रामशरण न्याैपानेत्यो पुत्रको काम के ?
रुन्छन् दुःखी बनेर धेर जसका माता पिताजी पनि छोरा दूर गएर ताडित हुँदै झन् बेसहारा बनी हेप्छन् छुद्र भनेर भोलि तक नै निन्दागरी आमले बिर्से पितृ र मातृभूमि जननी त्यो पुत्रको काम के ?

खाली खान र लाउनै बल गरी चोला बिताए त्यहाँ
हामी मानवमा र नीच पशुमा के भिन्नता खै यहाँ
दासी झैँ परदेशमा दिन बिते के गर्छ त्यो दामले
बिर्से पितृ र मातृभूमि जननी त्यो पुत्रको काम के ?॥१
प्राणीमा नर हो विशिष्ट गुणको देवी र द्यौतासरी
संस्कारी हुनु लाग्नु लोकहितमा सङ्घर्ष जारी गरी
फैलाए जुन त्यो प्रभा विगतमा आदर्श श्री रामले
बिर्से पितृ र मातृभूमि जननी त्यो पुत्रको काम के ?॥२
मान्छे बन्दछ धर्म कर्म सहितै संस्कार धानेर त्यो
जन्मेको प्रिय ठाउँ हुन्छ नरको हो स्वर्गभन्दा ठुलो
आफ्नै जन्मथलो पवित्र नरको मानिन्छ है धामले
बिर्से पितृ र मातृभूमि जननी त्यो पुत्रको काम के ?॥३
रुन्छन् दुःखी बनेर धेर जसका माता पिताजी पनि
छोरा दूर गएर ताडित हुँदै झन् बेसहारा बनी
हेप्छन् छुद्र भनेर भोलि तक नै निन्दागरी आमले
बिर्से पितृ र मातृभूमि जननी त्यो पुत्रको काम के ?॥४
माटो भुल्दछ जो र भुल्छ सहजै माता पिताजीकन
सच्चा कर्मठ वीरको विजयको मानिन्न त्यो जीवन
मेटिन्छन् यश कीर्ति लोकभर त्यो बुझ्दैन नामर्दले
बिर्से पितृ र मातृभूमि जननी त्यो पुत्रको काम के ?॥५
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest




































