साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पैसावालाले किन पढ्नु ?

त्यसैले पढेर सानो जागिर वा व्यवसाय गरेर घिनलाग्दो गरी बाँच्नुभन्दा नपढी राजनीति गरेर डरलाग्दो भएर बस्नुमै कल्याण छ। वास्तवमा पढेपछि मान्छे बिग्रिन्छ । उसको आँट हराउँछ, नाङ्गो तरवार लिएर बाटामा निस्कन सक्दैन ।

Nepal Telecom ad

चूडामणि वशिष्ठ :

धनीमानी, वैभवशाली, सम्भ्रान्त भनिने, पैसाकै सिराने लाएर सुत्ने, धनाढ्य, नवधनाढ्य परिवारका मान्छेले आफ्ना छोराछोरीलाई किन बोर्डिङ कलेज पठाएर हैरानी र दुःख दिएका होलान् ? बोर्डिङ पढ्ने, प्राइभेट कलेज पढ्ने ती केटाकेटीलाई कम्ती मात्रै दुःख र हैरानी छ ? त्यत्रा सम्पत्तिका मालिक ती नानीहरूलाई खानै नपाएका ख्याउटे चाउरे मास्टरले लट्ठी लिएर दप्काउँछन्, घन्टीको भरमा दौडाउँछन्, कान समाएर उठबस गराउँछन् । हाम्रो जस्तो देशमा धनी आमाबाबुका छोराछोरीहरूले पढ्ने कामै छैन । सम्पत्ति ओडीओच्छ्याइ भएपछि किन पढ्नु ? जागिर खानुपऱ्या छैन, जागिरले पोसाउने पनि होइन । एउटा अधिकृत जागिरको एक महिनाको तलब त उनीहरूले एकै साँझमा ऐंठन पानी अचाएर र साँप्रा चबाएर सुइ पार्दिन्छन् भन्दै माइला बा आएर ढसमस्स सिकुवामा बसे ।

उनी अझै फलाक्दै गए- व्यापार व्यवसायका अनेक लफडा कचेडा, आनासुका र पाइपाइको गिन्ती, नाफाघाटा बाँकीबक्यौताको तनाव, कुर्सी शक्तिका पछाडि सधैं निगुर्मुन्टी किन हुनुपयो धनीमानीले ? यसो एक नम्बरीबाट दुईतीन नम्बरीतिर लम्किँदा बिताउलान्, सुल्क्याउलान्, पैसावालाका निम्ति यस्तो व्यापार व्यवसाय पनि निचो दर्जाकै काम ठहर्छ । धनीका छोराछोरीले पढेर हड्डी घोट्ने, गिदी गिजोल्ने कामै छैन । मोजमस्ती गर्ने, अनेक मनोरञ्जन गर्ने, ऐस आराम गर्ने, चैन गर्ने, फेसन देखाउने, आफैलाई बिर्साउने जस्ता चिज खोजीखोजी खाने, घुम्ने, रतिक्रीडामा रम्ने, जिन्दगीलाई असली रसमा मस्तसँग पौडी खेलाउने पो हो त !

पैसावालाका छोराछोरीले पढ्नु, लेख्नु व्यर्थ छ । यो दुखिया काम हो । पढेर सचेत बन्नु, संवेदनशील बन्नु, सज्जन बन्न खोज्नु, नियम कानुनले जता डोर्याउछ उतै दसैंको बोको लुरुलुरु डोरिँदै जानु दुःखद पक्ष हो । सामाजिक मानमर्यादा तथा लक्ष्मणरेखाभित्र बसेर कसरी स्वतत्व र स्वच्छन्द बन्न सकिन्छ र ? सब वाहियात । डिग्री नै झुन्डाउन मन लागेकै हो भने यसो मित्रराष्ट्रतिर जानु कुन स्तरको कुन डिभिजनको चाहिएको हो, विद्यावारिधिसम्मकै प्रमाणपत्र किनेर ल्याउनु । यति भए नपढेको मान्छे भनेर कसैले हियाउने होच्याउने आँटै गर्दैनन् ।

