साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाम फेर्ने सुरमा

‘मैले सोचेको मेरो नयाँ नाम’ भन्ने पूरा नहुँदै दिज्जुले भन्नु भयो- ‘किरण त केटीको नाम हो ।’ लौ जा ! परेन वित्याँस । केटीको नाम हो भन्ने वाक्यांशले मुटु नै छेड्यो । मेरो नाम फेर्ने धुनको अन्त्य भएको जस्तो लाग्न थाल्यो । अहिले त किरण नाम भएका केटाहरू बग्रेल्ती भेटिन्छन् ।

Nepal Telecom ad

डा. कुसुमाकर शर्मा गौतम :

नाम नै प्रत्येक व्यक्तिको पहिचान हो । एउटै व्यक्तिका फरक फरक नामहरू हुन थाल्यो भने त छली, ढाँट, छद्मभेषी भइहालिन्छ । तैपनि एउटा बोलाउने नाम र अर्को लेखाउने नाम त प्रायः सबैका हुन्छन् । केही नभए पनि बाबु र नानी त जगेडामा भइहाल्छन् । यति हुँदाहुँदै पनि तपाईंले जिन्दगीमा आफ्नो परिचित नाम फेरौँ कि भनेर मात्रै पनि सोच्नु भा छ कि छैन ? सोच्नु भएको भए पनि नेपालका सरकारी कार्यालयहरूमा पाइने दुःख सास्ती सम्झेर पनि मन मार्नु भयो होला । तर कसै कसैलाई बाध्यताले वा नाम फेर्ने तीव्र इच्छाले पनि नाम फेर्नु पर्ने हुन्छ ।

मेरा एकजना असल मित्र क्यानडाको पूर्वतिर बस्नुहुन्छ । उहाँको नाम लिच्छवी कंसाकार हो । नेपालमा राम्रो र संस्कारी घरपरिवारको, शिक्षादीक्षा पनि राम्ररी प्राप्त गरेको । व्यक्तिगत रुपमा उहाँ एकदम सभ्य, सरल र मिलनसार हुनुहुन्छ । नेपालमा राम्रै जागीर छोडेर यहाँ आउनु भयो । नेपालमा छँदा उहाँलाई आफ्नो नाम प्रति कति गर्व लाग्थ्यो । प्राथमिक विद्यालयको सामाजिक शिक्षादेखि विश्वविद्यालयको इतिहास सम्मका विद्यार्थीहरूलाई उहाँको नाम कण्ठ थियो । लिच्छवी काललाई मूर्तिकला, चित्रकला र संस्कृतिको स्वणर्िम काल मानिन्छ । त्यस्तो प्रशंसनीय काललाई जोडेर आफ्नो नाम बनाइदिएकोमा आफ्ना मातापितालाई सधैं आभार व्यक्त गर्नुहुन्थ्यो ।

क्यानडा आएदेखि लिच्छवीलाई आफ्नो नामप्रतिको त्यो खुशी, त्यो गौरव पीडामा परिणत भयो । यहाँका मान्छेहरूले लिच्छवीको उपयुक्त उच्चारण नै गर्न जानेनन् । कसैले उहाँलाई ‘लिट’ मात्रै भने, कसैले ‘लिटल’ भन्न भ्याए, कसैले मिस्टर ‘चच्छ’ भने, कसैले ‘छवी’ भने, त कसैले ‘चाबी’ भने, कोहिकोहिले त ‘लिच्चड’ पनि भने । त्यहाँदेखि उहाँलाई आफ्नो नामप्रति वितृष्णा हुन थाल्यो । नामले नै पोल्न थाल्यो । उहाँ चिन्तित र खिन्न बन्न थाल्नु भयो । त्यस्तो अवस्थामा उहाँलाई नाम फेर्न सुझाव दिएँ । शुरुमा त उहाँ खुशी देखिनु भएन । तर पछि उहाँलाई नाम फेर्दा मानसिक र मनोवैज्ञानिक सन्तुष्टि मिल्छ भनेपछि राजी हुनु भयो । नाम खोज्ने विषयमा ‘छोटो नाम’ हुनुपर्छ भन्ने कुरा भयो । उहाँले ‘पासा’ राखे कसो होला भन्नु भयो ?

