चिरञ्जीवी दाहालनमस्कार प्रथा खारेज होस्
सायद अचेल जमानाले गर्दा होला केही पापी, घाती, भ्रष्टाचारी, बलात्कारी सबैलाई नमस्कार गर्न बाध्य हुनुपरेको छ, पावर तिनकै हातमा हुन्छ । पदमा तिनै हुन्छन् । जानीजानी हत्याराहरू लाई नमस्कार गरौं ? तस्करहरूलाई नमस्कार गरौं ? पतितहरूलाई नमस्कार गरौं ?

चिरञ्जीवी दाहाल :
तपाईंको बानी पनि मेरो जस्तै जस्लाई पायो त्यसैलाई नमस्कार गर्न हात नउठ्ने खालको छ भने आजैबाट त्यस्तो बानी सुधार गरिहाल्नुहोस् । अन्यथा तपाइँका आफ्नै मान्छेले समेत तपाईंलाई चिन्न छोड्ने छन् । मान्छे चिन्ने कसी हो नमस्कार । नमस्कार प्रथा खारेज नगरुन्जेल नमस्कार गर्न छोड्नु भयो भने तपाईं सङ्कटमा पर्न कत्ति पनि बेर छैन । आखिर नमस्कार भित्र के छ त्यस्तो चमत्कार ?
कुरै गर्ने हो भने,नमस्कार गर्नपनि शास्त्रीय विधि र विधान अनुसार चल्नु पर्ने हुन्छ । नमस्ते सम्बन्धमा व्याघ्रपाद स्मृतिमा स्पष्ट उल्लेख गरिएको छ । जस अनुसार पति प्राण घाती, गर्भपतन गरेकी स्त्री एवं पाखन्डी, पापी, यज्ञोपवीतको अपमान गर्ने व्यक्ति , महापापी, दुष्ट स्वभाव भएको, खुट्टामा जूत्ता लगाएको व्यक्ति , उपकारको बदला अपकार गर्ने व्यक्ति, मन्त्रोच्चारण गरिरहेको द्विज, शत्रु, भोजन गरिरहेको व्यक्ति, दौडदै गरेको व्यक्ति तथा नास्तिक व्यक्तिलाई झुक्किएर पनि नमस्कार गर्नु हुँदैन । शास्त्रले वान्ता गरिरहेको समयमा, मञ्जन गरिरहेको अवस्थामा पनि नमस्कार निषिद्ध छ भनिएको छ ।
यो देखेर तपाईँ पनि झस्किनु भयो होला । किनकी नमस्कार गर्नै नहुने धेरै मान्छेहरूलाई आजसम्म हामीले नमस्कार गरिरहेका रहेछौं ।
शास्त्रीय प्रसङ्ग निस्किए पछि, शास्त्रलाई पनि पछ्याउनै पर्ने हुन्छ । त्यसैले जसलाई पायो त्यसैलाई , जहाँ पायो जतिखेर पनि नमस्कार गर्ने कुरो आउँदै आउँदैन लौ जा ।
मेरो चिनजानका एकजना मनको घाइते तर व्यवहारमा काइते स्वभावका नेता छन् । जब म तिनलाई देख्नै बित्तिकै नमस्कार गर्छु, तिनी मक्खै पर्छन् र साख्खै बनेर बातमार्न थाल्छन् । मेरो खेतीपाती र गाई भैंसीका विषयमा समेत धक फुकाएर कुरा गर्ने गर्छन् । बालीनालीमा लाग्ने रोगकिरा र पशु स्वास्थ्य एवं दुध उत्पादनका विषयमा उनी कत्तिपनि नभुलेर मजैसँग खुलेर कुरा गर्छन् । जब यिनको व्यक्तिगत चरित्रका बारे मलाई थाहा भयो अर्थात् शास्त्रले नमस्कारका लागि निषिद्ध गरेको सूचीमा यिनी पनि परेको बुझें,अब यिनलाई हात उठाएर नमस्ते गर्न मेरो स्वाभिमानले दिएन । जब मैले यिनलाई नमस्ते गर्ने पुन्य काम छोडिदिएँ , यिनीसँगको बोलचाल लगभग शून्यको अवस्थामा पुग्यो । यो क्रम केही लामो समयसम्म चलिरहेको छ । मैले अचेल यिनलाई नमस्ते गर्न छोडेपछि, यिनी मेरो घरको आँगनबाट पनि हिन्दैनन्, बाटोमा देखेपनि चिन्दैनन् । सबैको नमस्कार पाउन त चरित्र पनि त स्वच्छ र सफा हुनु पर्यो नि !
