अशोककुमार शिवासभासदको बस्ने बैठक नै हिलाम्य पो !
कार्यक्रम सकिएपछि सबैसँग केही भलाकुसारी गरौंला, फित्कौली मास्टरसँग विशेष भलाकुसारी गरौँला भनेको त आफ्नो बैठककै हाल बेहाल भएकोले निर्धारित कार्यक्रम तुरुन्तै रद्द गरी ज्याकेटको फेर तानेर बैठक छोप्दै टाप कसियो ।

फित्कौलीले खित्कौली सभा गर्दै छ रे ! भन्ने कुरा सुनेदेखि नै यसै यसै मन चौ चौ भैराथ्यो । राष्ट्रिय सभा, प्रतिनिधिसभा र संविधान सभा नामका सभाहरूको चर्तिकला हेरेर वाक्कदिक्क भैराको बेला यो कस्तो खित्कौली सभा हुन लाग्यो भनेर मनभित्र सकसक लागेकै हो । फित्कौलीले खित्कौली सभामा आउनका लागि सञ्जालबाट फुइँकी लगाएर निम्तो पठाएपछि नजाने कुरै भएन । बिक्रम सम्वत २०७९ साल माघ १४ गते रोज ७ मा सभा बस्ने दिन ठिक समयमा पुग्ने हिसाबले रेहित सैंजु र म गन्तव्य मोटरसाइकलको कान बटार्दै हुइँकियौं कलङ्कीतिर । नामै प्रख्यात रहेको एलआरआइ स्कूल पत्ता लगाउन गाह्रो परेन ।
तोकिएकै समयमा सभास्थल पुगियो भनेर नाक फुलाइयो तर उदघोषकले आसनग्रहण गराउन पो सुरु गरिसकेका रहेछन् । हलका केही कुर्सी हामीलाई नै कुरिरहेका रहेका देखेर हामी पनि एकएक वटा कुर्सीमा आसन जमायौँ । खित्कौली सभाको ‘भासन शुरु भैहाल्यो । त्यो भन्दा पहिले हास्यव्यङ्ग्यका माइलो बूढा नरेन्द्रराज पौडेलको हातमा एउटा रिमोट थमाइयो र उद्घोषक अनिल पौडेल कीर्तेले एउटा बटन थिचेर यो सभाको उद्घाटन गर्न भने । मञ्चको भित्तामा सेतो सफा पर्दा छँदै थियो, माइला बूढाले बटन थिच्नासाथ झल्याकझिलिक गर्दै फिलिममा जस्तो एउटा यमानको पर्दा बिस्तारै खुल्यो । खुलेको पर्दाभित्र गजबको ब्यानर देखियो- बत्तीको फोकसले ब्यानरका अक्षर टलक्क टल्किए- ‘फित्कौली अनलाइनको दोस्रो वर्ष प्रवेशका अवसरमा आयोजित खित्कौली सभा ।’
यसरी समुदघाटन भएको खित्कौली सभामा आरम्भमै फित्कौली मास्टर नरनाथ लुईंटेलले जम्मा ८ मिनेटमा त्यो पनि सदृश्य ढङ्गले फित्कौलीको विगत, वर्तमान र भावी योजना प्रस्तुत गर्नुभयो । उहाँले बोलेका सबै कुरा हामी पर्दामा पनि हेर्न पाइरहेका थियौँ । हन, यी मास्टरले के के पो गर्दैछन् भन्दै खुसखुस पनि चल्दै थियो । बीचैमा हास्यव्यङ्ग्यका जेठाबूढ रामकुमार पाण्डे आइपुग्नु भो । उहाँलाई आशनमा बसालेपछि लुइँटेलले फित्कौलीको अक्षयकोष स्थापनाको घोषणा गर्दै आफूले पाएको पुरस्कार रकम १ लाख ५० हजार अक्षयकोषमा राखेकाे उल्लेख गर्दै त्यसबाट पुरस्कारै प्रदान गर्ने योजना रहेको बताउनुभयो ।
कार्यक्रममा शुभकामनाका निमित्त आमन्त्रण गरिनुभएका चट्याङमास्टरले माइक समोतर केहीबेर हास्यव्यङ्ग्य र बुढ्यौलीका कुरा फलाक्नु भो र फित्कौली मास्टरलाई मञ्चमै बोलाएर अक्षयकोषमा जम्मा गर्नुहोला भन्दै रु. १ लाखको चेक प्रदान गर्नु भयो । शुभकामनाका निम्ति मञ्चमा बोलाइएका डा. मुकेश चालिसेले पनि फित्कौलीलाई शुभकामना दिँदै १ लाख ५० हजार अक्षयकोषमा प्रदान गर्ने घोषणा गर्नु भयो । यसै क्रममा एलआरआइ स्कूल परिवारले पनि रु. १ लाख प्रदान गर्ने, पोखराका विश्व शाक्यले रु ३३ हजार ३ सय ३३ र ३३ पैसा, लक्ष्मण गाम्नागेले सिस्नुपानी नेपालका तर्फबाट रु २५ हजार र ठाकुरप्रसाद अधिकारीले रु २० हजार प्रदान गरेको जानकारी पाएर हामी त हेरेका हेर्यै पो भयौँ ।
