नगिता लेप्चा राईआसनआसे अतिथि
उनलाई कार्यक्रमका मुखिया, मुखेनी, आयोजक, सञ्चालक तथा मञ्चमा आसिन अन्य अतिथिगणले आसन ग्रहण गर्ने प्रयास गरेको म देखिरहेछु ।

यहाँको एउटा नामी स्कूलको कार्यक्रममा उपस्थित भइदिनलाई मलाई पनि निम्तो पत्र आयो । समय थिएन । कार्यालय जानुपर्ने । तरै पनि शरीर बिसञ्चो भयो भनी ढाँटेर छुट्टी निवेदन गरेँ हाकिमलाई । हाकिमले औषधि सेवन गर्ने अनुरोध गर्दै मेरो छुट्टी मञ्जूर गरे ।
कार्यक्रम थलोमा पुगेँ समयमा । निम्तो पत्रमा तोकिएको समयभन्दा कार्यक्रम निकै ढिलो गरेर आरम्भ भयो । महाप्रमुख अतिथि, प्रमुख अतिथि, विशिष्ट अतिथि, अति विशिष्ट अतिथि, संरक्षक अतिथि के के हो के के अतिथि अतिथिले मञ्च भरियो । उदघोषकको लम्बेतान दिक्कलाग्दो उदघोषणाले टाउको फुट्लाजस्तो भइसकेको थियो । मञ्चमा ठाउँ छैन…. थरि थरिका अतिथिहरू भरिएको भरिएकै छन् । त्यहाँ के देखेँ भनेँ, सबै नै मञ्चमा बस्ने भोगीहरू । एउटा कार्यक्रममा निम्तो गर्दैमा आउने जति सबैलाई मञ्चमा ठाउँ दिनैपर्छ र ! अब कुनै पनि संस्थाले कार्यक्रम आयोजन गर्दा निम्तो पत्रमा पहिले नै लेखिदिनुपर्छ कि यसरी, भूइँमा बस्ने जति सबै महाप्रमुख अतिथि, प्रमुख अतिथि, विशिष्ट अतिथि, अति विशिष्ट अतिथि, संरक्षक अतिथि. तानतुने अतिथि, चेपचापे अतिथि, खुसामदी अतिथि, टोचन अतिथि अनि़ माथि मञ्चमा बस्नेहरू साधारण दर्शक ।
लौ हेर्नुहोस्, एकजना अतिथिलाई मञ्चमा बोलाइएन । यिनी साँच्चै समाजमा प्रतिष्ठित गणमान्य व्यक्ति हुन् । न यिनी साहित्यकार हुन्, न सङ्गीतकार न कुनै नेता नै । तपाईंले कुनै पनि कार्यक्रम आयोजन गर्नुहोस् अनि निम्तो पत्र लिएर निम्तो पत्रमा उनको नाम प्रमुख अतिथिमा देखाउनु भयो भने… तपाईंले आयोजन गर्ने कार्यक्रममा लाग्ने खर्च सबै उनले बेहोर्छन् । यसैकारण उनलाई प्रत्येक कार्यक्रममा प्रमुख अतिथिको आसनमा विराजमान गराइन्छ । म देखिरहेकी छु…. उनीसित आएको उनको चम्चेले कार्यक्रमका प्रमुख व्यक्तिलाई कानमा कोनि के के भनेको देख्दैछु… उनी दुगुर्दै मञ्चमाथि चढ़ेर मस्त भएर बोलिरहेका उदघोषकलाई कानमा कोनि के के भने । बस्… उदघोषकले पनि बाह्र मसला पनि होइन चौरासी व्यञ्जन लाएर उनको प्रशंसा गरी उनलाई मञ्चमा आसन ग्रहण गर्ने अनुरोध गरे । अम्मुई… भाउ खोजेको हेर्नू न… तलबाट नाइँ…नाइँ…मलाई ठिक छ भनेका हुन् कि मलाई फस्टमै किन नबोलाएको भनेका हुन् मैले केही बुझ्न सकिनँ । साँच्चै उनी मानेनन्….दुई तीनजना स्वयमसेवक आएर उनलाई माथि लाने कोशिस नै गरेका होलान् भन्ने मैले बुझेँ । तर खास कुरो के हो…कि चन्दा कम्ति भयो र तपाईलाई मञ्चको नोकरीबाट आउट गरिएको हो भनेका हुन् । दैव जानुन् ।
