साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोलाकारभित्र घुम्ने कुर्सी

आखिर सबैको अन्तिम चाहना र गन्तव्य त्यही ‘गोलाकारभित्रको घुम्ने कुर्सी’ मै त सीमित रही आएको छ । यहाँ पनि त्यही देखियो । त्यसैले यसमा अनौठो मानिहाल्नु पर्ने कुरा के नै होला र ?

Nepal Telecom ad

अब पर्‍यो समस्या । कत्रो छलफल, कत्रो वाद विवाद र कत्रो बाह्य तथा आन्तरिक सङ्घर्षपछि पार्टीको नाम, विधान र घोषणा पत्र त टुङ्ग्याइयो । पार्टीको कार्यकारिणी समिति र पदाधिकारीको पनि जेनतेन टुङ्गो लागि नै सक्यो । केन्द्रीय समिति सानो भयो भन्ने साथीहरूको गुनासो छ । तथापि, अहिलेलाई त्यत्तिमै चित्त बुझाउन साथीहरूलाई मनाइएको छ । साथीहरूको भनाइ थियो, सतहत्तर जिल्ला प्रत्येकमा एक सय जना साथीहरू समेटिने गरी केन्द्रीय समिति बनाइनु पर्छ । जसले गर्दा भोलि जिल्लामा कुनै किसिमको प्रचार प्रसार, हप्कीदप्की र चिप्लो घसाइमा सामेल हुनुपर्दा पनि तत्काल अरू कसैलाई गुहार्न नपरोस् । कसैलाई फकाउन, थर्काउन वा लोभ्याउन नपरोस् ।

सर्वसाधारण जनताले यो त पदलोलुप पार्टी रहेछ भनेर नराम्रा आँखाले नहेरुन्, अनावश्यक रूपमा कुरा नकाटुन् भन्ने समेतको अभिप्रायले हामीले प्रस्तावित सङ्ख्यामा सात सय घटाएर अहिलेलाई जम्माजम्मी सात हजारको सङ्ख्यामा मात्र साथीहरूलाई केन्द्रीय समितिमा समेट्ने सर्वसम्मत निणर्य लियौँ । साथीहरूको सुझाव र गुनासो पूणर् रूपमा सम्बोधन हुन नसके पनि यतिखेरलाई भने उहाँहरूले हाम्रो बाध्यतालाई नजिकबाट बुझेर चित्त बुझाउनु भएको छ । समयक्रममा केन्द्रीय समितिको बिस्तारका विषयमा हामी सकारात्मक छौँ । पार्टी गठनका अरू यावत् कुरामा अब कुनै समस्या बाँकी छैन, समस्या बाँकी छ भने अब एउटै कुरामा मात्र बाँकी छ – त्यो हो पार्टीको निर्वाचन चिह्न छिनोफानोको विषय । त्यो पनि सल्टिन सक्यो भने हाम्रो पार्टीले कुनै पनि निर्वाचनमा पल्टिन पर्दैन ।

समस्या अब एउटै छ निर्वाचन चिह्नको । निर्वाचन चिह्नको पनि टुङ्गो लाग्न सक्यो भने पौँठा बसेको गाई/भैँसी जस्तै हुनेछ हाम्रो पार्टी । जसरी पौँठा बसेको गाई/भैँसी भरे भोलि जतिखेर पनि बियाउन सक्छ त्यस्तै हुनेछ हाम्रो पार्टी । यसलाई कसैले ढिल्याउन सक्तैन । जतिखेर निर्वाचन हुन्छ त्यतिखेर हाम्रो पार्टीको जित सुनिश्चित हुन्छ । निर्वाचन नै भएन भने बेग्लै कुरो, होइन भने त्यतिखेर हामीसँग निकटतम प्रतिस्पर्धामा आउने एउटै पार्टी पनि पाउन मुस्किल पर्छ । त्यसैले निर्वाचन चिह्न के राख्ने ? कस्तो राख्ने ? भन्ने कुराले हामीलाई पिरोल्नु पिरोलेको छ । यसका लागि आवश्यक परामर्श र छलफल जारी छ । हचुवाका भरमा हामी यो निणर्य लिने पक्षमा छैनौँ ।

