विनाेद खनालराम्रो ‘म’
विकासका नाममा बिनास गर्ने यी नेताहरूले नयाँ नेपाल बनाउँछौ भन्नु र धामीझाँक्रीले खुट्टा भाँच्चिएको बिरामी म फुकेरै निको पार्छु भन्नु इतिहास पढेको शिक्षकले विज्ञान पढाए जस्तो मात्र हो ।

विनोद खनाल :
मलाई ‘म’ नै राम्रो लाग्छ, ‘म’ नै मनपर्छ । तपाईंले जस्तै नाके छ्याके, नेप्टे चेप्टे, दयाबे, ग्वाँजे, टाउके, हाब्रे, चिण्डे, लिण्डे जस्तो देख्नुहोस् न, मलाई म जति राम्रो, म जति बाठो र म जति ठूलो कोही लाग्दैन । गुरुले पनि उहिले हामीलाई पढाउँदा भन्नुहुन्थ्यो राम्रो ‘म’ हामी पनि पछ्याउँदै भन्थ्यौ राम्रो ‘म’ । गुरुले आफूलाई राम्रो ‘म’ भन्नु भएको थियो क्यार ! हामीले बुझ्यौं आफैँ राम्रो ‘म’ भन्ने । गुरुले एकथोक सिकाएको अर्कै थोक बुझ्ने हामी त्यतिबेलाका विद्यार्थी पनि अहिलेकै जस्ता थियौं क्यार । फरक के भने त्यस बेलाका विद्यार्थीहरू पढेर जान्दथे, अहिलेका विद्यार्थी नपढी नै जान्दछन् । उहिलेका र अहिलेका विद्यार्थीहरूमा को ट्यालेन्ट रछन् ? तपाईं नै पत्ता लगाउनुहोस् ।
साँच्चै मान्छे आफूलाई जत्तिको ठूलो कसैलाई पनि मान्दैन । म अरु जस्तो होइन बुझिस् ? म थिएँ र मात्र । नत्र… ! म भनेपछि ऊ हुरुक्क हुन्छ वा हुन्छे । म जतिको बाठो कोही छैन । यी मानिसका ‘म’ भित्रबाट निस्किने भावनाले नै ‘म’ को महत्वबारे प्रष्ट पार्दछ । अहिलेको विश्व नै ‘म’ भित्र अडेको छ । बाहिर लुरुक्क पर्ने नामर्द लोग्ने पनि स्वास्नीका अगाडि मपाईंको जुँगा मुसारेर ‘म’ को प्रदर्शन गर्दछ भने, स्वास्नी पनि मपाईवादमा के कम ? जसभित्र तपाईं, हामी सबै लपेटिएका छौं । यसरी घर–घरबाट निस्किएको मपाईवादी भावनाहरू टोल, गाउँ, वार्ड, नगर, क्षेत्र, जिल्ला, अञ्चल र राष्ट्र हुँदै अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुगेर छिरोलिएको हामी पाउँछौ । हाम्रो देशका नेता, अभिनेता, कवि, कलाकार, सङ्गीतकार, गीतकार, गायक, नायक सबैलाई नै यही मपाईवादी भावनाले गाँजेको छ । समाज सेवा गर्ने र मपाईंको पगरीले सगरमाथा छोप्न खोज्ने आजका समाजसेवीहरू र पुराणका कथामा मपाईंको व्याख्यामा बढी महत्त्व दिने पण्डितजीहरू एकै ड्याङका मूला हुन् भन्ने कुरा सबैले बुझेकै हुनुपर्छ ।
हुन त हाम्रो हिन्दु दर्शन नै मपाईंवादी छ । गीतामा कृष्णले मपाईंको दर्शन देखाएर महाभारत मच्चाए । कृष्णले त म आफू वा आत्मालाई चिन, बुझ भनेका थिए तर व्याख्या गर्न ‘म’ हुँ भन्ने सिपालु पण्डितजीहरूले कृष्णलाई चिन भनेर आजकालका नेताहरूले जनताहरूलाई ढाँटे जस्तै गरेर भक्तहरूलाई ढाँटेर स्वाहा पारेका छन् । मान्छेको विशेषता नै हो कि सप्रँदा मैले गर्दा सप्रियो र बिग्रँदा अरुले गर्दा बिग्रियो भन्ने । हुँदाहुँदा मान्छेको प्रवृत्ति कस्तो बनिसकेको छ भने जानाजानी गल्ती ग¥यो अनि दोष लायो ग्रह दशालाई । यसै भएर होला हाम्रा कवि शिरोमणिले दिक्क भएर मपाईंवादीहरूलाई थप्पड हानेका । तर कवि शिरोमणिले त के आजका सारा कवि, लेखक, गजलकार, व्यङ्ग्यकारले जति नै व्यङ्ग्यको वाण हाने पनि लवस्तरा नेता र कर्मचारीलाई नदुखे जस्तै चिताले जति नै खित्का छोडे पनि मानिस आफ्नो मपाईंवादलाई छोड्नेवाला छैन ।
