साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धर्मराजको धर्तीको धर्म

सरकारी जग्गा व्यक्ति करण गर्नु पनि धर्म नै हो । सुन तस्करमिा सघाएकै छन् । नुन खान नपाउनेलाई लसुनको गहना बनाएर लगाउन नसक्नेलाई सुन तस्करको मालिक बनाएकै छन् ।

Nepal Telecom ad

माधव पोखरेल गोज्याङ्ग्रे :

यो धर्ती कसको हो भनेर कसैले सोध्यो भने म सहज तरिकाले जवाफ दिन्छु धर्मराजको भनेर । किनभने हामीलाई आखिरी अन्त्यमा धर्मराजले नै यो धर्तीमा शून्यतामा लैजान्छन् । हामी जसको अर्ती मान्दैनौ उसैले हामीलाई यो धर्तीमा डढाउँछन् । यो सबै ब्रह्मा जीको गल्तीले गर्दा भएको हो भन्न मन लाग्छ । कसरी भन्नु होला भने हामी मानवको संरचना तयार पार्ने बेलामा ब्रह्माले जहाँबाट उत्पादनको व्यवस्था गर्नु भयो त्यही अन्त्य गर्ने चाँजोपाजो मिलाउन सक्नु भएन । जहाँबाट उत्पादन भएको हो त्यही अन्त्य गरेको भए आज हामी मानवले धर्मराजको धरमरे धर्तीमा दुनियाँको अर्ती सुनेर बुनियाँ खाँदै लम्पसार पर्नु पर्ने थिएन । हुन् त यो धर्ती धर्मराजको बिर्ता होइन तर पनि हाम्रो जीवनको अन्त्यमा धर्मराजले हामीलाई खरानी पारेर माटोमा मिलाउँछन । हिउँद वर्षा केही नभनी खोलाको चिसो पानीमा चोबल्छन् । के के गल्ती गरे झैँ गरी हामीलाई हरियो बाँसमाथि राखेर दण्ड सजाय दिन्छन् ।

यो धर्तीमा कसैका निम्ति करोडौ धर्मराजहरू जन्मिएका छन् । कसैकालागि एकादुई मात्र जन्मिएका छन् । कसैकालागि भने यो संसार नै धर्मराजहरूले भरिएको छ । जे होस् धर्मराजहरू सबैतिर सल्बलाएका छन् । चल्मलाएका छन् । सबैतिर गिद्दे दृष्टि लाउन सक्ने धर्मराजको धर्म भने हराएको छ आफ्नैधर्तीमा । धर्मका नाममा राज्य गर्नेलाई सायद धर्मराज भन्छन् क्यार । तर मैले बुझेसम्म र जानेसम्म धर्मराज पापका खानी हुन् । धर्मका नाममा मनपरी तवरले मानव जातिको अस्तित्वमात्र होइन वंश नै लोप गराउनेतिर लागेको कुरा म यहाँ सबैलाई जानकारी गराउन चाहन्छु । यमलोक देशे विकृत फेसे धर्मराजस्य नामधारी बराहस्य भन्ने नयाँ उखान त्यसै चलेको होइन रहेछ ।

यो धर्मराजको धर्तीमा धेरै मान्छेहरू पर्ती भएर बसेका छन् । पर्ती मान्छेलाई धर्तीमा समाहित गराउन धर्मराजको धर्मको भकारीले कुनै सरोकार राखेन भने धर्मराज आफैँ रिसाउने छन् । भनौँ कुनै बेला धर्मराज उद्दण्ड स्वभावमा उत्रिन्छन् । धर्मराजको शासनमा उपर खुट्टी लाएर आसन जमाएर कुर्मराज, बराहराजहरू खैराती बनेर गैती चलाउँछन् । यमराजहरू धर्मराजको धर्ममा अर्म पर्म गर्दै भाँजो हाल्छन । अधर्मका महाराजहरू मनपरी तवरले ब्रह्माजीसँग लोसोपोसो गर्दै जन्माउँछन । यो धर्मराजको धर्तीमा पर्ती भएका मान्छेहरू कसैको अर्ती सुन्दैनन् । धर्तीमा बाङ्गो बनेर नाङ्गो नाँच देखाउन पल्केका धर्मराजहरू कालो नाग भएर देखापर्छन ।

कालोनाग हुने धर्मराजको धर्म त होइन तर किन किन सेतो नाग भएर सबैका सामु देखा पर्न पनि नसक्नु भनेको लत्तो छाड्ने काम नै हो । सधैँ कालो काममा ध्यान दिने धर्मराजले कालो कामबाट नै नाम कमाएका छन् । खामभित्र दाम नाम माम पाएका छन् । कालो कामबाट सबैका सर्वप्रिय हुन पाउनु पनि नेपालाँ भाग्यमानि हुनु हो । कालो धर्मका नाइके भनेकै धर्मराज हुन भने गोरो धर्मले कोही पनि उँभो लाग्न सक्दैनन् भन्ने कुराको ताजा उदाहरणका रूपमा पहिलो चोटी देखापर्ने पापी नै धर्मराज हुन भन्दा परक पर्दैन । धर्मका नाममा धक्का दिएर पक्का काम गर्ने सोंचले कच्चा बनेका धर्मराज कहिले काँही गोहीको आँशु झार्छन । उनको आँशुमा कुनै संवेदना हुँदैन न त पीडा नै लुकेको हुन्छ । हुन्छ त केवल धर्मराज भएर गरेको पापकर्मको पश्चातापमात्र ।

