साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुवातास प्रतियोगिता

गाउँ नबनेसम्म देश बन्दैन र गाउँ बनाउन जुवातास प्रतियोगिता अनिवार्य मानिएकोले सर्व प्रथम यसको आयोजना गर्न लागिएको हो । यसपछि जाँडरक्सी खाने प्रतियोगिता आयोजना गरिने छ ।

Nepal Telecom ad

आउनुस् अनादरणीय, न्यूनमहिम समाजका हरिलठ्ठक ज्यूहरू छिटै आउनुस् जुवातास प्रतियोगितामा सहभागिता जनाउनुस् । हाम्रो गाउँको बगरजाउँपालिका र ताकपरेतालिकामा छिटै जुवातास प्रतियोगिता संचालन हुन गैरहेकोले पुरस्कार जितेर देशभरिमात्र होइन विश्वभरि नै जुवातासको महत्वलाई पराकाष्ठामा पुर्‍याउन सहयोग गरौँ । स्थानीय तह भनेको मूलजरो हो । यो दह्रो भयो भने सबै जनता दह्रो हुन्छन् । त्यसैले गाउँ दह्रो बनाएर विकासको निकास दिन संघीय सरकार पनि सफल हुने भएकोले गाउँकोजगदेखि नै जुवातास प्रतियोगितालाई अघि बढाएर विश्वव्यापिकरण गर्न गोज्याङ्ग्रेको सरकार सबैसँग अनुरोध गर्दछ ।

हाम्रो परम्परागत संस्कृति भनेको जुवातासलाई बढावा दिएर विदेशी पर्यटकलाई आकर्षित गर्नु हो । प्रारम्भमा गाउँको विकासबाट देशको विकास गर्नु पर्दछ भन्ने मान्यताका साथ हामी जुवातासको विकास भएमा गाउँमा बेरोजगारको संख्या घट्नेकुरामा विश्वस्त छौ । यसले व्यापार व्यवसाय लथालिङ हुने, तुच्छ विचार पलाउने छ । विपक्षीलाई गलाउने, जलाउने, सेलाउने र बौलाउन सहयोग गर्ने हेतुले जुवातास प्रतियोगिता आवश्यक ठानिएकोले जनप्रतिनिधिहरूको संलग्नतामा प्रारम्भ गर्न लागिएको हो । गाउँमा होस् वा शहर बजारमा प्रारम्भिक खेल भनेकै जुवातास हो । गाउँघरको पुरानो संस्कार संस्कृति बचाउन पनि यो खेल खेलाउनु अति आवश्यक ठानिएको छ । जनप्रतिनिधिहरूको रुचिको विषय भएकोले पनि यसलाई अघि बढाउन लागिएको हो ।

समाजको ख्याती प्राप्त संस्कृतिका रूपमा रहेको जुवातास संस्कृति बचाउन सकियो भने भोलिका दिनमा युवापिढीले यसको अनुशरण गरेर अझ समृद्ध बनाउन सक्नेछन् । साहित्य कला संस्कृतिले समाजमा विकृति निम्त्याउने र भोलिको जनजीवन नै धरासायी हुने भएकोले गोज्याङ्ग्रेको सरकारको बगर जाउँपालिका वा ताकपरे तालिकामा जुवातास शिक्षालाई प्राथमिकतामा राखेर काम अघि सारिएको छ । खासगरी गोज्याङ्ग्रेको गुँड भएको बगरजाउँ पालिकामा शिक्षा, भाषा, साहित्य, कला, संस्कृतिका क्षेत्रमा भन्दा जुवातास जस्तो अत्यन्त महत्वपूणर् पुरातन संस्कृति बचाउनु अति आवश्यक देखिएको छ । पालिकाले तालिका नै बनाएर जुवातास प्रतियोगिता गराउने योजना मिलाएकोले यसमा सबैले सक्दो सहयोग गर्नेछन् भन्ने निराशा व्यक्त गरिएको छ ।

