साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामी ढोलक हौँ बजिरहन्छौँ

तर अहँ देखिएकै छ, यिनले माखो पनि मार्न सक्दैनन् । त्यसको मुख्य कारण हो यिनका गुरु छैनन् । बिना गुरुको शिष्य कतै देख्नु भएको छ ? संसारमा शिष्य नबनी एकै पटक गुरु बन्ने सौभाग्य यिनै पण्डाहरूले मात्र पाएका छन् ।

Nepal Telecom ad

चिरञ्जीवी दाहाल :

गुड्डी हाँकेर भुँडी भर्न पल्किएका ठण्डा रगत भएका पण्डाहरूले जनतालाई ढोलक बजाए जस्तै बजाउन लागेको निकै वर्ष बित्यो । उनीहरूले बजाइ रहे, हामी बजिरह्यौँ । यो सिलसिला कहिले पनि रोकिएन । हामी बज्न त बज्यौं तर कुनैदिन पनि सुरमा बज्न सकेनौँ, सधैं बेसुरमामात्र बज्यौँ । मोहोरेको छाला नयाँ हुँदा पनि बज्यौँ, पुरानो भएपछि पनि बज्यौं । च्यातिएर धुस्नो हुँदा पनि बज्यौँ । पानीले भिजेर ढाडिए पनि बज्यौँ, घामले खङ्ग्रङ्गसुके पनि बजिरह्यौँ । कहिले भोको पेटमा बज्यौँ, कुनैदिन अघाएको पेटमा पनि बज्यौँ । मानौं, बज्नु हाम्रो नियति हो, बजाउने काम राजनीतिक पण्डाहरूको । हामी यसरी बज्ने गर्छौं कि बजाउनेले हातमा छडी पनि लिनुपर्दैन । आँखा झिम्क्याइ दिए पुग्छ । यिनले रातलाई दिन भन्नु भनेर इसारा गर्छन्, हामी हो भन्दै बज्न लाग्छौँ । कालोलाई सेतो भन्छन् त्यसमा पनि समर्थन जनाइदिन्छौँ । पूर्व दिशालाई पश्चिम दिशा भन्दछन् सजिलै पत्यार गरिदिन्छौँ । हुँदाहुँदा हामीलाई भुटानी शरणार्थी भन्न लागे, उल्टै पैसा तिर्यौं र निकै गर्वका साथ भन्यौँ, हो हामी भुटानी शरणार्थी नै हौँ । यिनले गरेका अनियमिततामा भ्रष्टाचार होइन सदाचारमात्र देख्छौँ । आखिर हामी यिनीहरूले बजाउने ढोलक न हौँ ।

सायद छैटौं दिनमा भावीले यस्तै लेखेछन्, “हेर मनुवा हो ! बाँचुन्जेल नानाथरी पण्डाहरूले ढोलक जस्तै बजाइ रहन्छन्, तिमीहरू बजिरहनू । जति बजाउँछन् कुनै प्रकारको प्रतिक्रिया नदिनू ।” सायद यथार्थ यही हुनुपर्छ, मान्छेले जन्मिएको समयका सबैकुरा भुले पनि छैटौँ दिन भावीले लेखेको र भनेको कुरा कहिले पनि नभुल्ने रहेछ । त्यसै भएर हामीले भावीको निर्देशन पालना गरिरहेका छौँ र त सधैं बजिरहन्छौँ । भावी भनेको स्वर्ग लोकको भाग्य शाखाको सामान्य दर्जाको इन्चार्ज हुन् क्यारे । सामान्य इन्चार्ज भएर हुन्छ र ? यी भावीहरू अत्यन्त शक्तिशाली मानिन्छन् । मान्छेको भाग्य लेख्ने काम यी बाहेक कसैले पनि गर्न सक्दैनन् । देशको बजेट निर्माण गर्दा उपसचिव, सहसचिव, सचिवले नसकेर एउटा सुब्बाकै खाँचो परे जस्तै यो भाग्य फाँट हेर्न पनि यिनै सुब्बा सरहका भावी चाहिने रहेछ र त्यत्तिकै महत्वपूणर् भूमिका हुने रहेछ । मान्छेको भाग्य भावीले जस्तै विधि पुर्‍याएर ब्रह्मा, विष्णु र महेश्वरले पनि लेख्न सक्दैनन् । विधानले उनीहरूलाई त्यस्तो जिम्मेवारी दिएको पनि छैन । त्यसैले भावीहरू छोइ नसक्नुका हुन्छन् ।

