साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चट्याङबारे केही चट्याङचुटुङ

७० वर्षे जन्मोत्सवमा म चट्याङ मास्टरलाई हार्दिक बधाइ र शुभकामना दिन्छु । चट्याङ मान्छे उटपट्याङ नै हो । आगामि दिनमा उहाँका अन्यान्य नयाँनयाँ उट्पट्याङ हेर्न पाउने विश्वास व्यक्त गर्दछु ।

Nepal Telecom ad

आजकै दिनदेखि सत्तरी वर्ष लाग्नुभएका चट्याङका बारेमा म यहाँ केही लट्याङपट्याङ गर्दैछु ।

००
२८, ३० वर्षअघिको कुरो हो । कृषि अनुसन्धान केन्द्र नाम गरेको सरकारी निकायमा एकजना एउटा यस्तो मान्छे जागिरे छ, उसलाई तनखा दिनुपर्दा तत्कालिन मन्त्रीको भन्दा आठ दश हजार बढी दिनुपर्ने भो तर मन्त्रीलाई भन्दा बढी तलब कसरी दिने ? बडो सङ्कट आइलाग्यो र त्यो सङ्कटलाई पार लाउन त्यो मान्छेले स्वेच्छाले जागिर छाड्यो रे । यो अचम्मलाग्दो उपकथा थियो । सुनेर म छक्कै परेको थिएँ ।

००
मैले एकजना मान्छेको बारेमा अर्को अद्भूत कुरा पनि त्यैबेला सुनेँको हुँ- पैसाको खनखाँचो पर्नासाथ त्यो मान्छे २,४ वटा बोरा पट्याएर झोलामा हाल्छ र प्लेन चढेर विदेशतिर जान्छ, धेरै हैन २, ३ महिनापछि ऊ फर्किदा त्यो बोरामा टनाटन पैसा खाँदीखाँदी लिएर आउँने गर्छ ।

००
यी दुवै उपकथासँग जोडिएका ती मान्छे एउटै हुन् र अहिलेका चट्याङ मास्टर अर्थात कृषिविद कृष्ण मुरारि गौतम हुन् भन्ने कुरा मैले निकै पछिमात्रै चाल पाएँ तर उहाँबारेको यी उपकथामा कति सच्याइ वा बढाइचढाइ छ भनेर मैले कहिल्यै खोजखबर गरिन ।

००
२०५५ सालमा सिस्नुपानी नेपालको स्थापना गर्न जम्मा भएको ८ जनाको एउटा भेलाले अध्यक्षमा मेरो नाम प्रस्तावित र पारित नै गरिसकेपछि यदि चट्याङ् मास्टर राजी हुनुभो भने उहाँलाई अध्यक्ष र नरनाथ दाइलाई उपाध्यक्षमा झार्नुपर्छ भन्ने प्रस्ताव आयो । मैले हाँसीखुसी हस् भनेँ । भोलिपल्टै हो क्यारे हामी फेरि जुट्यौँ । भोलिपल्टको त्यो बेलामा चट्याङ मास्टर पनि उपस्थित हुनुहुन्थ्यो त्यही दिनबाट उहाँ सिस्नुपानीको अध्यक्ष् हुनुभयो ।

००
देसान्तर, विमर्श जस्ता पत्रत्रिकामा झरिला व्यङ्ग्य प्रकाशित हुँदै गरेका चट्यामास्टर सिस्नुपानीको अध्यक्ष भएपछिदेखिको निकटता र सहसम्बन्धले २५ बसन्त चालै नपाइ बिताइसकेछ् ।

००
केही समयपछि सिस्नुपानीको अफिस खुल्यो । अफिसमा अध्यक्ष बस्ने टेबलमा न्यायाधीशहरूको टेबलमा हुने जस्तो एउटा काटको मुर्चल थियो । हरेक निणर्य र निस्कर्षपछि चट्याङ त्यो मुर्चल टेबुलमा ठ्याक्क पार्नुहुन्थ्यो । त्यो ठ्याक्कको सङ्केतले भन्दथ्यो यो आज र अहिलेदेखि लागू गर्नका निम्ति गरिएको निणर्य हो अनि कसैले अवज्ञा गर्ने छैन ।

०० समय पालनाका निम्ति चट्याङमास्टरले सिस्नुपानीमा कडा अनुशासन कायम गर्नुभो । कार्यक्रम गर्दा निश्चित गरिएको समयभन्दा एक डेढ घन्टासम्म ढिलो हुनुलाई नेपाली टाइम भन्दै समान्य ठानिदिने संस्कारको विपक्ष्यमा चट्याङले अरुअरुका सार्वजनिक समारोहहरूमा पनि झ्यामकी झ्याम सिस्नु हान्न थाल्नुभयो ।

