साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाको मानव

धेरै हिउँद वर्षा, असिना, पसिना, ठूला, मसिना, दुर्गती पचाउँदै, छेउ लगाउँदै अनेक अप्ठ्यारा हण्डर ठक्कर, चक्कर पार लगाएर मात्रै पाको मानव बन्न सकिन्छ । दाँत नहुनु, आँत र आँट ध्वस्त हुनु त छदैछ ।

Nepal Telecom ad

परिपक्व पाक्नु शब्दबाट नै पाको शब्दको टुङ्गो लागेको अड्कलबाजी म बुङ्गोले लगाएँ । यहाँ पाको शब्दकै मामलामा केही भन्न लाको हो । पाक्नु थाक्नु होइन परिपक्क हुनु हो । पृथ्वीमा आगो बाहेक सबै कुरा पाक्छ । अम्बा पाक्यो तोरी पाक्यो, मकै पाक्यो, फर्सी, पाक्यो, भने जस्तै उमरले परिपक्क भएपछि मान्छेलाई पनि पाकेको मानिन्छन् र नै भन्ने गरिन्छ- ‘पाको मानव’ । हरेक काम कुरा गर्नु हुने र नहुने के ठिक के बेठिक छुट्याउने क्षमता अनि बोली, व्यवहार, बचन, लवाइ रुवाई गराई मन पराई वा मन नपराइ हरेक बाटा र पाटाहरू गौँडा र गल्छेँडाहरू चित्त बुझ्दो, मानवोचित, हानीरहित खोट र चोटरहित, हुने हुनाले नै मान्छेलाई पाको भनिएको हो ।

यस्ता पाको मानवले एउटा निर्दोषलाई कसैले लात्ती, लाठी र मुड्कीले भकुर्दैछ भने नभकुर भन्छ । अप्ठ्यारामा दगुर्दैछ भने नदगुर भन्छ । अभक्ष्य हसुर्दैछ भने नहसुर भन्छ । ज्ञानी, बुद्धिमानी र महाज्ञानी हुनु नै पाको मापक स्वभाव मानिन्छ । नेपाल सरकारले त्यस्तै पाको मानवको मान मर्यादा र महत्त्वलाई प्राथमिकता दिएर नै दिनमा पाँच पटकसम्म कालो चिया खान पुग्ने गरेर बृद्ध भत्ता दिने गरेको छ । सिङ्गासिङ्गै बसको एक एक थान सिट छुट्याएको छ । सरकारी अड्डा अदालतमा लाइनमा नबसी आफ्नो कामको ढड्डा पल्टाउन पाइन्छ । यसो गर्नाले ढाड दुखेर ऐया ऐया भन्नु र काममा कन्नु पर्दैन । सिरु फुलेझै सेताम्य देखिने साठी, सत्तरी वर्ष काटेका चुल्ठो बाटेका या नबाटेका हरेक चाउरे, चाउरी, दाउरे दाउरी, फ्याउरे फ्याउरी, तन्नेरीहरूलाई पाको मानव भन्ने चलन विश्वव्यापी नै छ भनौ न ।

पाको मानव देख्नमा सिक्रो, झिक्रो लागे पनि गुणवान हुन्छन् । सिलाजित, यार्सागुम्बा, हिङ जस्तो जडिबुटी औषधी सरह बहुउपयोगी हुन्छन् । भित्री गुणतत्त्व थाहा पाएर नै कतिपय चतुर टाठाबाठाले जेष्ठ नागरिकको सक्कल देखाएर एनजिओ आइएनजिओ खोलेर मिठो मिठो बोलेर जुकाले झै रस चुसिरहेका छन् । रस चुसाइलाई सरकारले उत्तम जुक्ति ठानेर मान्यता पनि दिएको छ । तरिका पुर्‍याएर चुसे यहाँ हजारौँ मान्छेको रगत चुसेर पनि प्रधानमन्त्री बन्न पाइन्छ । जेष्ठ नागरिक सिहार सुसार सम्हार अनि संहार केन्द्र खोलेर भरमार मार हान्ने र लुँड्याउने काम तीव्र गतिले अगाडि बढेको छ । असाध्यै राम्रो काखैमा राखेर रेखदेख गरिरहेको छु भन्दै बृद्ध बृद्धालाई गालाको चाउरी छालामा मोइदिँदै धोइदिँदै आफू नौनी र दही लुँड्याउँदै तन्नेरी मोटाइ रहेको छ भनेपछि पाको आश्रम प्रतिको लगानी पनि लोभ लाग्दो नै छ भन्नुपर्छ ।