‘वादे वादे जायते तत्व बोध’ भनेझैं आपसी छलफल, परामर्श र सल्लाहले हामी यसको निष्कर्ष निकाल्न सक्षम हुन्छौँ । वाद विवाद त हुन्छ नि । वाद विवादबाट डराउने र भाग्ने हो भने त पार्टी नै नखोले भइहाल्यो नि । त्यसमा पनि दर्जनौँ पार्टी मिलाएर एउटा बनाउन खोज्दैछौँ, अनि यहाँ विवाद नभए अन्यत्र कहाँ हुन्छ ? एउटै पार्टीभित्र त दर्जनौ पार्टी हुन्छन् भने हामी त दर्जनौँ पार्टीबाट एउटा पार्टी बनाउन खोज्दैछौँ । अनि, यहाँ विवाद नभएर अन्त कहाँ हुन्छ ? सबैले आआफ्नो पुख्र्यौली पहिचान कायम गर्न खोज्छन् नै । त्यसैले ती सबैलाई पन्छाएर अबको हाम्रो छलफल निर्वाचन चिह्नमै केन्द्रित हुनेछ । यसको टुङ्गो लागेपछि मात्र पार्टी दर्ता र प्रचार प्रसारको काम सुरु हुन्छ ।

निर्वाचन चिह्नको विषयलाई टुङ्गोमा पुर्‍याउन आयोजित बैठकका सहभागीहरूलाई बन्द सत्रमा खुला छलफल गर्न पाउने अधिकार दिइएको छ । सबैले आआफ्ना मनमा उचित लागेका निर्वाचन चिह्न पार्टीका लागि प्रस्ताव गर्न पाउँछन् तर त्यसको पुष्टि प्रस्तावकले गर्नु पर्छ र सत्रका सबै सहभागीले एक मतले त्यसको समर्थन गरेको हुनु पर्छ । निर्वाचन चिह्नको विषय सर्वसम्मतिमा मात्र टुङ्ग्याउनु पर्छ भन्ने हाम्रो पार्टीको धारणा रहिआएको छ र नवगठित पार्टीको प्रस्तावित विधानले पनि यही कुरा बोलेको छ । विधानले बोलेका कुरालाई अन्यथा गर्न सक्ने अधिकार कोही पनि नेता वा कार्यकर्तालाई हुने छैन । यसमा हाम्रो स्पष्ट धारणा छ ।

बन्द सत्र भए पनि सत्रमा छलफल भएका विषय र सहभागीका तर्क कोठाको एउटा कुनामा यसअघि नै मुसाले पारेको एउटा सानो प्वालबाट खुत्रुक खुत्रुक बाहिर निस्किरहेछ । बन्द कोठामै बन्द सत्र चलिरहेकाले मुसाको प्वालबाट निस्किएको आवाज खुला अठार भएर बाहिर पैmलिरहेछ । यसले कुनै अप्ठ्यारो त पार्ने होइन, तथापि बन्द सत्रका कुरा खुला अठार बनेर बाहिर निस्किनाले पार्टीमाथिको विश्वासमा केही आघात पुग्ने हो कि भन्ने मात्र डर हो, होइन भने ठुलो विषय यो रहेन ।

‘पाकेको आँप’ निर्वाचन चिह्न प्रस्ताव गर्दै एक सहभागीले भने – “हाम्रो पार्टीको निर्वाचन चिह्न ‘पाकेको आँप’ हुनु पर्छ । आँप नमिठो मान्ने सायदै कोही होलान् । आँप सुन्ने बित्तिकै जनताले त्यसमा भोट हाल्न सक्छन् । त्यसैले हाम्रो पार्टीको निर्वाचन चिह्न ‘पाकेको आँप’ हुनु पर्छ ।” आँप निर्वाचन चिह्न हुनु पर्छ भनेर आफ्नो तर्क राख्ने सहभागीको भनाइ सकिँदा नसकिँदै अर्का सहभागीले आफ्नो तर्क अघि सार्दै भन्न थाले – “आँप चिनी रोग लागेका विरामीका लागि वर्जित छ । आँप बाहिर देख्दा राम्रो देखिए पनि कतिपय आँपमा भित्रपट्टि स्याउँ स्याउँ किरा परेका हुन्छन् । त्यसैले आँपमा सबैको विश्वास नहुन सक्छ । यस्तो निर्वाचन चिह्न राखियो भने जनताले हाम्रो पार्टीलाई किरा लागेको आँप जस्तै सोच्न सक्छन् । किरा लागेको आँपसँग तुलना गर्न सक्छन् । पार्टीको विरोध गर्न विपक्षीहरूलाई पनि सजिलो हुन सक्छ । त्यसैले मेरो सुझाव मान्ने हो भने नाम सुन्ने बित्तिकै मुखमा पानी रसाउने ‘निबुवा’ पार्टीको निर्वाचन चिह्न हुनु पर्छ । कसो साथी हो ?”