स्कुल कलेजको ड्रेस लाएर, कपाल छोट्याएर, स्कुले सामान्य जुत्ता लाएर बोर्डिङ र प्राइभेट कलेजका आठदश हजार तलब खाने ख्याउटे चाउरे सरहरूलाई नमस्ते टक्र्याउनै पर्दैन । त्यत्रा पैसावालाका छोराछोरीले कारमा चढेर कलेज गएर साइकल चुइँक्याउँदै आउने मरन्च्याँसे प्राध्यापकलाई नमस्तै गर्दै हिँड्नु मरेकै जुनी भएन र ? त्यसो गर्दा कहाँ पुग्यो पैसावालाको इज्जत आफ्नो इज्जत आबरु आफैं राख्न सक्नुपर्छ जुन कुरो किन्न पाइन्छ भनेपछि धनीमानीले किन हड्डी घोट्नु ?

पढाइमा अत्यन्तै राम्रो गर्यो, ठुलो भयो, जागिर पायो भने त्यो दुखिया बढीमा सचिवसम्म बन्ला ! के गर्नु त्यो सचिव भएर ? कुनचाहिँ एउटा भङ्जाहा स्वाँठ मन्त्री आएर सचिवको भकुन्डो खेल्छ । विद्वान भयो, चिन्तक बन्यो, देश र जनताका निम्ति राम्रो कुरा गर्यो, जनतालाई सचेत बनाउन खोज्यो भने अर्को कुन धनाढ्यले नेतालाई गरुङ्गो थैली चढाएर, मन्त्री बनेर त्यही विद्वान्लाई जेलमा सडाइदिन्छ, करेन्ट लगाएर त्यसको गिदी डढाइदिन्छ । त्यसकारण पढ्नु भनेको पैसा नहुने दुःखी दरिद्रले यसो थोरबहुत गरिखाने मेलो बनाउनु मात्रै हो । पैसावालाले पढ्ने कामै छैन ।

पढेपछि केही जान्दछ, संसार बुझ्छ, आफू बाँचेको युगलाई पनि पहिचान गर्छ, नियम कानुनका धारा उपधारा केलाउँछ अनि केलाउँदा केलाउँदै अन्त्यमा सेलाउँछ र बिलाउँछ । धनीमानीको मात्रै होइन अरू सामान्य मान्छेले पनि धेरै पढ्नु जान्नु उसैका लागि अभिशाप हुन्छ । ’मूर्खको सभामा लात्तीको बढाबढ’ भन्ने उखान के हाम्रो जस्तो देशमा ज्ञानगुण, पढाइ, संवेदना, सदाचार, सोच, सिप, चिन्तन जस्ता कुराको कुनै आवश्यकतै छैन । त्यसो भएपछि पठनपाठनको के आवश्यकता। यही कुरालाई मनन गरी सरकारले पनि शिक्षा व्यापारीहरूका हातमा सुम्पिएर आफू मजाले राष्ट्रिय गीत गाएर बस्ने सुर कसेको हो ।

अँ, कुरो अलिक बतासियो । म अलिक धेरै गफ गर्छु कि क्या हो ? बेलाबेला ठाउँ छोडिहाल्छु भन्दै माइलाबा फेरि फत्फताउन थाले – पैसाको सगरमाथा ठड्याउनेहरूले पढ्नु नपर्ने कुरा त पक्कै हो । अहिले आएर गरिबगुर्वा, दुःखीदरिद्रहरूले पनि नपढे भयो । किनभने यिनीहरूले पढे पनि नपढे पनि जानुपर्ने खाडी राष्ट्रतिरै हो । त्यहाँ गएर ऊँटको लिदी सोहोर्ने हो, भेडा गोठालो गर्ने हो, खजुरका रुखमा चढ्ने हो । पढेर लिदी सोहोर्नु र नपढी लिदी सोहोर्नुमा के फरक छ र ? उही त हो ! अनि किन पढ्नु ? आधापेट खाएर पैसा बचाएर बोर्डिङका कैयाँहरूलाई पुऱ्यायो उनीहरूले पनि नानीको मार्कसिटमा अन्ठानब्बे उनान्सय प्रतिशत अङ्क दिएर पठाउँछन् । अङ्क दिँदा उनीहरूको के जान्छ र ? अभिभावक मख्ख ! पास गरेपछि अरबतिर जान म्यानपावरको बल्छीमा उनियो, अनि सोहोर्यो ऊँटको लिदी !

