साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामी भ्रष्ट नै हौं, के गर्छौ गर !

यिनलाई के थाहा, मार्तोलमा भन्दा चाबीमा बुद्धि हुन्छ भनेर ? हामी चाबीले काम सिध्याउँछौं, तिनको मारमुङ्ग्री गफ सुइरे छेस्के डटपेनदेखि तर्सिने, हर्किने, डराउने कुरै छैन । वाहियात ! आफैँ खिइन्छौ लेखेर !

Nepal Telecom ad

कसले के भन्यो, कसले के भनेन, कोको के के गर्दैछन्, कसले के गरेन, फलानो बदमास छ ढिस्को फटाहा, अर्को भ्रष्टाचारी दुराचारी पापाचारी इत्यादिको निधिखोजी यी पत्रकारलाई किन चाहिएको ? कर्मचारीले काम गरेनन्, सरकारसँग कुनै योजना छैन, नेताहरू आफ्नो दुनो सोझ्याउनेबाहेक विकास निर्माणतर्फ ध्यान छैन । देशको मुहानमा बसेकाहरूको मुख्य उद्देश्य लक्ष्य सरकारी पैसालाई कसरी तर्कारी बनाउने भन्ने मात्रै छ भनेर आरोप लगाउँछन् यी पत्रकारहरू ! चाहिने नचाहिने नानाथरी कुराको सोधखोज गर्‍या छन्, उरालधुराल गर्‍या छन्, दुनियाँको गिदी चाटेका छन्, होहल्ला मच्चाएका छन् । सानो कुरा पाए भने तिललाई ताड बनाएका छन्, कसैलाई सगरमाथाभन्दा अग्लो बनाउँछन्, कसैलाई कचनकवलभन्दा बढी होच्याउँछन् । देश दुनियाँ थान्कामा बसेन भन्छन्, आफू कहिल्यै थान्कामा बस्नु छैन । कुरो छिरोलेको छ, बिरोलेको छ, गिजोलेको छ, गोप्यभन्दा गोप्य कुरालाई बाटामा पुर्‍याएर छारस्टै बनाएको छ । यी पत्रकारको काम भनेको जम्माजम्मी दुईचार ताउ कागज रङ्ग्याउनुछ, तमासा चाहिँ कत्रो ?

अर्थोक त जेसुकै गरून् भनून्, लेखून् मतलब थिएन, तिनका पत्रिका नपढिदिँदा रेडियो टिभी एफएम नसुनिदिँदा भएकै थियो तर यिनीहरूले हामी भ्रष्टाचारीहरूलाई के औधी भ्याकुरो खेदाइ खेदेका ? हामी जताततै गर्ने नगर्ने जेजे गरे पनि यी पत्रकारहरूको पिँडालुबारी फाँडिदिएका छैनौ त ! अनि किन हाम्रा पछाडि हात धोएर लागिपरेका ? कुन कुन काण्डमा को को मुछिए, ककसले कति कति पैसा खाए, त्यो पैसा कुन देशको कुन कुन बैंकमा लगेर थुपारे, सबै खुटका खुट ल्याउँछन् ए यी सुलसुलेहरूले ! कुन नेताले कसका नाउमा पैसो राखेर केमा लगानी गरेको समेत भन्न बाँकी राखेनन् । आफू मर्न आटेको थाहा छैन, पैसा थुपारेर उरुङ लगाएका छन्, के गरौंला भन्दा हुन् ? कुनै दिन जसका नाउँमा पैसा राखेको हो उसैले हाम गर्दियो भने कहाँ गएर मुद्दा हाल्छन् होला ? जनताले देशबाटै खेदे भने कसरी बाचौँला भन्ने लागेको होला ? भन्दै हाम्रो पैसाको चिन्ता हामीलाईभन्दा तिनलाई बढी ? सधैजसो मिडियामा भ्रष्टहरूले देश खँगारे, लुटे, सिध्याए, खोक्रो बनाए, टाट पल्टाए, असफल राष्ट्र बनाउन लागे… ए बाबा हो । हुइँया मच्चाएको छ, छ । भ्रष्टाचार गर्न भन्दा पनि अर्काको भ्रष्टाचार खोतल्नमा बढी मज्जा आउँछ कि क्या हो ?

