हरि खनालम त नेता पो बन्ने भएँ !
पुरस्कार लिने बेलामा मलाई खाली खाम र सर्टिफिकेट भए पुग्छ भन्नुहोस् अवश्य त्यो पुरस्कार पाउनुहुन्छ ।’ मैले सल्लाह दिएँ । काका पनि राजी हुनुभयो । यी सबै परिस्थिति र परिवेशले मलाई नेता बन भनिरहेको छ । यस्ता सल्लाह दिनसक्ने भएपछि म नेता बन्न योग्य भइन त ?

हरि खनाल :
आज बिहानको पाँच ओटा फोनले मेरो कान पड्काइदिएको छ र गिदी छड्काइदिएको छ । हुन त कहिलेकाहीँ पड्किँदा र छड्किँदा राम्रै हुन्छ । हामी हातगोडाका औँला पनि त तानी तानी पड्काउँछौँ । तरकारी छड्काउँछौँ र स्वादिलो बनाउँछौँ । अँ पारिवारिक र नाताको कुरा हो तपाईंहरूलाई नभनेको भए पनि हुने तर परिवार तथा नातावाद कम महत्त्वको विषय होइन । बुहारी, छोराछोरी, भाञ्जाभाञ्जीलाई लाभ दिन युग पुराना पार्टी बेलुन फुटेझैँ फुटेको कसको आँखाले देखेको छैन र ? आफ्नालाई पदमा पुर्याउन दुश्मन भनेर कुनै जमानामा तमाम गरेकाहरूको पाउ मोलेको कसले देखेको छैन र ? मुलुकको राजनीतिसँग जोडिने पारिवारिक र आफन्तवादलाई गुम्स्याएर राख्नु पनि त भएन नि । कुरा के भने बिहानै दिदीले फोन गर्दै भन्नुभयो ‘बाबु ! तिम्रो भाञ्जो विदेश नजाने भयो । यहाँ थाम्नै सकिएन । दिनकै एकदुई मानिस कुटेर हिँड्छ के गर्ने ? कुन दिन कसलाई मार्छ र जेल जान्छ थाहा छैन ।’
‘पर्खनुस् दिदी यस विषयमा केही सोचेर सल्लाह दिउँला ।’ मैले थामथुम पारेर फोन राखेँ । मनमा कुरा खेल्यो सरकारले युवा विदेश जान सहज होस् भनेर श्रम सम्झौता गरेको गर्यै छ । विद्यार्थी नै जाऊन् भनेर व्यवस्था मिलाएको छ । भाञ्जा किन जाँदैनन् ? मेरो सोचले गन्तव्य लिन नपाउँदै अर्को फोन आयो मामाको । ‘ए भाञ्जा ! मलाई त आपद पर्यो नि ।’ मामाको स्वर अत्तालिएको थियो । ‘के भयो मामा ?’ मैले सोधेँ ।
‘भाइलाई पसलबाट समातेर लगेछन् ।’
‘कसले लग्यो ? किन लग्यो त मामा ?’
‘खै ! सामानको मूल्य धेरै लियो भनेर समातेको रे ।’
‘हैन कुन सामानमा के कति लिएछन् र ?’
‘खै के के मा हो कुनि । सय प्रतिशतसम्म बढी लिएको भए हुने आज त दुई सय प्रतिशत नै हानिदिएछ ।’
‘पर्खनुस् ,यस विषयमा म केहीबेर सोचेर उपाय निकालूँला ।‘ मैले भनेँ ।
मामाको फोन राखेको मात्र के थिएँ काकाको फोन आयो ।
‘ए बाबु ! के गर्ने हो आपद पर्यो ?’
‘के भयो र काका ?’
