होम सुवेदीगजल कृति विमोचनको शब्दचित्र
गतिलो होटलमा जाँडपार्टी वा विमोचन समारोह राख्नुहोस् । त्यसो गरेपछिलाई यी गजलकारलाई जसरी आमन्त्रितको कमी महसुस हुन पाउँदैन । गुनासो गरिरहनै पर्दैन ।

होम सुवेदी
केही सम्पादकहरूलाई चिठी लेखेर साहित्तेमा हात चोबेकै कारणले होला कृतिविमोचनको जाँडपार्टीको अवसरमा नभए पनि यसो साधारण विमोचनका पार्टीका लागि निस्तो पाउन थालेको छु ।
यसैअनुसार एक निम्तामा सरिक हुँदाको कैरन हो यो । अर्थात् एउटा गजल कृतिको विमोचनका दिनको कथा हो यो । विद्यालको सभाभवनमा कार्यक्रम गरिने लागेको रहेछ । यसै कारणले शनिवारको दिन पारिएको रहेछ । मास्टरहरू राजनीतिमा जाने र केही विद्यार्थीहरू मात्र आउने भएकोले स्कुल लागेकै दिन गरिएको भए पनि हुने, शनिवारै पार्नु परिरहने थिएन तै जेसुकै होस् शनिवार पारेछन् । हो त एक सरकारी साधारण स्कुलको हलमा कृति विमोचन गर्ने तयारी गरिएको रहेछ जसमा भाडा जो लाग्दैन । गजलकारले निकै बेर पर्खिएछन्, भनेजसरी आमन्त्रितहरू कोही पनि नआइदिएकोले उनी हतप्रभ भएको मौकामा म अचानक पुग्दा उनलाई देउता नै मिलेको अनुभव भएछ । विद्यालय लागेको दिन भए ता यसो विद्यार्थीहरूलाई पापा खुवाउने लोभमा तालीका लागि थेचारिन्थ्यो ।आज शविवारको अवसर पारेर विमोचन गरिएकोले त्यो पनि भएन ।
सत्तरी जनालाई बोलाएको ठाउँमा गजलको विमोचनका क्रममा आमन्त्रित विशिष्ट अतिथि, अतिथि, स्रोताहरू, दर्शक र गण्यमान्यहरू भनेको बेलामा नआएपछि अन्तमा मलाई नै प्रमुख अतिथि राख्ने र कृतिको विमोचन गर्ने अभिभारा उनले सुम्पिएका थिए । हलभित्र आफ्नो परिवारबाहेक सत्तरी जना आमन्त्रित भएकोमा आफ्ना नातागोताका मात्र जम्मा १७ जना उपस्थिति भएछन् । तिनकै माझमा उनको ‘काकाकुल’ गजल विमोचन गरिदिएँ । त्यो उपस्थिति देखेर मलाई विरक्त लाग्यो । मनमनमा भनें जाँड पार्टी पनि भएको भए तिम्रो हलमा नअट्ने मान्छे आउने थिए । अब यो चियामात्र खान को आइरहोस् त तिम्रोमा । अनि मैले मेरो विद्यार्थी कालको घटना सम्झें ।
उहिले म दार्जिलिङमा पढ्न बस्ताको कुरा हो । म ता उतिको बेला भइगएको थिइनँ तर बेला भएकाहरूले प्रेम गर्ने हतियारका रूपमा त्यहाँ एउटा गजबको कुरालाई सौख राखेका थिए । म अहिले पनि झलझली सम्झन्छु । त्यहाँ केटी फकाउनलाई सकिन्छ भने एउटा उपन्यास लेख्नुपर्थ्यो, उपन्यासै नसकिए पनि एउटा सानोतिनो कथा भए पनि लेख्नुपर्थ्यो । उ बेलामा गजल ता काकाकुलका लागि पानी जस्तै थियो के हो गजल कसैले जान्दैनथे । उपन्यासतिर नै झुम्मिएका थिए । अचेल