हुन त यी भावीका विषयमा हामीले जति कुरा गरे पनि, जति विरोध गरे पनि कुनै अर्थ छैन । न यिनलाई कतैबाट नियन्त्रण गर्ने गरिन्छ न कार्बाही नै गर्न सकिन्छ ! यी बाह्रै महिना बाह्रै काल छाडा साँढे जस्तै डुक्रंदै हिँड्छन् । छैटौँ दिन लुसुक्क घरभित्र पसेर मनमा जे लाग्यो लेखिदियो । मान्छे नाथेको त के कुरा भयो र ? यिनलाई स्वयं त्रिदेवले पनि नियन्त्रण गर्न सक्दैनन् । चाहिने नचाहिने जेसुकै लेखे पनि यिनलाई आजसम्म कसैले कुनै प्रकारको कार्बाही गरेको खबर पनि पाइएको छैन । बरु अचेल यिनै भावीको देखासिकी गरेर जनता र देशको भाग्य लेख्न खटिएका नव भावीहरूले पनि भाग्य लेख्न कम्मर कसेर लाग्ने गरेका छन् । यिनले पनि तिनै भावीले जस्तै लेखिदिन्छन् । कहिले, सत्यनारायणको प्रसाद बाँडे जस्तै नागरिकता बाँड्ने कुरा लेख्छन् । कहिले नेपाली नागरिकलाई भुटानी शरणार्थी भनेर लेखि दिन्छन् । बालुवाटारको जग्गा मासुको बिलो लगाए झैं भाग लगाउने कुरा लेख्छन् । नालापानीको बहादुरी लेख्ने हातले कालापानीको कायरता लेख्दैछन् । लेख्ने मात्र होइन यिनको देख्ने शक्ति पनि चिलको जस्तो हुन्छ । सिमानाको डिल नदेखे पनि यिनले ठेकेदार र व्यापारीको गोजीमा राखेको बिल भने सजिलै देख्न सक्छन् ।

गाउँको सिंहदरबारमा सामान्य सिफारिस बनाएको दस्तुर पहिले भन्दा कयौं गुना बढी तिनुपर्छ । दुई चार वर्षअघि तिर्ने गरेको एक दुई सय रुपैयाँ पर्ने घर जग्गा कर अहिले हजारौं रुपैयाँमा तिर्नुपर्ने बनाइएको छ । कसैले यो अत्यन्तै बढी भएन र ? भनेर सोध्नुस् त ! उत्तर आउँछ, “यो त तपाईंहरूकै लागि हो ।” आखिर यी पनि त भावी नै हुन् । भावीले लेखे र तोकेपछि नाइनास्ती गर्ने कुरा पनि त भएन नि ! घाँसको बिउ, उखुको बिउ, रसायनिक मल किन्न जानुअघि नेपाली नागरिकताको प्रमाणपत्र बुझाउने गर्नुभएको होला । यिनै नव भावीहरूको नयाँ काइदा हो यो । नागरिकताको प्रमाण पत्रसँग यी वस्तुहरूको सम्बन्ध कहाँनेर र कसरी जोडिएको हुन्छ ? बुझ्न सक्नुहुन्छ ? कसै गरे पनि बुझिन्न । आखिर लेखिदिए क्यारे !

