राजेन्द्र कार्कीकामी
झन् बेकामीहरूको हालीमुहाली भएको देशको के कुरा गर्नु ? देश र समाजलाई दरिद्र बनाएर मगन्ते बनाएका छन् । इतिहासदेखि बर्तमानसम्मको यो प्रवृत्तिको इतिवृत्ति कहिले अन्त्य होला ?

बेकामीहरू काम गर्दैनन्, तर काम गर्नेलाई कामी भन्छन् । सबै कामी नै कामी भइदिए देश र समाज दामी हुने थियो । बेकामीहरूले देशलाई नै शेष बनाउँछन् । कामी युवालाई पनि ज्यामी बनाएर परदेशमा लखेट्छन् । परदेश लखेट्न पाएकोमा गर्व गर्छन् ।
बेकामीहरू नाम जुराउनमा खप्पिस हुन्छन् । उनीहरूले पुरानो लुगालाई फूलको थुँगा भने पनि दासहरू सास नफेरी बास बस्छन् । त्यो त होइन होला कसैले भन्यो भने “हो हो” भन्दै स्याल झैँ चारैतिर एकै स्वरमा कराउँछन् र भेडा झैँ पछि पछि दौडन्छन् । ठेक्कापट्टा र नाफाको आसमा विवेक मारेका दासलाई सास फेर्न पनि गाह्रो छ । खोलामा पुल नहाल्यो किन हालिनस् भन्छन् । पुल हाल्यो, खोला नभएको ठाउँमा किन हालिस् भन्छन् ।
नाम जुराउनेले कामीलाई कामको आधारमा दाम हिजो पनि दिएनन् र आज पनि दिएका छैनन् । काम अनुसारको दाम नपाएपछि पेटभरि माम कहाँबाट पाउनु ! बेकामीले दाम त दिएनन्, कामको पहिचान पनि दिएनन् । बरु त्यो कामलाई तुच्छ बनाइदिए । दाम र पहिचान नभएको तुच्छ काम गर्ने उत्पादनका हस्ती कामी सबै गरीब भए पनि वेकामी मस्तीमा रहे । यस्तो व्यर्थको प्रथाले उत्पादन कसरी होस् ? लौ तपाईं आफै भन्नु होस् त ! उत्पादन नभएपछि देश गरीव हुन्छ । गरीव भएपछि हरिप हुनुको विकल्प रहँदैन ।
काम धेरै प्रकारका हुन्छन् र ती भिन्नभिन्न हुन्छन् । ती भिन्नभिन्न काम एक अर्कामा अभिन्न हुन्छन् । खेत जोत्ने हलिका लागि हलो र फाली अभिन्न हुन्छ । बलेँसी बाहिर बारीमा टिपेको तरकारी काट्न भान्सामा चुलेसी अभिन्न हुन्छ । भारी बोक्नेका लागि ढाकर र तोक्मा अभिन्न हुन्छ । भारी बोक्ने काम होस् कि सारी बोक्ने काम होस्, आखिर काम त कामै हो । तर फलामको काम गर्नेलाई “कामी”, लुगाको काम गर्नेलाई “दमाई” र छालाको काम गर्नेलाई “सार्की” भनेर बेकामीहरूले किन न्वरान गरे ? तर काम गर्नेहरू सबै कामी हुन् भन्ने मेरो ठम्याई छ र म पनि मेरो ज्ञान र सीपको काम गर्ने कामी नै हुँ ।