पनि म झल्झली सम्झन्छु, । म भन्दा केही छिप्पिएकाहरू उपन्यास नै दन्काउने गर्थे । छपाउन सस्तो थियो, छपाउँथे पनि । प्रेम वाजपेयी रानु र गुलसन नन्दाका उपन्यास जस्ता, हल्काफुल्का, आलाकाँचा प्रेमले भरिएका, लगभग सुभास घिसिङको ‘निलो चोली’ दर्जाका वा त्यही मार्काका उपन्यासहरू ती हुन्थे । जति यौनका कुराहरु हालेर लेखियो त्यति त्यस उपन्यासले भाउ पाउँथ्यो । छपाउन नसक्ने निकैका उपन्यास पाण्डुलिपिमै पढेको पनि देखिन्थ्यो । मलाई पनि त्यस्ता उपन्यास पढेर कुरकुरे बैंस चढ्दाचढ्दै र छिमेकी राईनी माइलीसँग गफ हुन थाल्दाथाल्दै एउटा उपन्यास लेख्ने धुन सवार भएको थियो । ‘भ्रमर’ उपन्यास पढिसकेको र त्यही प्रभाव परेकोले मैले भने ‘परेवाका जोडी’ नामको उपन्यास आधी जति लेखिसकेको पनि थिएँ माइलीलाई जो फकाउनु थियो । तर दाजुले हतपत काठमाडौंतिर पढ्न बोलाएकोले म काठमाडौंतिर आएँ । उपन्यास पनि अधुरै रह्यो माइलीसँगको माया पनि अल्पिल्टो भयो । कतै पनि आजको जस्तो गजल बहार आइसकेको थिएन उ बेला । नत्र म पनि गजल नै धस्काउने थिएँ होला । जन्मन लागेको उपन्यास पनि अधुरै रह्यो, त्यहाँको कुखुरे प्रेमको परिणाम पनि ढक्रियो माइलीसँगको माया यसै कक्रियो ।
आज नेपालमा टोलटोल कविता र गजलको बहार छ । यसलाई देखेर मलाई चालिस वर्षपछि मात्र नेपालमा दार्जिलिङको त्यो उपन्यासको काम बल्लबल्ल गजलका रुपमा यता आइपुगेछ भन्ने लागेको छ । अचेल मैले पत्रपत्रिकाहरू पढ्दा दिनको दसबिस ओटा किताबहरू विमोचन हुने गरेको खबर पढ्न, सुन्न, देख्न पाएको छु । माथि सुनिहाल्नुभो त्यस्तै कतै कोही आइदिएन भने अनि मौकाचानस परेको अवस्थामा त विमोचनै ठोक्ने पनि गरेको छु । कतै त्यस्तामा सहभागी हुनै पर्ने बाध्यता पनि पर्दछ । त्यसरी सहभागी हुनु परेको बेला दार्जिलिङको ऊ बेला चलेको गतिविधि यो बेला बल्ल नेपालमा आएछ कि भन्ने लाग्दछ ।
मैले यस कार्यक्रममा दर्शकको अभाव भएको महसुस भएको भासण गरें । गजलकारजीले पनि निमन्त्रणा गरेर पनि निम्तारुहरू नआएकोमा अलिकति गुनासो गरे र एक गजल फर्माए । सबै जनाले पालो पुगायाए, चिया बाँड्ने बहिनीसँग गजल छ कि भनेर उद्घोषकले सोधे, माइक मिलाउनेसँग पनि सोधियो । तर निजहरुको भने नभएको जानकारी पाइएपछि र सभाबाट सबै जसो बाहिरिएपछि बाँकी रहेका चार जनाका अघि सभापतिले कार्यक्रम सके । अनि उपस्थितिमा यो दरिद्रताका किन हुन्छ भन्ने कुरामा घोरिएँ । घोरिँदा घोरिँदै कुरा मनमा आए—
