माधव पोखरेल गोज्याङ्ग्रेभालेको शासन
घुशासन चलाउन खप्पिस भालेहरू भोलिका दिनमा ‘कहाँ जान्छस् मछली मेरै ढडिया’ भने झैँ कहाँ जान्छस् भाले पोथी र चल्लाको साथमा भनेर नयाँ उखानको प्रादुर्भाव गर्नु नपरोस् ।

भाले आफ्नो शासन आसन जमाएर रासन खोसेर गर्न तम्सिन्छ । आफूलाई सधैँ सर्वे सर्वा ठान्ने भाले युग विश्वमा अझै कायम छ । पहिले पनि भाले युग अहिले पनि भाले युग । यो भाले युगले कहिले नछाड्ने जस्तो छ । आफूभन्दा होचोलाई ठुङ्न पल्केको भालेले सधैँ आफूलाई हिरो ठान्छ । भाले हामफालेर जहाँ पनि पुग्छ भाले खान । आफ्नो शिकार आफैँ गर्ने भाले समाजमा कुनै बेला सत्तामा नहुँदा बेताले भएर शिउर हल्लाउँदै नाच्ने गथ्र्यो । अहिले भाले सत्तामा छ त्यसैले मत्ता हात्ती झैँ भएर शासन गर्दैछ हामी माथि ।
अझै पनि पोथीलाई बास्न दिनु हुँदैन भन्ने सोंच र बिचारमा रहेका एक्काइसौँ शताब्दीका भालेहरू आफूहरूलाई भगवानकै अवतारका रूपमा लिन्छन् । छेपारोले रङ फेरेझै सधैँ नयाँ नयाँ रङमा देखिने भालेहरू मदन भएर मुनालाई खेलाउँछन । पाँच पाण्डव भएर द्रौपदी राख्छन् । सोमत विनाका हुर्मत लिने भालेहरू शासनको आसनमा राशन पचाउँन बाहेक अरु केही काम गरेको देखिदैन । अनुशासनका नाममा पखेटा फिंजाएर एउटा खुट्टा उचालेर नाँच्न बाहेक अरु केही जानेका छैनन् । जानेको छ भने पोथीलाई आफूतिर आकर्षित गर्ने प्रयासमा हुन्छन् । भालेसगँसँगै बास्न खोज्ने पोथीको आवाज सानो पार्न खोज्छन् ।
आफू बसेको घरको साँध सीमा अरुले मिचेको भत्काएको थाहा नपाउँने भालेहरू कानमा ठेडी हालेर बस्छन् र सडकको आवाज सुन्दैनन् । भनौँ भालेको शासन अनुशासन हीन भएको छ । भालेका सहयोगी साना भालेहरू अरुले पालेको भाले जस्तो छैनन् । आफैँ स्वघोषित भाले बनेर शासन गर्ने निहुँमा चारो टिप्न हिड्छन् । नाइके भालेको आदेश मान्दैनन् साना भालेहरू र आफू खुशी मनपरी स्वर निकालेर बासिरहेका छन् । समाजमा कहिल्यै पनि सकारात्मक सन्देश नदिने भालेहरू आफू बसेको आसनमा प्वाल परेको समेत थाहा पाउँदैनन् । भनौँ नेपालका भालेहरू समाजलाई आफ्नो र्याल सिंगानमा डुवाएर राख्न चाहन्छन् ।
पाँच वर्षे खेतीको कमाई खान पल्केका भालेहरू अरुलाई तह लाउन सक्दो प्रयास गर्छन । तर आफूहरू भने पखेटा र एउटा खुट्टा उचाल्दै छाडा भएर खुलेयाम हिड्छन् । हत्या आरोप देखि चोरी, डकैती, आगजनी, खोटा चलन, ठगी गर्ने,गैर नागरिकसम्मका रहेको छर्लङ भएको छ । यि भालेहरूले नागरिक र राज्यलाई कतिसम्म ठग्दा रहेछन भन्ने कुराको भेउ बल्ल पाउन थालिएको छ । सत्तामा बसे वापत वा प्रतिपक्षमा बसे वापत तलव भत्ता नलिई नछाडने भालेहरू कुरा चाहिँ आकाशका तारा आफैले लगाई दिए झैँ गर्छन तर काममा भने कछुवा बन्छन् । भोलि कतै भालेहरूले आकाशमा देखिने सूर्य र चन्द्रमा हाम्रै प्रयासमा आकाशमा झुण्ड्याउन लगाइएको भन्न बेर लाउँदैनन् । भनौँ बेफ्वाकमा बास्न तम्सिने भालेहरू ताल बेतालका छन् । भालेको बास्ने तरिका न सुरको छ न तालको छ ।
