साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जिउँदो मान्छेलाई चिठी

व्यवहार एउटा र बोली अर्कै भए, मरेपछि तिमीले अत्यन्त डरलाग्दो नारकीय जीवन बिताउनु पर्ला, समयमा होस पुर्‍याउनु । म त मरेपछि नर्कमा परें, बानी सुधार्न नसक्ने हो भने, तिमी जिउँदै नर्कमा पर्नेछौ, ख्याल गर ।

Nepal Telecom ad

प्रिय जिउँदो मान्छे,

सायद तिमीले म जिउँदो छउन्जेल मेरा कुरा सुन्न चाहेनौ र सुन्न जरुरी पनि ठानेनौ । तिमीलाई अन्य मान्छेका कुराले भतभती पोल्थ्यो । औडाहा र छटपटी हुन्थ्यो । हिउँद मासमा पनि खलखली पसिना आउँथ्यो । मलाई राम्रोसँग थाहा छ, तिम्रो सबैभन्दा नराम्रो आदत यही थियो । अधिकांश मान्छेलाई जस्तै तिमीलाई पनि आफ्नो दुःख भन्दा अरुको सुखले बढी पीडा दिने गरेको थियो । यी सारा कुरा म जिउँदो छउन्जेल पनि बुझ्न सक्थेँ र मरेपछि झनै स्पष्टसँग बुझिरहेको छु ।

म जिउँदो रहेकै अवस्थामा तिमीलाई यी कुरा भन्न चाहन्थें, तर तिमीले सुन्ने कान लगाएनौ । जब म जिउँदो थिएँ, तिम्रो विरुद्धमा म एक शब्द पनि बोल्न सक्दिन थिएँ । कारण जान्न चाहन्छौ ? तिमीसँग तथाकथित शक्ति थियो, बल र तागत थियो, अथाह धनसम्पत्ति, पदीय हैसियत र मान मर्यादा थियो थियो । तिम्रो चारित्रिक गुणका कारण मान्छेहरूले तिमीलाई मान सम्मान दिएका थिएनन् । त्यो अर्कै कारण थियो डर, त्रास र भय । त्यतिमात्र होइन तिमीसँग दुर्योधन र रावणसँग भन्दा बढी अभिमान र ईष्र्याको पोटली थियो । तिमीले सिधासाधा र निर्धा मान्छेलाई मुख्य बालीमा उम्रिएको झारपातलाई जस्तै व्यवहार गथ्र्यौ । च्याप्प समातेर उखेल्यौ, मिल्कायौ । त्यस क्रममा मलाई पनि तिमीले त्यही कोटीमा राख्यौ । तिमीलाई लाग्थ्यो, आफू कहिल्यै मर्नुपर्दैन । मर्ने भनेका दुःखी, गरिव, र कमजोर मान्छेहरू मात्र हुन् । हुन त तिमीलाई अझैसम्म पनि त्यस्तै लागिरहन्छ होला, किनभने मान्छेहरूको परिभाषा अनुसार तिमी अझैसम्म पनि सास फेरिरहेका छौ भन्ने सुनेको छु, मरेका छैनौ रे । हुन त सास लिने र फाल्ने प्रकृयालाई जिउँदो मान्ने हो भने आरनमा आगो फुक्ने खलाँतीलाई पनि जिउँदो मान्नुपर्ने हुन्छ ।

जब म जिउँदो थिएँ, मैले ईश्वरको अस्तित्वलाई सहस्र स्वीकार गर्ने गरेको थिएँ । मैले जानाजान जीवनमा कुनै पाप गरेको थिइन । भ्रष्टाचार गरेको पनि थिइन । कसैलाई धोका दिएको थिइन । न म परस्त्रीमा लिप्त थिएँ । मैले कुनै दिन कसैको हत्या र बलात्कार पनि गरिन । कुनै दिन कालोबजारीमा संलग्न पनि थिइन । कसैलाई अन्याय अत्याचार गर्ने त झनै प्रश्नै उठ्दैन । किनकि तिमी जस्तो अन्याय गर्ने स्थानमा म कुनै दिन पुग्न पनि सकिन । त्यसो भए म मरेपछि सरासर स्वर्ग आउनु पर्ने । तर होइन, यहाँ मलाई नर्कमा राखिएको छ । सायद तिमीलाई त्यसको कारण थाहा छैन होला । ध्यान दिएर सुन, मैले पनि कुनै दिन जानीजानी केही मान्छेको अस्तित्व स्वीकार गर्न नसकेको कुरा साँचो हो । तिनको व्यवहार र आचरणका कारण तिनीहरूको अस्तित्व स्वीकार गर्न मलाई निकै कठीन भएको थियो । तिनीहरूलाई मान्छे मान्न, मेरो अन्तरआत्माले कहिले पनि दिएन । त्यसैलाई मूल आधार मानेर मलाई यहाँ नर्कमा राखिएको छ । त्यस्तोलाई यहाँ गम्भीर अपराधको सूचीमा राख्ने गरेको रहेछ । यसैलाई यहाँको नीति नियम मान्दा, मलाई भन्दा पनि भविष्यमा तिमीलाई झनै कष्टकारक ‘रौरव’ नर्कमा राख्न सक्छन् । तिमी मेरो आफ्नै भएर मात्र यी सबै कुराको रहस्योदघाटन गरेको हूँ । अन्यथा मलाई यहाँको गोपनीयता भङ्ग गर्नुपर्ने कुनै आवश्यकता थिएन, केवल तिम्रो लागि मात्र यी कुराहरू लेखिरहेको छु, बुझ्यौ ?