अहिले साहित्यमा मध्य बर्खा लागेको जत्तिकै भएको बेलामा पनि किन यसरी दर्शकको अभाव भो त हँ । झरी नै चलेको छ एकातिर र अर्कातिर यस्तो कम उपस्थिति छ । साहित्यको सिन्डिकेट नै चलेको छ । खास गरी गजल र कविताको बाढी आएर थामिनसक्नु भएको छ । कि सिन्डिकेटको कारणबाट यस्तो भो त ? मनमा प्रश्न आए । कतै बस्ने ठाउँ नपाएर कुर्सीको तानातान छ अनि कतै यस्तो छ कुरा के हो हँ ? घोरिँदा घोरिँदै निणर्य निस्क्यो ।
अहिलेको कुरा गजबको छ । गजलहरू मात्र नभई केकेजातीहरू लेख्यो अनि बिस पचास हजार हालेर छपायो र सकेदेखि तारे नै र नसके पनि अलिक भव्य होटलमा विमोचन गरायो । विमोचनमा जाँड पार्टी नै हुने गरेको कुरा ता यसै बाजि माघ सत्र गतेको ‘नयाँ पत्रिका’ पढ्नु नै भो होला । नानी भन्दा नाना गतिलो पार्नुपर्छ अनि रामरी सप्रन्छ देशमा साहित्यको खेती र अनि मात्र आउँछन् दर्शक । पत्रकारलाई कदापि भुल्नुहुन्न यस्ता पार्टीमा निम्त्याउन । नत्र पत्रपत्रिकामा प्रचार हुन्न त्यसबाट साहित्यमा घाटो पडिजान्छ जो ।
सय पचास रु लागत परेको कृतिको मूल्य पाँच सय राख्नुहोस् र जाँडपार्टीका दिन दस प्रतिशत छुटमा होटलको लबीमा बेच्न राख्नुहोस् । भरसक कृति प्लास्टिक कोटेड गरिदिनुहोस् । विमोचनमा भरसक मन्त्रीलाई नै डाक्नुहोस् । अचेल बरु स्वान प्राणी नपाइएला मन्त्री त्यति विधि पाइन्छन् । सके उनैका हातबाट विमोचन गराउनुहोस् नसके पनि गतिलो सोमरससेवीजीबाट गराउनुहोस् । प्रतिव्यक्ति हजार रु हाराहारीको जाँड खुवाएको रकम कसरी उपता हुँदोरहेछ अबलाई हिसाब निकाल्न भद्रो हेरिरहनु नपर्ला । भित्र विमोचनका साथ बोतल तेर्स्याएछिलाई किताब नचल्ने कुरै भएन । भरसक त्यही दिन बिकिसक्छ किनभने हजारको जाँड खान पाइएपछि तिनचार सयको कृति कसले नकिन्ला त ? तबैतारे । त्यसरी पनि नबिके फेरि अर्को होटलमा उसै गरी कृतिको चर्चा बारेमा जाँडपार्टी राख्नुहोस् कृति सारा खलास भएर बिक्छ । गतिलो होटलमा जाँडपार्टी वा विमोचन समारोह राख्नुहोस् । त्यसो गरेपछिलाई यी गजलकारलाई जसरी आमन्त्रितको कमी महसुस हुन पाउँदैन । गुनासो गरिरहनै पर्दैन । फेसबुकमै विज्ञापन गरेर पनि खचाखच आउँछन् जाँडपार्टीमा जँड्याहाहरू । ए, क्षमा गर्नुहोला पाठकहरू ।
मलाई यसै भनेर निजलाई सुझाव दिन मन लागेर पनि सकिनँ प्रमुख अतिथि जो थिएँ । सभापतिले सभा विसर्जन गर्दा उहाँ र म मात्र थियौं गाई दुहुन हतार परेकोले गजलकार पनि अघि धाइफल तोडिसक्नु भएको सुइँको ता बल्ल सभापतिले पो दिनुभो । जय होस् ।
०००
भद्रपुर, झापा
Subscribe
Login
0 Comments
Oldest








