००
एउटा समारोहमा प्रमुखअतिथि शिक्षामन्त्री डेढघन्टा ढिलो उपस्थित भएर समारोह शुरु हुनलाग्दा प्रमुख अतिथिलाई र्‍याखर्‍याख्ती पार्दै समयचेतनाको पाठ पढाएर र शिक्षामन्त्रीले सार्वजनिक रुपमै माफि मागेपछि मात्रै छोडेको घटनाको साक्षी बनेका दुईचार जना अहिले यहाँ पनि उपस्थित हुनुहुन्छ । कार्यक्रमहरू आयोजना हुँदा ‘सिस्नुपानी टाइम’ कथनले त्यै त्यहीबेलादेखि आकार लिएको हो ।

००
२०७० सालदेखि फित्कौली अनलाइन शुरु भयो । अन्यत्र लेख्न छाडे पनि फित्कौलीमा हास्यव्यङ्ग्य लेख्न चट्याङले छाड्नु भएन । कुनै कुनै बेला त उहाँमा लेखनको भूत सवार हुने गथ्र्यो । हप्ताको एउटा दुईवटा लेख्दै गर्नुभएका चट्याङले दिनकै एउटा पठाउन थाल्नुभो । ‘छ कोही अर्को ?’ उहाँको यो चुनौती मैले प्रेम ओलीसमक्ष राखेँ उहाँ पनि कस्सिनुभो । ६, ७ महिनापछि ओली गल्नुभो तर चट्याङ पूरै १ वर्षसम्म नै दिनको एउटा लेखेर निर्विकल्प हास्यव्यङ्ग्य स्रष्टा हुनुभएको कुरा अहिले पनि म स्मरण गरिरहेको छु ।

००
रेडियो प्रस्तोताका रुपमा पनि चट्याङ उतिकै विलक्षण र लोकप्रिय हुनुहुन्छ । राजा ज्ञानेन्द्रले राज्यसत्ता कब्जा गरेपछि सबै मिडियामा सेना तैनाथ गरियो । सगरमाथा रेडियोमा साप्ताहिक रुपमा आफै बोल्ने कार्यक्रममा सेनाको सेन्सरसिप । चट्याङ मास्टर आफ्नो प्रत्युत्पन्न मतिले सेनाका सायद जर्नेललाई तर्कले गलाएर प्रत्यक्ष प्रशारण कक्षमा पस्नुभो, तर जर्नेल पनि सँगै पसे र छेउमा बसे । अब के बोल्ने ? चट्याङले प्रत्यक्ष प्रशारणको फुडिल्को अन गरेर बोल्न थाल्नुभो- नमस्कार श्रोताहरू । आज मसँग बोल्नु पर्ने नयाँ विषय आइलागेको छ ।… तपाइँहरू आजकल गाई पाल्न छाड्दै हुनुहुन्छ । त्यसो नगर्नोस् । गाई साह्रै उपयोगी जनावर हो । यसका चार खुट्टा २ वटा सिङ् र एउटा लामो पुच्छर हुन्छ । हामीसँग घाँस पराल धेरै उत्पादन हुने गरेको छ, मासको कुसाउरो पनि गाइले मन पराउँछ । गाई पाल्नोस्, यसको दूध पिएर स्वस्थ बन्नोस् …. गाईको निबन्ध सुनिरहेका जर्नेल सुनेका सुन्यै भए आधाघन्टासम्म ।

००
चट्याङका पिताजी बित्नुहुँदाको क्षण र काजकिरिया गर्दाको सन्दर्भमा उतिकै अनौठो छ । १३ दिनको कार्य सम्पन्न गर्न पशुपतिमा बस्नुभएका चट्याङलाई भेट्न समवेदना व्यक्त गर्न जाने जो कोही पनि चकित भएर फर्किएका थिए । जाने त गैसक्यो रहेका किन रुनु ? रोइदिएर फेरि कोही फर्कने होइन, अनि किन झोक्राएर बस्नू ? चट्याङ पूरै १३ दिन क्रियापुत्री आश्रममा आफू पनि हाँसिरहनु भयो र भेट्न जाने सारालाई हँसाएको हँसायै गरिरहनु भयो । अन्तरहृदयको पीडा पचाउनसक्ने चट्याङको यो अदभूत कार्य र क्षमता देखेर सबै छक्क परेको यो एउटा दुर्लभ घटना भन्ने मलाई लाग्छ ।