देशै खाने किसिमका अनेक सर्त तेस्र्याएर आएको वैदेशिक सहयोग हामीलाई चाहिँदैन, त्यसको दश गुणाभन्दा बढी पैसा यिनै देशद्रोही, भ्रष्टाचारीहरूसँग छ । त्यो पैसा फर्काउन सक्यो भने कति वर्षलाई देश सञ्चालन गर्न बजेट पुग्छ पो भन्छन् ए ! यी पत्रकारले भने पनि नभने पनि हामी भ्रष्टाचारी नै हौँ, साँचो सत्य खसोखास कुरा भन्दिन्छौँ । त्यसपछि अख्तियार जाऊन् कि अदालत, त्यहाँ झन् कत्रा कत्रा काण्ड देख्छन् । भ्रष्टाचारी हुनेवित्तिकै देशले हाम्रो नागरिकता खोस्छ ? हाम्रो मानवअधिकार हरण हुन्छ ? हाम्रो शरीरमा बग्ने रगत कालो हुन्छ ? वाहियात ! सबका सब गौँडा अड्डामा भ्रष्टैभ्रष्ट भएपछि कसले कसलाई कार्बाही गर्छ ? लठुवा नसे पत्रकार तमासा देखाउँछन् ।

पत्रकारहरू भन्छन्- भ्रष्टाचारीहरूको समाजमा मानसम्मान, मर्यादा, इज्जत केही हुँदैन । सारा दुनियाले सराप्छन्, घृणा गर्छन्, दुष्ट ठग पापी अपराधीको दर्जामा राख्छन्, समाजबाट काढिन्छन् इत्यादि । यस्ता कुरा मिडियामा त फुके फुके, सर्वसाधारण जनतालाई समेत पाठ घोकाएका छन् । यी पत्रकारले भनेर मात्रै हुन्छ ? लु हाम्रो इज्जत आबरु घटाएर देखाओ त ! पत्रकार र हामी एकै ठाउँमा उभिदा को लायकको देखिन्छ ! दुनियाले कसलाई नमस्कार स्यालुट गर्दारहेछन् । विदेशीको लगानीमा चलेका, डलरमा बिकेका, कहिले हल्ला र कहिले चुपचाप भत्ता पचाउने अनि केही खामे दास पत्रकारबाहेक अरू हामीसँग कुम जोडेर उभिनसक्ने सुहाउने को छ ? एउटा डायरी च्यापेको छ, एउटा डटपेन सिउरिएको छ, जसको पायो उसको मुखमुखमा माइकको फुंदो तेर्स्याएको छ, क्यामेरा ताकेको छ चप्पल पड्काउँदै सास बढाउँदै दौडिएको छ, भुँडी चाउरिएको ओठ कलेंटी परेको छ, यस्ता हरिनासे पत्रकार र कालो सिसा भएको चिल्लो कारमा भव्य पोसाकमा अवतरण हुने हामी भ्रष्टाचारी एकै ठाउँमा भयौं भने दुनियाँले कसको खायस गर्दारहेछन् ! को मर्यादित देखिँदोरहेछ ! लु च्यालेन्जै भो !

भ्रष्टाचारीको शाब्दिक अर्थलाई समाजको मर्यादित मान्छे, शक्तिशाली मान्छे, बुद्धिमान, विद्वान्, समाजसेवी, देशभक्त, धार्मिक परोपकारी, सदाचारी भनेर शब्दकोशमा अर्थपरिवर्तन गर्दियौं भने भोलिदेखि यी पत्रकारले के भन्छन् ? के लेख्छन् ? सुनलाई पित्तल र पित्तललाई सुन बनाउने जात हो हाम्रो ! के ठानेका छन् यिनले ? आफू र आफ्नो चरित्र परिवर्तन हुने सम्भावना सकिएपछि हामी भ्रष्टाचारी यही अर्थपरिवर्तनको काममा अहिले लागेका छौं । सुलसुले पत्रकारलाई सजिलै ठेगान लगाउने उपाय यही हो । जिन्दगीमा कस्ता कस्ता हुने नहुने काम त गरियो, अझै पनि गरिँदै छ । गरेजति यावत् कुकर्म सबैले थाहा पाउनु हो भने जिउँदै गाड्ने थिए । जाबो एउटा शब्दकोशको शब्दार्थ उल्टाउन, पल्टाउन, परिवर्तन गर्न कुन आइतवार पर्खिनुपर्छ र ?