फलामबाट नयाँ यन्त्र बनाउने मान्छेलाई किन कामी भनियो ? किन लौहमुनि भनिएन ? ज्ञानको विज्ञलाई ऋषिमुनि भनिए जस्तै लौह विज्ञलाई लौहमुनि भन्नु पर्ने हो । युरोपका कामीले फलामबाट बन्दुक बनाए । त्यही बन्दुकको भरमा अफ्रिका, एशिया र अमेरिका सयौं वर्ष कब्जा जमाए । दोस्रो विश्वयुद्ध नभएको भए कयौं देशले अझै मुक्ति पाउने थिएनन् । उनका सन्तान त्यसैको बोनस खाएर अझै मस्ती गर्दैछन् । त्यो मस्तीमा अलिकति सास्ती भयो भने फाइटरले बम फाल्छन् कि लाइटरले आगो बाल्छन्, थाहा हुँदैन ।
वस्त्र विहीन भएर कोही नाङ्गै हिँड्न सक्दैन । जसले नाङ्गो ढाक्न वस्त्र सिलाउँछ, ऊ आफै निर्वस्त्र हुनुपर्ने अवस्था चाहिँ कसरी बन्यो ? आश्चर्यको विषय छ । श्रम शोषणको पोषणमा वाँचेका बेकामीहरूले उनीहरूलाई दमाईंको उपनाम दिनुपर्ने कुनै आधार देखिदैन । फेरि लुगा त आधारभूत आवश्यकता हो । त्यो आवश्यकता पुरा गर्न सियो समाई लुगा सिउने दमाईं होइनन्, बस्त्रमुनि हुन् ।
वस्त्रमुनिको डिजाइनको फेसनमा नायक नायिकाहरू बारुले कम्मर मर्काउँछन् । त्यो फेसनमा कम्मर मर्काउन सकेनन् भने उनको बेसन चट हुन्छ । बलिउड र हलिउडका हिरो हिरोइन जति नै चर्चित भए पनि फेसनको ठेसनमा अलिकति तलमाथि हुन दिँदैनन् । तलमाथि भयो कि फिल्मी स्टेसनबाट बिदा पाइन्छ भन्ने पीरको झीरले रोप्छ । म जस्ता लिँडे र ढिँडेलाई पो केही फरक पदैन त !
छालाको काम गर्नेलाई सार्की किन भनिएको हो ? अनि त्यो पेशाका मान्छेलाई किन अपहेलित गरिएको हो ? त्यो झन बुझि नसक्नु छ । दाम् कमाउने थोरै पेशा र व्यवसायमा छालाको काम पनि हो भन्ने नबुझेर पो हो कि ? छालाको काम गर्ने मान्छेलाई चर्ममुनि भन्नुपर्ने हो ।
सबै भन्दा महँगा र मूल्यवान मध्येमा छालाबाट बनेका बस्तु र सामान पनि पर्दछन् । त्यो कुरा संसारका ठूला सहरका महँगा पसलमा गएपछि थाहा हुन्छ । न्यूयोर्कको सडक किनारामा हिँडेको वेला म र मेरी सखी एउटा मलमा विना उद्देश्य पस्यौं । मेरी सखीले पर्स हेरिन् । “महँगो रहेछ” भन्दै सोकेसमा पुनः राखिन् । सोधें- “दाम कति रहेछ ?”