००
चट्याङ शुरुमा हास्यव्यङ्ग्य निबन्ध लेख्नु हुन्थ्यो, उहाँका निबन्धहरूको पारखी वरिष्ठ हास्यव्यङ्ग्यकार केशवराज पिँडालीले पछिल्लो मन्जुरनामा शीर्षकको एउटा निबन्धमा आफू मरेपछि आफ्नो कलम चट्याङ मास्टरलाई दिइयोस् भनेर लेखेका छन् । पछि उहाँ कविता लेख्न थाल्नुभयो । उहाँका कविता गद्यशैलीमा हैन पद्य जस्ता लाग्छन् । छन्दका जस्ता तर बेछन्दका, लयमा आबद्ध तर लोकलय वा शास्त्रीय लयमा पनि हैनन । पढ्दा र सुन्दा खूब मजा आउँने । कतिपय समीक्षकहरूले उहाँका कवितालाई चट्याङछन्द नाम दिएका छन् । एउटा निबन्ध ५ वटा त्यही चट्याङ छन्दमा संरचित ‘चट्याङ गीता’ को शृङ्खला प्रकाशित छन् भनेर मैले यहाँ गराइरहनु पर्र्दैन ।

००
जेमा लाग्यो चट्याङ लागेपछि लागेको लाग्यै । साँच्चै चट्याङले कुनै पनि काम गर्न थालेपछि उहाँलाई त्यसैको नसा लाग्छ । चट्याङ मास्टर एक प्रकारको नसामास्टर पनि हो ।

००
बितेका ८, १० वर्षदेखि उहाँलाई अर्को नसा लागेको छ । एजिङ नेपाल नामको संस्थाका सस्थापक उहाँ । नेपाली समाजमा वृद्ध नागरिकहरूको अवस्था र स्थिति फेर्ने नसाले उहाँलाई ततविषयको प्रख्यात एउटा अन्तर्राष्ट्रिय पुरस्कार नै दिलाइसक्यो । त्यसले उहाँको नसालाई झन बढाउँदैछ । संयुक्त राष्ट्रसंघीय एउटा निकायमा विश्वभरिका मध्ये छनौट भइ नेपालबाट उहाँ मनोनित हुनुभएको छ । जेष्ठ नागरिकहरूको सुरक्षा सम्बर्धनका लागि उहाँ विश्वनेता बन्नु भएको छ ।

००
अहिले नेपालमा जेष्ठ नागरिकका लागि स्वास्थ्य, शिक्षा, सामाजिक उत्तरदायित्व, परिवारिक जिम्मेवारी आदि विषयमा धमाधम कानून बन्नलागेका छन्, स्कूल कलेजमा बुढ्यौली विषयका पाठ्यक्रमहरू निर्माण भएका छन् । अस्पतालहरूमा वृद्ध नागरिकका लागि छुट्टै वार्डहरूको अवधारणा लागु हुन थालेको छ । यी सबै कार्यका पछाडि चट्याङ मास्टरलाई लागेको नसाको उल्लेख्य भूमिका रहेको देखिन्छ । कसैलाई नसा लागोस् त चट्याङ मास्टरको जस्तो लागोस् न ।

००
चट्याङका बारेमा बोल्न मलाई छुट्याइको छ आठ मिनेटको समय शायद सकियो । विश्वसमुदायले चिनिसकेकाे र पत्याएर सम्मानित समेत गरिसकेको व्यक्तित्व चट्याङका बारेमा म नाथेले के चिनाइरहनु पर्थ्याे र ? भन्ने पनि लागिरहेको छ । मैले यति मात्र भनेँ । मैले आँ मात्रै गरेको हुँ, तपाइँहरू सबै अलङ्कार बुझ्न सक्नेहरू नै यहाँ उपस्थित हुनुहुन्छ ।

००
७० वर्षे जन्मोत्सवमा म चट्याङ मास्टरलाई हार्दिक बधाइ र शुभकामना दिन्छु । चट्याङ मान्छे उटपट्याङ नै हो । आगामि दिनमा उहाँका अन्यान्य नयाँनयाँ उट्पट्याङ हेर्न पाउने विश्वास व्यक्त गर्दछु । चट्याङ बारे मेरा केही चट्याङचुटुङ ध्यानमग्न भएर सुनिदिनु भएकामा यहाँहरू सबैलाई धन्यवाद ।

०००
चट्याङ मास्टरको ७० औँ जन्मोत्सवका अवसरमा
सिस्नुपानी नेपालले आयोजना गरेको समारोहमा प्रस्तुत मन्तव्य
फागुन १४, २०७९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x