धनराज गिरीचाकरीचक्र !
हो,म खास बनेको हो, कसै कसैको लागि, तर दास होइन । मेरो जीवनपद्धति नै तिमीहरूको सामुन्ने छ, एक बागी कसरी चाकरी गर्न पुग्छ र छोरा ? कसै कसैको नजरमा त्यस्तो लाग्नसक्छ । त्यो उनीहरूको समस्या हो ।

धनराज गिरी :
केही दिन यता सरलकुमार सुखीलाई एउटा कुराले खेदिरहेको छ । कुरा झिनोमसिनो हो, तर “साना साना कुराहरू भित्र नै ठूला ठूला सम्भावनाहरू लुकेका हुन्छन्” भनेर सुखीको पिताश्री प्रोफेसर अजेयनारायण आनन्दले भनेको थियो । मनमा उल्झन भएपछि पिताजीको शरणमा पुग्छ सुखी, भीष्म पितामह आफ्नी माताको काखमा पुगे जसरी ।
नजिक गयो र भन्यो, “बा, हजुरको मितवा प्रोफेसर जगमोहन आजादलाई म पनि चिन्छु,राम्रोसित चिन्छु । फेसबुकमा साथी पनि छु । पहिले पहिले आजाद काकुको पोस्टमा एउटा राम्रै नाम चलेको, तर दोयम लेख्ने लेखक, हल्ला र प्रचार, वाह वाहले प्रख्यात, त्यो लेखक आशाराम निराशा, खुब लाइक कमेन्ट गर्थ्यो, काकुको घर पनि आएको थाहा थियो, तर अचेल उल्टो देख्छु, म लेखकसित पनि साथी छु । अचेल आजाद काकुले उसको पोस्टमा हाजिरी जनाएको पाएँ, तर लेखक निराशाले वास्तै गर्दैन, यो के चक्कर हो बा ? यो कस्तो रामायण हो ? समन्धको !”
००
“चाकरीचक्र, यसलाई चाकरीचक्र भनिन्छ छोरा । कहिले हनुमानले रामको चाकरी गर्ने, कहिले रामले हनुमानको, यही हो दुनियाँको रीत, यो जीवनचक्र हो । हिजो जो गरीब थियो, उसले आफ्नो गर्जो टार्न केही धनीको चाकरी गर्यो होला, आज त्यो गरीब, रोडपति, करोडपति भयो, पहिलेको जमिन्दार जोगी भयो भने अब चाकरीचक्र १८० डिग्री घुम्छ छोरा ! तर, एउटा मानवीय भावना,हरेक सम्बन्धमा चाकरी देख्न भने हुन्न । मित्रता, याराना पनि हुन्छ । हो, सम्बन्धको आडमा नाजायज स्वार्थ पूरा गरिन्छ भने त्यो चाकरी हो । भाटगिरी हो, राग दरवारी हो । मान्छे अति धूर्त भयो भने नि छोरा, आफूभन्दा कमजोरलाई खुत्रुक्क र आफूभन्दा शक्तिशालीको सामुन्ने लुत्रुक्क पर्ने हुन्छ । यो दुनियाँ हो, यहाँ जे पनि हुन्छ । भगवान्को तपस्या गरेर वरदान लिने भनेको पनि एक किसिमको चाकरी नै हो, चुनावमा नेताले जनताको चाकरी गर्छ, जितेपछि जनता विवश हुने नेताको चाकरी गर्न । जबसम्म यस धरतीमा मान्छे नाम गरेको लिच्चड, स्वार्थी प्रजाति रहने छ, यो ‘चाकरीचक्र’ चलिरहनेछ । यही हो जिन्दगी !”
“बा, हजुरले चाकरी गर्नुभयो, कसैको ?” “सुखी त आफ्नै पिताश्रीलाई यक्षप्रश्न गर्न आइपुग्यो ।” ”गरियो छोरा, तेरी आमाको ! बाहिर त चाकरीको कला न जानेर के के भयो, यू क्नो ! सीधै कुलपति हुने होइन तेरो बाउ, चाकरी नजान्दा अरू त अरू, ह्या छोड छोरा, कति अतीतजीवी हुने ! मैले न चाकरी गरें, न कसैको चाकरी खोजियो । हो,म खास बनेको हो, कसै कसैको लागि, तर दास होइन । मेरो जीवनपद्धति नै तिमीहरूको सामुन्ने छ, एक बागी कसरी चाकरी गर्न पुग्छ र छोरा ? कसै कसैको नजरमा त्यस्तो लाग्नसक्छ । त्यो उनीहरूको समस्या हो । म नुहाउन जान्छु छोरा ।”
प्रोफेसर लाग्यो नित्यकर्ममा, सुखी कामतिर गयो । सुखीको दिमागमा ‘चाकरीचक्र’ घुमिरह्यो ।
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest







