“आठ सय पचासी डलर” भनिन् ।
हो र भन्दै हेरेँ । मूल्य टाँसेको पुरै ट्यागमा उनको आँखा परेनछ । देखाई दिएँ । लामो स्वर पार्दै भनिन् ”नौ हजार आठ सय पचासी डलर ।” त्यतिखेरको डलरको भाउमा एघार लाख रुपियाँ मूल्य बराबरको थियो । एउटा सानो पर्स त्यति महँगो होला भनेर मैले कल्पना पनि गरेको थिइनँ ।
श्री ३ भएर बेलायत गएको बेला फलाम, लुगा र छाला जस्ता सीपमूलक कामको महत्व बुझ्ने अवसर जङ्ग बहादुरलाई मिलेको थियो । तर उनले बुझेर त्यही अनुरूप सामाजिक प्रणालीमा सुधार गर्न सक्ने थिए । कर्मशीललाई सीप सिकाउन “कर्मशाला” नामक स्कुल खोल्न सक्थे । तर त्यसको सट्टा दरवार हाईस्कूल किन खोले भन्ने कुरा अनुमान लगाउन कुनै हनुमान खोज्नु नपर्ला ।
बेकामीहरू आफू काम गर्दैनन् । काम गर्नेलाई पनि काम गर्न दिँदैनन् । इतिहासको लामो कालखण्डदेखि आजसम्म रजाईं कसैको छ भने बेकामीहरूकै छ । उनीहरूको रजाईं झन् झन् बढ्दैछ । उनीहरू आफूले के गर्ने जान्दैनन्, तर अरुले के गर्नुपर्छ जान्दछन् ।
बेकामीहरू कुन पेशा र व्यवसायमा छैनन् ? सबै पेशा र व्यवसायमा हालीमुहाली चलाएर उनीहरूकै ढलीमली छ । कति टिकटिकमा नाच्छन् । फेसबुक र ट्विटरमा लाजनीतिका वादविवादमा बिष वमन गर्छन् । कति त गोप्यले नपुगेर सार्वजनिक चाकडी चाप्लुसीको लिगलिगे दौडमा देखा पर्छन् । हाकिम, कर्मचारी र पार्टी नेता, स्वदेशी विदेशी दूतको जन्मदिन र वैवाहिक वर्षगाँठको शुभकामनाको बिस्कुन सार्वजनिक चाकडी चाप्लुसीको सजिलो माध्यम बनेको छ । त्यो पनि कुनै एक दुई दिन होइन, तीन सय पैसठी दिनै भ्याउँछन् । हरेक दिन को कहिले जन्मियो र को कहिले लोग्ने स्वास्नी भयो भनेर थाहा पाउने त्यस्ता विलक्षण बेकामीहरूलाई दोसल्ला ओढाएर सम्मान गर्नुपर्छ भन्ने मेरो जोडदार माग छ ।
जयस्थिति मल्ल जस्ता इतिहासका बेकामीहरूले कामको आधारमा जातप्रथा तोके । त्यही जातप्रथाको जन्जिरले ठोकेर नरकतुल्य जीवन बिताउन बाध्य बनाए । जसले हतियार बनाउँछ, उसैलाई मतियार बनाएर त्यही हतियारले सिद्याउने प्रथा शुरु भएपछि सीपको निप भाँच्चियो । जसले लुगा सिउँछ, उही नाङ्गो हुनुपर्ने भयो । जसले जुत्ता सिउँछ, उही खाली खुट्टा हिँड्नु पर्ने प्रथा शुरु भयो । यसरी बेकामीहरूले बसाएको व्यर्थको प्रथाको अन्त्य हुन त कता हो कता, उल्टै झन् कामी युवालाई परदेश पठाउने कार्यलाई संस्थागत गर्दै “बिना ढेउबा के फ्रि भिसा” अभियान चलाउँछन् ।
बेकामीहरूको कुशासनको चंगुलमा देश परेपछि युवाहरू खाडीमा नाडी बजाउन बाध्य छन् । विदेशी धामीका तन्त्र मन्त्रले पहाडदेखि मधेससम्मका यन्त्र-उद्योग बन्द भए । खुकुरी, करुवा, काठ र धातुबाट बन्ने मूर्ति, थाङ्काबाट बनाइने कपडा जस्ता परम्परागत उद्योगको नामो निसाना रहेन । मेरो जन्म जिल्ला भोजपुरको टक्सार नगरीले तामा र काँसका भाँडाकुँडा बनाउने उद्योगको पगरी बेरेको थियो । पगरी च्यातिएपछि टक्सार नगरी खण्डहर बनेको छ ।
