शिवप्रसाद जैशीविभूषित पिँडालु कि पिँडालुु विभूषित ?
विभूषित पिँडालु हो कि पिँडालु विभूषित हो ! अनि विभूषित पर्न कुन बिउ, कस्तो माटो, कति मल हालेर कस्ताे कुटो कोदालोले गोडेको रहेछ जान्न हिँडेको पिँडालु जान्दाजान्दै सुकुटी भएर विभूषितको सितन भएको पत्तै पाएन ।

शिवप्रसाद जैशी :
पिँडालुको विशेषता कोक्क्याउनु हो । नकोक्याउने केको पिँडालु । उसको जात अनुसार कोक्क्याउनु त पर्यो नै । नामले त ठ्याक्कै कोक्क्याउला जस्तो लाग्दै लाग्दैन तर कामले नकोक्कयाई के छोड्थ्यो त्यो पिँडालु । पिँडालुको नाम सुन्ने बित्तिकै मानिसको खानाका परिकार निल्ने भागले सूचना पाइहाल्छ । गलाले मस्तिष्कलाई विन्तिभाउ बिसाएर भन्छ यो पिँडालु र मेरो मात्रै के को दुष्मनी ! न जिब्रोलाई पीडा ! न आँखालाई भ्रम ! न नाकलाई दुर्गन्ध ! न त दाँतलाई बल प्रयोग गराई ।
दृष्टिपाने, सुवास खाने, चबाउने, निफल्ने, दाँतलाई सघाउने यताउती लतार्ने धेरै समयसम्म चलाउने त्यो जिब्रोले कुनै नोक्सानी बेहोर्नु नपर्ने अनि खुलुत्त पार्दा जाबो छिनभरमै मेरो घाँटीको साँगुरो भागमा यसरी दुख दिनेलाई उपचार नगरी हुन्छ ! अझ खुलुक्क भित्र पसेपछि सानो आन्द्रा, ठुलो आन्द्रा, भुँडीमा मजाले हिँड्दा कुनै दुःख नदिई वaहानपख वा आवश्यकता अनुसार वाहिर जाने बेला कुनै किसिमको असजिलो नबनाउने यो पिँडालु जातिले गलोमा मात्र हान्ने ! हुन सक्दैन । गलो पनि सुरक्षित हुनुपर्छ पिँडालुबाट । नभए पिँडालुसँग विद्रोह गर्छ गलाले । निल्ने भागले । निल्ने भागले निलेन भने चबाउने दाँत, निफल्ने जिब्रो, सुँघ्ने नाक अनि हेर्ने आँखा, मौजदातमा लैजाने आन्द्रा, पेट र निस्कासन गर्ने नलीले के गर्दा रहेछन् !
पातको कर्कलो, डाँठको मस्यौरा, सेला उसिनेर, गाना ताछेर सुकाएर सुकुटी पारेर अझ ती कलिला गाभा त मजाले स्वादले खाने । अचार, तरकारी, उसिनेर, भुटेर तारेर के के हो के के हो । अरु कुनै थोक छ यतिका परिकार बनाएर खान मिल्ने । धेरै परिकार मानिसका अङ्ग प्रत्यङ्गमा छिर्दा यो गलोमाथि अन्याय भएन र ? यसको उपचार गर्नै पर्यो । उपचार सिङ्गै मानिसमा सारिदिँदा उपयुक्त होला किनकि यो पिँडालु जातको परिकार खाने त तिनै मानिस न हुन् । किन त्यो एउटा गलोलाई दुःख ।
मान्छेमा सारियो भने मान्छे कोक्क्याउँछ । एउटा मानिसलाई अर्को मानिस कोक्क्यायो भने सबै मानिस सबैलाई कोक्याउछन् । अनि त गजब भयो । मानिसले मानिसलाई कोक्क्याएको हेर्न कति मजा । मानिसले मानिसलाई कोक्क्यायो भने गलोलाई न खसखस, न दुःखाई । आँखालाई देखेर कोक्याउँछ । नाकलाई सुँघेर कोक्याउँछ । कानलाई सुनेर कोक्याउँछ । दिमागलाई सम्झेर कोक्याउँछ । मनलाई भावनाले कोक्याउँछ ।
पिँडालु आफैलाई कोक्याउँदा हुन् कि ? पातेले डाँठलाई डाँठले गानालाई । गाना र सेलाको मिलापत्र गरेर त्यसको कर्कलोलाई कोक्याएको अहिलेसम्म जान्नमा आएको छैन । पिँडालुले माटोलाई, हावालाई, पानीलाई, मललाई अनि कुटो कोदालोलाई कोक्याको पनि छैन । अनि गलोलाई मात्र कोक्याउँदा त्यसको पनि उपचार भएकै छ । मजाले पकाएर, भुटेर, तारेर नुन खुर्सानी मोलेर पकाउँदा न कोक्क्याएको पनि छ । कहिलेकाहीँ कागती निचोरेर अनि चुक हालेर पनि कोक्क्याउने दोषलाई गुणमा बदल्न सकिएकै छ ।
