सञ्जय साह मित्रप्रमाणित महिला
अफिसले भन्यो- सबैले महिला प्रमाणित कागत पेस गरेका छन्, एउटा छानबिन समिति बनाऔँ तर समितिमा तपाईँहरूमध्ये को को बस्नु हुन्छ ? नाम दिनोस् । निवेदन दिन पुगेकाहरूले आफू नबसी अर्काको सिफारिश मात्र गरिरहे ।

एकादेशमा एउटा युग थियो । त्यस युगमा बेरोजगारी व्याप्त थियो । लभ सुलभ तर घृणा दुर्लभ यसकारण थियो कि कोही प्रगति गर्दैनथ्यो । कोही प्रगति गर्ने भएदेखि खुट्टा तान्ने निस्किन्थ्यो । कोही कसैको खुट्टा तान्नै नपर्ने समाजको कथा हो यो ।
एक दिन एउटा भ्याकेन्सी निस्क्यो । भ्याकेन्सी थियो महिलाका लागि मात्र ।
गाउँमा सबैले आफूलाई पुरुषार्थ गरेको ठान्थे । अन्तिम दिनको अन्तिम घडी आउँदासम्म कोही उम्मेदवार हुन आएन । भ्याकेन्सी दिने अफिसले सूचनामा थप्यो- आफूलाई महिलाजस्तो ठान्नेले पनि निवेदन दिन पाउँछ तर उसले महिला प्रमाणित कागत पेस गर्नुपर्छ ।
केही बेरमै निवेदनै निवेदन पर्यो । निवेदनको फिस तोकिएको थियो । अफिसलाई फिसैफिस उठ्यो ।
पहिले गाउँमा महिला कोही छ कि भनेर अफिसको मनमा प्रश्न थियो, अब पुरुष कोही छ कि भन्ने उत्तर भेटियो ।
एकै छिनमा कोकोहोलो मच्चियो । अफिस थच्चियो ।
नक्कली महिलाहरूले सक्कली महिलाहरूमाथि नक्कली महिला बनेर भ्याकेन्सीमा निवेदन दिएको विरुद्ध निवेदन आएको थियो अफिसमा । अफिसले भन्यो- सबैले महिला प्रमाणित कागत पेस गरेका छन्, एउटा छानबिन समिति बनाऔँ तर समितिमा तपाईँहरूमध्ये को को बस्नु हुन्छ ? नाम दिनोस् ।
निवेदन दिन पुगेकाहरूले आफू नबसी अर्काको सिफारिश मात्र गरिरहे ।
०००
रौतहट
Subscribe
Login
0 Comments
Oldest






































