साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जाेगीजात्रा

न जित कसैको हुन्छ, न हार कसैको हुन्छ । लँगौँटी फुस्की सक्यो । देख्नेहरू सबैलाई लाज भइसक्यो । उनीहरू भने लाज-सरम सबै पचाएर लडेका छन्, लडेका छन् । लौन, भोगासनका निम्ति रचिएको यो जोगी-जात्रा रोक्ने छैन कुनै उपाय ?

Nepal Telecom ad

’जुन जोगी आए पनि कानै चिरेका’ भनिन्छ तर म कुराको उठान गर्दैछु कान नचिरेका जोगीको । कान नचिरेका जोगीको घना उपस्थितिमा अब कान चिरेका जोगीहरूको अस्तित्व समाप्त हुँदै गएको छ । आजको यो युग कान चिरेका जोगीको होइन, कान नचिरेका जोगीको मुठीमा बन्द छ । खरानी घस्ने जोगीको जमानाले पल्टा खाइसक्यो, आजकलका जोगीको शरीरमा महँगा-महँगा पर्फ्युमको बास्ना मडारिने गर्छ । हातमा त्रिशूल र चिम्टा होइन, मोबाइल र आइपड देखिन्छ । साथमा कमण्डलुको कुरै नगर्नुस्, आजभोलि त बडेबडे ब्रिफकेस हुन्छन् । गेरुवस्त्रले पनि हावा खाइसक्यो, आजकलका जोगीलाई त टाइसुटमा डटेको भेटिन्छ । यिनीहरूको त पयर पनि भुइँमा कहाँ हुन्छ र, करोड पर्ने कारमा शयर गर्छन् । जोगीजीवनमा आएको यस्तो परिवर्तनले युग परिवर्तनको सङ्केत गरिरहेझैँ लाग्छ । ए हजुर, नेपाल नयाँ बन्न अझै कति वर्षलाग्ने हो कुन्नि, तर यहाँका जोगी भने नयाँ बनिसके ।

जोगीको परम्परागत पेसा भिक्षाटन हो । आधुनिक जोगीहरूले पनि भिक्षाटनलाई नै निरन्तरता दिएका छन् । हाम्रो देश अहिले आधुनिक जोगीहरूको अत्याधुनिक अखडा बनेको छ । उनीहरू आधुनिक तुम्बो बोकेर अलख निरञ्जन गर्दै बेलाबेला विदेशतिर जान्छन् । यसो गर्दा उनीहरूलाई दोहोरो फाइदा हुने गरेको छ । यस्तो फाइदा कसरी भन्नुहोला- कहीँ पनि जाँदा उनीहरूलाई निजी तुम्बोबाट आनासुका पनि खर्च गर्नुपर्दैन । एकपटक मात्रै भिक्षाटन गर्न देशाटनतिर निस्कँदा बरू निजी तुम्बोमा मामुली पनि दुइचार करोड दमडी जगेडा हुनपुग्छ । यसरी भिक्षाटनमा निस्कियो, अलख निरञ्जन गायो, भिक्षा बटुल्यो, अखडामा फर्कियो, भागशान्ति जयनेपाल ।

त्यसो त भिक्षाटन देशभित्रै पनि हुन्छ । देशभित्रै हुने भिक्षाटनबाट पनि जोगी महोदयहरू आफ्नो निजी तुम्बो भर्न खप्पिस छन् । कोही बाटोमा ढाट तेर्स्याउँछन् र भिक्षा माग्छन्, कोही भने विदाकै दिन पनि अनुगमन-भ्रमणको बिल बनाउँछन् र भिक्षा कुम्ल्याउँछन् । यो जोगी-राज्यमा राज्यको ढुकुटीबाट पुराना जोगीले तीस वर्षे अवधिमा जेजति तुम्बो भरेका थिए, नयाँ जोगीलाई दुइचार वर्षकै अवधिमा त्यो भन्दा दुइचार गुना बढी भर्ने सफलता मिलेको छ । यो त आधुनिक काइदाको फाइदा नै हो नि । यसै गरी आधुनिक नेपाली जोगीहरू आफ्नो लोभलाग्दो जीविका चलाइरहेका छन् ।