मेरो अर्का एकजना असाध्यै मन मिलेको साथी छन् । हरेक कुरामा म जस्तै । आनीबानी ,उमेर , पढाई लेखाई, लवाई खवाई सबै उस्तै । संयोगले यिनीसँग निकैसमय भेटघाट भएन । अचानक एकदिन बिजुलीको बिल तिर्ने लाइनमा भेटिए । हातमा कागजपत्र र पैसा भएकोले मैले यिनलाई नमस्कार गरिन । मुसुक्क हाँसेँ मात्र । यिनले मेरो हाँसोको प्रतिउत्तर पनि दिएनन् । जब चार दिनपछि पुनः भेट भए मैले पुरानै परम्परालाई निरन्तरता दिँदै दुबै हात उठाएर नमस्ते के गरेको थिएँ, उनले मलाई घ्याप्पै अँगालो हाल्दै भने, निकै लामो समयपछि भेट भयो । मैले बिजुली अफिसमा भेट भएको प्रसङ्ग कोट्याउँदा उनले भने त्यस दिन मैले चिनिन माफ गर ।
नमस्कार पाए अँगालो हाल्न कस्सिनेले नमस्कार नपाए चिन्न पनि नसक्ने भएपछि नमस्कारमा कति ठूलो शक्ति रहेछ भन्ने बलियो प्रमाण यो भन्दा अर्को के हुन सक्छ ?
एकपटक मेरो एकजना आफन्त घरपायक सरुवा माग्न सम्बन्धित विभागमा जाँदा डाइरेक्टरको खुट्टामा कालो छालाको जुत्ता देखेर नमस्कार नगरि सोफामा बसेछन् । हुन पनि शास्त्रले छालाको जुत्ता लगाएको व्यक्तिलाई नमस्कार नगर्नु भनेकै छ । गोजीबाट निवेदन झिक्न नपाउँदै डाइरेक्टरले उनलाई अनुशासनहिन भन्दै कोठाबाट घोक्राउँदै बाहिर निकालेछन् । बिचरा शास्त्रमा लेखेको कुरा पछ्याउँदा लामो समय उनी दुर्गम जिल्लामा बस्नु पर्यो । सायद अचेल जमानाले गर्दा होला केही पापी, घाती, भ्रष्टाचारी, बलात्कारी सबैलाई नमस्कार गर्न बाध्य हुनुपरेको छ, पावर तिनकै हातमा हुन्छ । पदमा तिनै हुन्छन् । जानीजानी हत्याराहरू लाई नमस्कार गरौं ? तस्करहरूलाई नमस्कार गरौं ? पतितहरूलाई नमस्कार गरौं ?
दलालहरूलाई नमस्कार गरौं ? डनहरूलाई नमस्कार गरौं ? नमस्कार गर्नु नै पर्ने भए गोदान गर्दा गाईको सट्टा पैसा राखेर गरे जस्तै यिनलाई गर्नु पर्ने नमस्कार अब आयन्दा मातृभूमिलाई गर्नेगरौं । नदीनाला र हिमालयलाई गर्नेगरौं । पहाड र तराइका फाँटहरूलाई नमस्कार गरे हुन्न र ?
मलाई लाग्छ अचेल अधिकांश मान्छेहरूले, मन अमिलो बनाएर र नक्कली हाँसोको सहारा लिएर मात्र नमस्कार गर्ने गरेका छन् । मन फुकाएर नमस्कार गर्न त धेरैको आत्माले मान्दैन होला । त्यसैले जब कसैलाई नमस्कार गर्नुपर्ने हुन्छ, मेरो मुख पनि चुक अमिलो चुसेको बच्चाको जस्तो हुनथाल्छ । नमस्कार त मन फुकाएर, प्रसन्न भएर गर्न पाइयोस् न, मन्दिरको देउतालाई जस्तै । मलाई लाग्छ बरु यो नमस्कार प्रथा हटाए हुने थियो । आखिर हटाउन नमिल्ने होइन क्यारे । जसरी यो देशबाट हिन्दू धर्म स्वाट्ट झिकेर मिल्काइयो त्यसरी नै यो नमस्कार गर्ने प्रथालाई पनि यथाशीघ्र हटाइयोस् ।
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest







































