रामकुमार पाँडेढुङ्गै भए नि बोलिदेऊ हे परमेश्वरी !
दसैंचाहि मान्ने किन नि भन्छन् ? भ्यालेन्टाइनभित्र ज्वाइन गर्छन् । के खोजे तिनले । बुद्धि नै गयो । लौन नि परमेश्वरी बुद्धिको बिर्को खोलिदेऊ । छयान-व्यान पारिदेऊ । खाएरै सकिसके तिनका बङ्गारा झारिदेऊ ।

लौन परमेश्वरी भूत लागेकै लाग्ने धुन्धुकारी हटाइदेऊ । यसले हातखुट्टा बानेर बाटा-दोबाटा तानेर हानेर केही गर्नै दिएन हे परमेश्वरी ! हेर हेर हेर मनुवा दोषै दोषले दुःख दिएको छ । दोषको जरा गडेको छ । तलको दोष छ माथिकै दोष छ । उत्तरकै दोष छ दक्षिणकै दोष । अधिकारीको दोष छ, धुन्धुकारीको दोष छ । ए हेर हेर हेर हेर हेर ! लौन परमेश्वरी रोग के हो खुट्याइदेऊ । दूधको दूध पानीको पानी छुट्टयाइदेऊ । विन्ति लेऊ परमेश्वरी । तल-माथि सबै मिलाइदेऊ हे परमेश्वरी । हेर हेर लौन लौन कति दुःख दिन्छौ । भन है परमेश्वरो के-के लिन्छौ । धूप, दीप, नैवेद्य सबै दिउँला । सँगै बसी जाडरक्सी पिउँला । आइदेऊ न आइदेऊ हेर हेर हेर ए धुन्धुकारी ! दुःख नदेऊ यो सोझो प्राणी रिसायौ किन । रिसले खान्छ आफ्नै दिन । भन हे परमेश्वरी अगाडि आई । बोका खाए बोकै दिउँला । पोका लगे पोकै दिउँला । सँगै बसी रक्सी पिउँला । सँगै बसी मन्छिएको लिउँला । आइदेऊ न आइदेऊ हे परमेश्वरी ! हात नै जोड्छु । धन नै जोड्छु आऊ आऊ न आऊ हे परमेश्वरी । दूधको दूध पानीको पानी छुट्टयाइदेऊ हे परमेश्वरी । लौन परमेश्वरी दुःख भयो । साह्रै दुःख भयो । जङ्गल मगल भएन परमेश्वरी । सबै सिमाना खुला गर्दा नै मुला मौलाए । मुला बौलाए । मुला मिलाउने फरमुला चाहियो परमेश्वरी । धुन्धुकारीको दृष्टि यहाँ किन पर्यो भन्दिनुपर्यो हे परमेश्वरी !
हेर हेर हेर । धुन्धुकारी जन्मिसक्यो । थिएन नि तिनका दुईटा सन्तान पुलपुलिए जेठा, माहिला लबस्तरा धेरै, संसार नै हो भन्दछ मेरे । हेर हेर है । परमेश्वरी । जेठाले भन्छ मिलेर आऊ । माहिला भन्छ म खाऊँ मै लाऊँ, कान्छा भन्छ पाइन भाग । छोड्दिन अब जाग न जाग । कोही छन् आफ्ने मान्छेलाई गर्ने, कोही छ आफ्नै घरबार भर्ने । कोही त साह्रै घाँस नै चर्ने । जेठाले जप्छ मन्त्र नै साह्रै । माहिलाले भन्छ तन्त्र नै मेरै, कान्छाले गर्छ, बल र छल । आँगनमा मल हे परमेश्वरी । परिबन्धले पारेको द्वन्द्व, गन्ध सबै बन्द गरिदेऊ । वास सुवासले भरिदेऊ । लौन परमेश्वरी ।
हे परमेश्वरी, हे धुन्धुकारी, आऊ न आऊ प्रकट भई आऊ । कस्तो छ बानी, लुकेर बस्छौं कति दिन तिमी । सुखको नाम दिनदिनै लिने । दुःखचाहिँ तिमी दिनदिनै दिने । के भो नि लौन हे परमेश्वरी । पाठेघर खस्ने महिलाको पीडा । घर नै खस्ने झन् ठूलो पीडा । पीडित भयौं घरेलु हिंसा । कोहीचाहिँ बान्ने । कोहीचाहिँ लुट्ने । कोही झन् पिट्ने । मिलाइदेऊ हे परमेश्वरी । चढाउँला तिम्लाई प्रशंसाको पोको । कालो नि हैन सेतै छ बोको । हटाइदेऊ कालो मैलो नै सारा । तिमीलाई सबले ङिच्याए दारा । को-को छौ दोषी अगाडि आऊ । दोषै छोडी जोसै बोकी जाऊ । के खान खोज्यौ मिलेर आऊ । दुःखचाहिँ नदेऊ यो सोझो प्राणी । बुझ न बुझ, बुझ है नानी । चल्दैन सधैँ त्यो बेइमानी । देखाइदेऊ दूधको दूध पानीको पानी हे परमेश्वरी !
