साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लम्पसार जात्रा

धन्यवाद नदिए त फेरि कृतघ्न भइएला त्यसैले टाउके, लाउके, नाइके, वाम, हाम, जाम, खाम, आदि सबैलाई धन्यवाद ! आउनुस् यस्तो रमाइलो जात्रा हेरौँ, रमाऔँ र भनौँ- जय ख्वामितको खुट्टामा लम्पसार महाजात्रा !

Nepal Telecom ad

सुमी लोहनी :

मित्र ! तपैँलाई विशेष गरेर काठमाडौँ खाल्डामा मात्र सिमित रुपमा मनाइने ‘गाईजात्रा’ कस्तो लाग्छ कुन्नि ? अब बडो भव्यताका साथ सभ्यता लापता भ’को नयाँ नेपालामा दिनहुँ मनाइने कस्ता-कस्ता गज्जबका जात्रा, महाजात्रा देख्ने, सुन्ने, भोग्ने, हामी जस्ता सौभाग्यशाली निरिह सर्वसाधारण मान्छेका लागि सयौँ वर्ष पुरानो मोडेलको ‘गाईजात्रा’ के रमाइलो होला र भन्या ! फेरि प्राणीमध्येमा पनि सबैभन्दा सोझो, सुधो चारखुट्टे गौमाताको जात्रामा के मजा होला र दुईखट्टे चतुर महान् प्राणीको जात्रामा जस्तो भन्ने लाग्दैन र तपैँलाई ? झन त्यसमाथि हिजोआज त बडो द्रूत गतिमा नेपाली आँगनमा सबैभन्दा हट, हिट जात्रा ‘मै मात्र ठिक…’ जात्रा पो मञ्चन भै राखेको छ क्यारे ! हैन र ?

आहा ! यता जात्रा, उता जात्रा, जता हेर्‍यो उतै जात्रै जात्रा । यस्तो जात्रामय माहोलमा जति ठूला र शक्तिशाली जीव भए उति नै रोचक जात्रा देखाउन माहिर छन् । झनै रमाइलो त के भने वनको राजाको दरबारमा पसेपछि आफैँ सिंह हँु झैँ गर्जिन्छन् । अनि बालुवाको टारै टार ‘म्युजिकल चियर’ खेल्दै अधोवस्त्र फुस्केको पत्तै नपाई बेतोडसँग दौडिन्छन् । तर यिनै ‘मै हुँ’ भन्ने वीरबहादुरहरू प्रभुको दैलोमा ‘आशीर्वाद देहिम् ममः’ भन्न जाँदा चैँ रुझेको बिरालो झैँ लुत्रुक्क परेर जान्छन् । अनि ‘खाई सार न लाई सार बाँचुन्जेल सधैँ कुर्सी मै बसिरहने छ विचार ।

त्यसैले परेँ लौ म त ‘प्रभु’ को पाउमा लम्पसार । अब खुस भै ख्वामितले बक्सियोस् झोलीमा अभय वरदान’ भन्दै बडो दयनीय अवस्थामा आफू भएको दीन अनुहार पारेर दर्शाउछन् । फेरि यिनै प्रभुकै नुन खा’का कुखुराजस्ता ठूला-बडा भनाउँदाहरू आफ्नो कुर्सीमा पुगेपछि गौ माताको मैमत्त भएको पति झैँ डुक्रिन्छन् र मदारीको इसारामा कठपुतली नाचे झैँ छमछम छमाछम गर्दै नयाँ-नयाँ महाजात्रा देखाउछन् । ‘वाँ’जीहरूका ‘आसेपासे’हरू चैं ‘वाँ’ हजुरकै लोलीमा बटरमा चोपेको बोली मिलाउँदै ‘चापुलुसी राग’ अलाप्छन् ।

अब तपैँ नै भन्नुस् त मित्र ! अन्तर्राष्ट्रिय स्तरमा मञ्चन र प्रदर्शन हुने यस्ता रमाइला-रमाइला महाजात्राका मौन रमिते बन्ने बानी बसेका बिचरा ! हाम्रा लागि गौमाताको जात्रा लोड सेडिङ्ग हुँदाको दिपावली जस्तै झिलिमिली अथवा प्रभुकै देशबाट आयातित नुन नहालेको तिहुँन जस्तो नहोला र भन्या ?

जे होस्, खुइलेर गएका उहिलेका दिनदेखि वर्तमान परिप्रेक्षसम्म कहिल्यै पुरानो नभएको सधैँको नयाँ र ताजा यस्तो रमाइलो ‘स्वामी सेवक जात्रा’ का दर्शक बन्न पाउने भाग्य पुर्पुरामा पर्मानेन्ट मसीले कसी लाउनै नपर्ने गरेर लेखाएर जन्मेका हामी चैँ साँच्चैका सारै नै भाग्यमानी पो रहेछौँ क्यारे ! कि कसो हो ?

यसरी हामीलाई सुख, खुसी, आनन्द, मनोरञ्जन आदि दिनका लागि कहिल्यै नथाकी स्वस्फुर्त रुपमा निरन्तर महाजात्रा देखाउने सबै महान्, नाइके, टाउकेहरूलाई धन्यवाद नदिए त फेरि कृतघ्न भइएला त्यसैले टाउके, लाउके, नाइके, वाम, हाम, जाम, खाम, आदि सबैलाई धन्यवाद !

आउनुस् यस्तो रमाइलो जात्रा हेरौँ, रमाऔँ र भनौँ- जय ख्वामितको खुट्टामा लम्पसार महाजात्रा !

०००
भाटभटेनी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोबाइल महिमा

मोबाइल महिमा

सुमी लोहनी
कठैबरा !

कठैबरा !

सुमी लोहनी
बाका बथान

बाका बथान

सुमी लोहनी
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x