साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गजल कृति विमोचनको शब्दचित्र

गतिलो होटलमा जाँडपार्टी वा विमोचन समारोह राख्नुहोस् । त्यसो गरेपछिलाई यी गजलकारलाई जसरी आमन्त्रितको कमी महसुस हुन पाउँदैन । गुनासो गरिरहनै पर्दैन ।

Nepal Telecom ad

होम सुवेदी

 

केही सम्पादकहरूलाई चिठी लेखेर साहित्तेमा हात चोबेकै कारणले होला कृतिविमोचनको जाँडपार्टीको अवसरमा नभए पनि यसो साधारण विमोचनका पार्टीका लागि निस्तो पाउन थालेको छु ।

यसैअनुसार एक निम्तामा सरिक हुँदाको कैरन हो यो । अर्थात् एउटा गजल कृतिको विमोचनका दिनको कथा हो यो । विद्यालको सभाभवनमा कार्यक्रम गरिने लागेको रहेछ । यसै कारणले शनिवारको दिन पारिएको रहेछ । मास्टरहरू राजनीतिमा जाने र केही विद्यार्थीहरू मात्र आउने भएकोले स्कुल लागेकै दिन गरिएको भए पनि हुने, शनिवारै पार्नु परिरहने थिएन तै जेसुकै होस् शनिवार पारेछन् । हो त एक सरकारी साधारण स्कुलको हलमा कृति विमोचन गर्ने तयारी गरिएको रहेछ जसमा भाडा जो लाग्दैन । गजलकारले निकै बेर पर्खिएछन्, भनेजसरी आमन्त्रितहरू कोही पनि नआइदिएकोले उनी हतप्रभ भएको मौकामा म अचानक पुग्दा उनलाई देउता नै मिलेको अनुभव भएछ । विद्यालय लागेको दिन भए ता यसो विद्यार्थीहरूलाई पापा खुवाउने लोभमा तालीका लागि थेचारिन्थ्यो ।आज शविवारको अवसर पारेर विमोचन गरिएकोले त्यो पनि भएन ।

सत्तरी जनालाई बोलाएको ठाउँमा गजलको विमोचनका क्रममा आमन्त्रित विशिष्ट अतिथि, अतिथि, स्रोताहरू, दर्शक र गण्यमान्यहरू भनेको बेलामा नआएपछि अन्तमा मलाई नै प्रमुख अतिथि राख्ने र कृतिको विमोचन गर्ने अभिभारा उनले सुम्पिएका थिए । हलभित्र आफ्नो परिवारबाहेक सत्तरी जना आमन्त्रित भएकोमा आफ्ना नातागोताका मात्र जम्मा १७ जना उपस्थिति भएछन् । तिनकै माझमा उनको ‘काकाकुल’ गजल विमोचन गरिदिएँ । त्यो उपस्थिति देखेर मलाई विरक्त लाग्यो । मनमनमा भनें जाँड पार्टी पनि भएको भए तिम्रो हलमा नअट्ने मान्छे आउने थिए । अब यो चियामात्र खान को आइरहोस् त तिम्रोमा । अनि मैले मेरो विद्यार्थी कालको घटना सम्झें ।

