कृष्णशरण उपाध्याय पाैडेलपर्दैन के लज्जित बन्न हामी ?
माटो जहाँ को अति उर्वरा छ धरा अभूत्पूर्व हराभरा छ तथापि छौँ दीन - दरिद्र नामी पर्दैन के लज्जित बन्न हामी ?

कृष्णशरण उपाध्याय पौडेल :
न कार हाम्रा न त भ्यान हाम्रा
न छन् कुनै वाहन यान हाम्रा
उद्योग छैनन् घर भित्र नामी
पर्दैन के लज्जित बन्न हामी ?१
जडी – बुटी छन् अनमोल हाम्रा
छन् भव्य भूगोल अचम्म राम्रा
जान्छौं सबै अन्त , परी बिरामी
पर्दैन के लज्जित बन्न हामी ?२
न उच्च शिक्षालय छन् अचम्म
न विश्वविद्यालय छन् सुरम्य
छैनन् कुनै औषधि अग्रगामी
पर्दैन के लज्जित बन्न हामी ?३
खोला र नाला वन – सम्पदा छन्
प्रभुत्व ती माथि यदाकदा छन्
बेच्यौँ सबै स्वत्व , बनी हरामी
पर्दैन के लज्जित बन्न हामी ?४
छन् विश्व मै भव्य हिमाल हाम्रा
पहाड अग्ला हिमताल सङ्ला
अझै गरेनौँ उपयोग दामी
पर्दैन के लज्जित बन्न हामी ?५
माटो जहाँ को अति उर्वरा छ
धरा अभूत्पूर्व हराभरा छ
तथापि छौँ दीन – दरिद्र नामी
पर्दैन के लज्जित बन्न हामी ?६
छन् रीति – संस्कार विचित्र राम्रा
विशिष्ट छन् धर्म पवित्र हाम्रा
तथापि छौँ निम्न र पश्चगामी
पर्दैन के लज्जित बन्न हामी ?७
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest









































