सुमी लोहनीसपना
मनीको कुरामा त्रिपुरारीको पनि तेस्रो नेत्र खुल्छ रे ! आफू त उनकै भक्त परियो । त्यसैले उनले हलाहल विष पान गरेझैं रिसलाई दारा किटेर दमन गरी शमन पारें ।

सुमी लोहनी
केके न लछारपाटो लाउला अनि ठूलो भाग खाउँला, पिउँला, पिउँदा पिउँदै डुबुँला भनेर मख्ख परेर पातालतिरको म्लेच्छेलाई (पुर्खाको भाषामा) मित्र बनाको त चाहिने नचाहिने प्रश्न सोधेर वाक्क, दिक्क, ब्याक्क पारिसक्यो भन्या । त्यसको घरमा, खल्तीमा, जताततै हरिया डलरै डलर होला, डलरको बर्सात गर्ला भन्ठानेको त खालि प्रश्नै-प्रश्नको बेमौसमी बर्सात गरेर कायलै पो पार्यो ए गाँठे, त्यसले त ! कस्ता-कस्ता मात्रै प्रश्न उठ्छन् हँ त्यसको खप्परमा ? जबाफ दिऊँ न त भने आपूmलाई त के पिण्ड खा’का आप्mना सात पुस्तालाई पनि भुटिमाङ थाहा छैन होला उसका प्रश्नका उत्तर ! तपाईंलाई पो थाहा छ कि न ? सुन्नुहोस् है त ! उसका प्रश्नका केही नमुना ः—
त्यति टाढाबाट आएको साथीलाई यसो घुमाउनु पर्यो भनेर न्यूरोडको बाटोबाट रिङ्गरोडको बाटो हुँदै बाइरोडको बाटैबाटो मलेखुको माछा ख्वाउन लगेको त रोड भनेकै बाटो फेरि किन बाइरोडको बाटो, रिङ्गरोडको बाटो, न्यूरोडको बाटो भनेको हँ ? भनेर पो सोध्छ ए ! अब जबाफ भए पो दिनु नभए के दिनु लौ ! कम्ता रिस उठ्याथ्यो र ! झन्डै ‘कृष्णभिर भन्या यै हो लौ खा’ भनेर पछाडिबाट एक लात्त हानेर त्रिशूलीका माछासँगै मीत लाउन नपठाइद्या । धन्न ओरालोको बसमा ब्रेक लाग्या जस्तै रिसमा ब्रेक लागिहाल्यो र पो नत्र त त्रिशूलीका माछालाई दशैं आउथ्यो त्यो दिन !
एक दिन बिहान डुल्दै किनमेल गर्दै खसीको मासु किन्न बगरेको पसलमा पुगियो । त्यहाँ खसीको टाउको आप्mना दन्त पङ्क्ति देखाएर गजबसँग हाँसिरहेको थियो । अब उसलाई के चाहियो र ! ‘हैन यो खसी किन यसरी हाँसेको होला ? संसारका अनेकौं झमेलाबाट मुक्ति मिल्यो भनेर होला कि ? ईश्वरको सुन्दर सृष्टि विवेकवान्, बुद्घिमान्, बलवान् मान्छेको उदरमा आफ्नो चिहान बन्ने भो भनेर मान्छेलाई जिस्क्याइरहेको पो हो कि न ? अनि यो …?…?’ खसी किन हाँस्यो खसी नै जानोस् तर म भने रुन मात्रै सकिन खसीकै सिङजस्ता उसका प्रश्नका प्रहारले ।
एक पटक त उसको प्रश्नले झन्डै झगडै पर्या भन्या । भयो के भने आपूmले कत्रो दयामाया गरेर घरमा पालेको केटो जसले धेरै चाँडै पनि हैन बिहान तीन चार बजेतिर उठेर घरको काम गर्नुका साथै ऊभन्दा छ वर्ष मात्रै जेठो मेरो बिचरा ! छोराले बोक्न नसक्ने ब्याग बस स्टपसम्म लैजाने ल्याउने गर्छ । उसकै पुरा खान्छ, जडौरी लाउँछ । घरका काम गर्छ …। सबै काम सकेर राति छिटै बार बजेतिर नै सुत्छ । मजस्तो दयावीरले त्यत्रो दयामाया गरेको चैं त्यसका फुटेका बिराले आँखाले नदेखी ‘किन त्यति सानो बच्चालाई ठूला र धेरै काम लगा’को ? बासी जुठो किन खान दे’को ? भर्याङमुनि किन सुता’को ? पढ्न किन स्कुल नपठा’को ? …किन ? किन…? किन…?’ प्रश्नमाथि प्रश्न सुन्दा रिसले तीन त्रिलोक तोरीका पहेंला पूmल हरबर देखेंं । धन्न प्रभु ! हरिया डलर आँखा अगाडि छमछम गर्दै डान्स गर्न आइपुुगे र पो त ! नत्र दोस्तीलाई दोबाटोमा मन्सेर दबाइन्थ्यो त्यही दिन !