जुवातास प्रतियोगिताका धेरै फाइदा भएकोले यो छिटे नै आयोजना गर्न लागिएको हो । सामाजिक विकृति अन्त्य गर्न, युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न, बढ्दो बेरोजगारी हटाउन प्रतियोगिता आवश्यक ठानिएको छ । यस्तै शैक्षिक विकास गर्न कृषि उत्पादन बढाउन, व्यापार व्यवसाय उद्योग धन्दाको विकास निर्माण गर्न, पूर्विय संस्कारलाई जीवित राख्न यो प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ । जुवातास खेलेर बरालिने, जाँड रक्सी खाएर घर व्यवहार बिगार्ने युवा पिंढी लक्षित यो प्रतियोगिताले युवाहरूको भविष्य उज्वल पार्न ठूलो सहयोग गर्नेछ भन्ने निराशा व्यक्त गरिएको छ । युवापिढीलाई बिडी, चुरोट खान सिकाउने, तासजुवा खेल्न, जाँडरक्सी खान सिकाउन सकिएन भने भोलिको भविष्य स्वाहा हुने भएकोले भविष्यलाई आ हा बनाउन यो प्रतियोगिताले भरथेग गर्ने विश्वास गरिएको छ ।

यो गोज्याङ्ग्रेको सरकार युवाहरूको विकास र वृद्धहरूको उन्नतिकालागि गतिछाडा भएर लागि परेको छ । युवा र वृद्धलाई समाजमा छिटो स्थापित गराएर बिटोका बिटो धन खर्च गराउने कुरामा विश्वस्त छ । जुवातास, जाँड, रक्सीमा मेरो स्थानीय सरकारले अनुदान दिने योजनाका साथै प्रतियोगिता मार्फत आलाकाँचा प्रतिभाहरूको प्रस्फुटन गराउन कुँवामा फाल्नेछ । स्थानीय उत्पादन सडकमा मिल्काएर किसानलाई राहतका नाममा आहत थपेर तिरस्कार सहितको कृषि घटाघट परियोजना संचालनमा लाग्ने खर्च जुवातास जाँडरक्सीमा लगानी गर्न प्रोत्साहन गर्नेछ । समाजमा विकृति थुपारेर उन्नत संस्कृतिको बाटोमा काँढा बिछ्याइने छ । नदेखिने विकासको अन्त्य गरी देखिने विनासका कामतिर बढी खर्च छुट्याइने छ । यसकालागि जनप्रतिनिधिको रुचि अनुसार पहिले जुवातास (जुता) र पछि जाँडरक्सी (जार) प्रतियोगिताको आयोजना गरिने छ ।

प्रतियोगिता प्रतिस्पर्धाको आधार भएकोले समाजलाई सभ्य भव्य र नव्य बनाउन सबैभन्दा पहिले यो जुवातास प्रतियोगिता गर्न लागिएको जानकारी गराउन पाउँदा हाम्रो छातीभित्र हिउँ फुलेर चिसो र सेताम्य भएको छ । यो हाम्रालागि अत्यन्त गौरवको कुरा हो । समाजलाई सधैँ गौरवान्वित पार्न गोज्याङ्ग्रेको सरकारको स्थानीय तहले अनेकानेक उपायहरू अवलम्वन गर्नेछ । त्यसै मध्येको एक उपाय हो जुवातास प्रतियोगिता । यो प्रतियोगिताको आयोजना गर्न लागेको थाहा पाएर छिमेकी बगरपालिका र ताकपरे तालिकाहरूले ठूलो प्रशंसा गरिरहेका छन् भने आर्थिक सहयोग गर्ने समेत प्रस्ताव गरेका छन् । प्रदेश र संघीय सरकारले यसकालागि अनुदान दिने घोषणा गरिसकेका छन् । समाजलाई विनासको बाटोमा अघि बढाउन ठूलो भूमिका निवार्ह गर्न सक्ने प्रतियोगिता भनेर विदेशी दातृ निकायहरूले डलरका डलर सहयोग पठाउने बोराका बोरा कुरा गरेर हामीलाई हौस्याएका छन् । यो अवसरको फाइदा सबैले लिन सकुन भनेर प्रतियोगिताका बारेमा स्कूल, कलेज, पुस्तकालय लगायतका शैक्षिक संस्था, सरकारी कार्यालय, गैर सरकारी संघ संस्था, गुटनैतिक नियोग, फुटनितिक आयोग, ढाँटछल दल लगायतका सबैमा अवरोध गरेका छौँ ।