हे ! ड्याङ ! ड्याङ ! ड्याङ ! पार्दछु अब छ्याङ ! छ्याङ ! छयाङ ! सुन हे सुन मनुवा सारा । दोष छ धेरै । जेठो भै भन्छु- पुर्खाको नासो । माहिलो भाइ भन्छ गलामा पासो, कान्छो भाइ भन्छ लाग्दछ टाँसो । बिग्रियो घर, सबैको चासो । सबैको हुन्छ आ-आफ्नो बासो । पुगे नि कोही महलमा सुत्न, कोहीचाहिं लागे सम्साँझै लुट्न । कोहीचाहिँ लागे प्रभु गजब जङ्गलमा भुट्न । लागे नि घरमा गाँजाले सुत्न । उठ न उठ । सबैले सोच । बेइमान को हो उसैलाई घोच । भन्दछ जेठो मिलौँ न सवै । भाइ नै फुटे, गँवार लुटे । राम्ररी गर पर्दछु भर । माहिलालाई दिए पुलपुलेसारा, दिनदिन बढे पकेटमारा । झोलो नै खाए । खोलो नै खाए । कान्छा हो कि रिसले आगो । रिसले खान्छ आफैँलाई हेर । सबको हुन्छ आ-आफ्नो ठाउँ । भन्दछौं किन यो मेरो गाउँ, सबै नै मिली गरौं न काम। काम गर्नेलाई मिल्दछ माम बिग्रनेलाई लात्ताले हान ।
लुटनेलाई खाल्डामा तान । हे परमेश्वरी । भन्देऊ मान । मानेनौ भने समाउछु कान । लौन नि परमेश्वरी । प्रजातन्त्र भनेको बोकाको मुखमा कुभिन्डो हो कि, बाँदरको हातमा नरिवल हो छुट्टयाइदेऊ प्रभु ! तिन्टा तरवार एउटा म्यान ! हे परमेश्वरी, कसको साइकल कसको भ्यान पारिदेऊ छ्यानव्यान । हेर न हेर म माहिलोतिर आकाशै हाँके पातालै हाँके । अरूलाई ङ्याके । ठूल्ठूलै ताके । सन्तान निस्के पकेटमारा । रोक्न खोज्दा ङिच्याउँछ दारा । यो घर मेरै भन्दछु सारा । थु थु नि गर्छन् तलका सारा । बानीचाहिँ नानी सब थोक खाने । गाउँचाहिँ नानी जाँदै नजाने । हिर्दोक भयो । टोक्नु न बोक्नु । आफ्नै छ ढिपी, मूर्ख छ बुद्धि । सिस्नो लगाई त्यो भूत भगाई शुद्ध पारिदेऊ हे परमेश्वरी । मेरो गोरुको बाह्रै टक्का भन्छन् ती गोरु नै हुन् जोत्नै पर्छ हे परमेश्वरी । दूधको दूध पानीको पानी गरिदेऊ दैव छया- ब्यान । हेर न हेर कान्छालाई केर । राम्रै थ्यो उहिल्यै विग्रियो अहिले । पहिलो चोर पिट्ने वानी पछि पो विग्रियो जे पनि खाने । जो पनि जाने । बिग्रियो नि बानी । भ्रष्टलाई छोडी लाटालाई हानी । भयो नि झन्झट किन बेमानी । लुटलाई छुट । आफैं नै लुट आफैं नै भुट । केका नि लागि उफ्रन्छौ जागी । बस्ने यो घर फोहोर पारी । हँसाउने सारा जोरी र पारी । जङ्गली घारी दुर्गन्ध पारी । सहरमा भ्रष्ट जुंगा उफारी । भएन नानी न्यायको कुरा सज्जनमाथि चल्यो नि छुरा । हे परमेश्वरी !