हैन, जोरी खोज्न पनि समानको सुहाउँदिलो मान्छेसँग पो हुनुपर्छ त ! लुम्रेझुम्रे, कङ्गाल, अनिकाले पत्रकारहरू हामीसँग आइलाग्नु अचम्मै छ । यिनीहरूले भनेजस्तो कुनै दिन देशै छोडेर, मागेर ज्यान बचाउनुपर्‍यो भने हाम्रा छोराछोरी नातिनातिना विदेशमा त्यहीँकै नागरिकता लिएर बसेका छन् । हाम्रो मोटामोटी जेबो त्यहीको घरजग्गामा खर्चिएको छ । हामी यहाँबाट सरक्क सक्छौं, बस्छौं तर यिनीहरूले भाग्नुपर्‍यो भने कता जान्छन् होला ? मुगलान पस्छन् कि ? कसका शरणाथी बन्छन् होला ? हाम्रो भविष्य अन्धकार देख्ने यी पत्रकारले आफ्ना बारेमा सोचेका छन् ? यिनीहरूले डनहरूलाई चिनेका छन् ? धामीले मसान खेलाएझैँ गुन्डा चलाउन, खेलाउन, नचाउन, उफार्न जानेका छन् ? यिनको तलदेखि माथिसम्मको सेटिङ् सन्जाल छ ? जुकामा नुन हालेजस्तो कानुनमा नुन हाल्ने ढङ्ग यिनको छ ? त्यत्तिकै फुरफुर गरेर मात्रै हुन्छ ? विदेशीहरूसँग उठबस गर्न यिनीहरूले कहिले जान्नु ? विदेशीहरूलाई रिझाउने सिप कौशल छ ? केही जान्नु बुझ्नु छैन, सधै त्यही भ्रष्टाचारका कुरा छिरोल्या छन् छिरोल्या छन् ! हुँदाहुँदै अब त नामै तोकेर, रकमै तोकेर, विदेशी बैंक नै तोकेर लेख्न पो थाले त !

यो भ्रष्टाचार भन्ने कुरो कोरोना, डेंगु भाइरस जस्तो ह्वात्तै आउने अनि स्वात्तै जाने हो र ? भ्रष्टाचारको इतिहास, यसको वर्गीकरण, विकासक्रम, प्रकार, यसका शैलीशिल्प, कला, विधिप्रविधि, मात्रा केही सुझ्नुबुझ्नु छैन, यी पत्रकार हावा तालमा लेख्यालेख्यै, बोल्याबोल्यै छन् । भ्रष्टाचार गर्न सजिलो छ ? आफ्नो सिप, कलाकौशल, ढङ्ग साँधेर, कानुनमा टिनको चश्मा लगाइदिएर, कति ठाउँमा हात जोडेर, आरती उतारेर, निहुरिएर, दुःख गरेर, माथि मुहानमा बाँध बाँधेर, बिचबिचमा अलिअलि चुहाउँदै बल्लतल्ल आएको केही करोड, अरबमाथि ओबानामा बसेर कलम चलाउँदै भ्रष्टाचार भयो भनेर चिच्याउने ? हामीमाथि धावा बोल्ने ?

हामीले आफूलाई भ्रष्टाचारी होइन भनेकै छैनौं । हामी भ्रष्ट नै हौं । भौतिक सुख सम्पन्नता, वैभव हाम्रो पेवा हो । तिमी मिडियाहरूको बेवास्ता गर्दै भ्रष्टाचार गरिरहेकै छौं । तिमीहरूको लेख्ने बोल्ने काम गरिरहनू । आफैँ थाकेर जदौ गर्दै कुन दिन आइपुग्छौ हामीसँग । कति त थाकेर, लत्रिएर हाम्रै शरणमा आइ पनि सके । पञ्चायत कालदेखि विभिन्न तन्त्र पार गर्दै अहिलेसम्म भ्रष्टाचारका कुरा भनिरहेका, लेखिरहेका छौ त ! खै कसलाई के कारवाही भएको छ ? कसको रौँ हल्लिएको छ ? तौजी नमिलेर, एकाध भ्रष्ट पक्राउ परे पनि करोडौं करोड भ्रष्टाचारको आठदश हजार जुर्माना तिरेर निस्केकै छन्, फाइदा भएकै छ । यति कुरो पनि नबुझ्नेले के पत्रकारिता गर्नु ?