हैन मेरा कुरामा फेरि भुमरी पर्यो । बहर गोरु मेलामा नहिँडेकै कुरा बतासियो । बुढाले फेरि आफूलाई झक्झक्याउँदै कुरो थपे – धनीमानीहरूले पढेर जिउ बिगार्नुभन्दा खाएर तिघ्रापाखुरा हाल्नुमा कल्याण छ । मर्यादाको किलोदाम्लोमा टुमरिनुभन्दा छाडा भएर स्वच्छन्द हुनु उत्तम छ । अध्ययनमा घोप्टिनु घोत्लिनुभन्दा मान्छे कुट्ने, काट्ने, थिच्ने, पेल्ने, अभ्यास बेलैदेखि भयो भने राजनीतिमा पारङ्गत भइन्छ । खाने नखाने सबै खाएर र गर्ने नगर्ने सबै गरेर परिपक्व बनी राजनीतिमा झ्वाम्म फाल हानेपछि पढेलेखेका मान्छे तीन कान्ला तल पर्छन् । पढेर हुने भनेको डाक्टर, इन्जिनियर, मास्टर, प्रशासक नै हो । तिनलाई ताप्लेजुङबाट हानेको सरुवाको भकुन्डो बैतडी पुऱ्याउन सकिन्छ । पैसावालाले पढेर दुःख बेसाउने कामै छैन ।

पैसाले राजनीति गर्न सिकाउँछ, मन्त्री बनाउँछ, सारा दुनियाँलाई पछि लाउँछ, भोट जित्न सघाउँछ, के गर्दैन ? जे गर्छ । नपढेको मान्छे नेता मन्त्री बन्दा नियम कानुन कसरी जान्नु, विदेशीहरूसँग कसरी कुरा गर्नु भन्ने कुरो वाहियात हो । प्रशासकहरूलाई नियम कानुन सबै मिलाएर कागज ल्याओ भन्दियो विदेशीहरूसँग कुरा गर्दा, दोभाषेहरूको जन्ती लिएर गयो भइगो त ! अनि किन पढ्नुपर्यो ? किन जान्नुपर्यो ?

मलामी जाँदाको वैराग र पुराण सुन्दाको ज्ञान कतिन्जेल अडिन्छ र ? त्यस्तै हो पाठशालामा गएर पढेकोले कहाँ थाम्छ र ? किताबका कुरा पढ्यो तर बाहिरी संसार अर्कै छ । नपढेका पैसावालाकै दश औंला सधैं घिउमा चोभिएका हुन्छन् । त्यसैले पढेर सानो जागिर वा व्यवसाय गरेर घिनलाग्दो गरी बाँच्नुभन्दा नपढी राजनीति गरेर डरलाग्दो भएर बस्नुमै कल्याण छ। वास्तवमा पढेपछि मान्छे बिग्रिन्छ । उसको आँट हराउँछ, नाङ्गो तरवार लिएर बाटामा निस्कन सक्दैन । ऊभित्रको आदिम पाशविकता नमरे पनि लाटिन्छ । आँतको जुइनो छिन्छ। त्यसैले पढेकाहरू शीर्षस्थ ठाउँमा उक्लिन सक्तैनन् । उही एउटा नातिले “हँसिया निलेँ आमै” भन्दा आमै “हग्दा चाल पाउलास् बाबै” भन्थिन् अरे । त्यस्तै अहिलेलाई यस्तै कुरो ठिक छ । हँसिया निल्दै गरौ, निस्किने बेलामा जसो पर्ला भन्दै माइलाबा थोते गिजा देखाएर एक पटक मजाले हाँसे । आफूलाई एक शब्द बोल्न दिएका होइनन् । उनले आफ्ना कुरा उगेलीसकेर बाटो लागेपछि मात्रै बल्ल मेरा कान न्याना भए ।

०००
झापा
‘मुलाको मुरली’बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x