आफूले गरेको जीवन भरीको पाप पखाल्न बुढेस कालमा हुने काम कुरा भन्दा नहुने काममा बढी ध्यान दिने आधुनिक धर्मराज बन्न तम्सेका कुकर्मराजहरू गाँज हालेर देशमा मौलाउने दाउँमा लागेका छन् । यो कुराको सुइको भुँइको मान्छेले पनि थाहा पाएको छ । धर्मराज टुप्पोमा चढेको भए पनि भुँइमा हेर्दैन र हेर्ने प्रयास पनि गर्दैन । भुँइमा हेर्दा निहुरिनु पर्छ र टुपपोको मान्छेले निहुर मुन्टी न भएर तल हेर्दा आफैँ खाल्डामा जाकिएला भन्ने डर हुन्छ ।

धर्म थेग्न नसक्ने धर्मराजले आफ्नो धर्म विर्सेर कुकर्ममा ध्यान दिंदा सुकर्मीहरू जुकर्मी भएका छन् । कुनै धर्म नै पालना नगर्ने धर्मराजहरू धर्मराएर बसेका बेला जनता सर्माएर गर्माएका छन् । ‘लाजको पसारो जता गयो उतै लछारो’ भने झैँ भएको छ अहिले देशमा धर्मराजका कारण । धर्मराजहरू सबै पहेलो धातुलाई सुन देख्छन भने लसुन र नुनको महत्व खाने बेलामा बाहेक अरुबेला बुझ्दैनन् । तर सुनको महत्व मात्र होइन गुण र गुन दुबै बुझ्दछ । यस्ता हरिलठक धर्मराज भएको देशमा राम लठक वा श्याम लठकको कुनै अस्तित्व नै हुँदैन भन्ने कुराको भेउ कसले पाउने ? धर्मराजको दिमागमा त्यसै पनि लेउ लागेकोले भेउ पाउने कुरै भएन । तर दिमागमा लेउ नलागेकोले त भेउ पाएर छेउ छेउ हिड्नु पर्ने हो त्यो पनि देखिएन । भनौँ धर्मराजहरू धनको भकारीले पुरिएर सुतेका छन् मस्त निन्द्रामा त्यसैले लेउ लागेको गिदीले कुनै कुरा पनि भेउ पाउन सकेन । आखिरी धर्मराजले धर्म छाडेरै छाडे । कालोलाई सेतो बनाउन सक्ने खुबी भएका धर्मराजको सम्मान नगरी यो गोज्याङ्ग्रे सक्दैन । आगे सब्ल्याङ्ग्रेहरूको जो विचार ।

धर्मर धर्मर गरेर भए पनि धर्मराजहरू हाम्रा अगाडि ङिच्च दाँत देखाउँदै मुन्टन छाडेका छैनन् । आफ्नो धर्मका बारेमा मर्म नबुझ्ने धर्मराजहरू हिजोआज कुर्मराज कुकर्मराज भएर देखापरेका छन् । सर्मराज भन्ने कुरा अलिकति पनि नभएका धर्मराजहरू धर्मको पोको बोकेर हिड्न मनपराउँदैनन् । पापको बोको बनेर टाउको माथि पापकै पोको बोकेर भौतारिरहेका हुन्छन् । पाप कर्म गर्दा गर्दै फलिफाप गर्न सफल भएका धर्मराजको धन्दाले देश नै भरिएको छ । गाउँ घरमा होस् वा सहर बजारमा होस् धन्दा सबैतिर फैलिएर आलु फर्सिको सुगन्धित बास्नाले शोभायमान भएको छ ।

धर्मराजहरू पुण्य कमाउन पापाको पोखरीमा पौडी खेलिरहेका छन् । सपनाको सागरमा हामीलाई सयर गराइरहेका छन् । धर्मका नाममा धक्का दिएर पाप कर्मबाट टक्का सोहोरिरहेका छन् । छक्काको धक्काले पक्का टक्का लिने ध्याउन्नमा दिमाग लगाउने धर्मराजहरू धरम करे तो धक्का मिले पाप करे तो टक्का मिले भन्ने नैतिक आचरणको सिद्धान्तलाई वेदान्तको शिक्षा ठानेर त्यसैमा तल्लिन भएका छन् । धर्मराजको राजनीतिले कर्मलाई मर्ममा परिणत गरेको छ । भनौँ आजका धर्मराजहरूको राजनीति धन दौलत जम्मा गर्नु मै केन्द्रित भएको छ । यो धर्ती नै धर्मराजको हो भने आफ्नो धर्तीमा आफूखुसी जे पनि गर्न पाउनु पर्छ भन्ने खुला दिमागको सदुपयोग गर्दा हुन्छ भन्ने गन्धे सोच र निच विचार विना प्रगति सम्भव हुँदैन ।

