उफर
सडकमा हल्ला गरिरहेका पशुपतिका भक्तहरूले माइक खोले । माइकको सानो आवाज थियो । त्यसमा बडेमानको थर्किने आवाज दिन उफरलाई ट्याक्क अन गरे । उद्घोषण चड्किलो स्वरले निस्क्यो । पशुपतिनाथले तपस्याको तन्द्राबाटै चिच्याए ।
डा. विदुर चालिसे :
– “भव्य बनाउनुपर्छ !”
– “यो त नाटकै हो !”
– “नाटक तेरोको कि मेरो ?”
– “उसैको !”
मान्छेहरूको बिचमा बातचित चल्दैथियो । रेडियोमा गणतन्त्र रूपान्तरण बारे समाचार आयो । समाचारमा मुख्य प्रसङ्गको कायाकैरन चल्दै थियो ।
– “हिन्दुवादीहरूको नयाँ प्रयोग !”
बतासे काकाको कानमा समाचार सुटुक्क छिर्यो । उनी झसङ्ग भए । उनको मुटु त्यसै काम्नथाले । लगलग कामेको मुटु, फट फट चलेको कलेजो र त्रसित भएको मनको जलनका बिचबाट उद्घोष गरे ।
– “भैंसीशालाका लागि बजेट विनियोजन !”
हिन्दुवादीहरू अन्यौलमा परे । उनीहरूले गौशालाको अवतार परिवर्तन हुनेभएको देखेर पशुपतिनाथलाई विन्ति गरे ।
– “हजुर पनि महिषासुरमा परिवर्तन भएको हो ?”
महादेव झसङ्ग भए । यसो अगाडि लम्पसार परेर डुक्रिरहेको साँढलाई नियाले । अनर्थले चिच्याएका भक्तलाई सोध्न थाले ।
– “के तिमीहरूको जनैमा गणतन्त्रको ट्रेडमार्क छैन ?”
भक्तहरू नाजवाफ भए । उनीहरूमा कन्फ्युजन थियो । गणतन्त्रको धाक र हिन्दुत्वको नाक उनीहरूको जीवनमा चलेको बतास थियो । उनीहरूको दिमाग चक्करायो । फटाफट बक्न थाले ।
– “पशुका पनि पति हे पशुपति नाथ प्रभु ! हजुरको नाकैमुनि किन भैंसीको आइँ आइँ ?”
– “गणतन्त्रको धाक रूपान्तरण गर्न !”
– “गाईलाई धोएर गधा नभएजस्तै भैंसीलाई धोएर गाई बन्छ त प्रभु ?”
– तिमीहरू नै भन न त उसो भए । भैंसीलाई नधोए गाई भनेर पुजा गर्छौ त ?”
सडकमा हल्ला गरिरहेका पशुपतिका भक्तहरूले माइक खोले । माइकको सानो आवाज थियो । त्यसमा बडेमानको थर्किने आवाज दिन उफरलाई ट्याक्क अन गरे । उद्घोषण चड्किलो स्वरले निस्क्यो । पशुपतिनाथले तपस्याको तन्द्राबाटै चिच्याए ।
– “उफर जाओ ! उफर जाओ ! प्रभुजी कि बल से !”
०००
आरुबारी, काठमाडौं