’जातै जमादार’ भनेझैँ जोगीका अनेकन कारोबार चलिरहेका छन् । कारोबार अगणित भए पनि लक्ष एउटै छ- निजी तुम्बो भर्ने । कारोबारका यी अगणित कार्यकलापहरूलाई कला भन्नुपर्छ । कुनै न कुनै कला नभएका हरिलठ्ठकहरूको पो झोला रित्तै हुन्छ त । यही कला प्रयोग गरी कमाइ गर्ने खलो भन्नोस् वा थलो, जहाँसुकै पुगेर आधुनिक र नयाँ जोगीहरू आफ्नो तुम्बो भरिरहेका छन् । ’उठ जोगी, फड्कार छाला, जहाँ जाला त्यहीँ खाला ।’
प्राचीन कालदेखिनै जोगीहरूको ठूलो अखडा रहेको थलो हो भारतवर्ष। त्यता ता झन् पण्डाहरूका पण्डाल नै अनगिन्ती छन् । यताका अखडाहरूतिर आउन त्यताका जोगीहरूलाई कुनै शिवरात्री कुर्नुपर्दैन । मन लाग्नासाथ कहिले आशिर्वादको चिम्टा बजाउँदै आउँछन् त कहिले आश्वासनको मृदङ्ग ठटाउँदै आउँछन् । मानौँ यो उनीहरूको आफ्नै अखडा हो, आफ्नै थातथलो हो । मानौँ यहाँका सवै जोगी उनीहरूकै शिष्य र चेला-चपेटा हुन् ।

कहिले आउँछन् त्रिकालदर्शी भविष्यवक्ता बनेर त कहिले आउँछन् उपल्लो तहको मठाधीशको प्रवक्ता बनेर । कहिले आउँछन् भोगविद्याको तन्त्र खुसखसाउँदै त कहिले आउँछन् योगसाधनको मन्त्र फुसफुसाउँदै । आइपुग्नासाथ कुनै एउटा पाँचतारे होटलमै तम्बु टाँग्छन् र आफू आएको जानकारी बाँड्छन् । अनि चल्छ यताका जोगीहरूको छचुन्द्रे ताँती, तँछाड मछाड, को अघि पुग्ने, कसले पहिले गोडा ढोग्ने र आशिर्वादको पोको कसले सोहोर्ने, उछिनापाछिन्, दौडधुप । ठेलाठेल पेलापेल । मेरीबास्सै, भीड हटाउन प्रहरी खटाउनुपर्ने स्थिति बन्छ । कुनताको बाटो, त्यहाँमाथि सुरू हुन्छ जाम । बिचरो ट्राफिक हैरान हैरान ।

यताका जोगीको पनि चाल उही हो, ताल उही हो । अनेक निहुँ र वहाना बनाउँन जानेका छन् यिनीहरूले । एउटा जोगी अघिल्लो दिनसम्म अखडामा घण्टौँ प्रवचन-पुराण लाइराखेको हुन्छ । भोलिपल्ट एकाबिहानै सञ्चार माध्यमले फुकिदिन्छ ऊ त उपचारका निम्ति आजै भारत प्रस्थान । मुटुसमेत फेर्ने  अस्पताल यतै छन् तर खोकीका नाममा घाँटी मात्रै खसखसाए पनि हाम्रा महान् जोगीहरू दौडिने ठाउँ त्यतै हो । त्यता नगै निको नहुने अचम्मको रोग लागेको छ यताका जोगीहरूलाई ।

काम गर्नका दुःखले जोगी भयो, जोगी भएका भोलिपल्ट भोकै रह्यो’ भन्ने बहुचर्चित नेपाली उखानले पनि पल्टा खाइसकेको छ आजकाल । हाम्रा जोगीहरू कहाँ भोकै छन् र अब ? देश कङ्गाल भए पनि उनीहरू भने ठूल्ठूला बङ्गलाका धनी छन् । डोरीको तना हालेको खराउ लाएर राजधानी छिरेका, शरीरमा एकसरो पत्लुन मात्रै भिरेका बबुराहरू केही वर्षभत्रै पजेरो- त्यो पनि करोडको चढ्ने भइसकेका छन् । सम्पत्ति विवरणमा चुनदाम लेखिन्न तर पनि अज्ञात बैङ्कको लकर लच्केको हुन्छ यिनैका सुनले । कुन कुरो खान हुने हो, कुन कुरो खान नहुने छ्यानविचार नराखी सबैथोक खाइरहेछन् हसहस । कसैलाई यो बनाइदिउँला भनेर खान्छन् त कसैलाई ऊ बनाइदिउँला भनेर खान्छन् । मौका यही हो, पछि के हो- के हो । यसो भन्दै घिचिरहेछन् यी घिचन्थैलेहरू ।