माटोले जन्मिन हुर्किन बढ्न ठाउँ दिन्छ । पानीले सिंचाई दिन्छ । मलले अलि मोटोघाटो बनाउन सहयोग गर्छ । कुटो कोदालोले गोडमेल गर्छ अनि किन कोक्याउनु । यिनीहरूको कुनै दुष्मनी छँदै छैन र हुँदैन । पिँडालुका सहयोगी सारथी भए यिनीहरू। सारथीलाई किन निहुँ खोज्नु नि ! किन दुःख दिनु ! पिँडालुुको असर त मानिसको गलालाई मात्र हो ।
पिँडालुका प्रकार अनुसार कोक्क्याई फरक हुन्छ । आजकाल कम कोक्क्याउने जातका पिँडालु पनि त आइसके । हुन त पिँडालु र कोक्याउनु विपरितार्थक कुरै होइन । पिँडालुले कोक्याएन भने उसको जन्मजात गुण नै हराएको हुन्छ तर पनि किन हो यो मानिसको गलोलाई पिँडालुले कोक्याएको मन भने पर्दैन । मन नपरे पनि मानिसले खान त कहाँ छोडेको छ र ? खा’कै छ । उमारेर खान्छ । आफै खेती गरेर खान्छ । किनेर खान्छ । जरादेखि पातसम्म विभिन्न नामले खान्छ । विभिन्न तरिकाले खान्छ । बिहान खान्छ बेलुका खान्छ । दिउसो खान्छ । यही एउटा पिँडालु त हो तरकारी अचार बनाएर पनि खाने अनि त्यस्तै अरु कुनै चिजको सहारा विनै पनि एक्लै खान मिल्ने बहुगुणी खाद्यान्न । मानिस र पिँडालु पनि दुस्मन त हुदै होइनन् । पिँडालु मानिसका लागि मानिस पिँडालुका लागि । मानिसले आफ्नै लागि पिँडालु रोपे पनि बिउ त जोगाएको छ नि !
पिँडालुका विभिन्न रुपहरू भए जस्तै मानिसमा यसका कोक्क्याउने गुण सरेदेखि मानिसलाई कोक्याउन थाल्यो । मानिसको कोक्याउने गुणले एउटाले अर्कोलाई चोर भन्न सम्झेर कोक्यायो । अर्को साँच्चिकै चोरेर कोक्यायो । कसैको पैसा लिएर फिर्ता नगर्ने मानिसको याद सम्झना र ताकेताले त बहु कोक्क्याई शुरु भयो । डाँठ पात र गानाले संयुक्तरुपले एकै पटक गलो होइन माथि मण्टोको पछाडि पट्टीको गिदी नैं कोक्याईबाट चुक नुन टिमुर तेल आगोले पनि निको पार्न सकेन । अस्पतालका डाक्टरले पनि निको कसरी पार्नु ! यो कोक्याई मनको कोक्याई थियो । मुटुको कोक्याई थियो । गाउँ घरतिर यसलाई हत्केलाले दिएर पैतलाको कोक्याई भन्दा हुन् ।
मानिसमा पिँडालुको कोक्याउने गुण सरेपछि कुनै भाग अङ्ग मात्रै नकोक्याएर पुरै शरीर कोक्याउँदो रहेछ । मानिस मात्र हो र समाजलाई पनि कोक्क्याउने रोगले ग्रसित पार्दो रहेछ । बैसालु प्रेमिकाले भेट्न आउँछु भनेर नआइ दिँदा प्रेमिको आँत कोक्याउदो रहेछ । बिहा गर्छु भनेर फकाएको प्रेमीले धोका दिएपछि प्रेमिकाको परा जीवन कोक्याएका कथा त कति कति ? यस्तो कोक्याईमा केही दाना कागती जाबोले के रोक्थ्यो कोक्याई ? जुकालाई टिमुर दल्या जस्तो पनि नहुँदो रहेछ । नुन छर्क्या जस्तो पनि नहुँदो रहेछ ।
पिँडालु सोझै कोक्याउने भएकोले यसको नाम मानिसले कोक्याउने राखेछन् । बाङ्गो गरि कोक्यायो भने कसरी थाहा पाउने भनेर पनि बेला बेला पिँडालुले गुनासो पोख्दो रहेछ । पिँडालुले आफ्नो कोक्याईको बारेमा स्पष्टीकरण दिँदै मेरो जात कोक्याउने, धर्म कर्म कोक्याउने अनि मेरो केको दोष ? मनुवाहरूलाई भनेकै छ नकोक्याउने विधी पुर्याएर घिच्ने हो भने त कोक्याई सोक्क्याई हराउँछ । आखिर कोक्याई हाले पनि यो क्षणिक हो एक छिनमा निको हुन्छ । पिँडालुका गुणहरूको तुलनामा यो जाबो कोक्याईको त केही हिसावै भएन । थरिथरिका खान्की खाँदा पिँडालुको कुनैं इज्जत नहुने जाबो एक छिनको कोक्याईमा मेरो नामै कोक्याउने गाभो राख्ने अनि पिँडालुमाथिको वर्षौंदेखिको अन्यायको हिसाव खै ? अगाडि नै आफ्नो गुण देखाउने माथि यत्रो अन्याय । थाहै नदिएर कोक्याईकै पीडामा दीर्घरोगी बनाउने मनुवा कोक्याईलाई तक्मा लगाएर विभूषित गर्ने !
