चिरञ्जीवी दाहालताली लगाउने पेसा
सबैभन्दा महत्वपूर्ण कुरा, न आजसम्म कसैको तालीले चोर डाँका र भ्रष्टाचारी डरायो, न अन्याय,अत्याचार र भ्रष्टाचार हरायो, न बलात्कारीले बलात्कार गर्न छोड्यो न चमत्कार गर्न नै ।

चिरञ्जीवी दाहाल :
तपाईंको पुर्ख्यौली पेशा के हो ? सम्झनुहोस् त, अचानक तपाईंलाई कसैले यस्तो प्रश्न सोधेको छ ? एक्कासि कसैले यस्तो प्रश्न गर्दा तपाईं झ्याप्पै उत्तर दिनु सक्नुहुन्छ ? अहँ गाह्रै पर्छ । अब विचार गरि हेर्नुस् पुर्खा भनेको को हो ? बा, हजुरबा, बुढा हजुरबा वा अझै त्यस भन्दा पनि अघिका जिजुबाजे हरू? त्यसैले कसैले पनि हम्मेसि जवाफ दिनसक्दैन । उ बेला बूढाहरूले के कस्तो पेशा गरे अहिले हामीलाई के थाहा ? त्यसको उत्तर दिन केही बेर त सोचविचार गर्नै पर्छ ।
तर यही प्रश्नको उत्तर दिन हामीले हाम्रा सन्ततीलाई भने निकै सहज बनाइ दिएका छौं । ५/७ पुस्ता पछि हाम्रा सन्तानलाई कसैले यही प्रश्न सोध्यो भने उनीहरूले सोचिरहनु पर्दैन । प्रश्न भुइँमा खस्न नपाउँदै तिनीहरूले उत्तर दिनेछन् “हाम्रो पुर्ख्यौली पेशा ताली बजाउने हो । “
त्यसबेला प्रश्नकर्तालाई अनौठो र अचम्म लाग्न सक्छ र भन्नेछन् , बाली लगाउने भनेको भए पत्याउन हुन्थ्यो, आली लगाउने कुरा मनासिब हुनसक्थ्यो, फाली बनाउने, जाली बनाउने कुरा, डाली बनाउने कुरा ठिकै हो तर छिः कस्तो काइते पेशा अपनाएका रहेछन् हाम्रा पुर्खाले पनि “ ताली बजाउने ! “
खै कहिले देखि कसरी बानी पर्यो पर्यो ! हामी भने नियमित रूपमा ताली ठोकि रहेका हुन्छौं । नक्कली भुटानी शरणार्थी काण्डमा ठूला माछा समातिए भनेर समाचार आयो, धेरै मान्छे यति खुशी भए कि उनीहरूले हातमा ठेला नपरुन्जेल ताली ठोकेको ठोक्यै गरे । बयान लिन सुरुभएको हल्ला चल्यो , पुनः ताली बजाउन सुरु गरे। केही फरार भए भन्ने समाचार आयो,फेरिपनि ताली बज्न लाग्यो । यसो भए पनि ताली उसो भए पनि ताली , के छ यो ताली मा ? मलाई अचम्म लाग्छ ।
राजनीतिका धुरन्धर पण्डितका तरुनी काण्ड, सुन काण्ड,भ्रष्टाचार काण्ड,चोरी काण्ड,जलहारी काण्ड, लाउडा काण्ड,करोड काण्ड,भट्टा काण्ड,हत्या काण्ड, बालुवाटार काण्ड र अन्य साना ठूला जेसुकै काण्ड घटेपनि मान्छेहरू ताली ठोक्न तँछाडमछाड गरिहाल्छन् । जब चुनावमा त्यही नेता भोट माग्दै हिंड्छ, यो ताली बजाउने धन्दा झनै जोडसँग फस्टाउन थाल्छ । सबैले बजाएको देखेपछि म पनि ताली बजाउन पछि पर्दिन । तर अहिलेसम्म मैले नबुझेको कुरो,खुशी हुँदा बजाउने ताली , तिरस्कार गर्दा बजाउने ताली, घृणा गर्दा बजाउने ताली,सहमति जनाउँदा बजाउने ताली, स्वागत गर्दा