भाले कहिले हाँसको बथानमा हुन्छ त कहिले बकुल्लाको बथानमा पुग्छ । कहिले पोथीको बथानमा रमाउँछ भने कहिले लौकटको बथानमा मिसिन पुग्छ भाले । कहिले परेवाको हुलमा पुगेर शासन जमाउँछ भने कहिले टर्कीको हुलमा आसन जमाएर बट्टाइसँग मितेरी लाउन पुग्छ छेपारे भाले । भालेहरूको रजाइँले साँच्चै भन्ने हो भने देश नै आक्रान्त भएको छ । समाजलाई लाज भएको छ तर भालेहरू भने निर्लज्ज भएर मनपरी बास्दै हिडिरहेका छन् । बेला न कुबेला जहाँ पायो त्यही जसरी पायो त्यसरी ठाउँ न ठहर बूढीको रहर भने झैँ गरी कुठाउँ बास्न बानी परेका छन् । भनौँ यो भालेको शासनले नेपालको छविलाई गहिरो कुँवाभित्र फालेको छ ।
एकछत्र रूपले आसन जमाएर शासन गर्न पल्केका भालेहरू अरुको कुरा सुन्न त परै जाओस् नजिक पर्न पनि दिदैनन् । आफ्नो स्वार्थ गाँसिएका कुरा भन्दा बाहिर गएर कुनै काम कुरो गर्न नचाहने र सधैँ अगरबत्ती बालेर भेटी घाटी फूल प्रसाद सहित धुप धुँवार गर्नु पर्ने अवस्थाले विकसित हुने मौका पाउँदै गएको छ । भालेहरूको यो हर्कतका विरुद्धमा अझ पनि पोथीहरू वर्षौदेखि पिंजडामा थुनिएर बसेकाछन् । भालेपोथी बराबरको हैसियत खोजेर भाले शासनको विरुद्ध कुर्कुराउने पोथीहरूलाई हैसियत विनाका मान्छे ठान्ने भालेहरूलाई भाले बनाउन पोथीले सहयोग गरेको कुरालाई रछ्यानमा मिल्काएर पिंजडाभित्र राखेर आफूले जे सिकायो त्यही बोल्न लगाउने राष्ट्रिय नीति अबलम्वन गर्न बाध्य पारेका छन् ।
नेपालका भाले हजुर काशी जान थाले हा है पोथीको गन्थन भन्ने दिन कहिले आउँला नेपालमा भन्ने समय कुरेर वर्षौदेखि बसेका पोथीहरूले आफ्नो अस्तित्वकालागि गर्दै आएको लडाईले सार्थकता पाउनु पर्छ भनेर भालेहरू नै अरुलाई थर्काउँछन । तर त्यस्तो कुरा गर्ने भालेहरू आफैँ पोथीलाई पाखा लाएर आफैँ शासनको र राशनको हर्ता कर्ता भएर आसन जमाएर बसिरहेका छन् । पोथीहरू पनि भाले जतिकै शक्तिशाली र सबै कुरामा सक्षम छन् भन्ने तथ्य र सत्य कुरा सबैका सामु छर्लङ भए पनि शासनमा भालेहरू नै सधैँ खुट्टा घुमाएर आसन जमाएर कुर्सी फेर्दै बस्दै गरेको कु नीति हाम्रो आँखा अगाडि फन्फनी घुमिरहेको छ । भनौँ जसरी कुखुराको भालेले पोथीहरू सधैँ आफ्नै वरिपरी घुमिरहुन भन्दै आफैँ छेकबार गर्दै चरी चरनमा रहेका पोथीहरूलाई छेकेर पखेटा फट्फटाउँदै एउटा खुट्टा उचालेर नाँची रहन्छ ठीक त्यसरी नै राजनीतिमा पनि छेकबार गरिने काम वर्षौदेखि भैरहेको छ ।
भाले कहाँ पुगेको छैन । यता फक्र्यो भाले उता फक्र्यो भाले जतात्यतै ताल न बेतालका भाले नै भाले । भनौ यो युग नै भालेको हो जस्तो भान भैरहेको छ । सुर बेसुरमा बास्ने नककले भालेहरूले समाजको नाक काटेर कुँवामा मिल्काएका छन् । न्यायिक कुरामा समेत पोथीको हुर्मत लिने भालेका सन्तान पनि भाले नै भएर निस्किएका छन् । विभिन्न रङ्गको सिउर भएका भालेहरू आफ्नो सिउरलाई श्रीपेच नै ठान्छन् र पोथीमाथि शासन जमाउन लागि परेका छन् । यो प्रक्रिया हिजो पनि थियो र आज पनि कायमै रहेको छ । भनौँ भालेहरू सात्तो खाने शासन गरिरहेका छन् । पोथीको औचित्य र अस्तित्व नै समाप्त भएको चरित्र देखाउने कुलङ्गार भालेहरू आफ्नो रागले आफैँ चाउरिएर भोलिका दिनमा समाप्त भएर जाने कुरामा हामी पुक्क परेर ढुक्क हुन भने सक्दैनौँ ।