उहिले म दार्जिलिङमा पढ्न बस्ताको कुरा हो । म ता उतिको बेला भइगएको थिइनँ तर बेला भएकाहरूले प्रेम गर्ने हतियारका रूपमा त्यहाँ एउटा गजबको कुरालाई सौख राखेका थिए । म अहिले पनि झलझली सम्झन्छु । त्यहाँ केटी फकाउनलाई सकिन्छ भने एउटा उपन्यास लेख्नुपर्थ्यो, उपन्यासै नसकिए पनि एउटा सानोतिनो कथा भए पनि लेख्नुपर्थ्यो । उ बेलामा गजल ता काकाकुलका लागि पानी जस्तै थियो के हो गजल कसैले जान्दैनथे । उपन्यासतिर नै झुम्मिएका थिए । अचेल पनि म झल्झली सम्झन्छु, । म भन्दा केही छिप्पिएकाहरू उपन्यास नै दन्काउने गर्थे । छपाउन सस्तो थियो, छपाउँथे पनि । प्रेम वाजपेयी रानु र गुलसन नन्दाका उपन्यास जस्ता, हल्काफुल्का, आलाकाँचा प्रेमले भरिएका, लगभग सुभास घिसिङको ‘निलो चोली’ दर्जाका वा त्यही मार्काका उपन्यासहरू ती हुन्थे । जति यौनका कुराहरु हालेर लेखियो त्यति त्यस उपन्यासले भाउ पाउँथ्यो । छपाउन नसक्ने निकैका उपन्यास पाण्डुलिपिमै पढेको पनि देखिन्थ्यो । मलाई पनि त्यस्ता उपन्यास पढेर कुरकुरे बैंस चढ्दाचढ्दै र छिमेकी राईनी माइलीसँग गफ हुन थाल्दाथाल्दै एउटा उपन्यास लेख्ने धुन सवार भएको थियो । ‘भ्रमर’ उपन्यास पढिसकेको र त्यही प्रभाव परेकोले मैले भने ‘परेवाका जोडी’ नामको उपन्यास आधी जति लेखिसकेको पनि थिएँ माइलीलाई जो फकाउनु थियो । तर दाजुले हतपत काठमाडौंतिर पढ्न बोलाएकोले म काठमाडौंतिर आएँ । उपन्यास पनि अधुरै रह्यो माइलीसँगको माया पनि अल्पिल्टो भयो । कतै पनि आजको जस्तो गजल बहार आइसकेको थिएन उ बेला । नत्र म पनि गजल नै धस्काउने थिएँ होला । जन्मन लागेको उपन्यास पनि अधुरै रह्यो, त्यहाँको कुखुरे प्रेमको परिणाम पनि ढक्रियो माइलीसँगको माया यसै कक्रियो ।

आज नेपालमा टोलटोल कविता र गजलको बहार छ । यसलाई देखेर मलाई चालिस वर्षपछि मात्र नेपालमा दार्जिलिङको त्यो उपन्यासको काम बल्लबल्ल गजलका रुपमा यता आइपुगेछ भन्ने लागेको छ । अचेल मैले पत्रपत्रिकाहरू पढ्दा दिनको दसबिस ओटा किताबहरू विमोचन हुने गरेको खबर पढ्न, सुन्न, देख्न पाएको छु । माथि सुनिहाल्नुभो त्यस्तै कतै कोही आइदिएन भने अनि मौकाचानस परेको अवस्थामा त विमोचनै ठोक्ने पनि गरेको छु । कतै त्यस्तामा सहभागी हुनै पर्ने बाध्यता पनि पर्दछ । त्यसरी सहभागी हुनु परेको बेला दार्जिलिङको ऊ बेला चलेको गतिविधि यो बेला बल्ल नेपालमा आएछ कि भन्ने लाग्दछ ।

मैले यस कार्यक्रममा दर्शकको अभाव भएको महसुस भएको भासण गरें । गजलकारजीले पनि निमन्त्रणा गरेर पनि निम्तारुहरू नआएकोमा अलिकति गुनासो गरे र एक गजल फर्माए । सबै जनाले पालो पुगायाए, चिया बाँड्ने बहिनीसँग गजल छ कि भनेर उद्घोषकले सोधे, माइक मिलाउनेसँग पनि सोधियो । तर निजहरुको भने नभएको जानकारी पाइएपछि र सभाबाट सबै जसो बाहिरिएपछि बाँकी रहेका चार जनाका अघि सभापतिले कार्यक्रम सके । अनि उपस्थितिमा यो दरिद्रताका किन हुन्छ भन्ने कुरामा घोरिएँ । घोरिँदा घोरिँदै कुरा मनमा आए—
अहिले साहित्यमा मध्य बर्खा लागेको जत्तिकै भएको बेलामा पनि किन यसरी दर्शकको अभाव भो त हँ । झरी नै चलेको छ एकातिर र अर्कातिर यस्तो कम उपस्थिति छ । साहित्यको सिन्डिकेट नै चलेको छ । खास गरी गजल र कविताको बाढी आएर थामिनसक्नु भएको छ । कि सिन्डिकेटको कारणबाट यस्तो भो त ? मनमा प्रश्न आए । कतै बस्ने ठाउँ नपाएर कुर्सीको तानातान छ अनि कतै यस्तो छ कुरा के हो हँ ? घोरिँदा घोरिँदै निणर्य निस्क्यो ।

