सञ्जय साह मित्रपल्टुराम
उसैको बर्खोले आधा अनुहार छोपेको जस्तो गरेर कुरो सुरु गर्यौँ । मन मिलाएर हामी दुवै जना एउटै अस्पतालमा भर्ना भयौँ । बिरामा र बिरामीको जोडी मिलायौँ ।

सञ्जय साह मित्र :
ओछ्यान देख्यो कि पल्टिन र कुर्सी देख्यो कि ढल्किन मन लागिहाल्छ । त्यसो त रक्सी देख्यो कि लट्ठिन र कुन्नि कसकसलाई देख्यो कि लहसिन पनि मन लाग्छ तर यहाँ ती कुरा भन्न मिल्दैन ।
म जहाँतही पलङ होस् कि खाटमा बस्नासाथ पल्टिने भएर मेरा हितैषीहरूले दिएको नाम हो – पल्टुराम ।
प्लेनको सिट होस् कि बसको, बस्नलाई फिट हुनासाथ ढल्किन पल्किने मेरो बानीले मलाई सारै फाइदा पुर्याएको छ । त्यसरी पल्टिँदा कसैलाई अप्ठ्यारो परेको गुनासो गर्यो भने भित्रभित्रै खुसी हुँदै भन्छु – बिरामी छु ।
‘तपाईँ बिरामी हो ?’ यात्रारत रहँदा सोध्नुपर्नेले सोध्यो ।
सुख र सुविधाको लागि त जस्तोसुकै पनि स्वाङ पार्न सकिन्छ । मैले त्यहीँ साबित गर्दै ‘हो’ भनें । उसले मलाई आरक्षित बिरामी सिटमा लगेर सुतायो । म खुसी हुँदै पहिलेको भन्दा अझ सुविधाजनक सिटमा विराजमान भएँ । ढल्किएँ, पल्टिएँ । मज्जा आयो तर अनुहार भने मलिनो पारेर आँखा चिम्लेको जस्तो पार्नु झन् उचित ठानें ।
कुनै बजार आयो । त्यहाँ एकजना बिरामी चढी । उसको आफन्तलाई पछाडि पठायो र बिरामीलाई भने म भएको सिटमा बसायो । बसायो के भन्नु पल्टायो । उसले एउटा ओढ्ने ओढेकी थिई । गाडी गुड्यो । एकातिरको आरक्षित बिरामी सिटमा ऊ र भयौँ । उसले सोधी ‘तपाईँ बिरामी हो ?’
‘बिरामी होइन, म बिरामा’ भनें ।
ऊ अलिक मुस्कुराइन् । मुस्कान धेरै राम्रो लाग्यो । मैले सोही कुरा बताएँ पनि ।
उसैको बर्खोले आधा अनुहार छोपेको जस्तो गरेर कुरो सुरु गर्यौँ । मन मिलाएर हामी दुवै जना एउटै अस्पतालमा भर्ना भयौँ । बिरामा र बिरामीको जोडी मिलायौँ । उसको अभिभावकको आँखा छलेर त्यहीँ रात हामी फरार ।
मेरो तरिका देखेर मलाई पोइ भन्नुको साटो बोलाउने नामै दिएकी छे – पल्टुराम ।
०००
रौतहट
Subscribe
Login
0 Comments
Oldest






