जुन दिन ‘पासा’मा हाम्रो सहमति भयो, त्यही साँझ उहाँको जागीरको अन्तर्वार्ता थियो । जागीरको दरखास्तमा उहाँले लिच्छवी उर्फ पासा भनेर लेख्नु भएको रहेछ । ‘अन्तर्वार्ताको पालो आयो’ भनी बोलाउन आएकी कार्यालय सहायक केटीले पासालाई ‘पेसा’ भनेर बोलाएपछि विरक्तिएर अन्तर्वार्ता नै छोडेर आउनु भयो । यतातिर सारालाई ‘सेरा’, तारालाई पनि ‘टेरा’, गङ्गालाई ‘गेङ्गा’ उच्चारण गर्छन् । त्यही अनुरुप पासालाई ‘पेसा’ भनिदिइछिन् ती केटीले । यसले लिच्छवीलाई ठूलै असर गर्‍यो ।

यस्ता घटनाहरू घटे पनि नाम त फेर्नै पर्ने वाध्यता थियो समय र परिस्थितिले । के राख्ने भन्दा यतातिरैको बोलीको छोटो र सजिलो नाम खोज्दा ‘लिन्’ राख्ने निणर्य भयो । उहाँको नामको शुरु अक्षरबाट नयाँ नाम जुरेकोले खुशी हुनुभयो । नाम फेर्नलाई सरकारी फाराम र प्रहरीको प्रतिवेदन निजी पञ्जीकरण अड्डा (रजिस्ट्री) मा बुझाएको एक महिनामा उहाँको नाम ‘लिन कंसाकार’ भयो । मैले त साथीलाई ‘लिच्छवी’ले नै सम्बोधन गर्छु । तर उहाँलाई पहिले नचिनेकाले ‘लिन’ भनेर बोलाउँछन् ।

लिच्छवीको कुरा गर्दा आफ्नै नाम फेर्ने धुनको संस्मरण भयो । मेरो न्वारनको नाम ‘टे’बाट आउँछ भनी पण्डितले टेकनाथ जुराइदिएका थिए रे । एक वर्षको हुने बेलामा गायत्री ठुल्दिदीले ‘मेरो कान्छो भाइ त टाकुराको देउमन बस्नेत जस्तै छ’ भनेदेखि मेरो बोलाउने नाम ‘देउमन’ भयो । टाकुरा मेरो गाउँ भन्दा माथिको गाउँ हो । घरमा, गाउँमा मेरो पहिचान ‘देउमन’ बन्यो । कसै कसैले ‘कान्छा’ भनेर पनि सम्बोधन गर्थे ।

छ वर्षको उमेरमा प्राथमिक विद्यालय भर्ना भएपछि मेरो नाम ‘टेकनाथ’मा दर्ता भयो । घर र गाउँ भन्दा बाहिर र विद्यालयसँग जोडिएकाहरू माझ मेरो पहिचान ‘टेकनाथ’बाट शुरू भयो । मलाई ‘देउमन’ भनेर कसैले सम्बोधन गर्‍यो भने प्यारो लाग्थ्यो र अझै पनि लाग्छ । टेकनाथ नाम त राम्रै थियो, तर साथीहरूले ‘टेके’, ‘टेकन’, ‘टेक लौरी टेक’ भनी जिस्काउँदा नमज्जा लाग्न थाल्यो । प्राथमिक विद्यालयको पढाइपछि छ कक्षाको पढाइको लागि विद्यालय परिवर्तन भयो । त्यही बेला नाम फेर्ने सुर थियो । दाजी र दिज्जु पनि म छ कक्षामा भर्ना हुन खोजेको विद्यालयमा पढ्नु हुन्थ्यो । मेरो नाम फेर्ने धुन थाहा नपाएर दाजीले म विद्यालय पुग्नु अगावै मेरो नाम ‘टेकनाथ’ लेखाइदिई सक्नुभएछ । त्यसैले मेरो नाम फेर्ने धुनमा धक्का लाग्यो ।

