ह्यारी- ८०दशैँ भाडामा लिने हो ?
मर्नुभन्दा बौलाउनु निको भनेकैले अब म निणर्यमा पुगेको छु कि दशैँ भाडामा लगाउँछु । कोही छ भाडामा लिने ? भाडामा लिनेले पछि फिर्ता गर्दा दशैँलाई विकृत पार्न पाइने छैन ।

ह्यारी- ८० :
एक खर्ब रुपियाँ भन्दा बढी खर्च हुने बडा दशैँ सबैका लागि खुसीको पर्व हो या होइन ? दशैँ मान्ने कि नमान्ने ? कुन्नि कति मेट्रिक टन जौ, गहुँ आदि जमरामा खर्च हुन्छ रे ! खसी, बोका, हाँस, कुखुरा आदिको कुन्नि कति लाख बलि दिइन्छ रे ! यस्तै यस्तै कुरा सुन्दै गर्दा दशैँ आइहाल्छ । पहिले अलि कम अहिले अलि बढी दशैँका बारेमा युट्युब, कतै समाचार कतै चिया गफमा नसुनेको होइन । दशैँ दसा बनेको हेर्ने कि नहेर्ने ? पूजा गर्न थालीमा अक्षता, अबिर, चन्दन, फूल लिएर गएको भक्त पशुको रगतले लत्पतिएर आउने कि नआउने ? देवताका नाममा बलि दिएर आफू खाने र पिउने कहिलेसम्म गरिरहने ? कतिसम्म खाने र कति पिउने ? शाकाहारी बन्नु ठिक कि मांसाहारी ? सनातनी परम्परादेखि चलेका सबै काम ठिक छन् या बेठिक ? ककसमा उब्जिरहेको विषय हो यो ?
हुन पनि हो ? भएकै छ ? लङ्गुरबुर्जामा कति पैसाको खेल हुँदो हो, जुवा तासमा कति मारिँदो हो, कौडामा कति चट हुँदो हो, जाँड रक्सीमा कति झ्वाम हुने हो, यसको लेखाजोखै छैन । सरकारी, निजी तथा सङ्घसंस्थाका नाममा कति बोनस भनेर खर्चिने हुन्, कसैका आधा, कसैका एक महिना बराबरका खर्च कति जाने हो, दशैँ खर्च भनी न्यूनवेतनभोगीदेखि सुविधाभोगीसम्मलाई दिने रकम कति होला, यी सबका सबको अभिलेख राख्न पाए हुन्थ्यो । दशैँमा सांसद तथा कर्मचारीले प्राप्त गर्ने भत्ता अनि लामो बिदामा काम नहुँदाको खति कति छ ? यसरी हेर्दा दशैँ हाम्रो जस्तो गरिब मुलुकका लागि भार होइन र ? यसो सम्झेर ल्याउँदा ठिकै हो जस्तो पनि लाग्छ तर कसरी ? तिहार भिलिमिली बत्तीका नाममा, पटाका पड्काएको देख्दा, रङको कुरा गर्दा सम्झी नसक्नु छ ।
हुन त सिक्काको अर्को पाटो पनि हुन्छ । दशैँ नमान्दा के होला त ? बजारमा किनमेल हुँदा, गन्तव्यमा पुग्न यातायातका साधन उपयोग गर्दा, उपभोग्य वस्तुको खपतका लागि बजारीकरण गर्दाका पक्ष सबै अर्थतन्त्रका लागि आवश्यक छ कि छैन ? उत्पादनमूलक क्षेत्रमा आर्जित आयको सबै अंश कुन मुलुकमा सम्भव छ र ? तुलनात्मक रूपमा कुनै धर्मममा कम र कुनैमा बढी खर्चिलो होला तर फजुल खर्च गर्ने प्रवृत्तिको दोष संस्कृति, संस्कार अनि परम्परालाई दिने कि मानिस स्वयमेले लिने ? दशैँको बोनस मलाई चाहिँदैन, मलाई बिदा चाहिँदैन, म जाँड, रक्सी खान्नँ, चुरोट चाहिँदैन, कौडा खेल्दिनँ, ओखर हन्दिनँ, लङ्गुरबुर्जा खेल्दिनँ भन्न सक्नुपर्ने होइन र ? आफन्तजन, नसनाता भेटघाटलाई मनोरञ्जनात्मक बनाउने नाममा मिठो खाने राम्रो लाउने नाममा लुटको धन फुपूको श्राद्ध गर्नु कति जायज छ ? के दशैँ नमानेका बेला मांसाहारी शाकाहारी बन्लान् त ? के दशैँमा मात्र सबैले एक पेट खाने हो ? एक सरो लुगा लगाउने हो ?
