चिरञ्जीवी दाहालअड्कले काकाको अनुमान
मेरो विचारमा अनुमान गर्ने पनि निश्चित सिमा हुनु पर्छ । वसन्त ऋतुको आगमनसँगै कुहु कुहु गरेर कराउने कौवा हो भनेर अनुमान गर्नु त भएन नि ! जङ्गलमा अझैसम्म पनि केही कोइलीहरू बाँकी छन् नि !

चिरञ्जीवी दाहाल :
हाम्रो गाउँका अड्कले काका वास्तवमै गन्यमान्य व्यक्ति हुन् वा होइनन् त्यो भने छानबिनको विषय हुनसक्छ या भविष्यले बताउला । तर उनलाई सबैले गन्यमान्य व्यक्ति भन्ने गरेका छन् । मान्छे बूढो नहुने ओखती कतै बनेको थियो भने यिनले पक्कै पनि सेवन गरेको हुनुपर्छ । किनकि म २४ वर्षको उमेर पुग्दा यिनलाई जस्तो देखेको थिएँ, अहिले म तीनबिस लाग्दा समेत यिनी उस्तैछन् । जिउ ज्यान मात्र उस्तै भए त लौ केही थिएन, मिलोस् नमिलोस् एउटा न एउटा अनुमानको वाण हान्ने यिनको बानीमा पनि, रत्तिभर परिवर्तन आएको छैन ।
त्यसताका म २४/२५ वर्षको पट्ठो थिएँ होला, बिहान भरी कति सुत्नु भनेर मर्निङवाकमा निस्कन लाग्दा अड्कले काकाले प्वाक्क भनेका थिए-
“हैन ए केटा, गोर्खा सेनामा जागिर खाने विचार गरिछस् ठिक गरिस् । बरु भनसुन गरिदिन परे म छँदै छु कुनै कुराको फिक्री नलिनु, धक नमानी मलाई भन्नु, त्यस कुराको इन्तजाम म मिलाउँछु ।”
मैले मर्निङवाक गरेको देखेपछि अड्कले काकाले अनुमान गरिहाले, केटोले सेनाको जागिर खान दौडन लागेको हुनुपर्छ । हुन त मेरो गोर्खा सैनिक बन्ने सोचभएको भए अड्कले काकाले ठिकै भने भन्न हुन्थ्यो । भोलिपल्ट टोलभरि हल्ला चलेछ । जसलाई भेट्छु “आर्मी बन्ने भएछौ, ल बधाई छ है ! राम्रो विचार गर्यौ ।” मैले जसका मुखबाट पनि यस्तैमात्र सुनेँ ।
मान्छे भेट्नै नहुने भो ! जो भेट हुन्थ्यो मलाई आर्मीको सेवा सुविधाका विषयमा सोधि हाल्थ्यो । हुँदाहुँदा मान्छेहरूले सेनाको तालीम र जम्मु कश्मीरको लडाइँको विषयमा समेत सोध्न थाले । मानौं म छुट्टीमा घर आएको भारतीय गोर्खा सैनिक हुँ ।
दिक्क लाग्यो, केही दिनपछि मर्निङवाक जानै छोडिदिएँ । फेरि सोचें, अर्काले हावादारी कुरो गर्दैमा म किन हिंड्न छोड्नु ? केहीदिन पछि म पुनः मर्निङवाकमा निस्किएँ । बाटोमा फेरि उनै अड्कले काका भेट भए । भने, हत्तेरी ! यति युवा उमेरमै तँलाई प्रेसरले दुःख दिएछ हगि ? यो रोग भन्ने कुरा पनि अचम्मको जिनिस रहेछ । रोगले न बूढो भन्छ, न बालो ! यिनले मलाई प्रेसर रोगी भएर मर्निङवाक गरेको अनुमान गरे । अड्कले काकाले कत्ति पनि ढिलो नगरी हल्ला फिंजाइ हालेछन् । भोलिपल्टदेखि सबैले मलाई प्रेसरको रोगी भन्न लागे । प्रेसरको रोगीमात्र भनिदिएको भए त्यति चिन्ता किन लिन्थेँ र ? साथमा थप कुरा पनि सुन्नुपर्यो । “युवा अवस्थामै जाँड, रक्सी, र माछामासु टन्न धोक्न थालेछौ, अनि तिम्रो प्रेसर नबढे कसको बढ्छ ? मेरा केही आफन्तले समेत उनको कुरा पत्याएर मलाई अर्ति र उपदेश दिनथाले । यी अड्कले काकाले गरिखान दिएनन्, मैले फेरि पनि एकाबिहानै टहल्ने काम छोडिदिएँ ।