‘यसपाली पनि मैले त्यो कालजयी साहित्य पुरस्कार नपाउने जस्तो भयो । गत वर्ष नपाए पनि त्यको कालजयी पुरस्कार यस वर्ष दिउँला भनेर पोहोर साल लगानी गरेको थिएँ । अर्कैले दिने भनेर गाइँगुइँ हल्ला चलेको छ ।’
‘पर्खनुहोस् म केहीबेर सोचेर उपाय निकालूँला ।’ मैले भनेँ ।
सबैलाई आश्वासन बाँडे नेतालेजस्तै । पहिलो सल्लाह भाञ्जाका लागि दिदीलाई दिनु थियो । मेरो तेस्रो नेत्र खुल्यो । मैले दिदीलाई कल ब्याक गरेँ र भनेँ ‘दिदी ! चिन्ता नगर्नुहोस् । भाञ्जा मान्छे कुट्न च्याम्पियन छन् भने विदेश जानुपर्दैन । उनले यहीँ प्रशस्त कमाउन सक्छन् । हाललाई सत्तामा रहेका कुनै दलको सदस्यता लिन लगाइहाल्नुहोस् ।‘
‘तैँले दलको सदस्य बन्न पनि सल्लाह दिइस् बाबु ?’ दिदी फोन मै चिच्याउनुभयो ।
‘अनि मान्छे कुट्ने पिट्ने योग्यता भएपछि बिकाउ र टिकाउ हुने ठाउँ चाहिएन ? त्यसरी सदस्य भइयो भने दैनिक कमाइ हुन्छ । कोही मरी हाल्यो र झुक्क्एिर जेल पठाइहाले भने आममाफी दिलाएर छुटाउनु परेन ? अनि छुटेको बेलामा एक दुई सय गाडीको लावालश्कर चाहिएन ? फूलमाला र अविरजात्रा गर्नुपरेन ?’ मेरो कुरा चित्त बुझेछ दिदीले ए ए मात्र भन्नुवभयो । मैले पहिलो सल्लाह ठीक दिएछु ।
अब दोस्रो अर्थात् मामाको छोरोलाई परेको आपद् । निकै बेर गिदी छड्कियो । म निष्कर्षमा पुगेँ मामाको छोरोलाई पुलिसले समातेकै होइन । बजारमा कालाबजारी गर्नेलाई समात्ने र कार्वाही गर्ने काम अहिले सरकारको हुँदै होइन । आफ्नैलाई कसैले समात्छ ? अवश्य यो कुनै दुश्मनको काम हो ।मैले मामालाई फोनबाटै सोधेँ ‘मामा ! भाइलाई समात्न कुनै पोशाकधारी पुलिस आएका थिए र ?’
‘पोशाकमा थिएनन् रे भाञ्जा’ मामाले जवाफ दिनुभयो ।
‘त्यसो भए पुलिसलाई खबर गर्नुस् ।’
‘पुलिसले समातेको कुरामा पुलिसलाई कसरी खबर गर्ने भाञ्जा ?’ मामाले सोध्नुभयो ।
‘त्यो पुलिसले होइन कुनै डनले वा कुनै अर्का सय प्रतिशत मात्रै बढी मूल्य लिने प्रतिस्पर्धीले फाइदाको लागि समातेको हुनसक्छ ।’ मैले मेरो अनुमान सुनाएँ । गजब भएछ नि मेरो अनुमान मिलेछ तर पुलिसले जाँगर लगाएन भनेर सुनाउनुभयो । एकजना नेताको सालाको बुढो मावलीको फुपूको भाञ्जीको कान्छो ससुराको मामाको नातीको जेठानलाई भनेपछि पुलिसले जाँगर लगाएर काम गरेछ । तीन घण्टाभित्रै भाइ बाहिर निस्कियो ।
अब तेस्रो समस्या मेरो सामु खडा थियो।काकाले साहित्यको पुरस्कार नपाएको कुरा । मलाई थाहा छ यसका लागि कि लगानी बढाउनु पर्यो कि नेतालाई भन्नु पर्यो । विचरा काकाले पोहोर साल कालजयी पुरस्कार गुठीको वार्षिक कार्यक्रमको भतेर खर्च नै बेहोरेका थिए । यो वर्षको पुरस्कार उनले पाउने सर्तमा । काकाको उधारो खाइदिने भयो गुठीले ।
मैले काकालाई फोन गरेँ ।
‘काका ! गत वर्ष कति लगानी गर्नुभएको थियो ?’
‘बाबु गत वर्ष पुग न पुग एक लाख खर्च भएको थियो ।’
‘पुरस्कार कति राशिको छ काका ?’
‘दुई लाखको छ बाबु ।’
‘यसो गर्नुस् काका तपाईँलाई नाम चाहिएको न हो हैन त ?’
‘हो बाबु ।’
‘यसपटकको पनि कार्यक्रम व्यवस्थापन खर्च बेहोरिदिनुहोस् । पुरस्कार लिने बेलामा मलाई खाली खाम र सर्टिफिकेट भए पुग्छ भन्नुहोस् अवश्य त्यो पुरस्कार पाउनुहुन्छ ।’ मैले सल्लाह दिएँ । काका पनि राजी हुनुभयो । यी सबै परिस्थिति र परिवेशले मलाई नेता बन भनिरहेको छ । यस्ता सल्लाह दिनसक्ने भएपछि म नेता बन्न योग्य भइन त ?
पाठकवृन्द ! तपाईँहरूलाई खुसुक्क भन्छु म अब गन समातेका डनहरू, दिनमा दुगुना रातमा चौगुना कमाउ धन्दा चलाउने कालाबजारीहरू, तस्करका लश्करहरु खोज्दै हिँडेको छु।मित्र राष्ट्रका सम्बन्धितकहाँ पनि अबश्य पुग्नेछु । अब केही दिनभित्रै म कुनै न कुनै दलसँग वा आफ्नै दल खोलेर आफू नेता भएको घोषणा गर्नेछु । मेरो घोषणा सभामा तपाईँहरूलाई अग्रिम निमन्त्रणा छ । जय होस् मेरो ।
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest







