सुकुटी ज्यानको हातमा ढुकुटीको तालाचाबी परेपछि सुन्निएका हुन् कि मोटाएका हुन् छुट्याउनै नसकिने । विचरा अख्तियारले अल्छी लागी-लागी बल्छी चलाउँछ तर के गर्नु, उसका बाबुको समेत दाल गल्नेवाला छैन । पूर्जि काट्छ, बयान लिन्छ, ठूलो हल्लीखल्ली गरेझैँ गरी विशेष अदालतमा मुद्धा पनि हालिटोपल्छ । अन्ततः टाइँटाइँ फिस्स । जोगी झन् होक्राँ गर्छ, अख्तियारको पारो भने आफैँ झर्छ । जोगीचाहिँ बेरोकटोक मोटाएको मोटायै छ । ’नयाँ जोगीले प्याज धेरै खान्छ’ अथवा ’नयाँ जोगीले झन् धेरै खरानी घस्छ’ भन्या पनि साँच्चै रहेछ ।

हैन यस्तालाई पनि लाग्ने रोग चाहिँ कस्तो होला  ? रोगको प्रसङ्ग उठिहाल्यो- अलिकति यसकै चर्चा गर्नुपर्ने भयो । अलि पहिल्यै एउटा विराट-प्रवचनमा एकजना नामुद जोगीले सगौरव भनिदिएका थिए ’हामी जोगी हुन राजनीति गर्‍या हो र ?’ उनले त्यो बेला कुन खालको जोगीको कुरो गरेका हुन् त्यो त्यति प्रष्ट थिएन । हिजोआज पो खुलस्त हुँदो छ- उनी र उनीहरूजस्ताले राजनीति गरेको त रोगी हुनलाई पो रैछ । भनिरहनुपर्दैन कि जोगीहरू मनका रोगी हुन्छन् । उनले त्यसो भनेको केही वर्षबित्न नपाउँदै अखडाका त्यतिखेरका रोगी खालका सर्वोच्च जोगीले सिङ्गै पण्डालमाथि आफ्नो एकछत्र अधिकार रहेको रोगग्रस्त घोषणा गरे ।

त्यसपछि भने यताका धेरै जोगीहरू लगौँटी मात्रै लगाएर अलख निरञ्जन गाउन बाध्य भएका थिए । सडकमै ओर्लेर टिठलाग्दो पाराले जनता-जनार्दनसामु महिनौँसम्म ’भवती भवती भिक्षांदेही’ गाएपछि जनता-जनार्दनको मन पग्लियो । कमिला सरी सडकमा ओर्लिएर सर्वोच्च जोगीलाई अखडाबाट रित्तो हात बाहिर मुन्ट्याइदिए । कान चिरेका तमाम जोगी मन नलागी-नलागी अखडाबाट बाहिरिए र कान नचिरेका जोगीहरू अब अखडाका नाइके खटिए । ’जोगीका घरमा सन्नेसी पाहुना’ भनेको पनि यही क्यार । यसरी शुरू भयो नयाँ जोगीको फेरी लाउने उपक्रम ।

जोगी हुन सबभन्दा पहिले रोगी हुनुपर्ने कुलीन परम्पराअन्तर्गत  उनीहरू भटाभट रोगी हुन थाले । जोगी प्रायः मनका रोगी हुन्छन् । रोग पनि विचित्रकै हुँदो रहेछ । विख्यात डाक्टरहरूले पत्तो लाएको यो रोग हो- मनोफ्लु अर्थात मन सुक्ने तर जिउ फुक्ने । यस रोगका लक्षण पनि अनौठैका छन्- चुनाव नराम्रोसँग हारे पनि आफूलाई जितेँजितँ जस्तो मात्रै लाग्ने, अर्काले खाएको देखी नसहने, भएभरको सोहोरेर आफै मात्र खाउँखाउँ लाग्ने, अखडाका अरु जोगी भोकै मरे मरुन् आफ्नो गोजेरो भरिएपछि बडो आनन्द आउने, सिँतैँ वा सुविधामा पाए तीन पाथी चूक पनि पिउँपिउँ लाग्ने, वार्ता चाहिँ जति पटक गर्नुपरे पनि गरूँगरूँ लाग्ने तर सहमतिमा पुग्न भने मरेकाटे जाँगर नचल्ने, कुरो मिल्नमिल्न आँटेको छनक देखिएपछि भने अचानकै मुटुमा झस्का र टाउकोमा चस्का एकैपटक हान्ने, अनि दौडेर बोर्डर पारि नै पुगुँपुँगु लाग्ने । उताका जोगीसँग खुसुखुसु गरी फर्केर यता आयो, खालि कड्किन मन लाग्ने, पड्किन मन लाग्ने, सड्किन मन लाग्ने, झड्किन मात्रै मन लाग्ने ।