कतिपय पाका दुख पाका मानवहरू केभाका हुन् तिनका संरक्षकहरू अधर्मी, पापी, कन्जुसको फेला परेर हुन् कि किन हो जब आश्रममा श्रम गर्न पुग्छन् अनि तन्नेरी छोरा बुहारी डम्फूको तालमा लम्फू गयो भन्दै डान्स गर्न थाल्छन् । वर्षौदेखि बितेको काम कुरा पुरा भए जसरी खुसी हुन्छन् । बृद्ध बा आमाको अशक्त अवस्थामा सिहारसुसार गर्नका पिरलोले बृद्धाश्रममा धकेल्छन् पेल्छन् र कसैको ज्यानमाथि खेल्छन् भने यसभन्दा ज्यादा मजाक मानव चोलामा के होला ?

अमेरिका लगायत युरोपियन मुलुकमा अठार वर्षको अपार सफलतापछि आफ्ना छोराछोरीलाई घरबाट निस्किएर जाऊ र आफ्नो गरिखाऊ भन्दै रित्तै हात धपाउँछन् र बाबुआमा बाचुन्जेल एक्लै गुजारा गर्न बाध्य हुन्छन् । दुःख पाइस् मङ्गले आफ्नै ढङ्गले भने झै बुढेसकालको लठ्ठीलाई बहुलठ्ठी तालले बेलैमा आफूले पछि चाहिएका बेलामा के टेक्नु के समाउनु, केमा अडेस लाग्नु ? न जननीले सन्तानको चिन्ता लिन्छन् न बाबु आमाको चिन्ता छोराछोरीलाई यस्तो पशुवत पश्चिमेली संस्कार अत्यन्त घातक छ र संवेदनाहीन मानव हुनुको मूल्य के रह्यो र ? धनसम्पत्ति मात्रै ठूलो कुरा होइन । ठूलो कुरा त त्यो हो जो आपत, विपत र सङ्कटमा काम लाग्छ र कठ्याङ्ग्रिदो जिन्दगीमा घाम लाग्छ । त्यसैले त भन्ने गर्छन् छोरो घाम छोरी जून । जसले पालो पालो आफ्ना तर्फबाट गक्ष्य र लक्ष्य अनुसारको ताप र प्रकाश दिइरहेका हुन्छन् ।

बाको उमेरको पाको मान्छेले ढाँटढुँट, छलछाम, ठगठाग, फोरफार, चोरचार, तानतुन, हानहुन रिस, राग फिटिक्कै नगर्ने हुनाले पूर्णकद कष्टकर बन्ने गर्छ । लडाइ गर्नेले सिँगौरी खेल्न खोज्यो भने ऊ रामराम भन्दै सिरक भित्रबाट मुड्की उज्याउँछ बरु तर शत्रुका थाप्लामा मुड्की बजार्दैन । तिरस्कार गर्नेलाई नमस्कार गर्छ बरु बहिष्कार गर्दैन । निहु खोज्नेलाई घिउ दिन्छ बरु जिउ दिँदैन । ज्ञानी, दानी, मानी र मायाको खानी हुन्छ पाको मानव तै पनि आश्रममा किन थन्क्याउँछन् ? एक्लै किन राख्छन् ? सोजत्त्वको फाइदा उठाउँदै भँड्खालामा जाक्न रुचाउँछन् उत्तर आधुनिक बृद्धबृद्धाका पुजारी र चरम रेखदेखको पगरी गुथ्न रुचाउने आफन्तहरू । दया, धर्म, करुणा हर मानवलाई मात्रै नभएर हरेक प्राणीलाई आवश्यक पर्छ तैपनि बुद्धिमानी मानव यस पुण्य कर्मबाट किन पृथक रहन रुचाउँछ ? कतै कलि कलविष समयको कमाल त होइन ? कि विनासकाले विपरीत बुद्धि पो हो कि ?

