प्रमोद अमात्यभाले जुधाइ
हामीलाई यी बाहुबलीको डर लागे जस्तै उसलाई पनि हाम्रो डर पक्कै लागेको हुनुपर्छ । अबको कुनै पनि वार छल्ने र झेल्ने शक्ति ममा बाँकि थिएन । तर खेल त सकाउनै थियो । न्वारान देखिको बल निकालेर युगेशले अन्तिम वार गर्यो ।

शुक्रबारे गन्थन
भाले जुधाइ भन्नासाथ तपाईंलाई लु आज रोचक राजनीतिक खेला हेर्न पाइने भयो भन्ने लाग्ला । त्यस्तो केही हैन है साथी हो ! न त यो जुँगाको जुधाईको गन्थन हो । यो मेरो फुच्चे बेलाको खेल गाथा हो जुन एकादेशको कथा हुन लागिसक्यो । उहिले अहिले जस्तो मोबाइल खेल कहाँ थियो त ? थियो त केवल गुच्चा, चुरोटको पत्ता, साइकलको टायर, रिम, डण्डीबियो, कानकान पिच्चा, लुकामारी, खेँ कासा आदि । साइकलको टायर गुडाएर पाटनबाट गौचरन सम्म (अहिलेको अन्तर्राष्ट्रिय विमानस्थल) पुग्थ्यौँ हामी । चुरोटको खोल खोज्न सडक गल्ली सब चहाथ्र्यौँ । पाटनको सब गल्ली कण्ठ थियो । कतै हराई हाले, कसैले न कसैले चिनी हाल्थे- यो फलानाको छोरा, फलानाको नाति, फलानाको भान्जा, भतिजा हो भनेर ठम्याई हाल्थे ।
उहिले अर्को एउटा नयाँ खेल पनि चल्न थालेको थियो- भाले जुधाइ । यो खेललाई हामी ‘कक् फाइट’ भन्थ्यौँ । धेरैले ‘कफाइट’ भन्थे । यो खेल खेल्न एउटा खुट्टालाई मोडेर पछाडि लगिन्छ, मोडिएको खुट्टालाई पछाडिबाट एउटा हातले र त्यो हातको नाडीलाई पछाडिबाटै अर्को हातले समातिन्छ; अनि एक खुट्टाका भरमा उफ्री उफ्री कुमले विपक्षीको कुममा धक्का मारी विपक्षीलाई उसको पछाडि समातेको हातखुट्टा फुस्काउन वाध्य गराइन्छ वा उसलाई लडाइन्छ । यसमा, धेरैजना एकैपटक एक्लै मैदानमा उत्रन्छन् र सवैजना सबैका प्रतिद्वन्दी हुन्छन् । जो अन्तिमसम्म टिक्छ, ऊ नै विजेता ।
यो भाले जुधाइ खेल मैले धरानको स्कूल पढ्दा सिकेको थिएँ । बुवाको जागीर उतै थियो, उतै पाँच कक्षासम्म पढियो, उतै यो खेल सिकियो । उ बेला म दुब्लो पातलो थिएँ तर छिटो छरितो । अतः कक्फाइटमा अरूको वारलाई छलेर बच्न मेरो जीउडाल खास्सा थियो, मौकामा चौका हानेर लडाउन पनि सक्थेँ । पछि पाटन फर्किएपछि यो खेल खासै खेलिएन । युगेश मेरो मिल्ने साथी, म भन्दा स्कूलमा एक कक्षा माथि । कहिलेकाहीँ म युगेशसँग यो खेल खेल्थेँ । ऊ यो खेलको महारथी थियो, अति सिपालु । विभिन्न दाउपेच जान्ने, बलियो अनि उत्तिकै छिटो छरितो । उसले यो खेल बाग्लुङमा सिकेको भनेर सुनाउँथ्यो ।