उनले मञ्चमा आसन ग्रहण गर्न अस्वीकार नै गरेका हुन् भन्ने मैले टाढ़ाबाट यही अनुमान गरेँ । एक क्षणपछि कार्यक्रममा मुखिया आएर मञ्चमा देखाउँदै सायद माथि जौं न सर भनेका होलान् । तर उनले मुण्टो हल्लाएर अस्वीकार गरेको स्पष्टै बुझेँ । केही सिप नचल्दा दुइजना सुन्दरी युवतीहरू आएर बत्तीस दन्त देखाउँदै हात जोड़्दा मात्र ती आसनभोगी सर मस्किँदै मञ्चतर्फ लागे । मञ्चको माझमा ठिङ्ग उभिएर दुइ हात जोड़ी तीस लहर दन्त (बत्तीस दन्तमा दुइवटा बालकोनीका दाँत किराले खाएर उखेलिसकेको मलाई थाहा छ) ह्वाङ्ङै पारेर मुस्कुराए…. लाग्यो यी मान्छेले कुनै टूथपेष्ट कम्पनीको एड गरिरहेछन् । हे भगवान… उनलाई बस्ने कुर्सी छैन । एकजना स्वयमसेवकले हतार हतार ड्रम बजाउनेको टूल ल्याएर राखे ।
अहिलेसम्म हजारौं कार्यक्रममा प्रमुख अतिथिको आसन ग्रहण गरेर सबैको माझमा बेहुला जस्तो भएर बस्ने मान्छेलाई टूलमा बस्न सुहाउँदैन । त्यो मैले अनुभव गरेँ । यत्रो भीड़मा कसले कसको याद गर्ने । अनि बोल्दै गरेका उदघोषकको हातबाट माइक्रोफोन खोसेर बोले, क्षमा गर्नुहोला… म आसनको लोभमा आज उपस्थित भएको होइन । म आसनमा बसे पनि भूइँमा बसे पनि मञ्चको माथि चमेराजस्तो तुर्लुङ्ङै झुण्डिए पनि आखिर त्यही फलानु हुँ । कार्यक्रममा उपस्थित भएर आयोजक साथीहरूलाई उत्साह दिनु नै मेरो परम धर्म हो । यसकारण म आजको यो महान् कार्यक्रममा चेयरमा होइन भूइँमा बस्छु भनी पलेँटी कसेर भूइँमै बसे । कार्यक्रम शुरु भएकै छैन । उनकै तमासा हर्दा आधै दिन बित्यो आज । उनलाई कार्यक्रमका मुखिया, मुखेनी, आयोजक, सञ्चालक तथा मञ्चमा आसिन अन्य अतिथिगणले आसन ग्रहण गर्ने प्रयास गरेको म देखिरहेछु । उनी एक सय बीस किलोमिटरको स्पिडमा मुस्कुराउँदै अट्ठाइस दन्तको विज्ञापन गरिरहेको पनि देखिरहेछु । माइक्रोफोन हातमै छ । गम्भीर स्वरमा बोले उनी मानौ आशारामले प्रवचन दिएको जस्तो लाग्यो मलाई ।