हाम्रो देशमा मात्रै हो भ्रष्टाचार ? संसारको कुन देशमा मात्रै भ्रष्टाचार हुँदैन ? बुझेका छन् पत्रकारले ? भ्रष्टाचार छ्याङ्गै ह्वाङ्गै छ त ! यस्तो नाङ्गो सत्यलाई लेखिरहनु, भनिरहनु पर्छ ? घाम झुल्किएको, अस्ताएको पनि लेख्ने ? त्यै हो पत्रकारिता ? हाम्रा सानातिना कार्यकर्ता, कारिन्दा र कर्मचारीले पनि छोटै समयमा राम्रै करामत गरेका छन् त ! तिस हजार जागिर खाने सामान्य कर्मचारीले शैक्षिक साहू, कैयाँ, व्यापारीहरूलाई महिनाको चालिस पचास हजार शुल्क बुझाएर छोराछोरी पढाइरहेका छन् । राजधानीमा महल ठड्याएकै छन् । खाएकै लाएकै छन्, गाडी कुदाएकै छन् । यत्ति जावो कुराको अनुसन्धान गरेर लेखिरहनुपर्छ ? साना कार्यकर्ता र कर्मचारीको यही आम्दानी हैसियतबाट ठुला नेता प्रशासकहरूमा डिग्री लाउन सक्तैनौ ? अन्दाज आँक्न सक्तैनौ ? भ्रष्टाचारका ठुला काण्ड पत्ता लगाउन खोज्यौ भने भुमरीमा बेरिएर आफैँ बेपत्ता हुन्छौ ।

हामी भ्रष्ट नै हौं, के के लेख्नु भन्नु छ गरे हुन्छ । लेख्ता लेख्ता तिमीहरूका हात खिएर सकिएलान् ! कागत मसी समाप्त होला ! तिम्रा मिडियाका भाँडाकुँडा थोत्रिएलान् तर तिमीहरूबाट हामीलाई ठाँगेले छुँदैन । मिडियाले कराएर अहिलेसम्म कतै केही भएको छ ? आमाको कुरो मामालाई पोल लगाएर पार लाग्छ ? हामी भ्रष्टाचारी नै हो भनेर स्वघोषणा गरिदिएपछि के लेख्छौ ? कुरा फूल पार्ने, कुराकै बेलुन फुलाउने हो त ? कारवाही गर्ने पत्रकार होइन होला ? आक्रोश, रिस, आहारिस मात्रै हो । बरु हामी पनि भ्रष्टाचार गर्न पाऊँ भन्ने निवेदन हाल त्यसतर्फ विचार गरौंला ।

एउटा पत्रिका हेर्‍यो समाचारको शीर्षक भ्रष्टाचारकै छ, अर्को हेर्‍यो त्यस्तै छ, अर्को उस्तै छ, रेडियो खोल्यो कुरा उही छ, टिभीमा त्यही भट्याएको छ । फेसबुक, युट्युव टिकटक हेरिसक्ना छैनन् । भ्रष्टाचारका कुराबाहेक अर्थोक लेख्न आउँदैन यी पत्रकारहरूलाई ? यिनले धेरै कुरा हामीबाट सिके हुन्छ । भ्रष्टाचारकै नीतिगत कुरा बाहिर भन्ने र भित्र काम गर्ने कुरा, यसभित्रको जाल सन्जाल, बाङ्गो औँलो, टेढी बुद्धि, चलाउने तौरतरिका, तलमाथि, वरपर, अड्डा अदालत मिल्ने मिलाउने सिप इत्यादि कुराको ट्युसन पढ्न आए हुन्छ । कुराको बाहिर बाहिर बोक्रो मात्रै तछारेर के हुन्छ ? भ्रष्टाचारबाहेक पत्रिकामा लेख्ने अन्य कुरा केही छैन यो दुनियाँमा ?