पार्टीको निर्वाचन चिह्नका विषयमा थुपै्र तर्कहरू आए । यसरी तर्क गर्ने क्रममा एक सहभागीले भने – “हाम्रो पार्टीको निर्वाचन चिह्न ‘माउसुली’ हुनु पर्छ । यो हिमाल, पहाड, तराई सबैको चिनजानभित्रको जीव हो । भित्तामा ढुकेरै यसले आफ्ना तमाम काम फत्ते गर्छ । राजनीतिक पार्टीले पनि एक हिसाबले नढाँटी भन्ने हो भने माउसुली जस्तै ढुकेर आफ्नो काम फत्ते गर्नु पर्छ । निर्वाचनका बेलामा फुत्त देखा पर्ने र अघिपछि खुसुक्क लुक्ने काम पार्टीको पहिलो विशेषतामा पर्छ । त्यसैले माउसुली र हाम्रो जस्तो राजनीतिक पार्टीको चरित्र करिब करिब एकै किसिमको हुने भएकाले पार्टीको निर्वाचन चिह्न ‘माउसुली’ राख्नु हरहिसाबले उपयुक्त हुन्छ ।”

‘माउसुली’ निर्वाचन चिह्नको प्रस्ताव सर्वसम्मत हुन सकेन । उनको कुरा काट्दै अर्का सहभागीले भने – “माउसुली पनि त्यति अनुपयुक्त चिह्न त होइन तर माउसुलीभन्दा पार्टीको निर्वाचन चिह्न ‘सर्प’ राख्नु राम्रो हुन्छ । यो उस्तै पर्दा जमिनभित्र बसेर पनि आफ्नो अस्तित्व जोगाउन सक्छ, मौका पर्दा जमिन बाहिर निस्किएर अरूलाई डस्न पनि सक्छ । राजनीतिक पार्टीले पनि आपूmलाई कहिले बाहिर बसेर अगाडि बढाउनु पर्छ कहिले भित्र लुकेर । सर्पले कहिले मुसा वा भ्यागुतो खाएर पनि आफ्नो गुजारा चलाउँछ भने कहिले आनन्दसँग दूध पिएर रमाउने अवसर पनि पाउँछ । आकारगत हिसाबले पनि माउसुली सानो जीव हो भने सर्प त्यसका तुलनामा विशालकाय जीव हो । त्यसैले स्वभाव र चरित्र उस्तै उस्तै भए पनि माउसुलीभन्दा ‘सर्प’ निर्वाचन चिह्न पार्टीका लागि हितकर हुन्छ । सर्पलाई भोट दिएर बस्तीबाट टाढा भगाउन पाए जनताले पनि आनन्दले जीवन गुजार्न पाउने आशामा हाम्रो पार्टीलाई पक्कै पनि भोट दिन्छन् । त्यसैले पार्टीको निर्वाचन चिह्न ‘सर्प’ हुनु पार्टीको हितमा हुन्छ ।”

“माउसुली र सर्पभन्दा त ‘छेपारो’ ठिक हुन्छ नि !” बन्द सत्रका अर्का सहभागी कड्किए । उनको तर्क थियो – “छेपारो नेपालको जुनसुकै भूगोलमा पनि पाइन्छ । घरमा पनि पाइन्छ, वनमा पनि पाइन्छ । यो परिस्थिति अनुसार रङ बदल्न खप्पिस हुन्छ । राजनीतिक पार्टीहरू पनि त्यस्ता कुरामा छेपारोभन्दा कुनै पनि शर्तमा पछाडि पर्दैनन् । पर्नु पनि हुन्न । छेपारो जुनसुकै कामलाई भोलि भोलि भनेर टार्छ । अल्छ्याइँको यस मामिलामा राजनीतिक दल पनि त्यस्तै हुन् । आजको कामलाई भोलि भन्नमा यिनले छेपारो र आफ्नै कर्मचारीतन्त्रका मै हुँ भन्ने हिरोहरूलाई पनि मात गर्छन् । त्यसैले हाम्रो पार्टीको निर्वाचन चिह्न ‘छेपारो’ राख्यो भने जनताले यो त कुरा नलुकाउने पार्टी हो भनेर विश्वास गर्छन् र सजिलोसँग पत्याउँछन् पनि । अनि, बिनासङ्कोच निर्धक्कसँग भोट हाल्छन् । त्यसैले हाम्रो पार्टीको निर्वाचन चिह्न ‘छेपारो’ हुनु पर्छ । यसमा अलमलिने कुरा छैन । कसो साथी हो ।” सत्रका झन्डै झन्डै तीन चौथाई सहभागीले परर्र ताली ठोके । एक चौथाईको हात त्यसै सुत्यो । सबैको सहमति हुन सकेन । बैठक अर्को दिनका लागि सर्‍यो ।