दशैँ सबैका निम्ति होटेल व्यवसाय, कार्यालय सबै बन्द गरेर त्यहाँ चल्ने खाजाघर सबै बन्द भई चाडबाडमा घरमा पक्वान्न बन्ने हुँदा आखिर खर्च त्यता भएको हो कि ? वर्षभरि खाना खानुअघि चढाउने औसानीको मात्र जोगाउने हो भने कति जनालाई खान पुग्ला ? वर्षभरि लगाउने टीकाको अक्षता, अबिर र रङ जोगाउने हो भने कति बचत गर्न सकिएला ? नेपालभरि वर्षभरि खाएका जाँड, रक्सी, कोकाकोला सबै बगाउने हो भने कत्रो खोला बग्ला ? अझ विश्वभरिको के होला ? वैधानिक वा अवैधानिक रूपमा भएका फजुल खर्च गर्ने कार्य मानिस स्वयम्ले आफ्ना मजाकमा गरेका हुन् । रहरले र कहरले गरिने चाडपर्वका नाममा भएका संस्कृतिभित्रका विकृति र सनातनी एवम् ढोंगी कुपरम्पराका तुषलाई मेटाउन नकारात्मक कुरालाई मात्र हेर्दा आफ्नै संस्कृतिको विनाश हुन्छ । प्रायः सबैका संंस्कृतिमा यस्ता विकृतजन्य कुसंस्कृति भित्रिएका हुनछन् । धान रोपेको ठाउँमा झार पलाउनु स्वाभाविकै हो तर झार पलायो भनेर धानै नरोप्ने कि झार चाहिँ उखेल्ने हो ?
चिया नखाँदा पनि बाँचिन्छ, कोक, फ्यान्टा नखाँदा पनि टिक्न सकिन्छ । जुवा तास नखेल्दा पनि समय काट्न सकिन्छ । खेल्नै परे खेल्नेले शिष्ट तरिकाले सौखका लागि धनविना खेलेमा, चाडबाडमा खर्च गर्नेले देखाउन भन्दा आवश्यकतामा आधारित भएर गर्ने हो भने खानेले सुपाच्य हुने खाने कुरा मात्र खाए संस्कृति विकृतिको मूल होइन सभ्यताको परिचायक बन्न सक्ने कुरालाई नकार्न सकिन्छ र ? आफू नपाल्ने, आफू नउमार्ने, आफू नियम पालना नगर्ने, आफू धर्म, जात, वणर्का आँखाले हेर्ने भन्ने अनि अर्कालाई यसो र उसो भन्ने परपाटी त्यागेर हामीले एक र अर्काप्रति सहिष्णु बन्न सक्नुपर्ने होइन र ? अति गर्नु अतिसार नगर्नु भन्ने हाम्रो परम्पराले सिकाएको भावाभिव्यक्तिलाई हेर्ने हो भने पनि दिनभर सात्विक भोजनका कुरा गरेर साँझ नपर्दै मदिरालयमा छिर्ने नरनारायणको चाला, उसकै सिको गर्दै पशुहत्या नगर्ने वाचा गर्नेले ममःका डल्लाभित्रको मासुको स्वाद बिर्सन नसकी हसुरिरहने धर्मवीर जस्ताको कुरा गर्ने रहर कसलाई छ हँ ?