हाम्रो गाउँ नै उस्तो हो कि यी अड्कले काकामात्र उस्ता हुन् ? अर्काको नानाथरी कुरा काट्यो, फलानालाई यस्तो भएको होला, उस्तो भएको होला भन्यो मनमनै अड्कल गर्यो बस् । त्यसको केही दिनपछि म शहरतिर लागेँ । व्यापार गरें, व्यापार राम्रैसित फस्टायो, दुईचार पैसा कमाएँ पनि । कमाएपछि घरमा दुईचार पैसो पठाउनु पर्यो तर यता उनले अर्को अनुमानको खेती सुरु गरेछन्, “त्यो मोरो भतिज राजधानी गएर दुईनम्बरी धन्दा गर्न थालेछ ।” जेठ मासको डढेलो जस्तै हल्ला फैलियो । सबैका नजरमा म दुईनम्बरी धन्दा गर्ने मान्छेमा दरिएँ ।
दसैंमा घर आउने बेला आफूले सोखले पालेको दारी घर जानु छ भन्दैमा काट्ने कुरा पनि भएन । म दारी पालेर गाउँ छिरेको मात्र थिएँ, उनले अर्को हल्ला चलाएछन् । म लागु पदार्थ ओसारपसार काण्डमा जेल बसेर आएको भनेर गाउँभरी हल्ला फैलिइसकेछ ।
यिनको यो फ्याट्टै अनुमान गरेर बेकारको हल्ला चलाउने बानीको शिकार म मात्र होइन, गाउँमा अरु पनि थिए । अठार बीसको उमेरमा कसैले बिहे गर्यो भने सानो जात या ठूलो जातसँग चक्कर चलेको थियो रे, त्यसलाई रोक्न बाउ चाहिँले उमेर नपुग्दै बेलैमा बिहे गरिदिएछ भनि हाल्थे । कसैले ढिलो बिहे गरे फलानोको छोरो वा छोरी सिँगारु हो रे त्यसैले बिहे नगरेको भन्ने हल्ला चलाइदिन्थे ।
कोही मोटाएको देखे, वियर खान पल्केछ भन्थे, दुब्लाएको भए, लागु औषधको अम्मली भएछ भनि दिन्थे । साँझ पसलमा चिया पिउन गए रक्सी पिएको हल्ला चलाइ दिन्थे, बाटोमा कुनै महिलासँग गफ गरेको देखे “हेर सडेको, घरमा त्यति राम्री स्वास्नी हुँदाहुँदै फलानाकी छोरीसँग पल्किएछ भन्ने । कुनै महिलाले पुरुषसँग बात मारेको देखे फलानी त फलानोसँग पोइल जान ठिक्क परेकी छ भनेर हल्ला पिटाइ दिने । अड्कले काकाको यो अनुमान गर्ने बानीले सारा गाउँ हैरान थियो । एउटा अचम्मको कुरा चाहिँ के थियो भने यिनले यस्ता नचाहिने हल्ला गर्छन् भन्ने सबैलाई थाहा हुँदाहुँदै पनि सबै गाउँलेले यिनले चलाएको हल्ला भने सजिलै पत्याइदिन्थे । जसरी हाम्रा नेताहरूले हावादारी भाषण गर्दा कार्यकर्ताले पत्याएर ताली लगाउँछन् । आखिर अड्कले काका पनि त गाउँको गन्यमान्य व्यक्ति न हुन् ।
त्यसदिन गङ्गा दशहराको दिन थियो । म सबेरै उठेर नदी नुहाउन गएको थिएँ, फर्कँदा त, म आत्महत्या गर्न नदीमा गएको हल्ला गाउँभरी चलिसकेछ ।
घरबाट बाहिर निस्क्यो कि अनेकौं नचाहिँदो हल्ला चलाएपछि म हैरान बनेर फेरि केही दिन घरमा बसें । आखिर उनको काम भनेको अनुमान गर्ने न हो, उनले एउटा अनुमानको झटारो फेरि पनि फालिदिए छन्, म गम्भीर डिप्रेसनको शिकार भएको हल्ला चलाएछन् । डिप्रेसनको कारण म घरबाट निस्किन नसकेको रे ! गाउँमा मात्र हो र ? त्यो हल्ला वल्लोपल्लो गाउँतिर समेत चलिसकेको रहेछ । उनको यो वाहियातको अनुमानको खेती गर्ने बानीले म यतिसम्म पीडित बनेँ कि सम्झँदा पनि मन सिरिङ्ग हुन्छ । अनुमान गर्नुपर्छ लौ केही भएन तर मिल्ने र पत्याउने खालको अनुमान गर्नु नि ! यस्ता नाथे ताइ न तुइको अनुमान कसरी गर्न सकेका होलान् ?