निर्वाचन चिह्नकै कारण पार्टीले अन्तिम रूप पाउन सकिरहेको थिएन । निर्वाचन चिह्न जस्तो विषयमा व्यापक छलफल र परामर्श आवश्यक छ भन्ने पार्टी सङ्गठन कर्ताहरूलाई पनि लागिरहेको थियो । समय लागे लागोस् तर निर्वाचन चिह्न गतिलो हुनु पर्छ भन्ने कुरामा सबै एक मत थिए । त्यसकै छिनोफानोका लागि दोस्रो दिन पनि बन्द सत्रले निरन्तरता पायो । सहभागीहरूले सयौँको सङ्ख्यामा निर्वाचन चिह्न प्रस्ताव गरे । कसैको प्रस्तावले पनि सबैका सबैको ताली पाउन सकिरहेको थिएन । कोही पार्टीको निर्वाचन चिह्न सिंह राख्नु पर्छ भन्थे कोही स्याल । कोही इमान्दारिताको प्रतीक कुकुरलाई निर्वाचन चिह्न राख्न प्रस्ताव गर्थे त कोही सबैका भात भान्सामा सरोबर भएर प्रवेश पाउन सफल ब्वाइलर कुखुरा । कोही सुलसुलेलाई निर्वाचन चिह्न राख्न भन्थे त कोही उडुस, कोही उपियाँ, कोही लामखुट्टे समेतलाई निर्वाचन चिह्नका रूपमा प्रस्ताव गरिरहेका थिए । छलफलका क्रममा कुटो, कोदालो र ह्यामरसम्मले प्रास्तावित हुने मौका पाए । कसैले सनासो, कसैले चिम्टा, कसैले डमरु र कमन्डलुसम्म पनि प्रस्ताव गर्न भ्याए । खुसीको कुरा कलम, कापी र पुस्तकका पक्षमा कोही कसैबाट कुनै प्रस्ताव आएन ।

पार्टीको निर्वाचन चिह्न तय गर्ने सिलसिलामा तेस्रो दिन सुरु भएको बन्द सत्रको छलफलमा बल्लतल्ल एउटा निष्कर्षमुखी निर्वाचन चिह्नको प्रस्ताव आयो । सामान्यभन्दा सामान्य एक सहभागीले पार्टीको निर्वाचन चिह्न कुर्सी राख्नु पर्ने प्रस्ताव गरे । सबै सहभागीले ताली त पिटेनन् तर एक अर्काको मुख ताकेर टोलाइरहे । त्यो प्रस्ताव सबैलाई मन परेको थियो तर पहिलो ताली बजाउन कोही तयार भएनन् वा त्यसमा केही संशोधनको आवश्यकता महसुस गरियो । सहभागी सबैको मनस्थिति आकलन गरेर बन्द सत्रका सर्वमान्य टाउके सहभागीले यस प्रस्तावमा अभैm व्यापक छलफलको आवश्यकता हुन सक्ने बताए । अब निर्वाचन चिह्नको नयाँ प्रस्ताव नगर्ने तर प्रस्तावित यही ‘कुर्सी’ लाई अझ कसरी राम्रो र आकर्षक बनाउन सकिन्छ त्यसतर्पm सत्रका सहभागीहरूका बिच थप विचार विमर्श हुनु पर्ने तर्क उनले गरे । उनको तर्कमा सबैले सहमति जनाए ।

बन्द सत्रका बन्द टाउकेबाट यस्तो मनसाय प्रकट भएपछि सबैले यसैमा आफ्नो ध्यान केन्द्रित गर्न थाले । यसै बिच एक सहभागीले आफ्नो विचार राख्दै भने – “कुर्सीलाई गोलाकारभित्र राखिनु पर्छ । यसो गर्दा पार्टीका मान्छे बाहेक अरू कोही त्यसभित्र छिर्न सक्ने छैनन् ।” अर्कोले थप्यो – “एउटा मात्र गोलाकारभित्र चिह्न राख्दा अरू पार्टीको सिको गरे जस्तो हुन्छ । त्यसैले दोहोरो गोलाकारभित्र कुर्सी राखिनु उपयुक्त हुन्छ ।