यो जुवातास प्रतियोगिता नेपाली पनको हुनेछ । यसमा कतै पनि विदेशी पन पाइने छैन । साँच्चै भन्नु पर्दा यो प्रतियोगितालाई नेपालको माटोमा फुलेको फलेको अग्र्यानिक प्रतियोगिताभन्दा कुनै फरक पर्दैन । नेपालीले जानेको बुझेको र चाहिएको प्रतियोगिता नै यस्तै अग्र्यानिक हुनु पर्छ भन्ने कुरामा गोज्याङ्ग्रेको सरकार ढुक्क र भुक्क छ । अर्को कुरा यो प्रतियोगिताबाट जति लाभ हुन्छ अरु खाले प्रतियोगिताबाट हुँदैन । साहित्य, कला, संस्कृति त बेकामको कुरा हो । स्थानीय तहको कार्यक्षेत्रभित्र जुवातास प्रतियोगिता पहिलो प्राथमिकतामा आउँछ । समाज बिगार्ने साहित्य, कला, संस्कृति स्थानीय तहकालागि आवश्यक देखिदैन । सबैभन्दा बढी आवश्यकता भएको जुवातास प्रतियोगिताले स्थानीय तहको मुहार फेर्न सकिन्छ । साहित्य ,कला, संस्कृतिले शिक्षक, विद्यार्थी, अभिभावक, स्कूल कलेज तथा शैक्षिक संस्थाको भविष्य नै समाप्त भएर जान्छ । जुवातास प्रतियोगिताकालागि पुरस्कारको व्यवस्था गरेकोेले यस तर्फ जनप्रतिनिधिको ध्यान आकृष्ट हुन्छ । किनभने जुवातास खेल्न पैसा चाहिन्छ । प्रतियोगितामा स्थान ल्याउन सकियो भने भोलि त्यही पैसाले जुवातास खेल्न हुन्छ ।

नेपालका केही बगरपालिका र ताकपरे तालिकाले भने गलत तरिकाले काम गरिरहेका छन् । त्यो केहो भने स्थानीय तहमा प्रज्ञा प्रतिष्ठान गठन गरेका छन् । साहित्य, कला, संस्कृति भनेको अनुत्पादक क्षेत्र हो । जुवातास जस्तो उत्पादनशील क्षेत्रमा लगानी गर्न छाडेर साहित्य, कला संस्कृतिमा लगानी गर्नु भनेको बालुवामा पान िहाल्नु जस्तै हो । त्यही कारणले पनि गोज्याङ्ग्रेको सरकारको स्थानीय तहले जुवातास प्रतियोगितामा बढी जोड दिएको हो । अर्को कुरा कानून बनाउन माहिर जान्नेहरूको बाहुल्यता भएको स्थानीय तहले पछि नराम्रोसँग पछुताउनु पर्ने छ । पालिकागत रूपमा जनप्रतिनिधिको रुचि र खुवी अनुसार कानून बन्ने गर्छन । बन्नु पर्ने कानून बन्दैनन् । जुवातास प्रज्ञा प्रतिष्ठान गठन गर्नु पर्ने ठाउँमा भाषा साहित्य कला संस्कृतिका क्षेत्रमा काम गर्ने प्रज्ञा प्रतिष्ठान गठन गरेर उल्टोकाम गरिरहेको पाइन्छ । यस्तो उल्टो काम गर्ने जनप्रतिनिधि भएको स्थानीय तहले कहिले विकास गर्नु र खै ? कमसेकम स्थानीय तहका विज्ञसँग परामर्श गरेर, जुवातासका विज्ञहरूसँग छलफल गरेर काम गर्नु नि त्यो पनि छैन । आफू खुशी रोजाईमा व्यक्तिगत स्वार्थकालागि साहित्य, कला, संस्कृतिमा लगानी गरेर स्थानीय तहलाई लैनो गाई र भैसी बनाएर दोहन गरेका छन् ।