विद्यालयमा एकदिन एकजना साथीले आफ्नो नामको रबरछाप बनाएर कक्षामा ल्यायो । त्यसले मेरो नाम फेर्ने धुनलाई नयाँ रूप दियो । मैले पनि विद्यालयबाट घर फर्केर आफूले सोचेको नयाँ नामको रबरछाप बनाउने निणर्य लिएँ । मैले सोचेको नयाँ नाम ‘क’ बाट आओस् भनेर ‘किरण’ राख्ने विचार गरेको थिएँ । विद्यालयबाट घर फर्की रबरको पुरानो चप्पल भेटाउन धुईँपत्ताल खोजी गरेँ । पानीका गाग्रीहरू राख्ने गग्रेटोमुनि फालिएको एउटा फिता छिनेको चप्पल भेटाएँ । चप्पलमा ज्यामिति बाकसमा रहेको डिभाइडरले ‘णरकी’ चिन्ह लगाएँ । दाह्री काट्ने पत्ती, हँसियाको टुप्पो, छिनोको टुप्पोले किरण चिन्हको वरिपरिको भाग कोतर्दै फालेँ । छाप तयार भएपछि मसी लगाएर कपीको पानामा छाप हानेँ । आफ्नो नयाँ नामको रबरछाप देखाउन खुशी हुँदै दाजी र दिज्जु पढिरहेको ठाउँमा गएँ । ‘यो कसको नाम हो ?’ भनी दाइले सोध्नु भयो । ‘मैले सोचेको मेरो नयाँ नाम’ भन्ने पूरा नहुँदै दिज्जुले भन्नु भयो- ‘किरण त केटीको नाम हो ।’ लौ जा ! परेन वित्याँस । केटीको नाम हो भन्ने वाक्यांशले मुटु नै छेड्यो । मेरो नाम फेर्ने धुनको अन्त्य भएको जस्तो लाग्न थाल्यो । अहिले त किरण नाम भएका केटाहरू बग्रेल्ती भेटिन्छन् ।

त्यतिबेला एसएलसीमा सम्मिलित हुन आठ कक्षामा नै रजिस्ट्रेसन गर्नु पथ्र्यो । यही मौकामा आफ्नो नाम फेर्ने अन्तिम प्रयास गर्ने विचार सहित नाम खोज्न थालेँ । बुबाले घरमा ल्याएका किताबबाट नयाँ नामलाई आधार बनाएँ । लेखनाथ पौड्यालको ऋतु विचारमा वसन्त ऋतुको वणर्न यसरी गरिएको छ :

‘वनमा बागमा राम्रा पुष्प लाखौँ थरी फुले ।
कुसुमाकरको नाम सार्थक पार्‍यो वसन्तले ॥’

त्यस्तै साम्बभक्त शर्मा सुवेदीको सत्यव्रत खण्डकाव्यमा एउटा पङ्क्ति छ :
‘उदय भयो कुसुमाकरको अब.. ।’
दाजी र दिज्यूले पुरानो शिक्षामा सिद्धिचरण श्रेष्ठको ‘ओखलढुङ्गा’ कविता जोडतोडले पढ्दा ‘कुसुमाकरको आँचल पकडी..’ भन्ने पङ्क्तिले पनि मलाई नाम छान्न मद्दत गर्‍यो । मेरो नाम फेर्ने धुन बुवालाई पनि थाहा थियो । ‘मेरो नयाँ नाम कुसुमाकर राखूँ ?’ भनी बुबालाई सोधेँ । बुबाको स्वीकृति पाएपछि आठ कक्षादेखि मेरो नाम ‘कुसुमाकर’ भयो ।

यसरी आठ कक्षामा नाम फेर्ने म मात्रै होइन रहेछु । मसँगै त्यो विद्यालयमा पढ्ने विष्णुप्रसाद गौतम बने ‘अशोक मिलन’, भक्तबहादुर सुनार बने ‘गोपाल शर्मा’, भक्तजङ्ग शाह बने ‘भैरवप्रकाश शाह’, पद्मदेव शर्मा बने ‘कृष्ण गौतम’, दत्ताराम शर्मा बने ‘दीपक गौतम’, कुलप्रसाद शर्मा भए ‘धनुषचन्द्र शर्मा’, माधव शर्मा भए ‘यादव शर्मा’, शंकर शर्मा भए ‘शिवकुमार शर्मा’, भुवनेश्वर शर्मा भए ‘विवेक गौतम’, भीमबहादुर मल्ल बने ‘भूपेन्द्र मल्ल’ । जस्तै नाम राखे पनि साथीहरूले खोट निकाली हाल्छन् । मलाई कसैकसैले ‘कुशे’ भने । कसैले ’कुसीनानी’ भनेको पनि सुनेँ । तर त्यसको बेवास्ता गरेर अगाडि बढेँ ।