एकदिन हाम्रो स्कूल श्रीचण्डी विद्याश्रमको वार्षिक उत्सवमा यो भाले जुधाइ खेल हुँदैछ भन्ने थाहा पाएपछि हामी दंग, मानौँ यो खेलको पदक हाम्रै पोल्टामा आउँदैछ । अब हामी जुट्यौँ अभ्यासतिर । केही दिनपछि खेल खेल्ने दिन आई पुग्यो । हामी एक आपसमा नजुध्ने र जुध्नै परे अन्तिम चरणमा मात्र जुध्ने सल्लाह सुटुक्क गर्यौँ । हामी दुई एकै उचाईका थियौँ- अलि होचा । यो होचो हुनुको फाइदा के भने हामीलाई वार गर्न अग्लो व्यक्तिलाई अलि झुक्नु पर्छ, जब सामुन्नेको खेलाडी झुक्छ हामी तलबाट माथि वार गथ्र्यौँ ; ऊ ड्याङ्गै ढल्थ्यो अनि उसको खेल खतम । यसरी बडो कुशलतापूर्वक हामीले धेरैलाई ढाल्न शुरु गर्यौँ ।
खेलमा हामीले नसोचेको, नचिताएको कुरा भयो । अर्का एकजना सशक्त खेलाडी देखापरे । यी खेलाडी थिए हामी भन्दा ठूलो जीउडालको, बलियो र चतुर । चतुर यस कारण कि उसलाई हामी दुई मजबुत र मिलेका छौँ भन्ने भनक लागिसकेको थियो । ऊ हामीसँग तर्केर अरूलाई ढाल्नतिर तल्लीन थियो । नभन्दै अन्तिम पहरमा हामी दुई र यी बलवान् खेलाडी मात्र बाँकी रह्यौँ । हामी तीनै जना थाकेर, पसिनाले निथ्रुक्क भिजेर स्वाँ स्वाँ गर्दै सम्भालिँदै टिकेका थियौँ । हामीलाई यी बाहुबलीको डर लागे जस्तै उसलाई पनि हाम्रो डर पक्कै लागेको हुनुपर्छ ।
हामी दुई साथी मिलेर उसलाई एकै पल्ट हमला गर्छन् भन्ने आभास भएर होला उसले अकस्मात् युगेशलाई हमला गर्यो । उसलाई लागेको हुनुपर्छ आकस्मिक हमलाले बलियो युगेश ढल्छ अनि ऊ मलाई सजिलै तह लगाउँछ । तर युगेश पनि कम्ता चतुर थिएन, ऊ पहिल्यै सतर्क थियो । ऊ चितुवाको फूर्तीले छेउ लाग्यो । यी बाहुबली सम्भालिन नपाउँदै अर्को छेउबाट मैले यी बाहुबलीलाई अकस्मात् प्रहार गरेँ । उल ढल्पल भयो, थामिन सकेन र उसको हात खुट्टाबाट छुट्यो । ऊ खेलबाट बाहिरियो । हामीले लामो सन्तोषको सास फेर्यौँ ।
अब खेल मैदान पूणर्तः हाम्रो कब्जामा थियो । खेल हेर्न बसेकाहरू पछाडि हल्ला गर्दैथिए । कक्षा नौका मेरो पक्षमा, कक्षा दशकाहरू युगेशको पक्षमा । हामी दुबैजना थाकेर चुर चुर भैसकेका थियौँ, अबको कुनै पनि वार छल्ने र झेल्ने शक्ति ममा बाँकि थिएन । तर खेल त सकाउनै थियो । न्वारान देखिको बल निकालेर युगेशले अन्तिम वार गर्यो । त्यो वार मेरो कुममा ठोक्कियो, मेरो सन्तुलन बिग्रियो र मेरो हात छुट्यो । साथीले खेल जित्यो मने हामीले खेल जित्यौँ । हाम्रो योजनाले जित्यो । हाम्रो दोस्तीले, मित्रताले जित्यो । खेलमा यति मेल र चातुर्य त चल्छ होला नि ? कि कसो साथी हो ?
०००
अमेरिका
Subscribe
Login
0 Comments
Oldest








