भोलिका दिनहरूमा अझैँ जार प्रज्ञा प्रतिष्ठान (जाँड रक्सी), जुता प्रज्ञा प्रतिष्ठान (जुवातास) गठन गर्ने प्रकृयाले घनिभूत रूप नलेला भन्न सकिन्न । स्थानीय तहको अधिकार काम कर्तव्यभित्र पर्ने कुरा गठन भएरै छाड्छ । जार र जुताको भागवण्डा यसो माथिसम्म पुर्‍याउन सक्दा त झन काइदाको फाइदा हुन्छ । यसमा कुरा मिलाउन स्थानीय तहका जार र जुता विज्ञ आफैँ खप्पिस छन् । जिल्लामा सबै कुरा मिल्ला, केन्द्र र प्रदेशमा खामबन्दी बिल्ला भिराउनु पर्छ । पत्रकारहरूलाई साँझ बिहानको चिया, खाजा, खाना ठेल्नु पर्छ । यति भएपछि हामीसबै मिल्नु पर्छ । घाँटीबाट छिर्ने जति सबै निल्नु पर्छ । जुता र जार प्रज्ञा प्रतिष्ठान खोल्नु पर्छ । आखिरी ऐनले नदिए पनि आफू खुशी चैनले दिएकै छ । परेको व्यहोर्नु परे तालिका अनुसार पालिकाले व्यहोरी हाल्छ । स्थानीय तहको अधिकार हो जनताका सेवा सुविधा भन्दा पनि द्विविधाकालागि जे पनि गर्न तयार हुनु पर्छ भन्ने मुल मन्त्र नेपाली जनप्रतिनिधिले बुझेका छन् । जनतालाई पीडा दिन जानेका छन् ।

मुखमै कानून झुण्डिएका जनप्रतिनिधिलाई कसैले पढाउनु पर्दैन । किनभने जुता र जार प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने बौद्धिक काम अरुले गर्न सक्दैन । स्थानीय तहको शक्तिको भक्ति गर्ने जो कोहीले पनि यस्ता प्रतिष्ठानको सदस्यता लिन पाउने भएकोले जुवातास र जाँडरक्सी प्रतियोगितामा सहभागी हुन सबैलाई आक्रामक भएर लाग्न अवरोध गरिएको छ । गाउँ नबनेसम्म देश बन्दैन र गाउँ बनाउन जुवातास प्रतियोगिता अनिवार्य मानिएकोले सर्व प्रथम यसको आयोजना गर्न लागिएको हो । यसपछि जाँडरक्सी खाने प्रतियोगिता आयोजना गरिने छ ।

अब धेरै कुरा के लेखौ बुझ्नेले आँ गर्दा अलङ्कार बुझिसकेका छन् । बुझ्नेलाई यो कुरो गहिरो छ नबुझ्नेलाई घर छेउ मै पहिरो छ भन्ने उखानको बखान गर्दै उत्पादनशील जृवातास र जाँडरक्सी प्रज्ञा प्रतिष्ठान गठनमा सबै स्थानीय तहले बेजोडका साथ जोड दिन आजैबाट लागि परौँ । जय स्थानीय तह, जय साहित्य, जय व्यङ्ग्य । गोज्याङ्ग्रेको सरकारको जय होस् । साहित्य कला संस्कृतिलाई टाढा भगाऔँ जय जुता जय जार, नेपाली जनता यसैमा मारामार ।

०००
गाईघाट, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
नेपाल कछुवा दल

नेपाल कछुवा दल

माधव पोखरेल गोज्याङ्ग्रे
जालझेल

जालझेल

माधव पोखरेल गोज्याङ्ग्रे
व्यशासन भित्रको कुशासन

व्यशासन भित्रको कुशासन

माधव पोखरेल गोज्याङ्ग्रे
नगरगाउँका सिंहमहाराज

नगरगाउँका सिंहमहाराज

माधव पोखरेल गोज्याङ्ग्रे
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x