साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थुइक्क ! बेवकुफ !! बजिया !!

दस विद्वानलाई एघार मूर्खले बहुमतको शासन गरेपछि कसरी आउँछ अनुशासन, कसरी चल्छ शासन ? शासनको अर्को नाम अनुशासन हो। यो न भाषणले आउँछ, न आसनमा बस्नेबित्तिकै पाइन्छ । दिमाग खुस्केकाहरूको शासनबाट शासना मात्र पाइन्छ ।

Nepal Telecom ad

जब-जब समस्या पर्छ औतारी काकाकहाँ नगई कहाँ टर्छ ? बाह वर्षमा ढुङ्गो टुसाउँछ, उन्यू फुल्छ भन्थे । बाह्र वर्षमा पनि सोझिने तालसुर नआएकाले ढुङ्गो कि पुच्छर कुन हो दुच्छर ? छुट्टयाउन काकाको दैलातिर पाइला चालें । काका धुरीमा बसेर भैंसीसिङ्गे जुँगा मुसार्दै र’छन् । देख्नेबित्तिकै धारै हात नमस्कार !

क्या अचम्म ! हैन ए काका ! मैले नमस्कार गर्नुपर्नेमा पहिला तपाईंले गर्नुभो । के कलियुग मध्ये नै भइसक्यो र ?

कलियुगको कुरा गर्छौं । बलियुग लागिसक्यो । सबै उल्टो । तर बलिदानको हैन बोका बलि हुने युग । बजेट कप्प विकास ठप्प । यही ताल हो भने हलियुग दोहोरिनेछ !

ए ! त्यसैले धुरीमा गएर कराउन लाग्नुभएको ? कसले सुन्ने काकाको कुरा ?

पाप धुरीबाट कराउँछ भन्थे । पाप टाप कसेपछि बाप चुपो लाग्दा फलिफाप नहुने देखेर चाप बढेपछि नै करकापले कुर्लनुपरेको ! विद्या, बुद्धि, विवेक भएका सबैले चिच्याएर पापीलाई घिच्याएर फाल्नुपर्ने र डुब्न लागेको जहाज टाल्नुपर्ने बेला भइसक्यो ।

ए ! त्यसो पो ! के भनेर कराउने विचारमा हुनुहुन्थ्यो ?

के भन्नु ? गाई र गधा नछुट्टिएका बेला । कान बहिरो भइसक्यो कसले सुन्छ ढ्याङ्ग्रो बाजा ? टकासेर भाजी टकासेर खाजा ।

हैन काका ! यो सबको कारण के हो ?

के हुनु, उही नक्कलीको चलखेल ! वैदिक विवाहले भित्र्याएकीलाई चटक्क छाडेर नक्कली परदेशी प्रजातन्त्रिनी ल्याएपछि बाँदरको हातमा नरिवल ! न टोक्नु न बोक्नु ! मात्र हेर्नु र रुनु !

हैन काका संसारभरकाले मानेको उत्कृष्ट भनेर जानेको प्रजातन्त्रलाई यसो भन्न मिल्छ र ?

केको प्रजातन्त्र ? अर्धसिल्लीको पर्चातन्त्र ! जनताका लागि पर जा तन्त्र ! हल्ला, धम्की, झूट, लुट बाहेक के छ ? मज्जासँग लुट्नेले राम्रो भन्ला ! लुट्न नपाउनेले थोत्रो गन्ला । मलाई लिनुदिनु केही छैन । सार्वभौमसत्ता जनताको भन्थे भैझगडाले अदालत पुगेको पत्तै छैन । प्रधानमन्त्री बलियो भन्थे पार्टीको नेताले अँठ्याउने लुरे भएको पत्तै छैन । नाम प्रजातन्त्र दलभित्र ‘डिक्टेटर’ । बाबुलाई सराप्ने, आमालाई धराप्ने नक्कली प्रजातन्त्र मुर्दावाद !

ए काका ! नारै लगाउनु भो ! के यो अफापै भो त ?

अफाप पनि कसैलाई फलिफाप होला तर मैले के पाएँ ? तपाईंले के भुत्रो पाउनु भो ? हामीले के पायौं ? मेरो हाकिम दुई पैसे बनायो । प्रधानमन्त्रीको ‘थोत्रो कुर्सी’ भन्ने चुत्थो नेताले मालपुवा देखाई लोपुवा ख्वायो । हाम्रो आन्द्रा, निद्रा, रक्षा, सुरक्षा, सब चट, सफाचट । थोत्रालाई शिरमा भद्रलाई भीरमा राखेपछि आत्मग्लानिको पीर र सुँगुरलाई रोप्ने झीरमा के फरक भो ? यदि यस्तै पत्र प्रजातन्त्र हो भने थुइक्क ! प्रजातन्त्र भन्छु । खप्पर मर्मत नगरेर उध्रने मात्र गर्छ सुध्रंदैन । हिजोको कालरात्रि । आजको मालरात्रि । भोलिको जालरात्रि । चोर, फटाहा, नेता कार्यकर्तालाई हिजो कालरात्रि भएको प्रमाण आजको मालरात्रि छ । अर्थात् रातारात मालामाल । अनि छुल्याहा, हुल्याहाका लागि प्रजातन्त्र पालतन्त्र हुने नै भो । जनतालाई जालतन्त्र ।

हैन काका, प्रजातन्त्र फस्टाउँदैन त ?