बजाउने ताली, मान्छे लखेट्दा बजाउने ताली र खवरदारी गर्दा बजाउने ताली, सबैको आवाज उस्तै नहुनु पर्ने हो । ताली बजाउँदा एकै तरिकाले बजाउने हो वा फरक तरिकाले हो ? मैले यसको भेउ पाउन सकिन । तै पनि ताली बजाउन भने छोडेको छैन । त्यसैले तालीको सबै प्रकारको भेद नजाने पनि मैले एकै प्रकारको तालीले काम चलाउने गरेको छु । त्यो हो दुईवटै हत्केला ठोक्काए पछि आवाज निस्कने ताली, जुन ताली प्रायः निकै चलनचल्तीमा छ ।
कसैले ताइ न तुइको कविता वाचन गरे पनि ताली, दिनदहाडै संसदमा रमिता देखाए पनि ताली,नेताको ढँटुवा भाषण सुन्दा ताली, सिनेमाको हिरो, खेलाडी,पत्रकार, नेता, साहित्यकार,समाजसेवी हौं भन्नेहरूको बलात्कार काण्ड छताछुल्ल पोखिए पनि ताली, कसैले चमत्कार गरें भनेपनि ताली, अत्याचार गरे पनि ताली, खोके पनि ताली, धोके पनि ताली, ठोके पनि ताली,अपान वायु निकाले पनि ताली, प्राणवायु निस्के पनि ताली, कसैले आँखाले हेरेर उपचार गरे पनि ताली, डाक्टरले तीनै साँझ मासुमात्र खाने सल्लाह दिए पनि ताली,कसैको दाँत झारे पनि ताली । डाक्टर कुटे पनि ताली, दिनदहाडै ढुकुटी लुटे पनि ताली, नेतालाई कुटे पनि, नेताले कुटे पनि, पार्टी फुटे पनि,पूर्व र पश्चिम विचार भएका दलहरू जुटे पनि , अस्पताल तोडफोड भएपनि ताली । भविष्यवाणी गर्ने माता देखे पनि ताली, रक्सीले मातेर आँखा राता देखेपनि ताली, कोही उपचार गर्न विदेश गए पनि ताली, फेसबुकमा सामान्य स्टाटस राखेपनि मान्छेहरू आँखा चिम्लेर ताली ठोकी नै रहन्छन् । आखिर वर्तमान पुस्ताको पेशा नै ताली लगाउने हो भने मेरो भन्नु केही छैन । सबैले ताली ठोक्न थालेपछि आँफू पनि मजाले ताली ठोकिन्छ लौ जा !
मलाई सम्झना छ , हामी भुराभुरी हुँदा आमा दिनभरी घाँस दाउराका लागि वनजङ्गल गएर एकैचोटी साँझ घर आइपुग्दा भाइ बैनी मिलेर खुशीले उफ्रदै ताली ठोक्ने गर्थ्यौ । अब त पेटको अग्नी शान्त हुने भो भनेर । बाले दशैंमा एकजोर कट्टु र कमिज किनेर ल्याएको दिन हामी दिनभरी ताली ठोक्दै हिड्थ्यौं, खुशीले भुइँमा खुट्टा हुँदैन थियो ।
पहिले पहिले स्कूल पढ्दा कक्षाको मनिटरको चयन गरिंदा फलानो मनिटर भयो भन्दा यसरी नै ताली ठोकिन्थ्यो । त्यो ताली भने खुशीको ताली हुँदैनथ्यो , मास्टरले आदेश दिन्थे , हामी आदेशको पालना मात्र गर्थ्यौं बस् त्यत्तिमात्र हो । आदेश पाएर ताली ठोक्ने काम पहिले भन्दा अहिले ज्यादै हुनेगरेको छ । कहिलेकाहीँ मन अमिलो बनाउँदै बलजफ्ती थपडी बजाएको सम्झनुस् त ! अधिकांश मान्छेलाई यस्तो अवस्था धेरै पटक आएको हुनुपर्छ । हुन त यो ताली लगाउने काम हिजो आजको फेशन मात्र होइन पुरानै प्रचलन रहेछ । तर त्यसबेला तालीको छुट्टै महत्व हुन्थ्यो । सायद तालीलाई विभिन्न श्रेणीमा वर्गिकरण गरिएको हुन्थ्यो । जुन प्रकारको ताली चाहियो त्यही प्रकारको ताली बज्थ्यो ।