कोक्याईको राष्ट्रिय प्रतियोगितामा कहिल्यै समावेश भएको छ पिँडालु ? राष्ट्रिय प्रतियोगितामा पटक पटक सहभागिता जनाएर तलको कुरकुच्चादेखि माथिको तालुको रौँसम्म कोक्याएर कोक्याईकै अशान्तिबाट मसानघाट पुर्याउने कोक्यारु भन्दा त पिँडालुु कोक्याई जाती होइन र ? पिँडालु कोक्याईको चरण हुँदैन । एक पटक फिनिस । मान्छे कोक्याईको चरण कति छ भन्ने कसैले नापेको छ ? आफ्नो शिकार बनाउन मानिसले कोक्याईका चरण बनाउनेलाई मात्र था’ हुन्छ । कोक्किनेलाई थाहै हुँदैन कुन चरणमा कति कोक्किएँ भनेर । कोक्याउँदा कोक्याउँदा खलनायक भएर अनि महानायकको फुलीद्वारा सुशोभित भएर घाँटीमा भैंसी दाम्लोमा सुनमुखे चाँदी टल्के छपक्क छातिमा टाँसेर आफैले कोक्याएर मजैले कोक्किएका मानिसको अगाडि टलक्क टल्किएर राष्ट्रिय पोसाकमा झलक्क झल्किएर कोक्किनेलाई ढलाउन सफल मानिस र पिँडालुमा फरक छ कि ?
पिँडालुुको जैविक गुण हो कोक्क्याउनु । आफै आउँछ । इन्जेक्सन लगाउनै पर्दैन । मानिसमा यो अजैविक गुण सार्न पल्काउनु पर्छ । फरक फरकका इन्जेक्सन लगाउनु पर्छ । कहिलेकाहीँ धामीझाँक्री देखाएर झारफुक गर्नुपर्छ । कुनैं बेला कानूनको दाम्लो चुँडाल्न वकिलको सहायता लिनु पर्छ । वकिललाई पनि अलिकति पिँडालुु त चाहियो। नत्र त्यो वकिल न्यायाधीशकोमा कसरी र किन पुग्ने र ? न्यायाधीशकोमा नपुगे किलो उप्किदैन र पिँडालुु रोप्न पनि मिल्दैन मानिसका हृदयमा । कुर्सीधारीहरूको आशिर्वादले पनि पिँडालुुको गुण सार्न मद्दत गर्छ । धेरै सम्मान, मिठो खान्की, बारुले कम्मर र बान्की परेकी वरतिरपरतिर राख्न पाए, पिँडालुुको सितन पन्छाएर पिरो मिठो चट्ट जिब्रो फट्कार्न मिल्ने अनि सुरुप सुरुप पारेर ओठ बङ्ग्याउन मिल्ने ओखती पानी र अन्तमा द्रव्य सार्न सकिने भरपर्दा औजार हुन् । यति चिजको संयोग हुने हो भने मानिस कोक्याउन बाह्र हात लम्केर त्यो मरभूमिको उँट जङ्गलको राजालाई उछिन्न र घोडाको लात्तिले हानेर एकै पटक कोक्याईको चरण पार गर्न सक्छ ।
अनि भएपछि पिँडालु जिल्लिएर रिंगटा लागेर पछारिँदैन ? इन्तु न चिन्तु हुँदैन ? विभूषित पिँडालु हो कि पिँडालु विभूषित हो ! अनि विभूषित पर्न कुन बिउ, कस्तो माटो, कति मल हालेर कस्ताे कुटो कोदालोले गोडेको रहेछ जान्न हिँडेको पिँडालु जान्दाजान्दै सुकुटी भएर विभूषितको सितन भएको पत्तै पाएन । सुकुटीले गलोमा कोक्याउनु पर्छ भन्ने चाल कसरी पावस् । विचरा पिँडालु ! आफ्नो गुण कतिखेर सर्यो पत्तै पाएन ।
०००
कैलाली, हाल- काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