त्यस्तै एकचोटि पूmलमतीले फुत्त गरेको फोहोर उसकै तालुमा फ्यात्त फाल हालेछ । रिसाएर उधुम ‘यसो गर्न पाइन्छ ?’ भन्छ बा ! किन नपाउनु, यो उसको जस्तो देश हो र नपाउनलाई ? यो त हाम्रो सुन्दर देश हो । हाम्रो देश, हाम्रो बाटो, हाम्रो फोहोर फेरि हाम्रै घरको भ्mयालबाट हाम्रै सुकुमार करकमलले फाल्न किन नपाउनू हँ ? जत्ति पाइन्छ, मजाले फाले हुन्छ । उसको टाउको जोगाउने काम त उसको पो हो त, हाम्रो हो र भन्या !
साँच्चै, अब त मलाई ऊसँग हिँड्नै नपरे हुन्थ्यो भन्ने लाग्छ । कहीं साथै गयो भने पेटी छोडेर तल सडकबाट हिँड्न, मन लाग्या ठाउँबाट बाटो क्रस गर्न ज्यानगए मान्दै मान्दैन । आपूmलाई त्यसो नगर्दा पाखे भैएला भनेर कत्रो टेन्सन । ‘किन ओभर हेड ब्रिजबाट रोड क्रस नगरेर जथाभावी गरेको ? सडक पेटीबाट किन नहिँडेको ?ं किन…किन…?..???’ हैन हामीलाई जहाँबाट मन लाग्छ हामी त्यहींबाट हिँड्छौ रे ! फेरि त्यसलाई के थाहा आकाशे पुल त पसल थाप्न र सार्वजनिक शौचालयको सट्टामा बनाइएको हो उसको देशमा जस्तो हिँड्नलाई हो र !
भएन बा ! अब यसलाई हाम्रा तेत्तीस कोटी देवीदेवतामध्ये केहींको मात्रै भए पनि दर्शन गराउन पाए त यो पाताल लोकको मूढ प्राणीको बुद्घिको बिर्को खुल्थ्यो कि भनेर ‘मन्दिर जाऔं’ भनेँ । ऊ दङ्ग पर्यो । भगवान्कहाँ के खाली हात जानु भनेर हलुवाई पसलमा कोसेली किन्न गयौं । मैले बडो उदारताका साथ दिल खोलेर मट्याङ्ग्रालाई माथ गर्ने लड्डुपेडा किनेर कागतमा पोको पारेको ऊ बडो ध्यान दिएर हेरिरहेको थियो, मानौं ऊ कुनै गहिरो रहस्यको भेउ पाउने कोसिसमा डुबेको थियो । मन्दिरको बाहिर थुप्रै मगन्ते बसेका थिए । सेतो छाला देख्नासाथ सबै चिनीमा झिँगा झुम्मिएझैं झुम्मिए । मैले तिनीहरूका तेह्र पुस्तालाई पुग्ने गरी ठेट भाषामा गाली गरेर सबैलाई धपाएपछि धन्यवादको सट्टा ‘किन गाली गरेको बिचराहरूलाई ? हाम्रो देशले त तिम्रो देशलाई माया गरेर नाना, पापा, पैंसा …आदि…आदि दिन्छ । तिमीचैं आफ्नै गरिब दाजुभाइ दिदीबहिनीलाई आफूले सकेको मद्दत गर्नुको सट्टा उल्टो गाली पो गर्छौ ।’ भन्छ ए गाँठे ! पशुपति, स्वयम्भूतिरको जन्तुको डुप्लिकेट त ! मनीको कुरामा त्रिपुरारीको पनि तेस्रो नेत्र खुल्छ रे ! आपूm त उनकै भक्त परियो । त्यसैले उनले हलाहल विष पान गरेझैं रिसलाई दारा किटेर दमन गरी शमन पारें ।
जे होस्, मन्दिर पुगेर मूर्तिको मुखमा लड्डुपेडा टाँसिदिएँ । सबै त्यसै गर्दै थिए । ऊ टाढैबाट कुनै आठौं आश्चर्यलाई देखेझैं विस्फारित नेत्रले मलाई हेर्दै प्रश्न गर्छ ‘यसो गर्दा मूर्ति बिग्रिदैन ? आफूले चाहिँ महङ्गो र मीठोमीठो मिठाई खाने अनि मलाई चार्हिँ यस्तो…दिन्छौ , म खान्न भनेर भगवान्ले नखालान् । अनि आपूmले खोजेको मागेको कुरा नदेलान् भनेर यसरी जबरजस्ती लड्डुपेडा मूर्तिको मुखमा कोच्चाको हो ? अनि …?…?..? हे राम ! अब म के जबाफ दिऊँ ? आप्mनै टाउको ठोक्तै कपाल लुछ्नुबाहेक मसँग कुनै जबाफ छैन । पूणर्रुपमा म निरुत्तरित भएको छु, यो अधम सर्वभक्षकसँग ! तपाईंसँग छन् कि उसका प्रश्नका उत्तर ???
०००
काठमाडौं
sumilohani@gmail.com
Subscribe
Login
0 Comments
Oldest








