अचेल निकै चलनचल्तीमा आएको फेसबुक भन्ने एउटा सामाजिक सन्जाल छ , धेरैलाई थाहा छैन होला , फेसबुकमा कतिलाई ताली ठोक्न कै लागि मात्र नियुक्त गरिन्छ । तर नियुक्ति हुनेले यसको सुइँको सम्म पनि पाउँदैन । नपत्याए आफैँ विचार गरि हेर्नुस् त, प्रत्यक्ष भेट्दा तपाईंलाई झारपात पनि नगन्नेले फ्रेन्ड रिक्वेस्ट पठाउँछन्, तपाइँ मक्ख पर्दै त्यसलाई स्वीकार गर्नुहुन्छ । अब सम्झनुस् तपाईंले ताली ठोक्ने नियुक्ति पाइ सक्नुभयो। जब उनीहरूको हरेक क्रियाकलापमा तपाईँ सहभागी बन्नुहुन्छ, उनीहरू मक्ख पर्छन् । केहीदिन तपाईं फेसबुकमा निष्क्रिय देखिनु भयो भने तिनले तपाईलाई लक्ष गरेर एउटा सूचना जारी गर्छन् । अधिकांश स्वघोषित भलादमीहरूको सूचनाको भाषा भने एकै प्रकारको हुनेगरेको छ । जस्तैः- केही निष्क्रिय साथी हटाउँदै छु, म्यासेन्जरमा गफ नगर्ने साथीको काम छैन !, तस्विर नभएका जति सबैलाई गोडमेल गरिन्छ, फेसबुकमा झारपात राख्नुको कुनै अर्थ छैन,आदि । सूचना जारी भएको दुईदिन पछि पनि तपाइँ सक्रिय नदेखिए अर्कोदिन हेर्नुस् ती भलादमीको फ्रेण्ड लिष्टबाट तपाईंको नाम गायब ! देख्नु भो नि तालीको करामत ।
म एकदिन एउटा हाँस्यव्यंग्य कार्यक्रममा भागलिन गएँ । जब मैले कविता पाठ गर्नथालें , हलको वातावरण एकदम शान्त भयो । मानौं त्यहाँ एउटा सानो सियो खसेको आवाज पनि प्रष्ट सुनिन्थ्यो । लाग्यो, मैले सम्पूणर् दर्शकहरूको मन जिते छु । मलाई दर्शक श्रोताले यति विधि सम्मान दिएर मेरो कविता ध्यानपूर्वक सुनिरहेका छन् । मैले मख्ख पर्दै निकै जोसिलो सँग कविता वाचन गरिरहें । कविता पढिसकेपछि थाहा पाएँ मेरो कविता ताली बजाउन लायकको थिएन रे । यो ताली भन्ने कुरा पनि गजबकै रहेछ, कहिले खोज्दा पनि नपाइने, कहिले चाहिन्न भन्दा पनि पाइने । कहिले ताली ठोक्न मनलागे पनि ठोक्न नपाइने, कहिले मन नलागेर पनि ताली ठोक्नु पर्ने । सबैभन्दा महत्वपूर्ण कुरा, न आजसम्म कसैको तालीले चोर डाँका र भ्रष्टाचारी डरायो, न अन्याय,अत्याचार र भ्रष्टाचार हरायो, न बलात्कारीले बलात्कार गर्न छोड्यो न चमत्कार गर्न नै । निष्कर्षमा आजसम्म हामीले विना अर्थको ताली लगाउँदै आएका रहेछौं । तपाईं जेसुकै गर्नुस्, मैले भने आजबाट ताली लगाउने पेशा छोडिदिएँ जे त होला !
०००
चितवन ।
Subscribe
Login
0 Comments
Oldest






