मैले आफ्नो नयाँ अनौठो नाम कुसुमाकर त राखेँ तर कविताहरूमा बाहेक अरु कसैको नाम पनि कुसुमाकर छ कि छैन भनी खोज्न थालेँ । रेडियो नेपालबाट प्रसारित यज्ञनिधि दाहालको साहित्यिक कार्यक्रम मार्फत पाल्पा तानसेनका कविको नाम पनि कुसुमाकर भएको थाहा पाएर खुशी भएको थिएँ । काठमाडौं पढ्न गएपछि अरु दुई जनाको नाम पनि ‘कुसुमाकर’ भएको थाहा पाएँ । जागीरको सिलसिलामा थाहा पाएँ- स्याङ्जामा पनि यस्तै नाम राख्ने चलन रहेछ । तर त्यो नाम ‘कुश्माखर’ रहेछ ।

मेरो नामै कति अनौठो भनेर मक्ख पर्दै जिन्दगी बिताउँदै थिएँ । छोरीको जन्मको अभिलेख राख्न ओम नर्सिङ्ग होमकी नर्सले मेरी श्रीमतीलाई श्रीमानको नाम के हो भनी सोधिछन् । मेरी श्रीमतीले मेरो नाम उच्चारण गर्दा, केरे ? केरे ? भन्दै पाँच पटक दोहर्‍याउँदा पनि बुझिनछिन् । अन्तमा ‘डिक्सनरी हेरेर राखेका नाम यस्तै हुन्छन्, कस्तो अप्ठेरो नाम’ भनेको सुनेपछि मलाई आफ्नो नामको महत्ता स्वाट्टै घटेको महसुस भयो ।

क्यानडा आएपछि त झन मेरो अनौठो नामको रामधुलाई शुरु भयो । मेरो नामको क्षतविक्षत, चिरफार हुन थाल्यो । लिच्छवीको पीडा मैले पनि अनुभव गरेको छु । मेरो नामका कति रूप निस्के कति ? कुसु, कुस, खुस, कुसुम, कुसुमाक, कुज्माकर, कुसुमाकार, कुसुमेकर, शुमाकर, के के हुन् के के । म पनि के कम ? मेरो नाम नै मेरो पहिचान भएकोले नामलाई छोटो नबनाउनेमा दृढ भएँ र दशपटक आफ्नो परिचय दोहोर्‍याएर भए पनि सही उच्चारण गर्न सिकाउन थालेँ ।

सबैलाई यसरी नै सिकाउन नसकिँदो रहेछ । गृष्म याममा एकदिन साथीहरूसँग चौरमा बसेर दिउँसोको खाना खाँदै गर्दा हामी भन्दा अलिकति पर ओझेलमा बसेका दुईजनाको कुरा सुनेर म त आत्तिएँ । ती दुईजनाले मैले त्यसै दिन बिहानको विभागीय बैठकमा प्रस्तुत गरेको कार्यपत्रको कुरा गरिरहेका रहेछन् । एउटाले ‘प्रस्तुतीकरण बेजोडको थियो’ भनी प्रशंसा गर्‍यो । अर्कोले भन्यो- ‘ए त्यो लामो नाम भएकोले प्रस्तुत गरेको कार्यपत्र ?’ अब भन्नुस् नाम बिगारेर उच्चारण गर्नु त कता हो कता नामको उच्चारण समेत नै नगरी ‘लामो नाम गरेको मान्छे’ भनेपछि मेरो दशा के भयो होला ? अब मलाई के सुझाव दिनु हुन्छ ? फेरि नाम फेर्ने सुर कसौँ त ?

०००
एडमन्टन, क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मुखियाको पार्टी

मुखियाको पार्टी

डा.कुसुमाकर शर्मा गाैतम
नक्कली झोला

नक्कली झोला

डा.कुसुमाकर शर्मा गाैतम
फोन कल

फोन कल

डा.कुसुमाकर शर्मा गाैतम
सम्मान

सम्मान

डा.कुसुमाकर शर्मा गाैतम
इच्छा मरण

इच्छा मरण

डा.कुसुमाकर शर्मा गाैतम
सल्लाहकार

सल्लाहकार

डा.कुसुमाकर शर्मा गाैतम
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
0
Would love your thoughts, please comment.x
()
x