यो दुनियाँ हेर भुक्तैन कोही । मिले नि सारा हुन्छौ नि प्यारा । लौन नि परमेश्वरी दूधको दूध पानीको पानी गरिदेऊ दैव छयान व्यान । धत् ! धत् ! धत् ! थुर थुर थुर थुर । हे परमेश्वरी । भए नि धेरै मान्छे झुर । रिसले भए कोहीचाहिँ चूर । कसैको गयो बुद्धिको सुर । कोहीचाहिँ छोडी गए नि दूर । हे परमेश्वरी । यो भाँडिएको घर छैन नि भर । उधियो सारा कसरी सिलाउने, मनपरी सारा कसोरी मिलाउने । दूधको दूध पानीको पानी विनाबेइमानी छुट्टयाइदेऊ हे परमेश्वरी । म हुँ नि आमा परमेश्वरी । धुन्धुकारी दुःखमा पारी । घरलाई पारे काँडाको घारी । रुदैछु दिन, रातमा पनि । सन्तान भए अनेक थरी, कोही रुन्छ सधैँ कोही हाँस्छ घरी । के गर्नु तिनले दुब्लाए सारा । मेरा हुन सन्तान सबै नै प्यारा । नगर भन्दा देखाउँछन् दारा । माहिलाले खायो लुटेर सारा । कान्छो के कम्ती देखाउँछ दारा । जेठो छ बाठो सबैका प्यारा । झुकाए तिनलाई पकेटमारा । चोर छन् हेर वर र पर । तिनै नै हुँदैछन् उनका प्यारा तोड है जेठा घेराको साँगुरो ।
सफा छ मन, सफा छ बाटो । सोझो बाटो नहिँड्ने लाटो । मानाले फल्छ मुरी नै यहाँ । मायाले उठ्छ धुरी नै यहाँ । बच है बाबु पकेटमारा । घुम्दैछन् घरमा देखाई दारा । भाँचौँ है सबै मिलेर दारा । मिल है मिल कल्याण सारा । हे परमेश्वरी दूधको दूध पानीको पानी गरिदेऊ । हराएको बुद्धि भरिदेऊ । छयान- ब्यान पारिदेऊ । म बूढीआमाको मन खुसीले भरिदेऊ । हे परमेश्वरी । गरे नि बाबा तिनका अनेक दाउ । सासूको बन्यो मन्त्रीको भाउ । भ्रष्टाचार लाग्छ दशांसको खाऊ । लाग्दैन प्रभु । चोर भाग्दैन । चोरको बिगबिगी बढ्यो है बढ्यो । कोही भए मन्त्री भाषण चर्को । कोही लठेब्रा बोली नै झर्को । कोहीचाहिँ ऋण भुसुक्क पार्ने । कोही ठोक्ने आँखा नै छेउ । कोही खोज्ने भित्रको भेउ । राम्रो मान्छे पाएनौं प्रभु । गोल्ड्याङ्ग्रा हाल्यौ । के पाइला चाल्यौ । अगतिला पाल्यौ । कतै चिप्लाउन त लागेनन् हे परमेश्वरी । अन्तध्र्यानले ज्ञान गर । उडेको प्राण भर । अब त राम्रो मान्छे खोज माया छ साह्रै त्यसै नै रोज । भुमरीमा पार्लान् नि प्रभु । दूधको दूध पानीको पानी गर । पर्दछौं हामी तिम्रो नै भर । हटाउन सारा मनको डर । नगई पर आऊ न वर ।
हेर न हेर केर न कर । मनपरी गरे । भुँडी नै भरे । घाँस नै चरे । बिगारे सारा तिखारी द्वारा । हटाए तिनले भूगोल ज्ञान, इतिहास झिके नेपाली प्यारा, नागरिकशास्त्र रहेन केही परिचय सब । हटाइछाडे नेपाली पनि भिक्न नै खोजे । खोई हजुर तिनले के गर्न खोजे ? छ्यान-व्यान पारिदेऊ परमेश्वरी । दसैंचाहि मान्ने किन नि भन्छन् ? भ्यालेन्टाइनभित्र ज्वाइन गर्छन् । के खोजे तिनले । बुद्धि नै गयो । लौन नि परमेश्वरी बुद्धिको बिर्को खोलिदेऊ । छयान-व्यान पारिदेऊ । खाएरै सकिसके तिनका बङ्गारा झारिदेऊ । भेदभावी फुके, बुद्धिजीवी लुके परमेश्वरी । छयान- ब्यान गरिदेऊ । तिनका दिमागमा नेपाली शुद्ध बुद्धिले भरिदेऊ । धुन्धुकारी जन्मे नि परमेश्वरी । दूधको दूध पानीको पानी गरिदेऊ हे परमेश्वरी । गाई र गधा, गु र गोवर छुट्टयाउनुपर्यो । हे परमेश्वरी ! मान्छे छानीछानी वारपार लगाऊ । प्रभु बुद्धिको बिर्को खोलिदेऊ । ढुङ्गै भए नि बोलिदेऊ । हे परमेश्वरी !
०००
‘कामना’ २०६२
Subscribe
Login
0 Comments
Oldest








