हो म मृत्युपछि लेखिरहेको छु, सोझै नर्कबाट । सायद अब त सुन्छौ होला मेरा कुरा ! जब म मरें, धन सम्पत्ति, पद प्रतिष्ठा त के कुरा मेरो आफ्नै शरीर पनि उतै छोडेर आउनुपर्‍यो । म यहाँ रित्तो आइपुगें, एकदम रित्तो । मैले पसिना चुहाएर कमाएको सम्पत्तिमध्ये यहाँ एक रुपैयाँ पनि ल्याउन सकिन । मेरो मात्र होइन सबैको नियति यही हो । त्यसैले अझै समय बाँकी छ । अब छोडिदेऊ तिम्रा अपराधिक क्रियाकलापहरू र पाप कर्महरू ।

जीवित अवस्थामा तिमीले जसलाई सोझो नजरले हेर्न सकेनौ, जसको अस्तित्व स्वीकार गर्न सकेनौ, जसलाई मान्छेको श्रेणीमा राख्न सकेनौ तर उसैको सडेको लाशको पछाडि मिसिएर तिमी मलामीको भिडमा सामेल भयौ । जिन्दगीभर जिउँदा मान्छेहरूलाई तिमीले घृणा गर्‍यौ, त्यसदिन तिमी उसैको चितामा मुखाग्नि दिने बेला सबैभन्दा नजिक उभिएर स्वाङ पारिरहेका थियौ । जब मेरो लाशले यो दृश्य हेरिरहेको थियो, तिमीप्रति भयङ्कर घृणा जागेको थियो तर मुखाग्नि दिनका लागि ठिक्क पारेर राखेको एउटा चितामा राखिसकेको लाशले के पो गर्न सक्थ्यो र ? म चुपचाप तिम्रो नौटङ्की देखिरहेको थिएँ । त्यसबेला मेरो लाशले तिमीप्रति घृणाको ज्वाला उकेली रहेको थियो । जसको म, वयान गर्न पनि सक्दिन । कुरै गर्ने हो भने अधिकांश मान्छेहरू यस्तै हुन्छन् । त्यसमध्ये पनि तिमी, सबै भन्दा ज्याद्रो जस्तो लाग्छ । एक पटक सम्झिएर हेर त, म बाचुन्जेल तिमीले मलाई, एक रुपैयाँ सापटी पनि पत्याउन सकेनौ तर म मरेपछि दोवाटोमा छर्ने टिलो बन्दोवस्त तिमीले नै गरिरहँदा मलाई बेस्सरी हाँसो उठिरहेको थियो । म सात दिनको भोको रहँदा तिमीसँग एक मुठी कनिका माग्दा पैंचो दिन नसक्ने तिमी, म मरेको बेला बुर्कीका लागि चामल बन्दोबस्त गर्न निकै छटपटाइरहेका थियौ । तिर्खाले आकुलव्याकुल भएको समयमा दुई मुठी पानी पनि दिन कञ्जुस्याइँ गर्ने तिमी, ब्रह्मनालमा सबैभन्दा पहिले अग्रसर भएर मेरो लाशलाई पानी खुवाउँदा तिमीलाई पटक्कै लाज लागेन हगि ? म जिउँदो छँदा, हुँदा खाँदाको मेरो घर दावी गरेर मलाई बेघर बनायौ, म मरेपछि मेरो अस्तु देवघाटमा बिसर्जन गर्ने या रिडीमा भनेर छलफल गरायौ ।

तिमी जीवनलाई तिरस्कार र मृत्युलाई सत्कार गर्ने नीच कोटीको छद्मभेषी मानव रहेछौ । तिम्रो व्यवहार देख्दा लाग्छ, ईश्वरले तिम्रो सृष्टि गर्नेबेला पक्कै तिमीलाई मानव योनी दिने विचारमा थिएनन् होला । तिमी त सृष्टिकर्ताको असावधानीका कारण जन्मिएको हुनुपर्छ, किन किन मलाई त्यस्तै लाग्छ । हो म मरिसकेर हाल नर्कबाट लेखिरहेको छु । ध्यान दिएर पढ्नू ।

अब उपरान्त जे बोल्छौ त्यो पूरा गर, आजैदेखि सारा पापकर्मबाट मुक्त हुने कोशिस गर । अन्यथा व्यवहार एउटा र बोली अर्कै भए, मरेपछि तिमीले अत्यन्त डरलाग्दो नारकीय जीवन बिताउनु पर्ला, समयमा होस पुर्‍याउनु । म त मरेपछि नर्कमा परें, बानी सुधार्न नसक्ने हो भने, तिमी जिउँदै नर्कमा पर्नेछौ, ख्याल गर । बाँकी कुरा तिमी यतै आएपछि गरौंला ।

उही, मरिसकेको मान्छे ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
धूपको धुवाँ र चुरोटको धुवाँ

धूपको धुवाँ र चुरोटको...

चिरञ्जीवी दाहाल
ज्ञानको उल्टी

ज्ञानको उल्टी

चिरञ्जीवी दाहाल
आम्दानी महात्म्य

आम्दानी महात्म्य

डा. सुमनराज ताम्राकार
पिउन साप

पिउन साप

डा. खगेन्द्र लुइटेल
अनलाइन ठगहरू

अनलाइन ठगहरू

प्रा. कपिल अज्ञात
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x