कहिले घर जग्गा करका नाममा, कहिले सडकका नाममा, कहिले कुलो, नहर, खानेपानी र बिजुली बत्तीका नाममा तपाईं हामीलाई यसरी बजाइन्छ कि हामी भैंसीको छालाले मोहोरेको ढोलक हौँ । जसले जति ठोक्यो त्यति घन्किएर बज्ने ढोलक । कहिले आलु, प्याजको नाम फेरेर ‘केशर’ लेखिदिन्छन्, हामी केशरकै मूल्य तिरेर आलु प्याज किन्छौँ । कुनैदिन देखि नुनको नाम परिवर्तन गरेर सुन राखे भने नुनको लागि सुनको मूल्य तिर्नुपर्ने दिन नआउला भन्न सकिन्न ।

जब चुनाव आउँछ हामीलाई नै बजाउने गरिन्छ । जुलुस निकालेका बखत बजाउने हामीलाई नै हो । पाइला पाइलामा हामीलाई ढोलक बनाएर बजाइन्छ, हामी बजिरहन्छौँ । भ्रष्टाचारी नेता जेलमुक्त भएको दिन हामी नै ढोलक बन्छौँ । तिनका स्वागतमा बडेमानको माला लिएर हामी नै पुग्नुपर्छ । हामी भने यिनलाई मनोरञ्जन दिन पाएकोमा सबैथोक बिर्सिएर मजाले बज्न थाल्छौँ । बजाउँदा बजाउँदा जब यिनको हात गल्छ, सुन्दा हेर्दा कान र आँखा थाक्छन्, हामीलाई कवाडीले पनि नलैजाने गरेर फालिदिन्छन् ।

हजुरबा पुस्तालाई राणाहरूले ढोलक बनाएर बजाए । बा पुस्तालाई पञ्चहरूले बजाउनु बजाए । अहिले हामीलाई चलनचल्तीका पण्डाहरूले बजाइरहेका छन् । हामी बज्नैका लागि जन्मिएका, बज्ने कुलमा जन्मिएका । कमसेकम ताल सुर र सुमधुर रागमा बजाइ दिएको भए पनि गुनासो रहने थिएन । तर बेसुरमा बजाउने गर्दा हाम्रो अस्तित्वमाथि नै सङ्कट आउन लागिसकेको छ । यिनले बजाउन नछोड्ने हामी बज्न नछोड्ने ।

सोचेर हेर्नुस् त तपाईं हामीलाई कतिले साँच्चिकै ढोलक बजाए झैं बजाउने गरेका छन् ? नुन, मसला, साबुन किन्न जानुपर्छ, पसलेले ढोलक सम्झिन्छ । कुनै कार्यालयमा जाँदा कर्मचारीको ढोलक । साँध सिमानामा छिमेकीको ढोलक । त्यसैले त हामीलाई क्षण क्षणमा बजाइ रहन्छन् । सिपालुले पनि बजाउँछन्, मखण्डीले पनि बजाउँछन् । हामी ढोलक न हौँ, जसले सक्छ बजाए हुन्छ, हामी बजिरहने छौँ ।

कम्तिमा पनि बजाउने जिम्मा पाउनेले त केही ताल सुरमा बजाउन जान्नु पर्‍यो नि ! बजाउनेहरूले कमसेकम सामान्य भए पनि तालीम लिनु पथ्र्यो । थोरै नै किन नहोस्, अलिकति सिप चाहिन्थ्यो । राणाहरूले ढोलक बजाउने तालिम बेलायत गएर लिन्थे । पञ्चहरूलाई ढोलक बजाउने तालिम राजाहरूले दिन्थे । न यिनीहरू सिप सिक्न बेलायत जाने गरेका छन् । न यिनका प्रशिक्षक राजा नै छन् ! यी त आफै महाराज ! कुरै गर्ने हो भने यिनीहरूले सबै कुरा जाने बुझे झैं गर्छन् । तर अहँ देखिएकै छ, यिनले माखो पनि मार्न सक्दैनन् । त्यसको मुख्य कारण हो यिनका गुरु छैनन् । बिना गुरुको शिष्य कतै देख्नु भएको छ ? संसारमा शिष्य नबनी एकै पटक गुरु बन्ने सौभाग्य यिनै पण्डाहरूले मात्र पाएका छन् ।