आशारामकै स्टाइलमा उनी बोले- सुधीवृन्द। क्षमा गर्नुहोला…. मलाई आसन चाहिँदैन । किन मलाई आसन चाहिँदैन एउटा कथा सुनाउँछु म तपाईहरूलाई । महात्मा बुद्ध एकदिन प्रवचन गर्न गए । उनका भक्तजनले उनको निम्ति विशाल अग्लो आसन तयार पारेका थिए । महात्मा बुद्धलाई सबैले आसनमा बस्ने अनुरोध गरे । तर महात्माजी मान्दै मानेनन् । उनले भने म भूइँमै बस्छु । मलाई आसनको आवश्यकता छैन, पर्दैन । भक्तजनहरू के गरुँ कसो गरुँ भए । एकजना वृद्धले प्रश्न गरेँ, महात्माजी आफूको निम्ति आसन बनाइएको छ हजूर किन भूइँमा बस्न चाहनुहुन्छ ? गहन मुद्रामा बुद्ध बोले- म आसनमाथि यसकारण बस्न चाहन्न आसनमाथि बस्यो भने कसैले पनि दाउ पर्यो भने ठेलेर, घचेटेर भूइँमा झारिदिनसक्छ । तर भूइँमा बस्यो भने कसैले ठेल्यो वा घचेट्यो भने पनि लड़्ने डर हुँदैन ।
आशारामजी ए…सरी…सरी…हाम्रा आसनभोगी प्रमुख अतिथिको कुरा सुनेर थपड़ीले कार्यक्रमको तम्बू झण्डै उड़ायो । अनि फेरि बोले आसनआसे अतिथि, म यति दिनसम्म माथि नै बस्दै आएको हो…मलाई पनि माथिबाट घचेटने, ठेल्नेहरू दाउमा छन्…. यसैकारण होसियार भएर अहिलेदेखि नै भूइँमा बस्ने प्राक्टिस गरेको हजूर । फेरि थपड़ी । उनको अट्ठाइस दन्त भर्खर बलेको बत्तीको उज्यालो रिफ्लेक्ट भएर एकजना तालु चिण्डे धपक्क बलेको थियो ।
अब माल्यार्पणको कार्यक्रम। मञ्चमा आसिन सबै अतिथिगणलाई भटाभट माला पहिराउने काम चल्दैछ । माला सकिएछ कि क्या हो… आसनआसे अतिथिको भागमा माला नै परेन ।
हल्लाले केही सुनिएन । म पछिल्तिर बसेकाहरू गनगन गर्दैथिए… नाथे….स्वाङ् पार्छ साला… कार्डमा यसको नाम र प्रमुख अतिथि छापिएको देखिएन भने कार्यक्रममा नबसी टाप लाउँछ । अहिले स्वाङ हेरन यसको ।
अर्का युवक-. अरे बन्धु… पहिल्यै फोन गरी गरी सोध्छ पो ता नाथेले… भाइ मलाई कुन आसनमा राख्ने…लौ हेर…अहिले बुद्धवाणी भनेर लाज छोप्नु खोज्छ ।
अर्का युवक- अरे तैंले एउटा रामलीला गर् न अनि यो नाथुलाई प्रमुख अतिथि बना ता… राम, हनुमान, बाली, सुग्रिव, रावण सबैलाई गतिलो चम्बा दिन्छ नि ।
कचक् कचक् पान खाँदै गरेका एकजना वृद्ध व्यक्तिले भनेका कुरा मेरो कानैमा थुरियो, हन मान्छेहरू यस्ता पनि हुन्छन् होकि ।
म मेरा पछिल्तिर बसेका मान्छेहरूको गफ सुन्दै थिएँ…. कुनि कतिबेला आसनआसे अतिथि निस्केर गएछन्…. थाहै भएन ़।
भोलि पनि एउटा कार्यक्रममा कविता वाचनको निम्ति निम्त्याइएको छ । हेरुँ…त्यहाँ पनि आसनआसे अतिथिको अट्ठाइस दन्त मुस्कान हेर्न पाइने हो कि…!!
०००
खोलाचन्द फाप्री (जलपाईगड़ी, भारत)
Subscribe
Login
0 Comments
Oldest







