अहिलेको कुरा गजबको छ । गजलहरू मात्र नभई केकेजातीहरू लेख्यो अनि बिस पचास हजार हालेर छपायो र सकेदेखि तारे नै र नसके पनि अलिक भव्य होटलमा विमोचन गरायो । विमोचनमा जाँड पार्टी नै हुने गरेको कुरा ता यसै बाजि माघ सत्र गतेको ‘नयाँ पत्रिका’ पढ्नु नै भो होला । नानी भन्दा नाना गतिलो पार्नुपर्छ अनि रामरी सप्रन्छ देशमा साहित्यको खेती र अनि मात्र आउँछन् दर्शक । पत्रकारलाई कदापि भुल्नुहुन्न यस्ता पार्टीमा निम्त्याउन । नत्र पत्रपत्रिकामा प्रचार हुन्न त्यसबाट साहित्यमा घाटो पडिजान्छ जो ।

सय पचास रु लागत परेको कृतिको मूल्य पाँच सय राख्नुहोस् र जाँडपार्टीका दिन दस प्रतिशत छुटमा होटलको लबीमा बेच्न राख्नुहोस् । भरसक कृति प्लास्टिक कोटेड गरिदिनुहोस् । विमोचनमा भरसक मन्त्रीलाई नै डाक्नुहोस् । अचेल बरु स्वान प्राणी नपाइएला मन्त्री त्यति विधि पाइन्छन् । सके उनैका हातबाट विमोचन गराउनुहोस् नसके पनि गतिलो सोमरससेवीजीबाट गराउनुहोस् । प्रतिव्यक्ति हजार रु हाराहारीको जाँड खुवाएको रकम कसरी उपता हुँदोरहेछ अबलाई हिसाब निकाल्न भद्रो हेरिरहनु नपर्ला । भित्र विमोचनका साथ बोतल तेर्स्याएछिलाई किताब नचल्ने कुरै भएन । भरसक त्यही दिन बिकिसक्छ किनभने हजारको जाँड खान पाइएपछि तिनचार सयको कृति कसले नकिन्ला त ? तबैतारे । त्यसरी पनि नबिके फेरि अर्को होटलमा उसै गरी कृतिको चर्चा बारेमा जाँडपार्टी राख्नुहोस् कृति सारा खलास भएर बिक्छ । गतिलो होटलमा जाँडपार्टी वा विमोचन समारोह राख्नुहोस् । त्यसो गरेपछिलाई यी गजलकारलाई जसरी आमन्त्रितको कमी महसुस हुन पाउँदैन । गुनासो गरिरहनै पर्दैन । फेसबुकमै विज्ञापन गरेर पनि खचाखच आउँछन् जाँडपार्टीमा जँड्याहाहरू । ए, क्षमा गर्नुहोला पाठकहरू ।

मलाई यसै भनेर निजलाई सुझाव दिन मन लागेर पनि सकिनँ प्रमुख अतिथि जो थिएँ । सभापतिले सभा विसर्जन गर्दा उहाँ र म मात्र थियौं गाई दुहुन हतार परेकोले गजलकार पनि अघि धाइफल तोडिसक्नु भएको सुइँको ता बल्ल सभापतिले पो दिनुभो । जय होस् ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x