पाको मानवका रौरौँ, छालाका गरागरा, पैतालाका चिराचिरा, हातका ठेलाठेलाले धेरै असिना र पसिना पचाएका हुन्छन् । थाहा छ थकान धेरै हुन्छ तै पनि विश्राम गरेर समय नष्ट गर्न चाहँदैन । सकिनसकी घिस्रिनु, सकिनसकी बोल्नु, चल्नु, आफ्नु र आफन्तकै हितका लागि मरिमेट्छन् । हिँड्नु पर्‍यो थोरै हिँड्छन् । खानुपर्‍यो थोरै खान्छन् । सुत्नुपर्‍यो थोरै सुत्छन् । बोल्नुपर्‍यो थोरै बोल्छन् । राम्रा नराम्रा आङ ढाक्ने न्यानो कपडा भए पुग्छ । हरेक खान्की लवाइ, खुवाइ आफ्नै लागि भारी बनिरहेको हुन्छ भने बाँजो फोड्दै बारी खन्ने त कुरै भएन । तर कोरला कोरली छतौरा छतौरीले जस्तो धेरै कुरा हरेक काम अधिक गरेर सताउँदैनन् । जे कुरा पनि दिक्क नमानी ठिक्क गर्नु नै पाको मानव हुनु हो । इषरहित ईश्वर भएको मानव हुनु हो, उमेर गएको मानव हुनु हो र समग्रमा पाको भनेको पाठो होइन बरु अस्ताचलोन्मुख धिपधिपे वर्तन भएको दियो सरहको मानव हो दानव होइन ।

धेरै हिउँद वर्षा, असिना, पसिना, ठूला, मसिना, दुर्गती पचाउँदै, छेउ लगाउँदै अनेक अप्ठ्यारा हण्डर ठक्कर, चक्कर पार लगाएर मात्रै पाको मानव बन्न सकिन्छ । दाँत नहुनु, आँत र आँट ध्वस्त हुनु त छदैछ तै पनि अनेक शास्ती नै मस्ती मान्ने, हप्की दप्की र खप्की पचाउन सक्ने, धेरै भोटा र भित्राँस फटाएपछि, धेरै रुने र थोरै हाँसेपछि, धेरै थचारिने र पछारिने गरेपछि, मान अपमान र मुक्तमान पचाउन सकेपछि मात्रै पाको मानवमा दरिन सकिन्छ । झरी, बादल, वर्षा, बाढी, पहिरो झेल्नु र ठेल्नुपर्छ । सन्तान दरसन्तानसँग खेल्नुपर्छ । नाच्नु, हाँस्नु, सुत्नु र उठ्नुपर्छ । पर्लयकारी प्यारा प्यारीको मिलन विछोड सहनुपर्छ । शत्रु मित्रुसँग हारजितको तालमा ताल मिलाउँदै खुम्चिने, तन्किने र आवश्यक परे रन्किने गर्नुपर्छ । लेनदेन, व्यवहार, कारोबारमा कतै सेलाउँदै र कतै तात्तिँदै जीवनको नौकालाई सन्तुलन ब्यालेन्समा ल्याउनुपर्छ ।

अन्ततः जब यी सबैमा सक्रियता तदारुकता झल्किँदैन अनि अन्तमा ज्ञानेन्द्रिय, कर्मेन्द्रिय र संवेदनशील अङ्ग प्रत्याङ्गहरू शिथिल र सुस्त सुस्त ओरालो लाग्दै गएपछि पाकेको उपाधि हात लाग्छ र पाको भइन्छ । पाको त्यस्तो उपाधि हो जो प्राध्यापक, डाक्टर भन्दा पनि माथिको मान्नुपर्छ किनकि मानव पाको नबन्दै प्राध्यापक, डाक्टरको उपाधि पोको पारेर धोको पुरा गरिसकेका हुन्छन् तर तिनमा पाकोको न्यूनताले परिपक्कोपना छायाँमा परेर झल्किँदैन अनि इमेज र साख उति टल्किँदैन जति उपाधिका प्रमाणपत्रहरूले दावी गरेका हुन्छन् ।

०००
शिवशक्ति मार्ग
फूलबारी-११, पोखरा, कास्की
फोन ९८०६६७७५९४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
सरकाे र घरकाे कुटाइका कुरा

सरकाे र घरकाे कुटाइका...

शेषराज भट्टराई
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x