शम्भु गजुरेलहाइब्रीड बीउ, कालोपोके र बनमारा
कालो पाइपमा ल्याएको पानीमा नुहाएको फोटो प्रचार गर्ने नेता र त्यसैमा प्रभुको चमत्कार देख्ने भक्त भएसम्म चुनावको लागत बढेर जनताको चुलो महँगो हुने मात्रै हो ।

शम्भु प्रसाद गजुरेल :
जेठको महिना, धानको बीउ राख्ने बेला भएको थियो, पारी गाउँका बिजुलीकान्तले विकासे धान ल्याएका छन् रे धेरै फल्छ रे, लिन जान प¥यो भनेर जस्केलो नाघेर ओर्लेको मात्रै थिएँ बुढा बाले हकार्नुभयो– नयाँ भनेर मरिहत्ते नगर बाबु ! धेरै उत्पादन पनि देला चाँडै पाक्ला पनि तर त्यसले आफ्नो लागि माग्ने दानापानी ओखतीमुलो विशिष्ट प्रकारको हुनेछ, दाइजोको रूपमा उसले बोकेर ल्याउने अन्य आवश्यकता विनाका बिरुवा (झार) हरूले पौष्टिक भन्दा रोगको बिबिरा धेरै ल्याउने पक्का छ । बरु गोबर बढाओ अनि मार्सी, मन्सरा, दुधे र कालोकाठे रोप, आफ्नै सागिने गाई पाल, खरी बाख्रा पाल थोरै उत्पादन भए पनि थोरै खाएर अघाउन सकिन्छ, विकासे भनेको निकासे चिज हो ।
बाको कुरालाई मेरो उरन्ठेउले दिमागले मट्याङ्ग्रा बनाएर हेलचेक्र्याइँको गुलेलीमा राखेर अट्टहासको संगीत भरेर उपहासको आकाशमा छोडीदियो, बत्तिएर गयो त्यो उपदेश ठोकियो मडारिदो कालो बादलमा अनि रसाए बाका आँखा अपमान भन्दा पनि भविष्यमा आफ्नो वरिपरि उम्रिने सामा, वनमारा, पिर्रेको पीडा फलेको अन्नको संरक्षणमा हुने अकल्पनीय दुर्दशाको कल्पनामा अत्तालिएका थिए बा ।
मैले ल्याएँ बीउ र वनमारा, सामा र पिर्रे हुर्काएँ खेतमा फल्यो धानका बालामा कालोपोके अनि सकिन भकारी बाँध्न, खलाबाटै बेचें धान अनि किनेर खाएँ त्यही चामल विषादीमा मोलेर ल्याएपछि, तब म मख्ख भएँ आफ्नो शरीरमा अनेकौं रोग बोकेर ! बाका पालाका भकारी हरेक मङ्सिर मङ्सिरमा पिनाले पोतिन्थ्यो । अरु समय धान नै रहन्थ्यो तर आज भकारी उन्मुलन भयो । बीउ राख्ने डेली र घ्याम्पो लोप भए । बालीमा आयु नभएर । बा जानुभयो अनन्त यात्रामा अनि याद आयो ती पुराना कुरा आफ्ना प्रत्येक अंगमा भिन्नभिन्न रोगको कुटुरो बोकेर पुर्पुरो छाम्दै आफ्नै गल्तीको गन्ध सुँघ्दैछु ।
आँगनको डिलबाट नियाल्दै छु हिजोआज, उस्तै छ चलन, परिवर्तनको पेटीकोट बेरेर अर्धनग्न अश्लील नृत्य गर्ने विविध नयाँ नयाँ ब्यान्ड र नाइकेहरूको चर्तीकला प्रत्येक साँझ र प्रत्येक बिहान अद्भूत सङ्गीत घन्काउदै निस्किन्छ चोकचोकमा गाईजात्राको ख्याली नाँचे जस्तै लाखेलाइ होइन जनतालाई जिस्काउदै, जनता आनन्दित भएर पछ्याउँदै छन् लगातार ।
जंगे पिलर ढालेर अजंगे प्रजातन्त्र ल्याउने उदघोषसहित उडेको वायुयानबाट राज्यको आधाकरोड लुटेर छिमेकीको मलद्वार टालेको परिवर्तनकारी शक्तिले एउटै परिवारलाई गद्दीमा पु¥यायो अर्कै थरको आउदा पनि उहि १०४ बर्षको सत्ता सल्लाहाकारको लगनगाँठोले गद्दी प्राप्तिको पटक गन्न मग्न रह्यो जनताको प्यासमा तुरुक्क तुक्र्यायो स्वानले एक खुट्टा उचालेर तुक्र्याए जस्तै जनतालाई खम्बा ठानेर ।