धर्मराजको धर्म कर्म धनकालागि हो भन्ने कुरा सबैले बुझ्नु पर्दछ । कर्म गरेपछि धन पाउनु पर्छ र अनिमात्र धर्म हुन्छ भन्ने सोच विचार पाल्नु पर्छ । हिजोआज मान्छे कर्मले होइन धन कमाउने धर्मले र धनको तुजुकले महान बन्छ भन्ने कुरा धर्मराजले आत्मसात गरेका कारण आज धर्मराजहरू सबैको बाई बाई बन्न सफल भएका छन् । धर्मराजले धर्मका कुरा पाल्नु हुँदैन फाल्नु पर्छ । सुल्टो विचारले धर्मराजको धर्म खेर जान्छ । त्यसैले उल्टो कुविचार राखेर काम गरेका खण्डमा सधैँ सफलता पाइन्छ भन्ने महान विचार लिएर अघि बढेका कारण आज देशका केही धर्मराजहरू पाउमुनिको चर्चामा रहेका छन् । नआउनु चर्चामा आएपछि पाउमुनिको चर्चा नै सबैभन्दा उत्तम । किनभने पाउमुनिको चर्चामा आउँदा त्यहाभन्दा तल झर्ने ठाउँ हुँदैन । चर्चाको शिखरमा पुग्दा पनि आखिरी झर्ने त तल नै हो । त्यसैले एकैचोटी पाउमुनिको चर्चामा रहँदा सबैभन्दा बढी चर्चा हुन्छ । शिखरको चर्चामा रहँदा माथि चढ ,तल भर गरिरहनु पर्छ । तलमाथि माथितल गर्नु भन्दा राम्रो एकैचोटी तल झर्दा बढी चर्चा हुने र आफ्नो धर्म पनि निर्वाह हुनुका साथै समाजलाई मनोरञ्जन पनि हुन्छ । धर्मराजहरूको काम धर्म गर्ने मात्र होइन समाजलाई हँसाएर मनोरञ्जन दिने पनि हो । त्यसैले धर्मराजहरूले आफ्नो धर्म छाडेर काम गरेका कारण समाजले पनि हाँसेर मनोरञ्जन लिने काम गरेको छ ।

समाज र देशको उज्यालो अवस्था परिवर्तन गरेर धर्मराजहरू ले निन्याउरो बनाएका छन् । यो नै सबैभन्दा ठूलो खुसीको कुरा हो । धर्मराजहरूको मुल धर्म भनेकै यही हो नि । जनताको गाँस बास कपासको व्यवस्थाका नाममा आफ्नो उचित व्यवस्था गरेकै छन् । ढाँटछल कम्पनि चलाएकै छन् । नेपालीलाई भुटानी बनाएर धर्म गरेकै छन् । सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराएकै छन । सरकारी जग्गा व्यक्ति करण गर्नु पनि धर्म नै हो । सुन तस्करमिा सघाएकै छन् । नुन खान नपाउनेलाई लसुनको गहना बनाएर लगाउन नसक्नेलाई सुन तस्करको मालिक बनाएकै छन् । किसानको मल बीऊमा घोटाला गरेकै छन्, कमिशन खाएकै छन् । धर्मराजले यो भन्दा राम्रो काम के गर्नु त भन्या । धर्मराजहरूले नगरेको होइन गरेकै हुन । तर देख्नेको आँखा बिरामी भएको हो । देख्ने मान्छेले त धर्मराजहरूलाई खुसीले बाई बाई गरेकै छन् नि । यति धेरै धर्मको मर्म स्पर्शी काम गर्दा पनि धर्मराजहरूलाई दोष नदिनु त ठूलो अपराध हो । जस दिएर कुनै फाइदा हुँदैन । बरु दोष दियो भने धर्मराजहरूको नाम त फैलन्छ । काम मुला जेसुकै होस् नाम चलेपछि त धर्मराजहरू आफैँ चल्छन् नि ।

अन्त्यमा धर्मराजहरूको धर्मले देशमा धर्मभन्दा पनि मर्म बढिरहोस् । कुकर्मले धर्मराज धनी बनिरहुन् र पाउ मुनिको धुलो भएर जीवित भैरहुन् । जेल नेलको पर्वाह नगरुन तव पो तपस्या र योगदान । नेता भएर भन्दा धर्मराज भएर नै जीवनमा पाउ मुनिको प्रख्याती कमाउँन भन्ने कामना गर्दछु । जय साहित्य जय व्यङ्ग्य ।

०००
गाईघाट, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
नेपाल कछुवा दल

नेपाल कछुवा दल

माधव पोखरेल गोज्याङ्ग्रे
जालझेल

जालझेल

माधव पोखरेल गोज्याङ्ग्रे
व्यशासन भित्रको कुशासन

व्यशासन भित्रको कुशासन

माधव पोखरेल गोज्याङ्ग्रे
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x