गाउँका भाले, शहरका भाले, जङ्गली भाले, विदेशी भाले, स्वदेशी भालेले यतिबेला सिउर रङ्ग्याएर मपाइत्व प्रदर्शन गरिरहेका छन् । भालेको बेहाल हुँदा पनि आफ्नो हालचाललाई सधैँ अप्डेट गरिरहने काला भाले जथाभावी ठुङ्न पल्केका छन् । भनौँ यो शरीर भालेको ठुँगाइले थिलथिलो भएर कोमामा उपचाररत छ । यस्तो शरीर हुँदा पनि भाले हरू अर्कालाई ठुङ्न लागि परेका छन् । आफू पनि अरु भालेबाट ठुगिन पुगेका छन् । एकले अर्कालाई ठुग्ने संस्कार नयाँ होइन पुरानै भए पनि ठुग्ने तरिका फरक फरक छ ।
भालेहरूको ठुँगाइले ध्वस्त भएको घरभित्र केही छैन । घरको मुल खाँबो, बलो, कोरो, फेरको खाँबो, डाडा भाटा सबै ठुगेर धुजा धुजा भएको छ । यतिसम्म कि घरको अवस्था सुधार गर्न शून्यबाट प्रारम्भ गर्नु पर्ने अवस्थामा पुगेको छ । आफू बसेको घर नै ठुगेर ध्वस्त बनाउने भालेहरूलाई हामीले चारो, आहारा, दानापानी दिएर खोरमा इज्जतसाथ पालिरहेका छौँ । हामीले पाल्छौँ र पालिरहेका छौँ तर हामीलाई नै ठुङ्छ र ठुगिरहेको छ । जसले पालन पोषण गरेर पालेको छ उसैलाई ठुङ्ने भालेलाई हामीले अझै पनि सम्मान दिइरहेका छौँ आफुभित्रको चोट सहेर, बिर्सेर ।
सदियौँदेखि नेपाली समाज भालेको ठुँगाइमा परेको भए पनि चल्लाहरू आफूभित्रको पीडा लुकाएर ओठमा हाँसो देखाएर चिउ चिउ गर्न छाडेका छैनन् । कतिपय चल्लाहरू भालेको भ्यालेन्टाइनमा परेर मरे । कतिपय पोथीहरूले ओथारामा समेत सास्तीमाथि सास्ती खेप्न बाध्य भए । भालेको बोलीले भोलि भन्न पाएनन् । न्याय माग्दा नङ्ग्राले चिथोरे, हार गुहार माग्दा चुच्चोले रगताम्य हुने गरी ठुँगे । पोथीहरूले सडकमा सदनमा आन्दोलित हुँदा वा आवाज उठाउँदासमेत भालेहरूको शासनले आश्वासनको राहतसमेत दिन सकेको छैन । भालेहरूको बल मिच्याइँमा परेर कतिपय पोथीहरूले ज्यान गुमाउनु परेको छ । चल्लाहरू बेसहारा भएका छन् । भनौँ भालेहरूले लाटो देशको गाँडो तन्नेरी बनेर घरभित्रको शासनलाई कुशासनमा परिणत गरेका छन् ।
आफ्नो लिडेढिपीलाई चातुर्यता ठान्ने संस्कारबाट अघि बढेका भालेहरू लक्ष्मण रेखाबाट बाहिर निस्केर भित्रको कुरा गरिरहँदा आफ्नो कर्म र हैसियत बिर्सन्छन् । अनि अरु भालेलाई कालो भन्छन् र आफ्नो रूप कालो भए पनि अरुभन्दा गोरो छु भनेर फुर्इँ लाउन लाज घिन केही मान्दैनन् । नक्कचरा भालेहरू पौष्टिक आहारा दानापानी खाएर कहिले अघाउँदैनन् । जस्तो पायो त्यस्तो चारो खाँदैनन् । विदेशबाट आयातित आहारा र चारो छैन भने भालेहरूको गाँस अड्किन्छ । पोथी र चल्लाको गाँस खोसेर खान पल्केका परचक्री भालेहरूले आफूँ राण बनेर देशै भाँडिरहेका छन् ।
‘बिनास काले विपरित बुद्धि’ भन्ने उखानलाई चरितार्थ पारिरहेका भालेहरू कुशको आसनमा बसेर होइन घुसको आसनमा बसेर सुशासन होइन घुशासन चलाई रहेका छन् । मनपरी तवरले जहाँ पायो त्यही घुसेर घुशासन चलाउन खप्पिस भालेहरू भोलिका दिनमा ‘कहाँ जान्छस् मछली मेरै ढडिया’ भने झैँ कहाँ जान्छस् भाले पोथी र चल्लाको साथमा भनेर नयाँ उखानको प्रादुर्भाव गर्नु नपरोस् ।
ईतिश्री भाले पुराण नेपाल महात्म्ये नेतृत्वगण अकर्मण्यस्य संस्कार बेकारस्य देश दूर्घटना पुगिस्यती । चल्ला पोथी गनगनस्य भाले श्रीपेचस्य ढल्काउँदै पंख फट्फटाय बेमौसमी बाजास्य कर्तलध्वनिका साथ कुखुरी काँ कुखुरी काँ गरेर जात जनाइ ताल बेतालको नारामा रमाउँदै भाले शासनस्य समातम् । जय व्यङ्ग्य । जय साहित्य ।
०००
गाईघाट, उदयपुर
Subscribe
Login
0 Comments
Oldest






































