जुस क्यान
पति किताब हुँदा
पत्नी बोध ज्ञान ।
पति शान्ति भए
पत्नी योग ध्यान
पति अमलेट भए
पत्नी फ्राइ प्यान ।
पति समुद्र भए
पत्नी कोस्टव्यान
पति कुचो भए
पति डस्टप्यान ।
समग्रमा भन्नुपर्दा पति-पत्नी अर्थात् वाइफ-हजब्याण्डबीच भ्रष्टाचार र कर्मचारी जत्तिकै अन्योन्याश्रित सम्बन्ध रहेको छ । त्यसो त वाइफबाट वाइफाइ बन्यो भन्नेहरू पनि निस्किएलान् । कसै कसैले विदाउट इनफर्मेसन फाइटिङ एभ्रिटाइमकै संक्षिप्त रुप ‘वाइफ’ हो पनि भनेका छन् । त्यसबारे लेख्दै गरौंला ।
हजब्याण्डका प्रकारहरू बोत्तल हजब्याण्ड, शोकेश हजब्याण्ड, सुपर नेचुरल, को-हजब्याण्ड (सहायक पति) आदित्यादि बारे पछि नै लेखौंला । हाललाई यो आलेख हजब्याण्डहरूप्रति समर्पित गर्दछु ।
०००
हेटौँडा
Subscribe
Login
0 Comments
Oldest







