दशैँ आइसकेको हुनाले कार्यालयमा एकछिन बैङ्क जानुपर्यो भनी हिँडेको रने कार्यालयमा छड्केमा परेको देख्या छ र ? बैङ्कमा दिनभर लाम लागेर पनि नयाँ नोट लिन पाइएन, हो ? यातायात कार्यालयको लाइसेन्स विभागमा लाइन लागेको अनुभव सँगाल्नुभएको छ ? गएर हेरे भएन र भन्या ? किन स्मार्ट कार्ड नाम राख्या होला बरु लोपोन्मुख कार्ड, एक्सटिन्ट कार्ड वा आकाशको फल भनेर राखेको भए पनि हुने थियो, होइन र ? नामअनुसारको काम नगर्ने जमाना भएर होइन र यो ? सहकारीहरू सबैलाई गुटमुट्याएर भाग्नेलाई कसले संरक्षण गरेका छन् हँ ? ऋण दिएर घरखेतसहित सबै हजम गरी हरितन्नम पारेर उठिबास नै लगाइदिने बैङ्कहरूका सञ्चालक कोबाट संरक्षित छन् ? मोबाइल चार्ज गरेझैँ नेताको दिमागमा बुद्धि चार्ज गर्ने मेसिन बनाइदिएको भए आज देशले काँचुली फेरेर विश्वकै धनी देश बन्थ्यो होला हगि ? ।
ठिकै छ मायालु, नागरिकता बेच्ने पसल खोलिदिन पाए बढाबढ प्रक्रियाबाट मनग्गे आम्दानी हुन्थ्यो कि ? विकसित मुलुकका डलर बर्साउने नागरिक अनि मेहनत गर्ने मान्छेलाई नागरिक बेचे देश बन्थ्यो कि ? दोहोरो नागरिकता लिएका र लुटेर लैजानेलाई नागरिकता दिने काम गर्न सिटिजन सपिङ मल खोलेर सरकारी कार्यालय तत्काल बन्द गर्ने कि ? घाँस, जडीबुटी उता लैजानु, बालुवा उता लैजानु, रुख उता लैजानु कवाडीका दाममा अनि तयारी सामानको मूल्य सयौँ गुना बढी तिरेर किनेर यता ल्याउनु अनि अर्ततन्त्र घाटो भन्नु ठिक हो त ? मन्दी भए केही वर्ष दशैँ तिहार पनि भाडामा लगाए हुँदैन ? उतातिरबाट सस्तो चाडबाड ल्याइतेले ल्याएकै छन् । अझै सस्तो छानीछानी चाडबाड ल्याए हुने हो कि ? यहाँका मानिसलाई शरणार्थी बनाएर बेच्नुभन्दा बढाबढमा नागरिकतै बेच्दा नेतृत्वले कुम्ल्याउन पाउँछ भने टेन्डर आह्वान गर्दा हुँदैन र ? हामीसँग लालपुर्जा छँदै छ, भाडामा लगाए हुँदैन हाम्रा सनातनी परम्पराहरू ? तमसुक बनाउन जानेको छैन र ? होइन भने केको कोकोहोलो हो ? आफ्नो गच्छेअनुसार धर्म, संस्कृति चाडपर्व, संस्कार मान्दा हुँदैन र ? एकले अर्कालाई दबाब र प्रभाव किन पार्नु ? एकता, मेलमिलाप, सहिष्णुता, खुसी, उन्नति, सभ्यता र संस्कृति र संस्कारको डाह गर्ने कि सिको गर्ने ? पिङ खेल्ने, खेलाउने, चङ्गा उडाउने, सुख – दुःख बाँड्ने र सबै टाढिएका आफन्तलाई नजिक ल्याएर प्रेमिल भावना जागृत गराई मानवमूल्यको अनुपम स्वाद चखाउने नेपालका सबै जातजाति, सम्प्रदायका धर्म, रीतिरिवाज सुसंस्कृत व्यवहारलाई बेच्ने, भाडामा लगाउने कि परिष्कार गर्दै संस्कारित अवस्थामा लैजाने हँ ?
‘यस वर्ष चिनीको अभावले, महँगीले, देखासिकीले दशैँ मान्नुपर्ने भएको हुँदा मैले मन फुकाएर दशैँ मान्न सकिनँ । तर पनि म दशैँ बेच्दिनँ । मर्नुभन्दा बौलाउनु निको भनेकैले अब म निणर्यमा पुगेको छु कि दशैँ भाडामा लगाउँछु । कोही छ भाडामा लिने ? भाडामा लिनेले पछि फिर्ता गर्दा दशैँलाई विकृत पार्न पाइने छैन । जस्ताको तस्तै मूल घरको सनातनी दशैँ, पुर्खाले मानेकै दशैँ अर्थात् मौलिक दशैँ फिर्ता गर्नुपर्ने छ । अर्ग्यानिक दशैँ भाडामा दिने भएकाले’ लिन इच्छुक हुनुहुन्छ भने फतुरे काकालाई सम्पर्क गर्न अनुरोध गरिन्छ । विजयादशमीको पावन अवसरमा यहाँहरू सबैको सुख, शान्ति तथा समृद्धिको उत्तरोत्तर कामना गर्दै विशेष छुटमा बडादशैँलाई निश्चित समयलाई अति आवश्यक हुनेका लागि सहुलियत दरमा भाडामा लगाउने हुँदा यसैलाई सूचना मानी यथाशीघ्र सम्पर्क गर्न अनुरोध गरिन्छ । कोही छ दशैँ भाडामा लिने ?
०००
गोकर्णेश्वर, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest











