केही वर्ष अघिसम्म गाउँमा कुखुरा चोरको बिगबिगी हुन्थ्यो । चटकेहरू छ्यापछ्यापी भेटिन्थे । अहिले गाउँमा हतपती कुखुरा हराउँदैनन् । चटकेहरू भेटिन छोडेका छन् । हरेक वस्तुमा सकारात्मक र नकारात्मक पक्ष हुन्छ । सकरात्मक पक्ष भनेको यही मात्र हो । जुन दिनबाट यिनीहरू जनताको भाग्य लेख्ने भावीमा परिणत भए । त्यसै दिनबाट गाउँ निकै शान्त बन्न थालेको छ ।

उहिले बलभद्र कुँवरले नालापानीमा दुष्मनलाई ढोलक बजाए झैं बजाएर लखेटे । त्यसपछि भने बेलायती म्लेच्छहरूले हाम्रो वास्तविक तागत बुझेर पुच्छर लुकाएर भागेकै हुन् । साँध मिचुवाहरूलाई त यसरी नै ढोलक बजाए जसरी बजाउन सक्नुपर्दछ । घरकी जोईलाई हात उठाएर बहादुर बन्न सकिन्न । बहादुर बन्न त शूपणर्खाको नाक काट्न सक्नुपर्छ ।

अहिले तिनै पुर्खाको वीरताको गुड्डी हाँकेको भरमा कालापानीबाट दुस्मन भाग्छन् ? यो पत्याउने कुरा हो ? हिजो अस्ति भर्खर राखेको भए पो हिँग सकिए पनि टालो बास्ना आउँथ्यो । यो त उहिले जुगको कुरा भयो, टालो पनि मक्किइ सकेपछि हाम्रा पुर्खाले हिँग बाँधेको टालो हो भन्दै डिङ हाँकेर हुन्छ ? लड्न जान सक्नुपर्छ । नभए आपसी छलफलद्वारा समस्या समाधान गर्न सक्नुपर्छ ।

एकदिन मेरो पन्ध्र वर्षको नातिले छिमेकीले साँध मिचेर खेती गरिरहेको मकै बारीको नक्सा सिसाकलमले कोरेर, नागपञ्चमीमा नाग टाँसे जस्तै भित्तामा टाँस्यो । मैले अनौठो मान्दै सोधेँ, “के गरेको यस्तो ?” उसको जवाफ सुनेर म जिल्ल परें । ऊ भन्दै थियो “त्यो पल्ला घरकाले मकैबाली भित्र्याएर र के भो त हजुरबा ! मैले नक्सा बनाएर आफ्नै भित्तामा टाँसेको छु क्यारे !”

थुइक्क ! आखिर अलिकति आश यसैसँग थियो । यसलाई कस्तो न बनाउँला भन्ने सोचेको थिएँ, आखिर यो पनि भविष्यमा यिनै आधुनिक भावी जस्तै हुने भो ! हावादारी कुरा गरेर पनि हुन्छ ! खुबी छ भने पटुका कसेर, कम्मरमा खुकुरी भिरेर छिमेकीलाई जगल्ट्याउन सक्नुपर्छ ! भित्तामा टाँसेको चित्रले हाम्रो माटो फिर्ता पाइन्छ लाछी ! नाति त चुप लाग्यो तर म भने चुपलागेर बस्न सकिन । “साँध सिमाना लुट्नेलाई म छोड्दिन् ।” त्यसपछि म जोडले चिच्याउन लागेँ । नाति ट्वाँ परेर मलाई हेरिरह्यो । सँधै आफैं बजिरहने बानी परे पनि आज मैले पहिलो चोटी ढोलक बजाएजस्तै गरि आफ्नै नातिलाई बजाइ दिएँ । हुन त बिचरा, उसले गर्नसक्ने भनेको यत्ति न हो !

०००
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुन कागती र गोजी कागती

सुन कागती र गोजी...

चिरञ्जीवी दाहाल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
धूपको धुवाँ र चुरोटको धुवाँ

धूपको धुवाँ र चुरोटको...

चिरञ्जीवी दाहाल
ज्ञानको उल्टी

ज्ञानको उल्टी

चिरञ्जीवी दाहाल
0
Would love your thoughts, please comment.x
()
x