एउटा बिहान सामन्ती नामक झार उखेलिएको घोषणा गर्दै खुँडा उचाल्ने हात टक्सारको मालिक बने पनि, मेचीकिनारामा नयाँ सामन्ती सुनको लौरो टेकेर यात्रा गर्न थाले पनि पुराना सर्वहारा किनारामा छोइछिटो गर्दै खरको झुप्रो लिपेर ऐलानीमै मृत्यु पर्खेका छन् ! क्रान्ति नायक देवताका मिथक आमाको पेटबाट खसेको मझेरी खोज्दै र प्रचण्डदेव निर्मित लुम्बा पत्थरको स्वर्ण कपडामा वंशावली अङ्कित गर्दैछन शहीदका सन्तान खाडीमा मर्दैछन् ।
मन्दिरमा गोबध गर्दै भत्तेर हसुरेर पुजारीको वक्ष भेदन गर्दै हिमनदीलाई रक्तनदीमा परिणत गरेर अनि छिमेकीको करेसामा लुक्दै छिमेकीको ताप्के बिकाएर चन्दा दिन वाध्य पारेका जडतन्त्रका उन्मुलक र गणतन्त्र नामक रणतन्त्रका जनक भन्दै प्रत्येक मेहफिलमा गर्जिने केशरी नन्दन, जम्बुवान, अंगद आदि सेनाहरूका सेना नायक कहिले किष्किन्धाको चुलीमा सिन्दुरमा राताम्मे हुन्छन्, कहिले महाकाल निवास पुगेर गेरु धारण गर्दै सुरो समातेर घृतधारा हवन गर्दै अन्नजको भष्म लेपन गरेर मन्जिरा बजाउछन् । तिर्थाटनको साङ्गेपछि हलेलुलुको मन्त्र जप गर्दै फादर शरण तर्फ दौडिन्छन् टाइसुट भिरेर, परिवर्तनका लागि वाधक मन्दिरको घण्टा फुटाएर आग्न्यास्त्र बोकेकाहरू अर्ध अंग घिसारेर अझै पनि गुणगान गाउदै छन् महामानव जिन्दावाद भनेर ! रामपाल र आशाबाबुका भक्तहरूले उनीहरूको कुकार्यलाई स्वाभाविक मानेर उनीहरूको देवत्वकरण गरेझैं दियो बाल्दैछा अंगदहरू ।
मौकाको नजाकत सम्झेर अल्पकालीन यादको मस्तिष्क टोकरी बोकेका जनताको गिदीमा बिधिको लिदी भरेर शब्दको मारुनी नचाउदै आउने मौकाखोर मानसिकताको फुलबुट्टे आश्वासन घन्काएर आएको पुष्पक विमानको आवाजमा लठ्ठिनेको मान्छेको मस्तिष्क र हाइब्रीड बीउ ल्याउन दौडिने मेरो दिमागमा समानता देख्दैछु म, जसरी भारतको बीउ आएन भने खेत बाझै रहने निश्चित छ त्यस्तै दैनिक भिसा फि बुझाएर बसेका नेताहरूको संसद भवनमा हुने निर्णयले हाम्रो भविस्य उज्ज्वल हुने संभावना सायद नै होला । माइकमा आवेगमा कुर्लेको आवाज सुन्दा लाग्छ किशोरावस्थामा भोगटेको लाेटामा पानी ल्याएर फिर्फिरे घुमाएर खेलेजस्तै कालो पाइपमा ल्याएको पानीमा नुहाएको फोटो प्रचार गर्ने नेता र त्यसैमा प्रभुको चमत्कार देख्ने भक्त भएसम्म चुनावको लागत बढेर जनताको चुलो महँगो हुने मात्रै हो ।
पशुपतिमा जलहरी राख्ने, विमानस्थलबाट बाहिर पठाएर बजारमा कोटी किलो सुन समात्ने, निलो बस निशुल्क चलाएको प्रचार गर्ने, शेर चिन्या छ ? भन्ने भगवानका भक्तको हातमा प्रज्वलित आरतीको दियोले हाम्रो चन्द्र सूर्य सहित हाम्रो अस्तित्व समेत जलाएर शिरमा लगाउने भस्म तिलक बनाउने भयले मेरो मुटु काम्न थाल्यो र कल्पनाको सुषुम्नामा बिर्काे लगाएर निहुराएँ मैले मेरो खप्पर ।
०००
नुवाकोट
Subscribe
Login
0 Comments
Oldest







