त्यससपछि शुरु भयो मट्याङ्ग्रा हानाहानको कार्यक्रम । हास्यव्यङ्ग्य कविता वाचनलाई भनिएको रहेछ मट्याङ्ग्रा हानाहान । जनार्दन धड्कनबाट हानिएको मट्याङ्ग्रे चड्कनपछि हरिकला उप्रेती, आर.सी. रिजाल, नरेन्द्रराज पौडल, चट्याङ मास्टर, डम्बर घिमिरे, पिँडालु पण्डित, लक्ष्मण गाम्नागे, थरेन्द्र बराल, कृष्णदेव रिमाल, चक्र दवाडी, रेहित सैजु, अप्सरा सुनार र अनिल पौडेल ‘कीर्ते’ले मज्जैसँग मट्याङ्ग्रा हाने । मट्याङ्ग्रा कुनै अलि ठूला थिए कुनै चाहिँ अलि साना थिए तर दुवै हामीले छामिरहेका विसङ्गतिका पुरपुरामा टुटिल्को उठाउने खालका थिए ।
अर्को चरणमा दुइवटा हास्यव्यङ्ग्य पुस्तक लोकार्पण गरियो । राजेश मानन्धरको कार्टुन सङ्ग्रह र शेषराज भट्टराईको हास्यव्यङ्ग्य निबन्ध कस्तो हुन्छ भन्ने पुस्तक लोकार्पणपछि डा. रमेश शुभेच्छुले ती पुस्तकबारे समीक्षा प्रस्तुत गर्नु भयो । फित्कौलीले काटुनिस्ट राजेशलाई फित्कौलीको खित्कौली सम्मान प्रदान गर्यो, सम्मान पत्र र माला जेठाबूढा माइला बूढाले बाँडीचुँडी प्रदान गर्नुभयो ।
अन्तमा जेठाबूढा रामकुमार पाण्डेले हास्यव्यङ्ग्यको गतिबिधिलाई अघि बढाउन फित्कौलीले थालेको अभियानलाई हामी सबैले सघाउनु पर्दछ, यसलाई उकास्न लुइँटेल कस्सिनुभएको छ, उहाँ आफू पनि राम्रा हास्यव्यङ्ग्य सिर्जना गर्ने अरुलाई पनि हौस्याउने असल कार्यमा लागिपर्नु भएको छ भन्नुहुँदै खित्कौलीसभा विसर्जन गर्नु भयो ।
कार्यक्रममा डा. बमबहादुर जिताली, सरोज घिमिरे, डा. रामचन्द्र लम्साल, राममणि दुवाडी, डा. विद्यादेव लुइँटेल, नन्दिता लुइँटेल, डिल्लीप्रसाद मुलतिहुन, महेन्द्र उपाध्याय, विदुर केसी, शिवप्रसाद जैसी, साधुराम खड्का, सञ्जीव वर्मा, कुलप्रसाद दहाल, जितु खड्का, सुधा बास्कोटा, देवीप्रसाद मिश्र, वीरेन्द्र पाण्डे लगायत राजधानीमा रहेका हास्यव्यङ्गय कर्मीहरूको गजबको उपस्थिति एवम् सहभागिता थियो
कार्यक्रमको समय निश्चित थियो १ बजे सुरु भएर ३ बजे समापन गर्ने तर कसोकसो गर्दा समय तन्किएर ३ः३० पुग्यो । कार्यक्रम यति रसिलो थियो कि समय बितेको पत्तै पाइएन तर पेटले भने घण्टी बजाउन थालिसकेको थियो । जसै कार्यक्रम सकियो हतार हतार २/४ स्नेप सामुहिक फोटो खिचिसकेर खाजाको बास्ना पहिल्याउँदै सभाकक्षबाट तल झरियो । खाजा स्टल भुईंतलाको प्यासेजमै रहेछ । खाजा स्टलमा पुगेर आफ्नो भागको प्याकेट समातियो ।
खाजा त समातियो अब कता बसेर खाने भनेर यताउता हेर्दा बास्केटबल मैदानको एक छेउ नक्कली दुबोमाथि बस्ने निधो गरियाे र मैले रेहितलाई त्यतै तानें । हामी चउरमाथि थ्याच्च बसेर खाजा खान लाग्यौं । हामी भन्दा केही वरपर अरु साहित्यकार महोदयहरू पनि बसेर खाजा दन्काउँदै पेट तन्काउँदै हुनुहुन्थ्यो । एक्कासी मेरो बैठक पानीले भिजेको भान भयो र जुरुक्क उठेर यसो हेरेको त निथ्रुक्कै भिजेर हेरिनसक्नु पाे भैसकेको रहेछ । रेहितलाई पनि उसको बैठक छामिहेर्न भने, नभन्दै उसको पनि बैठक लफ्रयाक्कै भिजेको । कार्यक्रम सकिएपछि सबैसँग केही भलाकुसारी गरौंला, फित्कौली मास्टरसँग विशेष भलाकुसारी गरौँला भनेको त आफ्नो बैठककै हाल बेहाल भएकोले निर्धारित कार्यक्रम तुरुन्तै रद्द गरी ज्याकेटको फेर तानेर बैठक छोप्दै टाप कसियो ।
ईतिश्री फित्कौलीको खित्कौली पुराणे माघ १४ माहात्म्य अशोक फित्कौली सम्वादे, बैठक सिन्चनम कथा समापतम् ।
०००
गल्कोपाखा, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