विहानको झुल्के घाममा हिमाल कति सुन्दर देखिन्छ, त्यसलाई शब्दमा उतार्नु, वीर पुर्खाका सन्तान नेपालीहरूको महिमा गान गाउनु, प्राकृतिक सुन्दरताले भरिपूर्ण आफ्नो देशको पारख, प्रशंसा गर्नु, गौतमबुद्ध सीता अरनिको आदि जस्ता सच्चरित्रको वणर्न, पुरुषोत्तम भगवान् रामको चर्चा, सीताको पतिभक्ति, हनुमानको प्रभुभक्ति आदि विषयमा कलम चलाएर आफ्नो पनि परत्र पनि सपार्नु, पाठकलाई पनि मोक्षको बाटो देखाउनु । पत्रकारलाई खोई त्यतातिरको ध्यान ? एकोहोरो किसिमले भ्रष्टाचारीको मात्रै कोदोकटाइ गर्ने ? कस्ता परपीड़क प्रवृत्तिका पत्रकार ?

योजनाको फायल पल्टाएर जब काम गर्न थाल्यो एकातिर अख्तियार कान ठाडो पारेर जम्जमाउँछ, अदालत कर्के आँखा लगाउँदै अड्काउँछ, लुते पत्रकारहरू मुखैमा तिनको फुदो ल्याएर बोली टिप्न आइपुग्छन् । आफूभन्दा तलका र माथिकाहरू मुख मिठ्याउँदै झिमिक्क नगरी हेर्न थाल्छन् । काम सम्पन्न नहुनुको मुख्य कारण यही हो । सबैलाई चटाउन थाल्यो भ्रष्टाचार भइहाल्छ, चटाएन भने काममा आग्लो लाएर अवरोध हुन्छ । कम्ति मात्रै सकस छ ? फायल थन्क्याएर हाजिर गर्दै बरु तलब भत्ता खाएर बस्यो, ढुक्क ! यी पत्रकारलाई जम्माजम्मी पारदर्शिता चाहिएको होइन ? थन्किएका योजनाका फायल पारदर्शी छँदै छन् । अघि बढेका काममा घुसको रेट कमिसनको प्रतिशत, तलमाथि वितरणको मात्रा एकप्रकारले पारदर्शी नै छ । लिखित रूपमा सार्वजनिक गर्न मात्रै बाँकी छ । यति कुरा पत्रकारहरू आफैँ अध्ययन अनुसन्धान गर्न सक्तैनन् । सबै हामीले नै बिस्कुन लगाइदिनुपर्ने ?

पत्रकार त अलि टाठा हुन्छन् भन्थे, भ्रष्टाचारको बोक्रो मात्रै उक्काउँछन् त ! चुनावका वेलामा टिकटको बजारभाउ यिनले बुझेका छन् ? प्रशासकहरूको मलिला अड्डामा सरुवा बढुवाको दररेट थाहा छ ? सांसद किनबेचको मेला लागेको वेलामा त्यहाँको दलालीको ज्ञान यिनलाई थाहा छ ? बाठो छौं भन्ने पत्रकारहरूले बुझ्नुपर्ने यस्ता अनगिन्ती कुरा छन् । उल्टै हामी भ्रष्टहरूले भन्दिनुपर्ने ? बित्थाको बारमासे किचकिच गर्‍या छ, कुरोको चुरोमा पुग्नु छैन । यिनलाई के थाहा, मार्तोलमा भन्दा चाबीमा बुद्धि हुन्छ भनेर ? हामी चाबीले काम सिध्याउँछौं, तिनको मारमुङ्ग्री गफ सुइरे छेस्के डटपेनदेखि तर्सिने, हर्किने, डराउने कुरै छैन । वाहियात ! आफैँ खिइन्छौ लेखेर !

०००
चन्द्रगढी, झापा
भरखरै प्रकाशित ‘मुलाको मुरली’ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x