अरूलाई दिनका लागि सबभन्दा सजिलो सुझाव हुन्छ भन्ने नेपाली उखानै छ । यही क्रममा फेरि अर्को सहभागीले निर्वाचनमा तीन तहको सुरक्षा गरे जस्तो निर्वाचन चिह्नको लागि प्रस्तावित कुर्सीलाई पनि त्यसै गरी तीन तहको सुरक्षामा राख्नु पर्छ । तीन तहको गोलाकारभित्र कुर्सी राख्दा राम्रो होला । यसरी राखिने पहिलो तहको घेरामा नरम खालको सल्लोको घेरा राख्ने । दोस्रो घेरामा छिप्पिएको सिसौको घेरा राख्ने र अन्तिम तथा सबैभन्दा बाहिरी घेरामा शत वयको अग्राखको घेरा राख्ने । यसो गर्दा पार्टीको निर्वाचन चिह्न पनि बलियो हुने र अरूको सामान्य झम्टाइले पनि असर नगर्ने हुन सक्छ । जनताले पनि यस्तो सुरक्षित रूपमा व्यवस्था गरिएको निर्वाचन चिह्नमा ढुक्कसँग आफ्नो मत खसाल्ने छन् । यसमा शङ्का छैन ।”

बन्द सत्रका सहभागीहरूबाट टरर्र ताली बज्यो । सहभागी मध्येका कतिले ताली बजाए भन्ने त्यहाँ जडित कम्प्युटरले देखाउँथ्यो । एक जनाले ताली नबजाएको कम्प्युटरले सङ्केत गर्‍यो । ताली पिट्ने सहभागीहरू अचम्ममा परे । यस्तो राम्रो प्रस्तावमा पनि ताली नपिट्ने ? त्यसरी ताली नपिट्ने को होला ? भन्ने जिज्ञासा सहभागीमा उब्जिरहेकै बेला बन्द सत्रका बन्द टाउके खिसिक्क हाँसेको दृश्य देखियो । उनले हात ठड्याउँदै आपूmले ताली नबजाएको खुलासा गरे । उनको भनाइ यस्तो थियो – साथीहरूको मतमा मेरो विमति पटक्कै होइन । यति सुधार गरिसकेपछि त्यो तीन तहको गोलाकारभित्र कुर्सी मात्र किन ! घुम्ने कुर्सी नै राखिदिए के होला ?”

बन्द टाउकेको आशयमा कसैले पनि राय बझाएनन् । बरु, समर्थनमा सबैले एक मतले फेरि पनि ताली बजाए । सबैको सहमति हुँदा हुँदै पनि पार्टीलाई बढी प्रजातान्त्रिक देखाउन र कसैबाट केही नयाँ सुझाव आउँछ भने आओस् भनेर संशोधन प्रस्ताव दर्ता गर्नका लागि सूचना टाँस गरेर तीन दिनको समय दिइयो । तोकिएको समयमा कसैबाट कुनै संशोधन आएन । अन्तमा पार्टीको निर्वाचन चिह्न “गोलाकारभित्र घुम्ने कुर्सी’ राख्नेमा सबै एक मत देखिए । यस्तो राम्रो र सुरक्षित निर्वाचन चिह्नमा राय बझाउनु पर्ने आवश्यकता कसैले महसुस गर्दै गरेनन् । आखिर सबैको अन्तिम चाहना र गन्तव्य त्यही ‘गोलाकारभित्रको घुम्ने कुर्सी’ मै त सीमित रही आएको छ । यहाँ पनि त्यही देखियो । त्यसैले यसमा अनौठो मानिहाल्नु पर्ने कुरा के नै होला र ?

०००
सुलेख, हास्यव्यङ्ग्य अङ्क (२०७६ भदौ)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुँगा निर्मूल अभियान

जुँगा निर्मूल अभियान

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
सरकारको सय दिन : आरोपको अचार, सुशासनको हुङ्कार !

सरकारको सय दिन :...

नन्दलाल आचार्य
झाँसीका भँगेरा जोडी

झाँसीका भँगेरा जोडी

डा. सुमनराज ताम्राकार
राजनीतिक पीडित

राजनीतिक पीडित

सीताराम नेपाल
सेकेण्ड ह्याण्ड

सेकेण्ड ह्याण्ड

भोजराज रेग्मी ‘मुखाले’
श्राद्ध

श्राद्ध

त्रिलोचन ढकाल
0
Would love your thoughts, please comment.x
()
x