आजको जस्तो प्रजातन्त्र फस्टाउन दिने हैन खोस्ट्याउने गर्नुपर्छ । अनि फस्टाउला सब सुइँकिएपछि त्यसकै मलजलमा फस्टाउला । छिमेककै तालमा पनि पचास वर्षपछि जन्मेका पुत्रपुत्री लालुजस्तै कालु र रावडीजस्ती रावणी । यहाँ जन्मेको धुन्धुकारीले यही ताल र जाल हो भने उत्पात नमच्चाउला भन्न सकिन्न । बाह्र वर्षमा जन्मेको बोको एक हातमा घूसको पोको अर्कोमा हतियारको डोको । यस्तो धुन्धुकारी प्रजातन्त्र संसारमा कहीँ कतै छैन । काकाले भैंसीसिङ्गे जुँगा चोस्याउँदै जोस्याउँदै भने ।

उसो भए प्रजातन्त्रको भविष्य छैन हैन ? है काका ।

यो कुरूप प्रजातन्त्रको छैन । यो कुटाइमको खानाले पखाला लाग्ने पक्का छ । वर्गीय परम्परामा समानता ! तुरुन्तै फेर्न असम्भव । संयुक्त परिवारमा बाबु रूख पार्टी, आमा हँसिया पार्टी, छोरो घन पार्टी, साला धोती पार्टी, नाति हलो पार्टी, छिमेकी गोरु पार्टी, अतिथि बन्दुके पार्टी कसरी टिक्छ ? कोही कसैले भनेको नमान्ने, भेटेजति आफूतिर तान्ने, सबै जान्ने, कसले छान्ने, कसले हान्ने ?

काका ! त्यसो त, साना जाति ठूलो भएको देख्न नसक्ने जातजातिको ताँतीको नानाभाँतीको छाती पनि त छ । भेद, विभेद, क्रम, उचनिचवाटै हामी कुन तह र सतहमा छौं छुट्टिन्न र ? पूजा कोठे सधैँ पूजा कोठे नहुने, कामी काम नलाग्ने, जातको तलमाथिको खातमा प्रजातन्त्रको कसरी हुन्छ माथि हात ? त्यसमाथि जातबाट थरमा कर अनि मर । टोल-छिमेक, गाउँ-ठाउँमा ठूला ठालुको हैकम कम नभई सार्वभौम हलीको हातमा हालेपछि थोडै हलो जोत्नेको हलियुग नभई कलाकारको हलिउड हुन्छ र ?

काका परिवारमा तह, जात-जातिमा तह, समुदाय र समाजमा तह, कामदारमा तह भएपछि सबै समान भन्ने प्रजातन्त्र टिक्दैन र ?

कहाँ टेक्ने र टिक्ने ? आयोग बन्दैमा लिड्गभेद हट्ने भए लिङ्गकै महत्त्व नै हुँदैनथ्यो । आ-आफ्नो लिङ्गको महिला र पुरुषबीच शास्त्रार्थ हुँदैनथ्यो । स्त्री-पुरुषको लिङ्ग समान हुने एउटै अवसर छ अर्थात लिङ्गविभेद हट्ने एक मात्र उपाय हो सुहागरात । यो कुरा मूर्खलाई थाहा भए पनि बुझपचाएका छन् । साँच्चिकै हटाउने नै हो भने दुईवटा प्रधानमन्त्री राख्नु जाती ! लैङ्गिक दूरी हटाउन बरु पुरुष प्रधानमन्त्री भए क्लिन्टनले जस्तो एक टन मोटी अघोषित प्रधानमन्त्राणी राखे लैङ्गिक दूरी नै रहन्न, डायनाले जस्तो ब्वाय हो कि ट्वाय फ्रेन्डले इन्ज्वाय ….

काका सिधै छिल्लिएका कुरा गर्नुहुन्छ । उसो भए त पुरुषले पनि पौरष्यको जुँगाभारा माग्नुपर्‍यो ।

अचेल केको पौरष्य हुनु ? जुँगा जक्र्याएर जुरोमा जाकिसक्यो । हैन भने मोडेल र सुपर मोडेल शोमा सहभागी हुनेले झैं बाटामा छोटा परिधान पहिरिंदा लाटाले केरा हेरेझैं हेर्दैनथे ।

त्यही त काका ! प्रजातन्त्र भनेकै यही हो सर्वत्र खुला ! छोप्नुपर्ने ठाउँ खुला गरेपछि बाँकी रहन्छ आलुमुला । बस, सबले हेर्न चाहेको यति हो । हैन भने शिक्षितभन्दा निरक्षर र निरक्षरभन्दा मूर्ख बढी भएका ठाउँमा बाँदरको हातमा सार्वभौम वा भालुलाई पुराण हुन्छ संविधान ।

काका ! कतै प्रजातन्त्र व्यवस्था नै बेठीक हो कि ?