मभित्रको ‘म’ मौलाएपछि मान्छे बौलाउँछ, नेपालका नेता बौलाएजत्तिकै गरेर । हुन त नेतालाई यति सारो भनेकोमा नेताका पिछलग्गू कार्यकर्ता र भोट दिने भोटरलाई समेत पीर पर्ला ! आफ्ना सम्प्रदाय वा समूहहरूका गुरुको आलोचना गर्दा रिसाउने धार्मिक सम्प्रदायका भक्तहरू र हाम्रो देशका जनताको बानी उस्तै–उस्तै प्रकारको त छ नि ! तर लासलाई घोच्दा बरु ऐया भन्ला, नेपालका नेताले कहिल्यै ऐया भन्दैनन् । न यिनीहरूमा बुद्धि छ न विवेक । खान पाए भने सोह्र श्राद्धका बाहुनले एकै दिनमा तीन श्राद्धमा हसुरे जत्तिकै हसुर्छन् । विकासका नाममा बिनास गर्ने यी नेताहरूले नयाँ नेपाल बनाउँछौ भन्नु र धामीझाँक्रीले खुट्टा भाँच्चिएको बिरामी म फुकेरै निको पार्छु भन्नु इतिहास पढेको शिक्षकले विज्ञान पढाए जस्तो मात्र हो ।
हुन त यति हुँदाहुँदै पनि ‘म’ को महत्त्व र महिमा अझ बढी छ । मबाट नाम उठेका व्यक्तिहरू इतिहासदेखि वर्तमानसम्म प्रसिद्ध छन् । माक्स, महात्मा गान्धी, माओ, मुसोलिनी, मेडम क्यूरी, मार्कोनी, मोहोम्मद, मम्मट, महादेव, महेन्द्र, मदरटेरेसादेखि लिएर मदन भण्डारी, माधव नेपालसम्म ‘म’ दम्भ भएका व्यक्तिहरू त हुन् नि । मैले अघि नै भनिहाले नि मलायाका लाउरेदेखि लिएर गाउँघरका दाउरेसम्म पनि ‘म’ कै भक्त छन् । हरेराम कीर्तन मण्डलीका अध्यक्षदेखि लिएर विश्व हिन्दु महासंघका महासचिव, अध्यक्ष सबै ‘म’ कै भक्त छन् । यसो हुँदा ‘म’ को महत्त्वको वर्णन मेरो यो कलमले गर्न सक्तैन जस्तो लाग्छ । हजार जिव्रा भएका शेष नागले त ‘म’ को वर्णन गर्न सक्दैनन् भने म मूलेको के तागत !
मानिसले मानवको महिमा बुझेर मद, मात्सर्य, मोह, माया त्यागेर मन लाएर मठ, मन्दिरमा नगई गरिब दुःखीको सेवा गरेमा मात्र मरेर जाँदा पनि मुक्ति पाइन्छ भन्ने कुरा सबै मानवजातिले बुझ्नु पर्दछ । यस कारण तपाईं जेसुकै भन्नुहोस्, मलाई ‘म’ नै मन पर्छ ‘म’ नै ठूलो लाग्छ । अहिलेका नेता र कर्मचारीले अरुलाई भुस जत्तिकै नगने जत्तिकै मैले आफूलाई चैं जुस जत्तिकै गनेको छु । यसकारण मेरो यो हास्यव्यङ्ग्य निबन्धलाई तपाईंहरू जत्ति नै नराम्रो भनेर नाक चेप्प्राउनु होस् वा ओठ लेप्र्याउनु होस् तर मेरा लागि भने यो निबन्ध ‘अकबरी सुन’ भन्दा पनि राम्रो र असल छ, बुझ्नु भो !
०००
धुलाबारी, झापा
Subscribe
Login
0 Comments
Oldest








