यसो विचार गर्दा अड्कले काका गन्यमान्य मात्र होइन रहेछन् । यी त कलियुगको अवतार नै रहेछन् । किनभने यिनको यो अनुमान लगाउने सूत्र अचेल टोल, गाउँ, जिल्ला, प्रदेश हुँदै पुरा मुलुकभर फैलिएको छ । पत्रकार, नेता, व्यापारी, उद्योगपति, शिक्षक, विद्यार्थी, साहित्यकार, कलाकार जसले पनि अचेल उनले जस्तै अनुमानको खेती गर्छन् । अनुमानकै भरमा भाषण छाँट्न, लेख्न र फेसबुक रङ्गाउन थालिहाल्छन् । कुनै दुई दलका नेता भेट भए भने सरकार परिवर्तनको अनुमान गर्छन् । एउटा नेताले मानव तस्करी गरेको समाचार आउने बित्तिकै लगभग सबै नेताको धन्दा यही हुनुपर्छ भनेर अनुमान गर्छन् । एउटा पार्टीको कुनै नेता कार्यकर्तासँग सँगै बसेर चिया खाएकै भरमा फलानोले पार्टी छोड्दै छ , ऊ फलानो पार्टीमा प्रवेश गर्ने तयारीमा छ भन्ने हल्ला चलिहाल्छ । चारधाम तीर्थ गर्न गएको नेतालाई भारतीय नेता भेट्न गएको मात्र भनिदिए त ठिकै थियो, यता भने “व्यवस्था नै परिवर्तन हुने सङ्केत” भनेर नचाहिने अनुमान सुरु भइहाल्छ ।
केही वर्ष अघिसम्म बादल लागेको बेला पानी पर्नसक्छ भन्ने मात्र अनुमान गर्ने गरेका हामीहरू, अचेल भने हरेक कुराको अनुमान गर्ने हैसियतमा पुगेका छौं । हिजो दुई भिन्ना भिन्नै पार्टीका सांसद सँगै हिँडेको देख्ने एकजना अनुमानकर्ता भन्दै थिए- “यिनीहरूको निको चाल छैन् । चुनावमा भिन्न पार्टीका भएर के गर्नु ? यिनीहरू त मन मिलेका हलगोरु पो हुन् त ! यिनीहरुले आ-आफ्नो पार्टी फुटाएर नयाँ पार्टी निर्माण गर्ने तयारी गर्दैछन्” यति उसले चिया पसलमा के बोलेको थियो, भोलिपल्ट अनलाईनमा समाचार आइहाल्यो । प्रायः सुनिने गरेका यी अनुमान शत प्रतिशत नमिल्ने भन्ने त पक्कै हुँदैन । तर पनि यी अनुमान चिया पसलमा चिया गफका बेला गरिने अनुमान हुन् के थाहा, अलिअलि त सत्य पनि हुनसक्छन् ।
मेरो विचारमा अनुमान गर्ने पनि निश्चित सिमा हुनु पर्छ । वसन्त ऋतुको आगमनसँगै कुहु कुहु गरेर कराउने कौवा हो भनेर अनुमान गर्नु त भएन नि ! जङ्गलमा अझैसम्म पनि केही कोइलीहरू बाँकी छन् नि ! पटक्कै नसुहाउँदो अनुमान गरेर बेकारमा अड्कले काका जस्तो किन बन्नु छिः !
बरु छिमेकीको घरमा जाँदा मानसम्मान निकै पाइएला भन्दै गयो उल्टै भुक्तमान पाइयो भने त्यसपछि त अनुमान गर्न छोडे पनि हुन्छ नि ! मान्छेको स्वभाव हो, एकपटक यस्तो परिसकेपछि पनि अझै मान पाइन्छ कि भन्ने आश जिउँदै हुने रहेछ ।
उहिले राणाहरूले इजरायलबाट दुई चार जोडी माछा नेपालमा भित्र्याउने काम गरे । कसैले पनि नानाथरी अनुमान गरेर कुरा काटेनन् । राजाले पहिलोचोटि जर्मनीबाट अङ्गुरको लहरो ल्याएर लटरम्म फलाए । अनुमानका भरमा फिटिक्कै कुरा उब्जिएन । पञ्चहरूले जर्सी गाई भित्र्याउँदा कसैले सुइँको पाएनन् । जब अहिले सोही अनुरूप मुर्रा भित्रियो, अनुमानको खेती सुरु हुन थालिहाल्यो । कसैले राँगो भएको अनुमान गरे । कसैले भैंसी हुनुपर्छ भने । कसैले मासुका लागि ल्याइएको भने, एकथरीले त पूजा गर्न ल्याएको अनुमान गरे । आखिर अनुमान न हो । न यथार्थ बुझ्नुपर्ने, न सत्यकुरा जान्नु पर्ने ! आफ्नै तरिकाले अनुमान गरिदिए भै हाल्यो ।
जबसम्म नैतिकता बाँकी थियो, सबै थरीका मान्छेहरू अनुशासित थिए, फिटिक्कै अनुमानको खेती हुँदैन थियो, सबै ठिकठाक थियो । वर्तमानमा अनुमानको खेती अचाक्ली हुन थाल्यो जताजतै लथालिङ्ग देखिन थाल्यो । अबदेखि अनुमान गर्दा पनि विचार पुर्याएर गर्ने हो कि ?
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest







