व्यवस्था ठीक-बेठीक कुनै पनि हुन्न । बेठीक भएको भए पञ्चायत जन्मन नपाई खुस्कन्थ्यो । प्रजातन्त्र ठीक भएको भए उठ्न नपाई दौडन्थ्यो । ठीक-बेठीक मान्छे त्यसमा पनि नेता, कार्यकर्ता । जिम्मा पाएका जिम्मेवाल जनताका नेता भनाउँदा जन्तु भएपछि कुनै पनि व्यवस्थाको तन्तु खुस्कने नै भयो ।

मान्छे अन्धविश्वास र अविकासले यसो भएको होला ।

हैन, गरिवीले ! एक जनाको कमाइले पालिने पाँच पेटले प्रजातन्त्र स्वतन्त्र भएर बस्न सक्छ ? त्यसमाथि गरिवीको हद पुगेर सांसद् नै बोका बेचिने ठाउँमा घूस, कमिसन, नजराना, उपहार खाएँ भन्नेले प्रजातन्त्र खाएको पत्तै हुँदैन । ए ! उसो भए राजनीतिक संस्कृति, शून्यहरूको शासनमा प्रजातन्त्र टिक्न सक्दैन ?

टिक्न, होइन सुइँकन सक्दैन । अधकल्चो बस्छ । दल लठैतहरूको सङ्गठनजस्तो हुन्छ । जनता असङ्गठित आवाजले थाकेर संवेदनहीन हुन्छन् र बलियाको चलखेल बढ्छ । दलकै पनि स्वार्थ सन्तुलन नभएपछि पछिलाग्ने दुई जना हुन्नन् । यस्तो अवस्थामा थोत्रो मोडेलको प्रजातन्त्र रित्तो ढ्वाङमात्र बन्छ ।

हैन काका ! यसो हुनुमा कारक र कारण ?

देवता र राक्षस प्रवृत्तिको प्रचलन । शासक देवता, प्रतिपक्ष राक्षस । जो आए पनि यस्तै हो । प्रतिपक्षप्रति राक्षसी व्यवहार गर्छ शासक । प्रतिपक्ष पनि राक्षस मायाजालले शासकसँग मिलेझैं गर्छ । खाने दाँत झार्नुपर्ने, आफैं चलाउन थाल्छ ।

दस विद्वानलाई एघार मूर्खले बहुमतको शासन गरेपछि कसरी आउँछ अनुशासन, कसरी चल्छ शासन ? शासनको अर्को नाम अनुशासन हो। यो न भाषणले आउँछ, न आसनमा बस्नेबित्तिकै पाइन्छ । दिमाग खुस्केकाहरूको शासनबाट शासना मात्र पाइन्छ ।

यसबाट बच्ने उपाय ?

ज्ञानको सम्मान ! विशुद्ध बुद्धिजीवीको मान । वेश्या बुद्धिजीवीले एड्स ल्याइसके । ‘पावर अडिक्ट’ भएपछि आजीवन प्रधानमन्त्री ! योग्यता नातामा हैन ज्ञातामा, पुरस्कार आकृतिमा हैन कृतिमा नभएसम्म फस्नुपर्छ विकृतिमा ।

उधार्ने धेरै छन् । सुधार्ने कसरी काका ?

मूर्खको सङ्ख्या घटाउने । चारपासेलाई हाकिमबाट हटाउने, गुन्डालाई मन्त्री बनाएर किन लुटाउने ? सिपालुलाई खटाउने, चोरलाई चुटाउने, बस, सब चकाचक नाको सुधारले निधार खुल्दैन ।

बिग्रेको मति दुर्गतिको ताँती । भूगोल पढाउन छोडी भद्रगोल पढाएपछि विद्यालयमा राजनीतिको भर्तीकेन्द्र खोलेपछि, बडे हाकिमलाई तथानाम बोलेपछि बाँकी के उही आलुमुला !

यस्ता चपाउनेबाट बचाउने उपाय के त काका ?

उपाय एउटै छ- भ्रष्टाचारीलाई गोर्खेलौरी ।

कसले ठोक्ने ठिँगुरो ?

त्यही त धुरीबाट भ्याली पिट्न लागेको बिरालाको घाँटीमा घण्टी झुन्ड्याउने मुसो कोही छ ?

को हुनु ? सबले आलुमुला खाइसके ।

यी नकच्चरा लबस्तरालाई के गर्दा ठीक ठाउँमा आउलान् काका ?

विकृतिलाई स्वीकृति नगरी तिनको कृति आकृतिमा थुकौं थुइक्क ! बेवकुफ !! बजिया !!! अनि बल्ल आउँछ प्रजातन्त्र ।

०००
‘कामना’, (२०५९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x