अङ्ग्रेजीमा काम भनेको वर्क हो । काम गर्ने ठाउँ वर्कसप हो । वर्कसपमा काम गर्दै सिक्ने र सिकाउने प्रथालाई युरोपमा एप्रेण्टिसिप भन्न थालियो । त्यही वर्कसपलाई उनीहरूले आधुनिकीकरण गर्दै लगे । त्यसैको फलस्वरुप बाफले चल्ने इन्जिन बनाए । त्यो इन्जिनको आविष्कारपछि संसारमा औद्योगिक क्रान्ति भयो ।
कागजमै धान रोप्ने र कागजमै धान फलाउने विधिले कृषिको लिदी निस्किएको छ । सीप सिकाउन दाताको खाताबाट धेरै ऋण, दान, अनुदान आइसक्यो । तालिमेको सङ्ख्या हेर्यो भने त देशको जनसङ्ख्या भन्दा दोब्बर भइसक्यो होला । बेकामीहरू बीच तालिम पनि खोसाखोस हुन्छ । डलरको बास्ना सुँघ्न केन्द्रीय मन्त्रालय र स्थानीय निकायसम्म मारामार हुन्छ । त्यो तालिम परियोजनाबाट ज्वाईं बनेर देश विदेशको यात्राको मात्रा चाहिँ बढ्छ । नीति बनाउने निकाय नै परियोजना कार्यन्वयन गर्ने भएपछि बोक्सी र धामी खोज्नै परेन ।
संसारमा त्यस्ता ठाउँ मात्र दामी भएका छन्, जहाँ कामीलाई नाम, दाम र इज्जत दिइन्छ । तर त्यस्ता ठाउँ संसारमा विरलै छन् । दामी देशमा पनि कामीलाई त्यति सहज छैन । बहुराष्ट्रिय कम्पनीले कामीहरूको महत्व केही हदमा बुझेका छन् । तर ती कम्पनीले पनि कामीहरूलाई चुस्नसम्म चुसेका छन् । जेफ बेजोजको अमेजनको वयर हाउसमा काम गर्ने कामदारले आठ घण्टामा सरदर पन्ध्र सोह्र किलोमिटर बाराबरको दुरी हिँडेर काम गर्नुपर्छ । पाइपाइ हिसाव गरेर कामदारबाट काम लिन्छ । यसरी काम लिने बहुराष्ट्रिय कम्पनी धेरै छन् । झन् साना र मझौला कम्पनीले त कामदारलाई मेशिन नै ठान्छन् ।
संसारमा आज जति पनि विकास भएका छन्, ती विकासका आधार नै लौहमुनि, बस्त्रमुनि र चर्ममुनिहरू नै हुन् । उनीहरूकै काम र विज्ञताले विकसित देश र समाज दामी र नामी भएका हुन् । लौह, बस्त्र र चर्म व्यावसायबाट अरवपति बन्नेको सूचि पनि लामो छ ।
कुरामा छुरा हुने बेकामीहरूले सबै कामी वर्गको अपमान गरेर उनकै रगत पसिनाको उत्पादनमा रजाईं गरे । घरमा भात पकाउने बुहारीले नै पेटभरी भात खान नपाउने दलनमलनको चलन चलाए । सबैलाई ख्वाएपछि अन्तिममा उब्रे प्राब्रेको खानु परेपछि कसरी बुहारीले पेटभरी खान पाउनु त ?
कामीको पक्षमा कार्ल माक्र्सले वकालत शुरु गरे, तर कार्ल माक्र्सलाई नै पूजीवाद र बहुराष्ट्रिय कम्पनीले नाम पहिचान विहिन बनाई दिए । झन् बेकामीहरूको हालीमुहाली भएको देशको के कुरा गर्नु ? देश र समाजलाई दरिद्र बनाएर मगन्ते बनाएका छन् । इतिहासदेखि बर्तमानसम्मको यो प्रवृत्तिको इतिवृत्ति कहिले अन्त्य होला ?
हुन पर्दथ्यो दामी कामी
भइ दिए बेकामी दामी
दामी मात्र भएनन् बेकामी
उनै भए लोकमा नामी
कार्ल माक्र्स भए बेनामी
लुटले गरे उनकै बदनामी
कसले ल्याउने नयाँ सुनामी ?
०००
क्यानाडा
Subscribe
Login
0 Comments
Oldest









