यो रोगले अँचेटेपछि धेरैजसोलाई त्यसैत्यसै फनक्क फन्किन मन लाग्छ । कसैलाई भने उसैउसै सनक्क सन्किन मन लाग्छ । अनि कसैलाई चाहिँ झनक्क झन्किन मन लाग्छ । अलिदिन फन्कियो, अलि दिन सन्कियो, अलि दिन झन्कियो- यसो गर्दागर्दै डोज निख्रन्छ अनि फेरि उतै तन्किनु परिहाल्यो । अरू पनि थुप्रै छन् यी त मुख्यमुख्य लक्षण हुन् मनोफ्लुका । दख्खिनतिरको सीमा पारिबाटै कुखुरासँग मिसिएर आउने वर्डफ्लु थियो, उतैबाट सर्दैसर्दै यता आएको हो स्वाइनफ्लु पनि । अहिले मनुवासँग मिसिएर आइरहेछ विछट्टको यो मनोफ्लु । यताका अधिकांश हाम्रा जोगीहरूलाई रोगी बनाउने पापी रोग नै यही हो । जसले दिनदिनै र छिनछिनै हाम्रा बबुरा जोगीहरूलाई रोगी बनाइरहेछ र उतै दौडाइरहेछ । यसरी उताका जोगी यता आउने, यताका जोगी उता जाने- आवतजावत, ओहोरदोहोर चलिरहन्छ निरन्तर, निरन्तर ।

मनको रोगी नभई जोगी हुनै सकिन्न । कान चिरेका जोगी भन्नुस् या कान नचिरेका जोगी- यी सबै मनका रोगी हुन् । कान नचिरेका आधुनिक जोगी त झन महारोगी नै भइहाले । जसरी नेपालीहरूको ग्यास्टिक बिग्रिएर अल्सर बन्छ त्यसै गरी जोगी महारोगी भएपछि भने भोगी बन्दो रहेछ । जब जोगी महारोगी हुँदै भोगी बन्छ उसका सारा योगासनहरू भोगासनमा परिणत हुन्छन् । आसन फेरीफेरी शासन गर्नु भोगासनको विशेषता हो । कामका नाममा माखो नमारे पनि राजकीय सुविधामा तर मार्नु भोगासनको उग्र रूप देखिएको छ । मनको रोग नभई के यस्तो सम्भव छ त ? अहँ सम्भव छैन ।

भोगासनमा लिप्त नेपाली जोगीहरू अहिले संसारमै नभएको जोगी-जात्रा देखाएर दुनियाँ हँसाइरहेका छन् । जोगीको अखडामा एउटा नौटङ्की नाटक बारम्बार मञ्चन भइरहेको छ । भोगको सबैभन्दा ठूलो आसन पैट्याउनका लागि जोगीहरू टुप्पीदेखिको बल लगाएर प्रतिष्पधार्मा जुटेका छन् । न जित कसैको हुन्छ, न हार कसैको हुन्छ । लँगौँटी फुस्की सक्यो । देख्नेहरू सबैलाई लाज भइसक्यो । उनीहरू भने लाज-सरम सबै पचाएर लडेका छन्, लडेका छन् । लौन, भोगासनका निम्ति रचिएको यो जोगी-जात्रा रोक्ने छैन कुनै उपाय ?

०००

२०६७ भदौ २५ मा लेखिएकाे याे व्यङ्ग्य निबन्ध
फित्काैली डटकममा पहिलाेपटक  २०७० पुस २४ गते प्रविष्ट भएकाे थियाे ।  

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x